Wednesday, May 08, 2024

-->

बारम्बार बिजुली काटिँदा उपभोक्ता हैरान, उत्पादित विद्युत् भने बढी भएर खेर गइरहेछ

मुलुकका अधिकांश स्थानमा पटक–पटक अकस्मात् बिजुली जाने ‘ट्रिपिङ’को समस्या बढेको छ। यसबाट आम उपभोक्तालाई असुविधा हुनुका साथै उद्योगीहरूले दैनिक करोडौँ रुपैयाँ घाटा ब्यहोरिरहेका छन्।

बारम्बार बिजुली काटिँदा उपभोक्ता हैरान उत्पादित विद्युत् भने बढी भएर खेर गइरहेछ

काठमाडौँ– मोरङ व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवनीको भनाइलाई आधार मान्ने हो भने सो क्षेत्रमा अहिले पनि दिनहुँजसो दुईदेखि चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुन्छ। अर्थात् त्यहाँ नियमितजसो नै अघोषित लोडसेडिङ भइरहेको छ। 

झ्याप्प–झ्याप्प बिजुली जाने–आउने भइरहने, कम भोल्टेजको बिजुली आउने जस्ता समस्याले उद्योग सञ्चालनमै समस्या परेको हुँदा प्राधिकरणले लोडसेडिङको तालिका नै सार्वजनिक गरे सहज हुने बेगवानी बताउँछन्। “अहिले पनि दैनिक चार घण्टासम्म बिजुली जान्छ। विद्युत् प्राधिकरणले बत्ती जाने तालिका नै सार्वजनिक गरिदेओस्, दैनिक जति घण्टा जान्छ त्यहीअनुसार नै हामी प्लानिङ गर्छौं,” बेगवानीने भने।

“चलिरहेको फ्याक्ट्रीमा दैनिक १०/१५ पटक झ्याप्प–झ्याप्प बत्ती जाँदा हाम्रो मोटर, बेयरिङ जल्ने, मेसिन बिग्रने भइरहेको छ,” बेगवानी भन्छन्, “अचानक जाने बत्ती चार घण्टासम्म नआउँदा उद्योगका कामदार त्यत्तिकै कुरेर बस्नुपर्ने हुन्छ। त्यसमा पनि हामीलाई थप नोक्सानी भइरहेको छ।”

अघिल्लो महिना मात्रै मोरङका व्यवसायीले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भेटेर यो समस्या सुनाएका थिए। समाधानको आश्वासन पाए पनि समस्या अहिले पनि उस्तै रहेको बेगवानी बताउँछन्। “कुलमान घिसिङ लोडसेडिङको नाम सुन्नै चाहनुहुन्न। लोडसेडिङ भयो भन्दा स्वीकारै गर्नुहुन्न। एकातिर बिजुली निर्यातको कुरा गर्नुहुन्छ, तर लोकल आपूर्ति नै असहज छ,” उनले असन्तुष्टि व्यक्त गरे।

उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुर श्रेष्ठ पनि औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सहज नहुँदा निकै समस्या परेको सुनाउँछन्। “दैनिक १०/२० पटक बत्ती जाने र कम भोल्टेज आउने हुँदा उत्पादनसमेत बिग्रन्छ, चल्दाचल्दैका ठूला–ठूला मोटरहरू जल्छन्,” श्रेष्ठ भन्छन्, “विद्युत् आपूर्ति नहुँदा एउटा उद्योगका ३/४ सय कामदारलाई काम नै दिन नसक्ने अवस्था पनि छ।”

प्राधिकरणले लोडसेडिङको तालिका बनाएर जानकारी गराइदिए सोहीअनुसार कार्ययोजना बनाएर उद्योग सञ्चालन गरिने श्रेष्ठको भनाइ छ। “कुनै उत्पादन गर्न निरन्तर मेसिन चलाउनुपर्ने हुन्छ। चल्दाचल्दै बीचमा दुई मिनेट मात्र बत्ती जाँदा पनि सबै उत्पादन बिग्रिन्छ। बरु लोडसेडिङको तालिका आए त्यही अनुसार कामदार बोलाएर उद्योग चलाउन पाउँथ्यौँ,” उनले भने।

जिल्लास्थित प्राधिकरणका शाखा कार्यालयहरूले वितरण प्रणालीको समस्याकै कारण यस्तो भएको जवाफ दिने गरेको मार खेपिरहेका उद्योगी–व्यवसायीहरू बताउँछन्।

यो पनि – जलविद्युत् आयोजनालाई ‘अलार्म’ : पर्याप्त अध्ययन र सम्भावित जोखिम मूल्यांकन नगरे डुब्नसक्छ अर्बौंको लगानी

दैनिक अघोषित रूपमा विद्युत् अवरुद्ध हुँदा समस्या पर्ने गरेको भन्दै होटल संघ पोखराका पदाधिकारीले पनि गएको बुधबार नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीलाई ध्यानाकर्षणपत्र नै बुझाएका थिए। विद्युत् अवरुद्ध हुँदा पर्यटकलाई सेवा उपलब्ध गराउन कठिनाइ हुँदै गएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।

मोरङ, भैरहवा लगायतका औद्योगिक क्षेत्रमा मात्र होइन, अहिले काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा पटक पटक अकस्मात् बिजुली जाने ‘ट्रिपिङ’को समस्या बढेको छ। बिनासूचना बारम्बार बत्ती जाने र कहिलेकाहीँ एक–दुई घण्टासम्म नआउने गरेको उपभोक्ताहरूको गुनासो छ। 

उत्पादित बिजुली भने खेर जाँदैछ
यतिबेला जलविद्युत् आयोजनाहरूबाट उत्पादित ऊर्जाको खपत कम हुँदा बिजुली खेर गइरहेको पनि छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार हाल दैनिक ५०० मेगावाटभन्दा बढी बिजुली खेर गइरहेको छ। हिउँद याममा जलाशययुक्त आयोजनाहरूमा पानीको सतह घट्दा भारतबाट विद्युत् आयात गर्नुपर्ने हुन्छ। वर्षायाममा नदीमा पानीको सतह बढेसँगै उत्पादन पनि बढ्छ। सोही कारण रातिको समयमा खपत घट्ने हुनाले आयोजनाहरू बन्द गरेर विद्युत् खेर फाल्नुपर्ने अवस्था छ। 

मागभन्दा उत्पादन धेरै भएपछि प्राधिकरणले पनि आफ्ना आयोजनाका उत्पादन युनिटहरू बन्द गर्ने गरेको छ। 

यो पनि – विद्युतीय ट्याक्सीमा प्रदेशले ल्याए निश्चित कम्पनीलाई लाभ हुने मापदण्ड, संघले खोल्ला प्रतिस्पर्धी बजार?

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार प्रसारण लाइनको अभावमा प्राधिकरणले केही निजी क्षेत्रका जलविद्युत् उत्पादकहरूलाई पनि उत्पादन बन्द गर्न लगाउने गरेको छ। “कतिपय जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली खेर गइरहेको छ। प्रसारण लाइनको अभावमा बर्खाको बेला उत्पादित सबै बिजुली प्रयोग हुँदैन। त्यही कारण यो बेला खपत नभएको ठाउँमा केही आयोजनाहरूको उत्पादन प्राधिकरणले नै घटाउन लगाउँछ,” कार्कीले भने।

यसबाट विद्युत् उत्पादकहरूलाई मासिक ५०/६० करोडसम्म घाटा हुन सक्ने कार्की बताउँछन्।

गत असार १ गतेको बाढीले क्षति पुर्‍याएका काबेली करिडोरको करिब २०० र कुलेखानी जलाशययुक्त आयोजनाको १०६ मेगावाट उत्पादनसमेत अहिले बन्द छ। त्यसबाहेक पनि दैनिक ४०० देखि ५०० मेगावाटसम्म बिजुली खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणको विद्युत् उत्पादन तथा खपतको आँकडाले देखाएको छ। 

प्राधिकरणका अनुसार हाल नेपालको जडित विद्युत् उत्पादन क्षमता (सञ्चालनमा रहेका आयोजनाहरूबाट प्रणालीमा जोडिएको बिजुली) तीन हजार मेगावाट पुगिसकेको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार ‘पिक आवर’ अर्थात् अत्यधिक खपत हुने समयमा बिजुलीको माग एक हजार ९०० देखि दुई हजार मेगावाटसम्म छ। 

हाल नेपालले भारतमा दैनिक ४०० मेगावाट हाराहारीमा बिजुली निर्यात गरिरहेको छ। नेपालले पटक पटक गरेर हालसम्म ४५२ मेगावाट बिजुली भारतको ‘डे अहेड’ बजारमा बिक्रीको अनुमति पाएको छ। बाँकी उत्पादित बिजुली भने खेर फाल्नुपर्ने अवस्था छ।

मुलुकभित्रै उत्पादन भइरहेको बिजुली खेर गइरहेको समयमा विद्युत् आपूर्ति असहज हुनुको दोष विद्युत् प्राधिकरणले प्रसारण लाइन र वितरण प्रणालीलाई दिँदै आएको छ।

प्राधिकरणका प्रवक्ता भट्टराई प्रसारण लाइनमा देखिने प्राविधिक समस्याका कारण यस्तो भएको बताउँछन्। “हाम्रो सबै प्रसारण लाइन जंगल क्षेत्र हुँदै गएको छ। बर्खा याममा पहिरो जाने, रुखहरू ढल्ने भइरहन्छ,” भट्टराई भन्छन्, “रूख ढलेर एक ठाउँको तार चुँडियो भने पनि समस्या देखिन्छ।”

प्रसारण लाइनको क्षमता बढाउने काम भइरहेको हुँदा पनि विद्युत् आपूर्तिमा समस्या देखिएको उनी बताउँछन्।

“हेटौँडा–पथलैया लगायतका प्रसारण लाइनमा सुधारको काम भइरहेको छ। यतिबेला खिम्ती सबस्टेसनमा पनि हामीले काम गरिरहेका छौँ। यिनै कारणले गर्दा पनि विभिन्न ठाउँमा विद्युत् प्रसारण नेटवर्कहरू कमजोर छन्। त्यसमाथि काम भइरहेका बेला समस्या थपिन्छ। प्रयोग गरिएका पार्टस् बलियो नभएको हुँदा पनि समस्या आउँछ,” भट्टराईले भने।

मोरङको औद्योगिक क्षेत्रमा भने वितरण प्रणालीको समस्याका कारण विद्युत् आपूर्ति सहज नभएको हुनसक्ने प्राधिकरणको भनाइ छ।

देशका विभिन्न ठाउँमा बिनासूचना बिजुली जाने समस्या बढेपछि केही समयअघि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरूको अभावमा गुणस्तरीय विद्युत् आपूर्तिमा अवरोध भइरहेको बताएका थिए। यस्तो समस्याको दीर्घकालीन समाधानका लागि प्रसारण र वितरण लाइन निर्माणमा ठूलो लगानी आवश्यक भएको पनि उनको भनाइ थियो। 


सम्बन्धित सामग्री