ज्ञानेन्द्र मल्लले १८ वर्षपछि थन्काए ब्याट

सन् २००६ मा नामिबियाविरुद्ध डेब्यु गरेका ज्ञानेन्द्र २००९ मा पारस खड्का कप्तान भएसँगै उपकप्तान नियुक्त भए। 'पारस युग'पछि कप्तान भएका उनी क्यानसँगको विवादले छोटो समयमै बर्खास्तीमा परे।

काठमाडौँ- “मेरो काम भनेको क्रिकेट खेल्ने हो। टिममा मेरो समय सकियो भन्न खोज्नुभएको हो भने मैले त्यस्तो फिल पटक्कै गरेको छैन। मलाई टोलीले जुन भूमिका दिन्छ त्यो निर्वाह गर्न अझै तयार छु,” गत चैतमा ज्ञानेन्द्र मल्लले भनेका थिए।

त्यतिबेला आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम खेलमा नेपालले यूएईविरुद्ध जित हासिल गर्दै विश्वकप क्वालिफायरमा स्थान बनाउँदा ज्ञानेन्द्र भने बेन्चमा थिए। सिनियर खेलाडी भए पनि उनले टोलीमा नियमित स्थान बनाउन सकेका थिएनन्।

ज्ञानेन्द्रको स्थान देव खनाल, भीम सार्की र कुशल मल्लजस्ता उदयमान खेलाडीले लिइरहेका थिए। टिममा परेर लगातार बेन्चमै बस्न बाध्य भइरहेपछि उनको सन्यासबारे पत्रकारले प्रश्न पनि सोधेका थिए। 

त्यतिबेला ज्ञानेन्द्र सन्यास लिने सोचमा पटक्कै थिएनन्। तर पछिल्लो समय प्लेइङ-११ मा पर्न छाडेका थिए। घरेलु मैदानमा नेपाल एसीसी प्रिमियर लिगको विजेता बन्दा उनले बेन्चमै बसेर चित्त बुझाउनु परेको थियो। जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दा पनि अन्तिमका दुई खेलमा यूएई र आयरल्यान्डविरुद्ध मात्रै क्रिजमा उत्रिने मौका पाए। तर पाएको मौका सदुपयोग गर्न सकेनन्।

त्यहाँबाट फर्किएपछि नेपाली टोली इमर्जिङ टिम्स एशिया कप खेल्न श्रीलंका गयो। उक्त टोलीमा ज्ञानेन्द्र परेनन्। क्यानले उनीसहित केही सिनियर खेलाडीलाई विश्राम दिएको बताएको थियो। इमर्जिङ टिम्स कपपछि श्रीलंकामा नै एशिया कपको तयारीका लागि प्रशिक्षण लिएर नेपाली टोली फर्किएको भोलिपल्टै पूर्वकप्तान ज्ञानेन्द्रले खेलजीवनबाट सन्यास लिएका छन्।

सन्यास घोषणाका लागि आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले भने, "फिट छु, खेल्न सक्छु र १०० प्रतिशत दिन सक्छु भन्ने लागेको भए बसिरहनुको औचित्य हुन्थ्यो। तर अहिले टिम राम्रो छ, ब्यालेन्समा छ। त्यसैले (सन्यास लिने) समय यही हो जस्तो लाग्छ।"

शुरूमा राष्ट्रिय टिम छ भन्ने पनि थाहा नपाइ आफूले क्रिकेट खेल्न थालेको र खेल्दाखेल्दै १८ वर्ष बितेको ज्ञानेन्द्रले बताए। आफूले घरेलु क्रिकेटबाट पनि सन्यास लिएको जानकारी दिँदै उनले अब आफ्नै क्रिकेट एकेडेमीलाई समय दिने र 'ग्रासरूट'मा काम गर्ने उनले बताए।

१५ वर्षमै राष्ट्रिय टोलीबाट डेब्यु
काठमाडौँको भीमसेनस्थानका रैथाने उनको परिवारमा क्रिकेट खेल्ने कोही थिएनन्। उनको परिवार भिमसेन, पचली भैरवलगायत गुठीका संरक्षक थिए। ज्ञानेन्द्रले भने ८/९ वर्षको उमेरमै काठको ब्याट बनाएर प्लास्टिक बल खेल्थे। 

“मल्ल भनेपछि उहिलेका राजा, ठकु जुजु भनेर चिनिन्थ्यो। त्यो चोकमा अरूअरू काम हुने भएको कारण क्रिकेट खेलेको कसैलाई मन पर्दैन थियो। तर सँगै बस्ने साथी थियो सनिश। उसको मामा काठको काम गर्नुहुन्थ्यो। उहाँको कारखानामा दिनभर बसेर काठको ब्याट बनाएँ। अरू साथीहरू पनि खेल्थे, तर मलाई चाहिँ क्रिकेटको भूत अलिक बढि चढिसकेको थियो,” उनी भन्छन्। 

तीन दिदी, दुई दाइ र एक भाइ भएको परिवारमा बल र ब्याट किन्न सक्ने सामर्थ्य थिएन। त्यसैले उनी पत्रिकालाई डल्लो बनाएर पानीमा भिजाएर बलको आकार दिन्थे। त्यही आकारलाई कपडामा राखेर बल बनाउँथे। 

पछि घर छेवैमा रहेको शान्ति निकुञ्ज र टुँडिखेल गएर क्रिकेट खेल्न थाले। शुक्रबार र शनिबार टोलकै दाइहरूसँग खेल्दाखेल्दै रसिल श्रेष्ठले उनको प्रतिभा देखे। उनले स्थानीय जेबी क्लबमा क्रिकेट खेल्न बोलाए।

ज्ञानेन्द्रले यंगाल क्रिकेट क्लबबाट पनि खेले। त्यहाँ क्रिकेट खेल्दा विनोद राजभण्डारीले उनलाई यू–१५ को क्लब छनोटमा सहभागी गराए। हुन त उनी १५ वर्षभन्दा कम उमेरमै यू–१७ क्याम्पमा छनोट भएका थिए। तर खेल्न पाएनन्। 

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २००५ मा एसीसी यू–१५ का लागि ३३ जनालाई क्लोज क्यापमा बोलाउँदा ज्ञानेन्द्र पनि परेका थिए। पछि शशी केशरी टोलीको कप्तान र ज्ञानेन्द्र उपकप्तान भए। त्यो टोलीले यूएईमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै उपाधि नै जित्यो। यही वर्ष ज्ञानेन्द्र सम्मिलित टोलीले मलेसियालाई ७ विकेटले पराजित गर्दै एसीसी यू–१९ को उपाधि पनि जित्यो।

यी दुई प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा उनलाई सोही वर्ष कीर्तिपुरमा आयोजना भएको मलेसियासँगको तीन दिवसीय खेलका लागि सिनियर टोलीमा बोलाइयो। अभ्यासको दोस्रो खेलमा उनले शतक प्रहार गर्दै आफ्नो खुबी देखाए। तर शक्ति गौचन, परेश लोहनी, पारस खड्का, शरद भेषवाकर, महबुब आलम, राजु बस्नेतजस्ता अनुभवी खेलाडीले भरिएको टोलीमा मुख्य प्रशिक्षक रोय डायसले ज्ञानेन्द्रलाई डेब्यू गराएनन्। उनले एक वर्षपछि सन् २००६ मार्च २३ देखि २६ सम्म नामिबियामा भएको इन्टरकन्टिनेन्टल कप क्वालिफायरमा घरेलु टोलीविरुद्ध डेब्यू गरेका हुन्। तर, डेब्यू खेलमा उनले राम्रो प्रदर्शन गर्न सकेन।

पहिलो इनिङ्समा उनले ३० बलमा ७ रन बनाए। दोस्रो इनिङ्समा भने अविजित रहँदै २५ बलमा १६ रन बनाए। यही खेलमा कप्तान विनोद दासले उनलाई एक ओभर बलिङ गर्न लगाएका थिए। दायाँ र बायाँ दुवै हातले बलिङ गर्न सक्ने खुबी भएको उनले आफ्नो एक ओभरमा मात्रै तीन रन खर्चिए। ज्ञानेन्द्र भन्छन्, “मैले पहिला टोलतिरकै मनिष दाइले ब्याटिङ गर्दा दुवै हातले बल फ्याँक्ने गरेको थिएँ। राष्ट्रिय टोलीमा पर्दा पनि कहिलेकाहीँ अभ्यास गर्थें। नामिबियाका ब्याटरको दिमाग भुट्ने भनेर विनोद दाइले मलाई बलिङ गर्न लगाउनुभयो। मैले तीन बल दायाँ हातले फालेँ। पछिल्लो तीन बल बायाँ हातले फाल्न अम्पायरलाई कल गरेँ। अम्पायर त अलमलिए।” उक्त खेल ड्र भयो। नामिबियाले इन्टरकन्टिनेन्टल कप खेल्यो भने नेपाल बाहिरियो। त्यसलगत्तै अगस्ट १४ देखि २६ सम्म मलेसियामा आयोजना भएको एसीसी ट्रफीमा कुबेतविरुद्धको समूह चरणको शुरूआती खेलमै उनले मौका पाए।

उक्त खेलमा उनले १०८ बलमा ७९ रन प्रहार गर्दै म्यान अफ दी म्याच पाए। भुटानविरुद्धको दोस्रो खेलमा पनि उनले खुलेरै खेले। नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाउँदा ओपनिङमा उत्रिएर उनले ८१ बलमा ५२ रन बनाए। त्यस्तै क्वार्टरफाइनलमा बहराइनविरुद्ध उनले ९० बलमा ५७ रन बनाउँदै प्रतियोगितामा तेस्रो अर्धशतक प्रहार गरे। “रोय सर हुनुहुन्थ्यो त्यतिखेर। उहाँकै अन्डरमा खेल्ने मौका पाएँ। तीन अर्धशतक प्रहार गरेपछि टोलीमा पर्न गाह्रो भएन,” उनी भन्छन्। यद्यपि, नेपाल सेमिफाइनमा यूएईविरुद्ध ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

उतारचढावपूर्ण यात्रा
सन् २००९ मा पारस खड्का टोलीको कप्तान नियुक्त भए। पारसको विश्वासिला पात्र मानिने उनी उपकप्तान भए। उपकप्तान हुँदासम्म टोलीका भरपर्दा खेलाडी भएर उदाइसकेका थिए। उनको सबैभन्दा बलियो पक्ष भनेकै ‘टेक्निक’ हो। 'स्ट्रेट' र 'कभर ड्राइभ' मात्रै हैन, उनी 'रन बिटविन द विकेट'का लागि पनि चर्चित थिए। 

नेपाली टोलीले डिभिजन-५ देखि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को मान्यता पाउँदा र नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा पहिलोपटक टी–२० विश्वकप खेल्दा पारस कप्तान र ज्ञानेन्द्र उपकप्तान थिए। नेपालले खेलेको नेदरल्यान्ड्सविरुद्धको पहिलो ओडीआईमा पनि पारस कप्तान र ज्ञानेन्द्र उपकप्तान थिए। त्यो खेलमा ज्ञानेन्द्रले अर्धशतक प्रहार गरेर इतिहास रचे। पारस र ज्ञानेन्द्रले नै लामो समय नेपालको ब्याटिङ धानेका थिए। ब्याटिङ लाइनमा उनीहरू नै 'स्थायी' खेलाडी थिए।

एक दशकसम्म उपकप्तानको जिम्मेवारीमा सम्हालेका ज्ञानेन्द्र २०७७ कात्तिक १३ गते कप्तानमा बढुवा भए। पारसले कप्तानबाट राजीनामा दिएको करिब तीन महिनापछि ज्ञानेन्द्र कप्तान भएका थिए। क्यानमाथिको निलम्बन फुकुवा भएको २४ घन्टा नबित्दै दुई वर्षअघि साउन १९ गते पारसले कप्तान छाडेको घोषणा गरेका थिए।

तर ज्ञानेन्द्रले लामो समय टिमको कप्तानी गर्न पाएनन्। खेलाडी वर्गीकरणको विवादले गर्दा ज्ञानेन्द्र पहिलोपटक करिब पाँच महिना मैदान बाहिर बस्नु परेको थियो। सन् २०२१ मार्च २१ मा विश्वकप क्रिकेट लिग–२ खेल्न यूएई जानुअघि खेलाडीको सेवा सुविधाको विषयमा सञ्चारमाध्यममा बोलेपछि क्यानले उनको कप्तानी पद खोस्यो। त्यतिखेर नयाँ खेलाडीलाई क्यानविरुद्ध उक्साएको, टिमभित्र गुट जन्माएको र क्यानको अस्तित्व नै धरापमा पार्नेगरी चलखेल गर्न खोजेको आरोप उनीमाथि लगाइएको थियो।

ज्ञानेन्द्रलाई साथ दिएको भन्दै दीपेन्द्रसिंह ऐरीको उपकप्तानी पनि खोसियो। यता, कमलसिंह ऐरी र सोमपाल कामीसँग केन्द्रीय सम्झौता नै रद्द गरेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पत्र लेखी प्रतिबन्ध लगाउनेसम्मको धम्की क्यान पदाधिकारीले दिए। त्यसपछि बोलाइएको बन्द प्रशिक्षणमा ज्ञानेन्द्रसहित १४ खेलाडी नजाँदा क्यान पछि हट्यो। तर २०७८ मंसिरमा उनको कप्तानी खोसेर सन्दीप लामिछानेलाई सुम्पिइयो।

लिग–२ अन्तर्गत घरेलु टोली यूएईविरुद्ध खेलेयता ज्ञानेन्द्र लामो समय राष्ट्रिय टोलीमा पर्न सकेनन्। स्वदेश फर्किएलगत्तै नेपालले पपुवा न्यू गिनीसँग दुई ओडीआई श्रृंखला तथा पपुवा न्यू गिनी र मलेसियासम्मिलित टी–२० आई श्रृंखला खेल्यो। त्यसका लागि क्यानले दुई फरक टोली घोषणा गर्‍यो।

एक दिवसीय टोलीमा देव खनाल, गुल्सन झा र भीम सार्कीजस्ता नयाँ खेलाडीले मौका पाए। यता, विवेक यादव, दिलिप नाथ, लोकेश बम र आदिल अन्सारी टी–२० टोलीमा परे। तर ज्ञानेन्द्र मल्लको नाम अटेन।

त्यतिबेला सबैलाई लागेको थियो– यूएई भ्रमण सकेर आएपछि बेन्च बलियो बनाउन र नयाँ खेलाडीलाई मौका दिन ज्ञानेन्द्रलाई आराम दिइएको हो। प्रशिक्षक पुबुदु दासानायकेले पनि त्यस्तै छनक दिएका थिए। उनले बारम्बार सञ्चारमाध्यमहरूसँग नयाँ खेलाडीलाई परिपक्व बनाउन र सिनियर खेलाडीलाई अर्को महत्त्वपूर्ण खेलको लागि तयार राख्न ज्ञानेन्द्रलाई बाहिर राखिएको बताउँथे। तर दासानायके हुँदासम्म उनले टोलीमा पुनरागमन गर्न सकेनन्। 

अन्तत: भारतीय प्रशिक्षक मनोज प्रभाकरले नेपाली टोली सम्हालेपछि केन्याविरुद्धको टी–२० आई र एक दिवसीय सिरिजमा ज्ञानेन्द्रले पुनरागमन गरे। तर उनले गतिलो प्रदर्शन गर्न सकेनन्। सन् २०२२ अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म भएको टी–२० आईमा एक अर्धशतकसहित १३५ रन बनाए भने एक दिवसीय टोलीमा पर्नै सकेनन्। त्यसयता उनले लिग–२ का १६ खेल र एक दिवसीय विश्वकप छनोटका दुई खेल खेले। ती सबैमा उनले ३ अर्धशतकसहित ४७७ रन प्रहार गरे। 

कुल ३७ ओडीआई खेलेका उनले सात अर्धशतक प्रहार गरेका छन्। ओडीआईमा सर्वाधिक रन बनाउने सूचीमा उनी रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेखपछि चौथो नम्बरमा छन्। यस्तै, उनले ४५ टी–२०आईमा एक शतक र दुई अर्धशतकसहित ८८३ रन प्रहार गरेका छन्। उनी टी–२० आईमा सर्वाधिक रन प्रहार गर्ने सूचीमा दीपेन्द्रसिंह ऐरीपछि दोस्रो स्थानमा छन्।