Saturday, May 11, 2024

-->

१०० किलो सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन लेखा समितिको ध्यानाकर्षण

लेखा समितिको आइतबारको बैठकले सुन तस्करी प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

१०० किलो सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन लेखा समितिको ध्यानाकर्षण
फाइल तस्वीर

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैध रूपमा भित्रिएको ठूलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखा समितिले संसद्को ध्यानाकर्षण गराउने भएको छ।

लेखा समितिको आइतबारको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

“यो विषय संसद्मा चलिरहेकाले समितिले निर्देशन दिन मिल्दैन। तर उच्चस्तरीय समिति बनाएर गम्भीर रूपमा छानबिनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ”, ज्येष्ठ सदस्यका रूपमा समितिको सभापति रहेका अर्जुननरसिंह केसीले आइतबारको बैठकको निर्णय सुनाउँदै भने।

लेखा समितिको बैठकमा अवैध सुन प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनका लागि सांसदहरूले माग गरेका थिए। त्यस्तै, बैठकले ‘सार्वजनिक लेखा समिति सञ्चालन कार्यविधि, २०८०’ पारित गरेको छ।

 सिँचाइ अभावका कारण अझै पूर्ण रूपमा रोपाइँ हुन नसकेका र तराईका जिल्लामा देखिएको खानेपानी अभावबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ।

समितिका सदस्यहरूले तराईका जिल्लामा खानेपानीको समस्या रहेको विषय उठाएपछि यो विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको हो।


सम्बन्धित सामग्री