Thursday, May 09, 2024

-->

यू-१६ लिग: जन्मदर्ता दुरुस्त तर एमआरआईमा बढी उमेर, खेल्न दिनुपर्ने एनआरटीको अडानले विवाद

आर्मीको 'प्रोटेस्ट'पछि एमआरआई जाँच गर्दा उमेर बढी देखिएका एक खेलाडी खेलाउन पाउनु पर्ने अडान राखेर लिग नै बहिस्कार गर्ने एनआरटीको निर्णयले त्यस क्लबमा आबद्ध २८ खेलाडी खेल्नबाट वञ्चित भएका छन्।

यू-१६ लिग जन्मदर्ता दुरुस्त तर एमआरआईमा बढी उमेर खेल्न दिनुपर्ने एनआरटीको अडानले विवाद

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरिरहेको यू–१६ लिग यू–१८, १९, २०, २३ र सिनियर टोलीमा पुग्ने खुड्किलो पनि हो। यू-१६ लिग हुँदै फुटबलमा 'करिअर' बनाउने सपना बुनेर २८ खेलाडी न्यूरोड टिम (एनआरटी)मा आबद्द भएका थिए। तर एन्फा र एनआरटीबीच एक खेलाडीको उमेर विवादले २८ खेलाडीको लिग खेल्ने सपना संकटमा परेको छ।

यू–१६ लिग फुटबल खेल्ने प्राय: खेलाडीले घर र पढाइ छाडेका छन्। “करिब ६ महिना चल्ने लिगले गर्दा पढाइ बिग्रिन्छ भन्ने थाहा छ। तर करिअर र आर्थिक अवस्था सुध्रिन्छ भनेर आएको हुँ। विवादले गर्दा एक खेल पनि खेल्न पाइएको छैन। अब के हुन्छ थाहा छैन,” एक खेलाडीले भने।

असार २८ गतेदेखि शुरू भएको लिगको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दीलाई २–१ गोलअन्तरले पराजित गर्दै नेपाल पुलिसले विजयी शुरूआत गर्‍यो। अर्को दिन पाँच टोली मैदान उत्रिँदा एनआरटीले त्रिभुवन आर्मी प्रतिद्वन्द्वी पायो। भक्तपुरस्थित सल्लाघारीमा भएको खेलमा सुरेश गुम्बाको ५ गोलसँगै एनआरटी ५–१ गोलअन्तरले विजयी भयो।

तर एनआरटीले मनाएको त्यो खुशी दुई घन्टा पनि टिकेन। बेन्चमा रहेका एक खेलाडी १६ वर्षभन्दा माथिका भएको भन्दै आर्मीले 'प्रोटेस्ट' हाल्यो। एन्फाले बनाएको नियमममा प्रतियोगितामा सहभागी खेलाडीको उमेरमा कसैलाई शंका लागे खेलको दुई घन्टाभित्र 'म्याच कमिस्नर'लाई लिखित रूपमा उजुरी गर्नसक्ने प्रावधान छ। उजुरी प्राप्त भएपछि खेल समाप्त भएको १२ घन्टाभित्र ती खेलाडीको कागजात आयोजकलाई बुझाउनुपर्छ। 

रिपोर्ट गरिएका ती खेलाडीको एमआरआई गर्दा दाबी सही भए एनआरटी र गलत भए आर्मीले एमआरआईको सम्पूर्ण खर्च तिर्नुपर्छ। रिपोर्ट सही आए बाँकी खेलमा ती खेलाडी बाहिर राख्नुपर्छ। साथै, नतिजा ३–० गोलअन्तरले उल्टाएर विपक्षी टोलीलाई तीन अंक प्रदान गर्नुपर्छ। 

लिग शुरू हुँदा नै एनआरटीले सबै खेलाडीको एमआरआई गर्दा बढी खर्चिलो हुने बताएको थियो। त्यसैले लिगमा बढी उमेरको खेलाडीमाथि उजुरी परे क्लबले नै एमआरआई परीक्षण गर्ने तथा सही भएमा उसैले र गलत भए उजुरी हाल्नेले खर्च बेहोर्नुपर्ने अवधारण एनआरटीले अगाडि सारेको थियो। यसमा लिगका १० टोलीले नै सहमति जनाएका थिए।

एमआरआईपछि सरकारी कागजलाई मान्यताको माग
एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीका अनुसार एन्फाले गराएको एमआरआई रिपोर्टमा ती खेलाडीको उमेर १६ वर्षभन्दा माथि देखिएको छ। एन्फाले उक्त खेलमा आर्मीलाई विजयी बनाएको छ। तर एनआरटीले भने सरकारी कागजात अनुसार प्रमाणित उमेर मान्नुपर्ने भन्दै आफ्नो मागको सुनुवाइ नभएसम्म लिग नै नखेल्ने घोषणा गरेको छ।

अध्यक्ष जोशी भन्छन्, “हाम्रो मागको कुनै सुनुवाइ नै भएन। यसले क्लबको अस्तित्व र बच्चाको करिअरमा ठूलो आघात पुग्यो। बाध्य भएर हामीले सुनुवाइ नभएसम्म लिग नखेल्ने घोषणा गरेका हौँ।”

एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको योजनामा यू-१६ प्रतियोगिता शुरू भएको हो। उनको प्रस्तावमा तीन विभागीयसहित संकटा र एनआरटीले तत्कालै सहमति जनाएका थिए। त्यसपछि एनआरटीले कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलसँग सहकार्य गर्दै एकेडेमी निर्माण गर्‍यो। यता, संकटाले नेक्सस स्कुलसँग सहकार्य गरेर एकेडेमी बनायो। यी एकेडेमीमा यू–१३ खेलाडी आबद्द भए। 

यी टोलीले मैत्रीपूर्णलगायत अन्य प्रतियोगिता खेल्दै आएका थिए। तर लिग भने खेल्न पाएका थिएनन्। यतिकैमा एन्फाको नेतृत्व फेरियो र नयाँ नेतृत्वले शेर्पाकै योजनालाई अगाडि सारेर यू–१६ लिग आयोजना गर्ने तयारी गर्‍यो। एनआरटीले पनि लिगका लागि बेन्च बलियो बनाउन एक महिनाअगाडि मात्रै खुल्ला छनोटमार्फत् खेलाडी छनोट गरेको थियो।

एनआरटीको आफ्नै एकेडेमी भए पनि २४ खेलाडी खुल्ला छनोटमार्फत भित्र्याएको हो। क्लबमा चार जना मात्रै एकेडेमीका खेलाडी छन्। अध्यक्ष जोशीका अनुसार अहिले प्रोटेस्ट हालिएका खेलाडीलाई जन्मदर्ताको आधारमा छनोट गरिएको हो। उनले झापाको बाह्रदर्शी गाउँपालिकाबाट २०७८ सालमा जन्मदर्ता लिएका थिए। उनको जन्मदर्तामा जन्ममिति २०६४ फागुन १६ गते उल्लेख छ।

विगतमा दुई वटा नागरिकता लिएर र उमेर ढाँटेर खेलेको नजिर भएको कारण आफ्ना खेलाडीले पनि खेल्न पाउनुपर्ने जोशीको भनाइ छ। “ठूलाठूला व्यक्तिले पनि दुई वटा सिटिजनसिप लिएर केके गरेको जाहेर छ। त्यसैले यसमाथि पनि छानबिन हुनुपर्‍यो, दुधको दुध पानीको पानी छुटाइदिन पर्‍यो। डाक्टरको रिपोर्टलाई नै आधार बनाएर एन्फाले कारबाही गर्न हुँदैन भन्ने हाम्रो माग हो,” उनी भन्छन्।

यू–१६ को नियमावलीअनुसार प्रतियोगितामा भाग लिने क्लबले फुटबलको सर्वोच्च निकाय फिफा र एशियन फुटबल कन्फेडेरेसन (एएफसी)को नियम मान्नुपर्छ। फिफा र एएफसीको नियमअनुसार प्रोटेस्ट लागेर जिते ३ अंक अर्को टोलीलाई जान्छ। 

तर सरकारी कागजातलाई मान्यता दिनुपर्ने एनआरटीको माग छ। “मेडिकल्ली डाक्टरहरूले १०० प्रतिशत दिन सक्नुभएन। १०० प्रतिशत सही रिपोर्ट आएको भए मान्थ्यौँ। तर त्यस्तो भएन। यो घटनाले खेलाडीको माइन्ड डिस्ट्रयाक छ,” उनी भन्छन्।

लिगको दोस्रो चरण शुरू हुँदैगर्दा एनआरटीले आफूमाथि अन्याय गरेको भन्दै बहिस्कारको घोषणा गरेको थियो। लिगको दोस्रो चरणमा एनआरटी नआएपछि एफसी खुमलटार स्वत: ३-० गोलअन्तरले विजयी भयो। एनआरटीसँगै फ्रेन्ड्स र मनाङ मर्स्याङ्दीले पनि दोस्रो चरणका खेल खेलेनन्। यद्यपि, फ्रेन्ड्स र मनाङका खेलाडीविरुद्ध प्रोटेस्ट परेको थिएन। अहिले फ्रेन्ड्स र मनाङ खेल्न राजी भएका छन्। तर एनआरटी भने अपिल कमिटीको निर्णय कुरेर बसेको छ।

एक जनाका कारण सबैलाई खेल्न नदिइएको खेलाडीको गुनासो
पहिलो चरणको खेल सकिएसँगै उत्पन्न विवादपछि एनआरटीले प्रशिक्षण नै रोकेको छ। कीर्तिपुरस्थित त्रिवि हाताभित्र रहेको ल्याब्रोटरी स्कुलको मैदानमा उनीहरूले प्रशिक्षण गर्दै आएका थिए। तर लिगका बाँकी खेल खेल्ने या नखेल्ने टुङ्गो नलाग्दा आफूहरूले दुई हप्तादेखि प्रशिक्षण गर्न नपाएको एक खेलाडीले गुनासो गरे।

“लिग हुने भन्ने थाहा भएपछि उत्साहित बनेका थियौँ। छनोट पनि खेलेर आइयो। पहिलो खेल खेल्न त पाएँ, अब अन्य खेल खेल्न पाउँछु कि पाउँदिन थाहा छैन,” ती खेलाडी भन्छन्, “क्लबका प्रतिनिधिले प्रोटेस्टको सुनुवाइ नभएसम्म लिग खेल्दैनौँ भन्नुभएको छ। शनिबार गेम छ, बिहीबारसम्म पनि हामीलाई प्रशिक्षणमा बोलाइएन।”

एन्फाको नियमावली अनुसार प्रोटेस्ट लागेका खेलाडीलाई बाहिर राखेर क्लबले लिग खेल्न पाउँछ। २८ खेलाडी अनुबन्ध एनआरटीबाट एक खेलाडी बाहिरिए पनि बेन्चमा कुनै असर पर्दैन। एन्फाले ती खेलाडीलाई पनि कुनै कारबाही गरेको छैन। उनी अन्य उमेर समूहको प्रतियोगिता र राष्ट्रिय टोलीबाट समेत खेल्न पाउँछन्। तर एनआरटीले प्रोटेस्ट लागेका खेलाडीको करिअर बर्वाद हुने तर्क गरेर मैदान उतार्न पाउनुपर्ने अड्डी लिएको छ। 

यही अड्डी र एक खेलाडीको उमेरका कारण आफूहरूको खेल्न पाउनुपर्ने अधिकार खोसिएको ती खेलाडी बताउँछन्। “हामीलाई क्लबले खेलाउन ल्याएको हो, हामी खेल्न आएका हौँ। खेलाउन ल्याएपछि त खेलाउनुपर्‍यो नि। एक खेलाडीको कारण सबैलाई बाहिर राखेर लिग नै खेल्दैनौँ भन्नु त हाम्रो खेल्न पाउने अधिकार खोसिएको होइन र? अब हामी कुन मुखले घर फर्किनु?” ती खेलाडी भन्छन्।

खेलाडी संघका अध्यक्ष विक्रम लामा लिगमा चार क्लबले सहभागिता नजनाउँदा खेलाडीले कम अवसर पाएको बताउँछन्। लिग खेल्न थालिसकेपछि क्लब पछि हट्दा सबै खेलाडीको मानिसकतामा असर पर्ने उनको भनाइ छ। 

“१४ वटै क्लबले सहभागिता जनाउनुपर्ने हो। तर १० वटाले मात्रै सहभागिता जनायो। यस्तो अवस्थामा लिग रोकिए या कसैले नखेले कलिला खेलाडीको मानसिक स्वास्थ्यमा असर पर्छ। यसमा सबैले ध्यान दिनुपर्छ,” उनी भन्छन्।

जति क्लब खेल्छन्, त्यतिमै लिग गराउछौँ : प्रवक्ता शाह
एन्फा अध्यक्ष सुरेश शाह नयाँ खेलाडी उत्पादन गर्न यू–१६ प्रतियोगिता आयोजनक गरेको र यसले भविष्यमा राष्ट्रिय टोली तथा क्लबलाई नै बलियो बनाउने बताउँछन्। आउने दिनमा प्रोटेस्ट गरिएका खेलाडीले अन्य प्रतियोगिता खेल्न पाउने उनको भनाइ छ। यू–१६ लिग यू–१८, १९, २० र २३ सम्मको टोली छनोटको माध्यम भएको कारण उमेर तोकिएको लिगमा त्योभन्दा माथिका खेलाडी खेलाउन नमिल्ने उनी बताउँछन्। 

“यू–१६ को लिगमा एक सिनिअर खेलाडीले यसमा पसेर अवसर लिन्छ भने अन्य खेलाडीको अवसर खोसेका होइनन् त? उसँग क्षमता छ भने योभन्दा माथिको लिग खेले भइहाल्यो त? हामीले रोकेका छैनौँ,” उनी भन्छन्। 

विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्दै आएको नेपाली फुटबल टोलीको अन्तर्राष्ट्रिय छवि धुमिल छ। २०५८ सालमा भियतनाममा भएको यू–१६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी खेलाएको भन्दै नेपाललाई दुई वर्षको प्रतिबन्ध लगाइएको थियो। यस्तै, थाइल्यान्डमा २०७१ सालमा भएको एएफसी यू–१६ च्याम्पियनसिपमा पनि नेपालले बढी उमेर समूहको खेलाडी खेलाएको भन्दै दुई हजार डलर जरिबाना तिराइएको थियो।

पछिल्लोपटक २०७२ सालमा किर्गिस्तानमा भएको एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपालले दुई खेलमा जित र एकमा हार बेहोर्दै समूह उपविजेता बनेर दोस्रो चरणमा पुग्न सफल भयो। तर १६ वर्षभन्दा बढी उमेर भएको खेलाडी मैदानमा उतारेको भन्दै एएफसीले कारबाही गर्दा नेपाल समूह चरणबाटै बाहिरियो।

किर्गिस्तानमा खेलिएको तीन वटै खेलमा नेपालको टोलीमा १६ वर्षमाथिका खेलाडी भएको एएफसीको ठहर थियो। नेपालले जितेका र हारेका सबै खेलमा ३–० गोलअन्तरको हारका साथै प्रत्येक खेलमा १५ सय डलर जरिबाना तिराइयो। 

तत्कालीन यू–१६ टोलीका व्यवस्थापक मधुसुधन उपाध्यायका अनुसार प्रतियोगिताको पहिलो खेलपछि गोलरक्षक अर्पण कार्की र कप्तान मनीष कार्कीलाई एमआरआई टेस्टको लागि बोलाइएको थियो। अन्तिम खेलमा रेजिन सुब्बाको पनि टेस्ट भयो। रेजिन केही महिनाअघि मात्र यू–१४ टोलीसँग ताजिकिस्तानमा सम्पन्न ‘फुटबल फेस्टिभल’मा खेलेर आएका थिए। मनीष र अर्पण भने विगत केही सालदेखि एन्फा एकेडेमीमै प्रशिक्षणरत थिए। उनीहरूको उमेर बढी देखियो।  

किर्गिस्तान जानुअघि नौ खेलाडीको एमआरआई भएको थियो। उनीहरू डाक्टरको सल्लाह अनुसार नै प्रस्थान गरेका थिए। त्यो बेला जन्मदर्तालाई आधार मानेर एन्फाले एकेडेमी र टोलीमा खेलाडी दर्ता गरेको थियो। त्यसैले यस्ता घटना आगामी दिनमा नदोहोरिउन भनेर आफूहरू सजग भएको प्रवक्ता शाह तर्क गर्छन्। 

यसरी रोक्दा रोक्दै पनि क्लबहरूले जबरजस्ती गर्ने र लिग नखेल्ने घोषणा गरे एन्फा कारबाही गर्न बाध्य हुने उनी बताउँछन्। “नियम उल्लंघन गराएर लिग खेल्न पाउनुपर्छ भनेर कसैले भन्यो भने कसरी मान्नु? उनीहरू खेल्दैनन् भने पनि ठीक छ। हामीले ६ महिनाको लागि लिग शुरू गरिसकेका छौँ। बीचमा कसैले खेल्दैन भने उनीहरूले खेलाडीको खेल्न पाउनुपर्ने अधिकार खोसेको हो भनेर बुझ्छौँ,” उनी भन्छन्।


सम्बन्धित सामग्री