Monday, April 29, 2024

-->

रुसी सेनामा भर्ती भएका नेपाली युवा सम्पर्कविहीन, उद्धारको याचना गर्दै परिवार

अध्ययन भिसामा रुस गएका गोरखाका २३ वर्षीय रजिन परिवारलाई थाहै नदिई रुसी सेनामा भर्ती भएका थिए। तालिम पूरा नहुँदै युद्धग्रस्त क्षेत्रमा खटाइएको बताएका उनी अहिले सम्पर्कविहीन छन्।

रुसी सेनामा भर्ती भएका नेपाली युवा सम्पर्कविहीन उद्धारको याचना गर्दै परिवार 

काठमाडौँ– गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ८ का रोलकबहादुर श्रेष्ठले जीवनको ऊर्जाशील समय नेपाली सेनामा खर्चिए। युद्ध लड्न तयार भएरै सेनामा भर्ना भएका उनी त्यसबेला युद्धरत माओवादीले परिवारलाई एकपछि अर्को यातना दिन थालेपछि जागिर छाडेर परिवार बचाउने निधोमा पुगेका थिए। 

नेपाली सेनामा पूरै अवधि जागिर खान नपाएका उनी जेठो छोरा रजिनलाई नेपाली सेनामै पठाउन चाहन्थे। तर रजिनको नेपाली सेनामा भर्ती हुने मन थिएन। उनले भारतीय सेनामा भर्ती हुने सपना बुनेका थिए। तर पटक–पटक प्रयत्न गर्दा पनि भारतीय सेनामा भर्ती हुने उनको सपना पूरा भएन। त्यसपछि बेलायती सेनामा भर्ना हुने प्रयास गरेका रजिनले त्यसमा पनि सफल नभएपछि फ्रेन्च आर्मीमा छिर्न संघर्ष गरेका थिए। तर त्यसमा पनि उनलाई सफलता मिलेन। 

त्यसपछि रजिनले रुस जाने र त्यहाँको सेनामा भर्ना हुने योजना बनाए। तर सिधै रुसी सेनामा भर्ती हुने कुरा गरे परिवारको सहमति नमिल्ने बुझेरै उनले विद्यार्थी भिसामा पढ्न जाने भन्दै परिवारलाई सहमत गराएका थिए। साथीहरूले पनि यसैगरी परिवारलाई मनाएको उनले देखेका थिए। रुसमा पढ्न जाने भनेपछि रजिनले परिवारबाट अनुमति पाए। 

“छोराले पढ्न जाने भनेकाले हामीलाई ठिकै लाग्यो। तर उसको योजना त त्यहाँको सेनामा भर्ती हुने रहेछ,” शुक्रबार उकालोको सम्पर्कमा आएका बुवा रोलकबहादुरले भने।   

कक्षा १२ उत्तीर्ण गरेपछि २०७९ कात्तिक २२ गते रजिन विद्यार्थी भिसामा रुस गएका थिए। त्यतिबेला उनी २३ वर्षका थिए। जानुअघि नेपालको कन्सल्टेन्सीबाटै रुसको कुनै कलेजमा भर्ना भएको उनले बुवालाई सुनाएका थिए। छोराका लागि कलेजमा तिर्नुपर्ने वार्षिक शुल्कसमेत आफूले एकैपटक नेपालबाट पठाएको रोलकबहादुर बताउँछन्। 

रजिनले रुस पुगेपछि रसियन भाषा सिकेका थिए। भाषा सिक्दासम्म गोरखामा परिवार ढुक्क थियो। तर भाषा सिकिसकेपछि अन्य नेपाली युवाको सल्लाहमा उनले पनि रुसी फौज (बुवाका अनुसार रजिन त्यहाँको सैन्य समूह भाग्नार ग्रुप) मा भर्ती हुन फारम भरे। 

यो समूहले रुसमा भाडाका सैनिक उपलब्ध गराउँछ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो समूहसँग २५ हजार सैनिक छन्। सेनामा भर्ती हुन फारम भरेको कुरा भने उनले परिवारलाई जानकारी नदिएको रोलकबहादुरले बताए। नाम निस्केपछि रजिनले सबैभन्दा पहिले हजुरआमालाई यसबारे सुनाएका थिए। त्यसपछि उनले बुवा रोलकबहादुरलाई पनि आफू रुसी सेनामा भर्ना भएको खबर सुनाए। 

“नेपाली सेनामा जाने मन भएन, मलाई भारतीय सेना, बेलायती सेना पनि जुरेको रहेनछ। चिन्ता नगर्नुस्, अब म रसियाको लाहुरे भएँ,” रोलकले छोराले भनेको सुनाए। 

“उसको कुरा सुनेर एकछिन त म अवाक् भएँ। छोरा खुशी थियो, तर म खुशी थिइनँ। युद्धग्रस्त मुलुकमा छोरा आर्मी बन्योभन्दा निकै दुःख लाग्यो। हुन त म आफैँ पनि नेपाली सेनामा हुँदा द्वन्द्वमा परेर बाँचेको थिएँ। तर, रुसको भन्दा नेपालको परिस्थिति फरक थियो,” रोलकबहादुर भन्छन्। 

रुसी सेनामा भर्ना हुने छोराको निर्णयबाट परिवारका कोही पनि खुशी नभएको रोलकबहादुरले सुनाए। तत्काल सेनाको जागिर छोड्न उनले छोरालाई आग्रह गरे। तर रजिनले आफूजस्तै ७० भन्दा धेरै नेपाली युवा भर्ना भएको भन्दै चिन्ता नगर्न भनेका थिए। 

रुसी सेनामा भर्ना भएपछि एक वर्षसम्म जागिर छोड्न नपाउने, छाडेमा जेल जाने कानूनी व्यवस्था रहेको थाहा पाएपछि आफूले त्यस्तो सम्झौता–पत्रमा हस्ताक्षर नगर्न सम्झाएको, तर छोराले नमानेको रोलकबहादुर बताउँछन्। 

त्यसपछि ३ महिनाको तालिम हुने र सीमाक्षेत्रमा जानुपर्ने, तर युक्रेन युद्धमा भने जानुनपर्ने बताएको रोलकबहादुरको भनाइ छ। 

तालिम चल्दासम्म उनले घरमा सम्पर्क गरिरहन्थे। तर पछिल्लो चार हप्ता छोरा सम्पर्कमा नआएपछि उनले रुसी सेनामै भर्ना भएकी एक नेपाली महिलालाई सम्पर्क गरे। उनले रजिनको खबर बुझेर बताएपछि केही राहतको महसुस भयो। रोलकबहादुरका अनुसार तालिमका लागि निर्धारित समय सकिनुभन्दा पहिल्यै उनका छोरालाई युद्धमा खटाइएको रहेछ। पछि रजिनले नै आफूलाई दुई महिनामै युद्धमा पठाइएको खबर उनलाई सुनाए।

यो सुनेर रोलकबहादुरको बेचैनी बढेकै थियो, युद्धग्रस्त क्षेत्रमा खटाइएको बताएका छोरा सम्पर्कविहीन बनेपछि उनी भयभीत छन्। “अहिले छोरा नै सम्पर्कविहीन भएको छ, अवस्था बुझ्न नपाउँदा हामी चिन्तित छौँ,” उनले भने।

नेपाली युवा रुसी सेनामा भर्ना हुने अनुमति छैन। यसले रोलकबहादुरको चिन्ता थप बढाएको छ। सरकारले छोराको अवस्था पत्ता लगाएर उद्धारको पहल गरिदिन्छ कि भन्ने आशामा छन् उनी। 

किनभने छोरा सम्पर्कविहीन बनेपछि छोराकै केही साथी बम विस्फोटमा परेर घाइते भएको, तर उचित उपचार नपाएको खबर उनीसम्म आइपुगेको छ। 

“जानी नजानी छोरा रुसी सेनामा भर्ना हुन पुग्यो। अहिले उसको अवस्था के छ भन्ने पनि थाहा छैन। मेरो छोराजस्तै अरू नेपाली युवाको अवस्था पनि संकटमा होला। सरकारले तत्काल नेपालीको ज्यान बचाओस्,” उनले भने।

रुसी सेनामा गैरकानूनी रूपले भर्ना भएका नेपाली युवाको अवस्था कस्तो छ भन्नेबारे सरकार अनभिज्ञ छ। रुसमा पढ्न, तालिम लिन, कार्यक्रममा भाग लिन वा व्यक्तिगत भेटघाटका लागि जानलाई अनुमति भए पनि सेनामा भर्ना हुने अनुमति नभएकाले त्यसबारे यकिन जानकारी नभएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्। 

गत असार ३ गते प्रतिनिधिसभाको बैठकमा सांसद दुर्गा राईले रुसी सेनामा नेपालीहरू धमाधम भर्ना भइरहेको विषयमा सरकारको धारणा मागेकी थिइन्। “सामाजिक सञ्जाल र समाचारहरूबाट नेपाली युवा युक्रेनी र रुसी सेनामा भर्ती भएका समाचारहरू आइरहेका छन्। त्यो सत्य हो भने एकातिर नेपालले युक्रेनको पक्षमा मत दिने अर्कोतर्फ रुसी सेनामा नेपाली युवाहरू भाडाको सिपाहीको रूपमा काम गर्दा उनीहरूको अवस्था के हुन्छ? यसको वास्तविकता के हो, सरकारसँग जवाफ माग गर्दछु,” उनले भनेकी थिइन्।

सांसदहरूले यस विषयमा सरकारको ध्यानाकर्षण गराएपछि असार ११ गते प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले भनेका थिए, “केही सामाजिक सञ्जाल र अनलाइनमा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ। केही मित्रराष्ट्रसँग विगतमा गरेका समझदारीअनुरूप परम्परागत रूपमा त्यहाँको राष्ट्रिय सेनामा नेपालीहरू भर्ना हुँदै आएकोमा बाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको कुनै नीति नरहेको प्रष्ट पार्न चाहन्छु।” 

असार २५ गते प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पनि परराष्ट्रमन्त्री साउदले रुसी सेनामा नेपालीहरू भर्ती भएकोबारे सरकारलाई जानकारी नरहेको बताएका थिए। “यस सम्बन्धमा मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिएका छौँ। केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आए पनि यो ठेगानाको यो मान्छे, यसरी यो सेनामा भर्ना भएको छ भन्ने किसिमको कुनै तथ्य आइसकेको छैन। हामी अध्ययनकै चरणमा छौँ,” उनले भनेका थिए।


सम्बन्धित सामग्री