Sunday, May 05, 2024

-->

सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम मुछिनु गम्भीर: शंकर पोखरेल

राष्ट्रलाई नै लज्जित बनाउने सुन तस्करीका घटनामा संसद्‌को ध्यान जान जरुरी रहेको पोखरेलको भनाइ छ।

सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम मुछिनु गम्भीर शंकर पोखरेल 

काठमाडोँ– एमाले महासचिव शंकर पोखरेलले सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताको नामसमेत मुछिनुले स्थिति गम्भीर बनेको बताएका छन्। 

राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा संसद्‌को ध्यान जान जरुरी रहेको उनको भनाइ छ। 

“दिनहुँ सुन तस्करीका समाचार आइरहेका छन्। सुन तस्करीमा सडक मात्र होइन हवाई मार्गको समेत प्रयोग भइरहेको छ,” महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, “हिजो त विमानस्थलको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन समातिएको छ। यसमा जनप्रतिनिधिमूलक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रूपमा जान आवश्यक छ।” 

केही दिनअघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार बाहिरिएको थियो। उक्त प्रकरणमा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा मुछिएको बताइएको छ।

पोखरेलले अगाडि लेखेका छन्, “विमानस्थल जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासनसमेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो। त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नामसमेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ।” 

राजश्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट करिब एक क्विन्टल सुन बरामद गरेको थियो।


सम्बन्धित सामग्री