Thursday, May 09, 2024

-->

माइतीघरको त्रिपालभित्र न्याय खोज्ने कष्टका १ महिना: दिउँसो चर्को घाम र धुलो, राति खलखली पसिना

शुरूको तीन दिन उनीहरूले खुला आकाशमै रात बिताए। तर काठमाडौँमा वर्षात‍्को ठेगान नहुने बुझेपछि सडकछेउमै सानो अस्थायी टहरा बनाएका छन्, जहाँ ६ जनाले एउटा त्रिपालभित्र असिनपसिन हुँदै रात बिताउँछन्।

माइतीघरको त्रिपालभित्र न्याय खोज्ने कष्टका १ महिना दिउँसो चर्को घाम र धुलो राति खलखली पसिना
बास बस्ने त्रिपालको टहरा नजिक आरतीकी आमा निर्मलादेवी। तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ गत सातादेखिको तारन्तार झरीले आइतबार राति माइतीघरको सडक सुनसान थियो। विभिन्न मुद्दा/घटनामा सरकारको ध्यानाकर्षण गराइरहेका आन्दोलनकारीहरू झरी छल्न र रात काट्न आफूले तयार पारेको अस्थायी टहराभित्र पसिसकेका थिए। अधिकांश त्यही टहराभित्रको बिस्तरामा निदाइरहेका थिए।

यहाँ रात बिताउने आन्दोलनकारीका सबै टहरा एकआपसमा जोडिएका छन्। तर, सारा टहराबाट अलि पर एउटा सानो टहरो थियो, जसमा एकै परिवारका पाँच जना सुतिरहेका थिए। तिनैमध्येका विनोदप्रसाद साह निदाउन सकेका थिएनन्। उनी छोरी आरती साहको यादमा चिन्तित देखिन्थे। थप दाइजो नदिएको निहुँमा आरतीको हत्या भएको भन्दै उनीहरू स-परिवार न्यायका लागि जनकपुरबाट काठमाडौँ आएका हुन्।

“सुत्न खोज्दै थिएँ। तर, निन्द्रा आइरहेको छैन। छोराछोरी र श्रीमती निदाइरहेका छन्। न्यायको पर्खाइमा अझै कति दिन यसरी बस्नुपर्ने हो भनेर चिन्ता लागेको छ,” विनोद भन्छन्, “चर्को घाम, वर्षात् र बन्द त्रिपालभित्रको गर्मी खानु दैनिकी बनेको छ। यस्तो बसाइ कहिलेसम्म भन्ने प्रश्नले पिरोल्छ। बस्दाबस्दै अत्यास लाग्छ, तर छोरीको यादले सताइहाल्छ अनि पाउ यहीँ थामिन्छ।”

उनको परिवार यहाँ आएको एक महिना नाघिसकेको छ। विहे गरेर गएको घरमै जेठ ७ गते आरतीको रहस्यमय मृत्यु भएको थियो। सासूससुरा र श्रीमान् उनले झुण्डिएर आत्महत्या गरेको बताइरहेका छन् भने, माइती पक्षले उनको हत्या भएको दाबी गरेको छ।

त्रिपालको सानो टहराभित्र आरतीका बुवा विनोद र आमा निर्मलादेवी।

आरतीका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन, सासु रेनुदेवी र देवर रविसमेत चार जनामाथि माइती पक्षले किटानी जाहेरी दिएको थियो। शुरूमा जिल्ला प्रहरी कार्यालय धनुषाले लिन नमानेको जाहेरी दर्ता नभएसम्म आरतीको अन्त्येष्टि नगर्ने माइती पक्षको अडानपछि प्रहरीले उनको श्रीमान् र ससुराको नाममा मात्र जाहेरी दर्ता गरेको थियो। धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू दुवै अहिले पुर्पक्षका लागि थुनामा छन्।

माइतीघरमा बितेको कष्टपूर्ण महिना
काठमाडौँको माइतीघरमा बस्न थालेयताको एक महिनामा विनोदले एकपटक मात्र नुहाउन पाए। यस अवधिमा उनको परिवारका कसैले पनि तीनपटक भन्दा बढी नुहाउन पाएका छैनन्। आफूहरूलाई नुहाउनभन्दा पनि शौचालयको एकदमै समस्या भइरहेको विनोद बताउँछन्। उनीहरूले माइतीघरमै रहेको अन्नपूर्ण न्यूरो अस्पतालको शौचालय प्रयोग गर्दै आएका छन्। विनोदले एकपटक त्यही शौचालयमा नुहाएका थिए। तर पछि शौचालयको पानीले नुहाउन मनले नमानेपछि दोहोर्‍याएर नुहाएका छैनन्।

विनोद घरिघरि आफ्नो गाउँ सम्झन्छन्। गाउँमा आफूलाई खान, लगाउन कमी नभए पनि यहाँ आफूसँग केही नभएको कुराले उनलाई थप पीडाबोध हुन्छ। “गाउँमा म दश जनालाई हरेक दिन खाना खुवाउने हैसियत राख्थेँ। तर यहाँ आफैँ भिख मागेर खानुपरेको छ। यहाँ मेरो जिन्दगी कुनै भिखम‌ंगाको भन्दा फरक छैन,” विनोद भन्छन्, “मनकारीहरूले बिहानसाँझको खाना त ल्याइदिन्छन्  तर कति कुरा यस्ता हुन्छन् जो सडकमा वा अन्त पाइँदैन। त्यसको लागि आफ्नै घर चाहिन्छ, आफ्नै बिस्तरा चाहिन्छ।”

राति त्रिपालबाट निस्केर माइतीघरको सडकछेउमा आरतीलाई सम्झिँदै आमा निर्मलादेवी र बहिनी मनिषा। 

हामी विनोदसँग कुरा गर्दै थियौँ। त्यत्तिकैमा त्रिपालभित्रको गर्मीले छटपटाउँदै उनको सिंगो परिवारका सदस्यहरू ब्युँझिएर त्रिपालबाहिर निस्किन थाले। “एक महिनादेखिको बसाइ कष्टपूर्ण छ, तर हामी यसरी बस्दा मेरो दिदीलाई न्याय मिल्छ भने वर्षौँसम्म यसरी नै बस्न तयार छौँ,” आरतीका भाइ धिरज भन्छन्, “मेरा आमाबुबालाई गाह्रो भयो भने उहाँहरूलाई घर पठाउँछु तर मलाई यो कष्टले एक रत्तीभर फरक पर्दैन, म कुनै हालतमा यहाँबाट हल्लिनेवाला छैन।”

यो पनि- आरती साह मृत्यु प्रकरण: प्रहरीको अनुसन्धानमाथि शंका गर्दै काठमाडौँमा पीडित परिवारजनको धर्ना

बुबा विनोदतर्फ इसारा गर्दै उनले भने, “फिर्ता जान मन छ भने जाँदा हुन्छ। तपाईंहरू नलडेपनि म अन्तिम सास रहँदासम्म दिदीको लागि लड्छु।” आरती र धिरज जुम्ल्याहा जन्मिएका थिए।

आरतीकी आमा प्राय: अर्धबेहोसी अवस्थामा हुन्छिन्। उनीसँगै उनकी दिदी पनि माइतीघर आएकी छन्। धर्नामा बस्न पुरूषलाई भन्दा पनि महिलालाई समस्या भएको धिरजले बुझेका छन्। तर आरतीकी आमा निर्मलादेवी जति दु:ख भए पनि बसिरहन आफू तयार भएको बताउँछिन्। बितेको महिना दुईपटक उपवास बसेको उनले बताइन्। उपवासका बेला उनले अन्नपूर्ण अस्पतालकै शौचालयमा गएर नुहाइन्। “एक जोर सारीले नै महिना बित्यो। अब जति साल बस्नुपर्छ यही लुगामा बस्छु। त्यत्तिकै घर फर्किन मनले मान्दैन,” उनी भन्छिन्।

शुरूको तीन दिन त उनीहरूले खुला आकाशमै रात बिताएका थिए। तर काठमाडौँमा वर्षात‍्को ठेगान नहुने बुझेपछि सडकछेउमै सानो अस्थायी टहरा बनाएका छन् जहाँ त्रिपालभित्र असिनपसिन हुँदै उनीहरू रात बिताउँछन्। दिनभरि चर्को घाममा छाता ओढेर भुइँमा फिँजाइएका दुई ब्यानरअगाडि आरतीका निम्ति न्याय माग्दै धर्ना दिइरहन्छन्।

विनोदको चार सदस्यीय परिवारसँगै आरतीका ठूलीआमा र मामासमेत ६ जना गत असार १ गतेदेखि माइतीघरमा धर्ना बसेका छन्। उनीहरू आरतीको हत्या गर्नेहरूलाई कानूनी सजाय दिलाउन जनकपुरमा आन्दोलन गरेर खासै अर्थ नहुने भन्दै काठमाडौँ आएका थिए।

एसपी डीएसपीको निलम्बन नै पहिलो माग
आरतीको माइती परिवारले जेठ ३१ गते दिउँसोसम्म पनि काठमाडौँ आउने सोचेको थिएन। त्यसदिन घटनाका सम्बन्धमा सोधपुछका लागि बोलाएको प्रहरीले उनीहरूलाई निर्घात कुटपिटपछि राति १० बजेसम्म थुनेर राख्यो। त्यसपछि राति नै अस्पताल भर्ना हुनुपरेको थियो। ३२ गते बिहान १० बजे अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै उनीहरू घर नफर्की सिधै बस बिसौनी पुगे र काठमाडौँका लागि टिकट काटे।

“प्रहरीको पिटाइ खाइसकेपछि जनकपुरमा बस्दा असुरक्षित महसुस गर्न थाल्यौँ र दायाँबायाँ केही नसोची सिधै काठमाडौँ आउने निर्णय गर्‍यौँ,” आरतीका मामा सन्तोषले उकालोसँग भने, “अब हाम्रो पहिलो माग नै एसपी र डीएसपीको निलम्बन हो। उनीहरू नै पीडकको पक्षमा उभिएका छन्। दुवै जना कारबाहीको दायरामा नआएसम्म हामी माइतीघर छोड्दैनौँ।”

आरतीका बुबा विनोद पनि प्रहरीले कुटपिट गरेपछि आफूहरू अझै चिढिएको बताउँछन्। “हामी एक त पीडामा थियौँ, त्यसमाथि प्रहरीले नै भकुर्नु भकुरेपछि हामीलाई पीडकसँग भन्दा बढी प्रहरीसँग रिस र गुनासो छ। अब हामीले एसपी र डीएसपीको निलम्बनलाई नै पहिलो मागको रूपमा अघि सारेका छौँ।”

करिब दुई साताअघि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश गौतमविरुद्ध सरकारी वकिल कार्यालय धनुषामार्फत् जाहेरी दिएको अधिवक्ता विकास ठाकुरले उकालोलाई जानकारी दिए। तर हालसम्म त्यसबारे कुनै जवाफ नआएको उनी बताउँछन्।

“प्रहरी अधिकृतहरू कुनै पनि मुद्दामा अनुचित तवरले मुछिएपछि प्रहरी प्रधान कार्यालयमा तानिन्छन्, तर यो केसमा प्रहरी नेतृत्वले समेत कुनै चासो दिएको देखिँदैन। गृह प्रशासनले पनि खासै वास्ता गरेको छैन, ठाकुरले भने, “यसबाट स्पष्ट हुन्छ कि यो केसले राजनीतिक संरक्षण पाइरहेको छ।” एसपी खड्का माओवादीनिकट रहेको धनुषा प्रहरीका एक अधिकृतले बताए।

न्याय नपाएसम्म घर नफर्किने संकल्प
आफूहरूले न्याय नपाएसम्म परिवारका कोही पनि घर नफर्किने धर्नाकारीहरू बताउँछन्। आफ्ना माग पूरा नभई घर फर्कनुभन्दा बरु प्राण त्याग्न तयार हुने उनीहरूको अडान छ। आरतीका बुबाआमा र भाइबहिनी मात्र होइन, उनकी ठूलीआमा रञ्जनादेवी पनि यही अडानमा दृढ छिन्। “मेरा छोराछोरी म नभए पनि खाना पकाएर खाने भइसकेका छन्। उनीहरूले मलाई फर्किन दबाब दिएका छैनन,” उनी भन्छिन्, “मैले पनि आरतीको लागि न्याय नपाएसम्म यहाँबाट नजाने निर्णय गरिसकेको छु।”

घर जान मन भए पनि छोरीको इन्साफका खातिर माइतीघर छोड्न आत्माले नस्वीकारेको विनोद बताउँछन्। दु:खसुख गरेर दिनरात काट्न बानी परिसकेका कारण न्याय नमिलेसम्म नफर्किने संकल्प गरेको उनको भनाइ छ। विनोद भन्छन्, “छोरीको न्यायका लागि आएका हौँ। न्याय नपाएसम्म त के जानु? कसका लागि फर्कनु? केका निम्ति फर्कनु? कहिलेकाँही त लाग्छ, हाम्री छोरी पनि यतै कतै छिन्। उनी पनि आफ्नो न्यायका निम्ति हामीबाट आशा गरेर बसेकी छन्। यस्तो अवस्थामा हामी कसरी माइतीघर छाडेर जाऊँ?”


सम्बन्धित सामग्री