रेडियो जकी, शरदराज गौतम परिवारसहित नयाँ वर्षमा नयाँ ठाउँ जान चाहन्थे। तर लामो समय पैदल नहिँडेका उनलाई हिँड्न सक्छु कि सक्तिन भन्ने अड्कल लगाउन कठिनाइ भइरहेको थियो। किनकि उमेरले ६६ वर्ष टेकिसकेको छ। मन र शरीरको मेल हुन्छ कि हुन्न परीक्षण गर्ने उत्सुकता पनि थियो। उनले ६ दिनसम्म हिँडेर पुगिने गन्तव्य रोजे, देशकै सबैभन्दा ठूलो हिमताल च्छोरोल्पा।
दोलखामा रहेको उक्त तालसम्म जान यो उमेरमा उनको सुझाव छ ‘परिवारसहित राम्रो’ पदयात्रामा उनका साथमा पत्नीसहित छोरीज्वाइँ पनि थिए। च्छोरोल्पा पदयात्राको उनी र उनकी पत्नी अञ्जना गौतमको यो वर्णनः
पदयात्रामा जब आफूलाई भेटेँ
च्छोरोल्पा पदयात्रा सके परिवारसितै हिँड्दा रमाइलो, साथी भाइहरूसित हिँड्दा एउटा कुरामा विचार पुर्याउनु राम्रो हुन्छ, नबोली हिँड्नु। आजभोलिका युवाजमातलाई होहल्ला गर्दै हिँड्ने लतले समातेको छ। ठूल्लठूलो आवाज निकालेर हिँड्दा रुखहरू,चराहरू र खोलाहरूले ‘ठिस’ भन्छन् तपाईंलाई।
काठमाडौँबाट सबेरै हिँडे अपराह्नमा दोलखाको सिंगटी हुँदै छेतछेत सजिलै ओर्लिन सकिन्छ। भरिया चाहिँदैन भने पनि आफ्नो झोला बोकेर तामाकोशी ओर्लिएर सोझै दुईदेखि तीन घण्टाको ठाडो उकालो चढनुपर्ने हुन्छ, सिमीगाउँ पुग्न। राम्रा पर्यटकीय भट्टीहरू भेट्न सकिन्छ, सिमीगाउँमा। बुक नगर्दा पनि हुन्छ, तर पर्व र छुट्टीको मेलो परेको छ भने नेपाली पर्यटकहरूको भीडभाड देखिन सक्छ। त्यसका लागि पहिला नै बुक गर्दा भरपर्दो हुन्छ।
यो यात्रामा सबभन्दा आनन्ददायी होटेलको सुविधा भएको ठाउँ सिमीगाउँ नै मानिन्छ। यसपछिका बिसौनीहरूमा भट्टीहरू नभएका होइनन् तर तपाईंलाई सुविस्ताका लाग्दैनन्, यद्यपि माथिका होटेलहरू पदयात्रामा भएका होटेलको गुणस्तरमा अब्बल नै छन्। उचाइमा तपाईंलाई होटेलहरूको राम्रो बन्दोबस्त खोज्ने अभ्यस्तताले अप्ठ्यारोमा पार्छ। त्यसैले पनि सबै पदयात्री सिमीगाउँलाई बाटोभरि सम्झन्छन्।
सिमीगाउँबाट भोलिपल्ट बिहान हिँडेपछि चिया पिउने एउटा सानो भट्टी भेटिन्छ उत्तीसघारीमा। सानो विश्रामपछि यात्रा अगाडि बढ्छ। जंगलजंगल अनि पातलो जंगलको बाटो। तर बगिरहने तामाकोशीको मसिनो सुसाई, चराहरू चिरबिर र रुखहरू छायामा हिँड्दा बिहान कटेको पत्तै हुन्न।
सुर्मुच्चेमा दिउँसोको खाना खाएपछि शुरू गरिने अघिल्लो तीन घण्टाको यात्रामा क्याल्चेतमा थकाइ मारेर सजिलै दोङगाङ बास बस्न पुग्न सकिन्छ। खासमा परिवारसित हिँड्दा पनि लगभग छ घण्टामा एक दिनको हिँडाइ पुग्दो हुन्छ। दोङगाङमा बस्ने भट्टीहरू राम्रा नै छन्। पदयात्रीलाई एक रात बिताउन सजिलो छ। तामाकोशी नदीनजिक भएकोले सिमीगाउँभन्दा केही चिसो लाग्न थाल्दछ, यहाँदेखि।
तेस्रो दिनको हिँडाइमा विचार पुर्याउनुपर्ने एक थोक हुन्छ। हिँडाइमा थपिने उचाइ जुन देखिन्न तर शरीरले महसुस गर्न थाल्दछ। दोङगाङबाट भाोलिपल्ट बिहानको खाजा खाएर हिँड्नु बेस हुन्छ किनकि थाङडिङ नपुगुञ्जेल कतै केही भेटिन्न, सिवाय जंगलजंगल र बाक्लो जंगलबाहेक। थाङडिङमा सानो भट्टी छ, खानपिनका लागि र बासका लागि।
त्यहाँबाट हिँडेपछि पुगिने बेदिङ गाउँ। बेदिङ पुग्नुअघि देब्रपट्टी झल्याक्कझुलुक्क अग्ला पहाड बीचबाट चियाउने गौरीशंकर हिमाल नै हो र रोल्वालिङ हिमशृंखला। खासमा त्यो दिन बेदिङ नबसी नागाउँमा गएर बस्न पनि सकिन्छ। तर त्यसलाई राम्रो निर्णय मानिन्न।
बेदिङमा बसेर शेर्पा बस्तीको अनुभव नगरी च्छोरोल्पा पदयात्राको स्वादै आउन्न। बेदिङ लगभग सय वर्ष पुरानो शेर्पा बस्ती हो। यहाँको गुम्बा नै सय वर्ष पुरानो भएको पुरातत्त्व विभागको रेकर्डमा छ। यहाँका अवतारी लामा गुम्बाका लागि जति प्रख्यात छन् त्योभन्दा पनि बढी व्यावहारिक छिमेकी छन् बेदिङ बासिन्दाका लागि। बेदिङमा एक से एक विदेशीहरू बस्ने शेर्पा होटेलहरू छन्। सफा र सुकिलो। बेदिङमा हिमालहरू यति नजिक हुन्छन्, तपाईंलाई तिनको माया लागेर आउँछ। लमतन्न तानिएको रोल्वालिङ खोला र चरिरहेका चौंरीहरूले तपाईंलाई भावुक बनाउँछ र गाउँसित उनिन मन लाग्छ।
भोलिपल्ट बिहान तपाईं सजिलै नागाउँ पुग्नुहुन्छ। नागाउँ सानो बस्ती हो, थोरै होटेलहरू छन्। यो अन्तिम बस्ती हो, च्छोरोल्पा ताल पुग्ने रुटको। यहाँबाट हिमाल र हिमाल मात्रै देखिन्छ। छिरिङमा हिमालले तपाईंलाई भुतुक्कै बनाउनेछ। तपाईं त्यो दिन च्छोरोल्पा पुगेर नागाउँ आएर बस्न सक्नुहुन्छ, तर यस्तो सल्लाह दिइँदैन। किनकि, उचाइमा जानुअघि तपाईंले श्वासको आरोहअवरोहमा अभ्यास गराउनु राम्रो मानिन्छ।
भोलिपल्ट बिहानै च्छोरोल्पा सिधै चढे पनि भो। होइन, दुधकुण्ड गएर च्छोरोल्पा तेर्सिए पनि भो। तर बिहानै च्छोरोल्पा पुग्न सकियो भने यसको निरवता मोहलाग्दो भेट्नु हुनेछ। तपाईंलाई भुतुक्कै बनाउने छ। टासीलाप्चा पासले तपाईंलाई उद्देलित पार्ने छ।
च्छोरोल्पा तालकै छेउमा एउटा सानो भट्टी छ, पहिला नै जानकारी लिएर जानु भएको छ भने बेग्लै, नत्र उपलब्ध नहुन सक्छ। च्छोरोल्पामै रात बिताउनका लागि तयारी जरुरी छ, नत्र तासीलाप्चाबाट सोलूतिर निस्किँदा राम्रो। अबको यात्रा फर्किने मात्र हो, ओर्लने। तर बेदिङको बास नछोड्दा राम्रो हुन्छ, तपाईंको शरीरले सुस्ताउँदै आनन्द भेट्छ।
फर्किंदा सिमीगाउँलाई अन्तिम रातको बिसौनी मान्दा राम्रो। किनकि भोलिपल्ट छेतछेतमा सार्वजनिक गाडी बिहान मात्र भेटिन्छ। त्यो पनि एउटा मात्र। नत्र सुमो बोलाउन सक्ने सामर्थ्य राख्नु पर्दछ। सातौं वा आठौं दिन काठमाडौँमा। यसरी च्छोरोल्पाको यात्रा पूरा हुन्छ।
समूहमा हिँड्दा सालाखाला दैनिक दुई हजार नेपाली रुपैयाँ खर्च हुने अनुभव रह्यो। रात पिच्छै लोकल भाले नखोज्दा।
बाटामा मानिसहरू ज्यादा भेटिन्नन, भेटिए पनि सिमीगाउँ वरिपरि मात्रै। त्यसैले भनिन्छ, यहाँको सन्नाटालाई जति सम्मान दियो, त्यति आफूतिर फर्किन्छ। यो सन्नाटामा तपाईं रुखहरू बोलेको भेट्नु हुनेछ, नदी र खोलाहरू गाउँदै गरेका भेटिन्छन् र चराहरू बात मारिरहेका। सबभन्दा बढी तपाईं आफूलाई भेट्नु हुनेछ। पदयात्रामा जब आफू भेटिन्छ, निश्चित छ तपाईंको यात्रा सार्थक भो।
आफूलाई जित्ने प्रयत्नमा च्छोरोल्पा रोजेँ
कोरोना महामारी, लकडाउन र लामो एकान्त बासपछि सामाजिक ओहोरदोहोरलाई जतिसुकै सहज बनाए पनि शरीर र मनबीचको अन्तरद्वन्द्व भने सकिएको थिएन। मन शरीरलाई प्रमाणित गर्न चुनौती दिन्थ्यो। र शरीर मनलाई। उचाइको पदयात्रामा दुवैको परीक्षण गर्नु जरुरी ठानी रहेको थिएँ।
पछिल्लो पटक थोरङ्ला पदयात्रापछि रोकिएको पदयात्राको संगति फेरि शुरू गर्न म परिवारसित च्छोरोल्पाको पदयात्रामा सामेल भएकी थिएँ। पत्नी, छोरी र ज्वाइँसित।
काठमाडौँबाट छोटो अवधिमा तय गर्न सकिने पदयात्रामध्येको उपयुक्त छनोट हो, च्छोरोल्पा। रोल्वालिङ हिमशृंखलामा पर्ने सबैभन्दा ठूलो हिमताल मात्रै होइन, यो पदयात्रामा रमाउने धेरै दृश्यहरू छन् जसलाई आँखाले रोज्दै मनभित्र डुलाउन सकिन्छ।
हिमनदीमा रमाउने चराहरू, शालीग्राम बन्न छाडेका पत्थरहरू, रूप फेर्दो नदीनालाहरू, लेकका जंगलहरूमा नयाँ पालुवाका मादकता, रोल्वालिङ उपत्यकामा बस्ती बिस्थापनको पीडा र नागाउँमा लेकको उचाइमा सास लिने अभ्यास थुप्रै थोक छन्। जसलाई हेरेर, छामेर र भोगेर महसुस गर्न सकिन्छ। अद्भूत अनुभवको लस्करबाट गुज्रिने मौका मिल्छ।
बेदिङ गाउँमा गुम्बाको रिम्पोचेसित भेट्न नछुटाउनु होला। उनी रोल्वालिङ उपत्यकाका भगीरथ हुन्। पृथ्वीमा गंगा फर्काउने कठोर तपस्या गर्ने पौराणिक पात्र भगिरथ।
घर छाडेर हिँडेका शेर्पाहरू रोल्वालिङ फर्किन्छन कि फर्किन्नन् भन्न सक्तिनँ, तर बेदिङका बस्तीहरूमा बौद्ध सांस्कृतिक चेतनाको गंगा अवतरित हुन्छ। ती सबै रिम्पोचेका प्रयत्नहरूमा देख्न सकिन्छ।
नागाउँमा एक रात बिताउँदा पश्चात्ताप कतै हुन्न। श्वासको ओहोरदोहोर तह लाउन असाध्यै मद्दत मिल्छ। गाउँ कुरेर बस्ने ईबिहरू(हजुरआमा) यो बस्तीका अन्तिम अवशेष होइनन्, बस्तीका मानिसहरूको कथा हाल्ने अन्तिम कथावाचकहरू अवश्य हुन्। तपाईंलाई एक साँझ नपुग्दो हुनसक्छ।
६६ वर्षको नेपाली खान्कीको उमेर धेरै होइन। तर शहरले थिलथिलो बनाएको र कोरोनाकालको एकान्तपनले धुजाधुजा बनाएको शरीर र मनलाई बोकेर उचाइमा हिँड्दा तपाईंलाई पक्कै लाग्नेछ, पदयात्रा रोमाञ्चक जिन्दगी बाँच्ने काफी आधार हो।
मैले लेकको उचाइ चढेर पहाडलाई र तिनको उचाइलाई जितेको होइन, मैले आफूलाई जित्न मात्र खोजेको हुँ। च्छोरोल्पाका पहाडहरूका हिउँ र हिमालका दह हेर्ने रहर मात्र थिएन, मभित्र आफूलाई हेर्ने उत्सुकता पनि त्यतिकै थियो। म आफूलाई रोल्वालिङमा कहाँ पाउँछु भन्ने।
हामी दम्पती फर्किन्थ्यौँ ती पुराना दिनमा। जीवन यात्राका सम्झना रोल्वालिङ पुग्ने बाटाहरूमा छरपस्ट पोख्दै। हामी विस्तारै बोलोस् भन्ने छोरीज्वाइँले इशारा गरिरहे। दूरबिनबाट छोरी रुख, किनारा पोथ्रापोथ्रीमा नियाली रहन्थी, ज्वाइँ लामालामा क्यामराका लेन्स छोरीले इसारा गरेतर्फ तेर्स्याउन पुग्थ्यो। हो, पदयात्रामा चरा उनीहरूका लागि सबैभन्दा आकर्षक बने।
अवकासपछि जीवनमा थोरै पदयात्रा गर्ने सक्रियता देखाउनसके नेपालको सम्पन्नता पाइला पाइलामा भेटिँदो रहेछ।
तपाईं नहिँड्दा हो, पहाडहरू निस्तानिस्ता भएका। अनिंदाअनिंदा लागेका। जुन दिन तपाईंको सक्रियता बढ्ने छ, धरोधर्म नेपाल फेरि जताततै भेटिन थाल्छ। म त ढुक्क छु। फुरुङ छु, पदयात्राको मादकताले।
मितिनीसित बात मारेको जस्तो च्छोरोल्पा पदयात्राः अञ्जना गौतम
च्छोरोल्पाको पारिवारिक पदयात्रामा सामेल हुने कि नहुने भन्ने निर्णयमा पुग्न मेरा अघिल्तिर दुई विकल्प थिए। डाक्टरको ‘पुर्जा’बमोजिम जिन्दगी बाँच्ने कि, मैले मेरो शरीरको नाद सुनेर जिन्दगी जिउने।
चार वर्षअघि विशेषज्ञ डाक्टरहरूले घुँडामा कार्टिलेज घिस्सिएको घोषणा गर्दै लामो उकालोओरालो यात्रा गर्न प्रतिबन्ध नै लगाइदिएका थिए। उनीहरूको भनाइ थियो– या त तपाईंले घुँडाको शल्यक्रिया गर्नुपर्ने हुनसक्छ, या तपाईं यसलाई यत्तिकै जोगाएर बाँकी जीवन सुविस्ताले बाँच्न सक्नुहुन्छ।
डाक्टरको सल्लाहबमोजिम म सुस्ताएँ पनि र पदयात्राको नियमिततामा रोक लगाएँ।
जब परिवारले च्छोरोल्पाको पदयात्राको योजना बुन्न थाले, मभित्र यो प्रश्न उब्जियो, के म हिँड्न सक्छु? यतिबेला नै यक्ष प्रश्न तेर्सियो, म आफ्नो शरीरका नाद सुन्न सक्छु कि सक्दिनँ। मेरा दैनिकीका केही घण्टासम्म बाटो हिँड्दा घुँडामा समस्या देखिएको थिएन। यो क्रम मैले केही दिनको लकडाउनमा लिएको विश्रामबाहेक निरन्तर नै गरिरहेको थिएँ।
मलाई लाग्यो, मेरो जिउको पहिलो अध्येयता मै हुँ। म स्वस्फूर्त रूपमा परिवारसित पदयात्रामा सामेल हुन राजी भएँ। कुनै अतिरिक्त बन्दोबस्त नगरी।
च्छोरोल्पा पदयात्रामा पहिलो दिन छेतछेतबाट सिमीगाउँ पुग्ने दिनको उकालो मात्रै हो भुतुक्कै पार्ने। अरू बाँकी दिनका हिँडाइमा त्यस्तो खत्रक्कै पार्ने उकालो चढ्न पर्दैन।
पहाडलाई त्यसै पहाड भनिएका होइन रहेछ, उकालोओरालो तिनका बान्की रहेछन्। सिमीगाउँदेखि बेदिङ र न गाउँसम्मै हिँड्नुको स्वादै बेग्लै छ। तपाईं थाक्नु हुन्न। खोलाका किनारहरूले तपाईंलाईं उत्साहित बनाइ राख्छन्।
बेदिङ छिरेपछि हिमालको उज्यालो टकले तपाईंलाई शिखर प्राप्तिको चरम आनन्द दिन्छ। त्यहाँ बाटोभरि हिमालहरू साउतीमारे झैँ लाग्छन्।
भोलिपल्ट च्छोरोल्पा पुग्ने हाम्रो कार्यक्रम थियो। अघिल्लो रात नागाउँमा मलाई निन्द्रा लागेन। अलिकति डराएँ।
यसअघि रसुवाको दुधकुण्डको पदयात्रामा अन्तिम पास छिचोल्दा मलाई लेक लागेको थियो। र थोरङ्लामा पनि बेसक्याम्प छाड्दा मैले मेरो टिम लिडरलाई लेक लागेको हुनसक्ने संकेत गरेकी थिएँ। उच्च हिमाली पदयात्रामा लेकलाग्ने लक्षणहरूबाट म सचेत भइसकेकी थिएँ।
न गाउँमा रात छ्याङै भएको चाहिँ थिएन। बिहानी पख एकछिन झपक्क निदाएछु। बिहान पाँच बजे हिँडेर च्छोरोल्पामा कलिलो घाम छुने भन्ने योजना थियो। मेरो रुम पार्टनर मेरा श्रीमानले कुनै राय दिनुअघि नै मैले घोषणा गरेँ, म च्छोरोल्पा चढ्न सक्छु। म ‘कन्टिन्यु’ गर्छु।
सबै मिल्यो र सजिलै पुग्यौँ, बिनाअवरोध।
खासमा लेक लाग्ने कुराप्रति सचेत मात्रै हुने हो, डराउनु हुन्न भन्छु। तर न गाउँमा राति डर त मलाई पनि लागेको थियो।
उच्च हिमाली पदयात्रामा म धेरै पटक लेक लाग्ने मनोविज्ञानबाट घेरिएकी छु। कतिपय ठाउँमा जितेकी छु, कतिपय ठाउँमा बिनातयारी हुस्सु पनि भएकी छु। कतिपय ठाउँमा सही निर्णय पनि गरेकी छु, तर जतिखेर पनि मैले यसलाई पहाड चढने चुनौतीका रूपमा मात्रै हेरेकी छु।
उचाइमा हिँडुन्जेल खानपिनमा सहजता मात्रै खोज्ने हो, यसलाई रुचिकर स्वादसित जोड्नु हुन्न। तर फर्केको अन्तिम रात सिमीगाउँमा मुखफेर्नु होला। मैले एक मग झ्वाइँखट्टे पिएर मुखफेरिकी थिएँ।
भोलिपल्ट तरोताज, छेतछेतको ओरालो झर्दा हाम्रा भरिया कम, पथप्रदर्शक ज्यादा लागे। गाइड चाहिन्छ भन्दिनँ, तर गाइड साथमा हुँदा चराका स्थानीय नामहरू, रुखका नामहरू, पहाड र हिमालका चुचुराहरूका किंबदन्तिहरू सुन्न पाइन्छ। ती बिल्कुलै रुचिकर र धित्मर्ने सन्तुष्टिदायक थिए।
बाटोमा हिँड्दा हामी बेग्लाबेग्लै दूरी बनाएर हिँड्थ्यौं, किनकि खोलाका किनारका ध्वनि, जंगलमा रुखहरूका सामूहिक वार्तालाप, फूलका बास्ना र चराहरूको सत्संग बिछट्टै आनन्ददायक लागे। च्छोरोल्पाको पदयात्रामा बस्तीहरूभन्दा पनि प्रकृतिको सानिध्य मज्जा र मीठा थिए। मितिनीसित बातमार्दाजस्तो अनुभूति रह्यो मेरो पदयात्रा।