Monday, April 29, 2024

-->

चेल्सी पुनः शीर्ष स्थानमा फर्किनेमा प्रशिक्षक पोचिटिनो आशावादी

चेल्सीसँग रहेको युवा टोलीबाट धेरै आशा राखेको मुख्य प्रशिक्षक पोचिटिनो बताउँछन्। टोलीसँग काम गर्दै जाँदा पुनः चेल्सी शीर्ष स्थानमा पुग्ने उनको भनाइ छ।

चेल्सी पुनः शीर्ष स्थानमा फर्किनेमा प्रशिक्षक पोचिटिनो आशावादी

काठमाडौँ– इंग्लिस प्रिमियर क्लब चेल्सीले सन् २०१४ यता २१ उपाधि जितेको छ। जसमा पाँच प्रिमियर लिग र दुई च्याम्पियन्स लिग पनि समावेश छन्। तर, उत्कृष्ट प्रदर्शन गरिरहेको चेल्सीको पछिल्लो समय लय खस्किँदै गइरहेको छ। गत वर्ष तेस्रो स्थानमा प्रिमियर लिग सक्काएको चेल्सीले यस पटक त्यही स्तरको प्रदर्शन गर्न पनि सकेन।

लगातारको खराब प्रदर्शनसँगै चेल्सीले दुई मुख्य प्रशिक्षक थोमस टुचेल र ग्राहम पोटरलाई बर्खास्त गर्‍यो। त्यति गर्दा पनि सम्हालिन नसकेको चेल्सीले १२औँ स्थानमा रहँदै प्रिमियर लिग सक्कायो। चेल्सीले नयाँ सिजनका लागि मौरिसियो पोचिटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

उनले चेल्सीको खस्किँदो प्रदर्शन सुधार्नेमा नयाँ मालिक टोड बोहली विश्वस्त देखिन्छ। यसपटक चेल्सीको टोलीमा बृहत् परिवर्तन देखिने छ। डिफेन्डर कालिडो कोउलीवाली, गोलरक्षक एडुअर्ड मेन्डी र मिडफिल्डर एनगोलो कान्टे साउदी अरबको लिगमा अनुबन्ध भइसकेका छन्। यता, इंग्ल्यान्डका मिडफिल्डर मेसन माउन्ट पनि म्यानचेस्टर युनाइटेड पुगिसकेका छन्।

उनीहरू मात्रै होइन, रुबेन लोफ्टस–चीक एसी मिलानमा अनुबन्ध भएका छन्। क्रोएसियाका मिडफिल्डर माटेओ कोभासिक प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीमा अनुबन्धित छन्। त्यसैले चेल्सीले आगामी सिजन कस्तो प्रदर्शन गर्छ भन्नेमा सबैको चासो छ। यसपटक चेल्सीसँग युवा टोली छ। अनुभव कम छ। तर, यो टोलीबाट धेरै आशा रहेको मुख्य प्रशिक्षक पोचिटिनो बताउँछन्। टोलीसँग काम गर्दै जाँदा पुनः चेल्सी शीर्ष स्थानमा पुग्न सक्ने उनको विश्वास छ।

“पुरानोको तुलनामा अलगै युवा टिमसँग काम गर्न निकै उत्साहित छु। तर, चेल्सी शीर्ष स्थानमा रहन जरुरी छ। त्यसका लागि केही समय लाग्न सक्छ,” उनी भन्छन्। बोहलीले आफ्नो पहिलो सिजनमा टुचेल र पोटरलाई बर्खास्त गरे। यद्यपि, खेलाडीमाथि खर्च गर्नमा भने उनले कन्जुस्याइँ गरेनन्। जनवरीमा मात्र उनले २८८ मिलियन पाउन्ड खर्च गरेका थिए। जुन खर्च बुन्डेसलिगा, ला लिगा, सिरि ‘ए’ र लिग वानमा सबै क्लबले गरेको भन्दा धेरै हो। त्यसैले स्वाभाविक रूपमा उनी पोटिचिनोबाट यसपटक धेरै आशावादी देखिन्छन्।

चेल्सीले नयाँ सिजनका लागि फ्रान्सका फरवार्ड क्रिस्टोफर एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट ५२ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ। सेनेगलका फरवार्ड निकोलस ज्याक्सन पनि स्पेनिस क्लब भिल्लारियलबाट आठ वर्षको सम्झौतामा चेल्सीमा अनुबन्ध भइसकेका छन्। पेरिस सेन्ट जर्मेन (पीएसजी)मा तीन उपाधि जिताएका ५१ वर्षीय प्रशिक्षक पोटिचिनो आफूले प्रिमियर लिगलाई राम्ररी बुझेको दाबी गर्छन्। त्यसैले आफूलाई यस पटक गाह्रो नहुने उनको तर्क छ। उनी भन्छन्, ‘‘मैले राम्रोसँग प्रिमियर लिगलाई बुझेको छु, यहाँको संस्कृतिबारे थाहा छ। पक्कै पनि प्रशंसकहरू पुनः उपाधि जित्नका लागि कोशिश गर्न उत्साहित छन्।”

उनले जे तर्क गरे पनि उनको विगतको रेकर्ड लुकेको छैन। ६ वर्ष इंग्ल्यान्ड (साउथह्याम्प्टन र टोटेनहम) मा रहँदा उनी खाली हात रहे। पीएसजी पुगेपछि भने उनको भाग्य नै फिरियो। उनले पीएसजीमा रहँदा २०२१-२२ मा लिग वानसहित तीनवटा उपाधि जिताए। सन् २०१९ मा पीएसजीलाई पहिलोपटक च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याउन सफल भए। यसपटक पनि त्यही सफलतालाई दोहोर्‍याउन चाहन्छन्। उनी शुरूआतदेखि नै यस परियोजनालाई लिएर स्पष्ट रहेको बताउँछन्। त्यसैले प्रशिक्षण मैदानमा राम्रो वातावरण सिर्जना गर्नुपर्ने उनको बुझाइ छ।

‘‘निःसन्देह, फुटबलको इतिहासमा सधैँ उतारचढाव हुन्छन्। तर, चेल्सी यस्तो क्लब हो, जसमा यो हुन असम्भव छ। यसपटक हामीले कडा मिहिनेत गर्नुपर्छ र सफलता चुम्न आगामी केही वर्षहरूमा टोलीलाई प्रशिक्षण मैदानमा राम्रो वातावरण सिर्जना गर्नुपर्छ,” उनी भन्छन्।


सम्बन्धित सामग्री