Monday, April 29, 2024

-->

गाडी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा मृत्यु

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए।

गाडी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको उपचारका क्रममा मृत्यु

काठमाडौँ– बझाङमा भएको सवारी दुर्घटनामा परी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पनि मृत्यु भएको छ। कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर लगिएको थियो। अवस्था चिन्ताजनक रहेकै अवस्थामा त्यहाँ पुर्‍याइएपछि चिकित्सकले ५ बजेर ३३ मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ। यसअघि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा नै मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो। 

गम्भीर घाइते मन्त्री सिंह, उनका पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट कोहलपुर लगिएको थियो। तर, सिंहको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

डडेलधुराबाट सदरमुकाम चैनपुर जाने क्रममा सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते भएकालाई अर्को गाडीमा रहेका सुरक्षाकर्मीले उद्धार गरी केदारस्युँ गाउँपालिका–१, देउरास्थित ऋतु पोलिक्लिनिकमा पुर्‍याएका थिए। मन्त्री सिंह नेपाली कांग्रेसबाट जेठ ५ गते आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए। 

सिंह गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित भएका थिए। सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधिसभा सदस्य पदको चुनाव लडे पनि पराजित भएका थिए।


सम्बन्धित सामग्री