Saturday, May 04, 2024

-->

रुस र युक्रेन दुवैले ठूलो संख्यामा सैनिक हताहतको सामना गरिरहेका छन् : बेलायती सेना

युक्रेनी सेनाले आइतबार बिहान गरेको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टाको अवधिमा रुसले ४३ वटा हवाई आक्रमण, चार वटा क्षेप्यास्त्र आक्रमण र ५१ वटा रकेट लञ्चरबाट आक्रमण गरेको उल्लेख छ।

रुस र युक्रेन दुवैले ठूलो संख्यामा सैनिक हताहतको सामना गरिरहेका छन्  बेलायती सेना

युक्रेनले रुसी सेनालाई आफ्नो भूमिबाट फर्काउन गरेको प्रत्याक्रमणका क्रममा रुस र युक्रेन दुवै पक्षले ठूलो संख्यामा सैनिक हताहतको सामना गर्नुपरेको बेलायती अधिकारीहरूले आइतबार बताएका छन्। मार्चमा बखमुतमा युद्ध चर्किएयता रुसतर्फ सम्भवतः सबैभन्दा उच्च स्तरमा क्षति पुगेको बेलायती सैन्य अधिकारीहरूले आफ्नो नियमित मूल्यांकनका क्रममा बताएका हुन्।

बेलायती गुप्तचर संस्थाका अनुसार दक्षिणपूर्वी जापोरिजिया प्रान्त, बखमुत आसपास र युक्रेनको पूर्वी डोनेट्स्क प्रान्तको पश्चिमी क्षेत्रमा भीषण भिडन्त जारी छ। अद्यावधिक प्रतिवेदनअनुसार युक्रेनले यी क्षेत्रहरूमा प्रत्याक्रमण गरिरहेको र ‘सानो प्रगति गरेको’ उल्लेख गरिएको छ। यद्यपि, रुसी सेनाले युक्रेनको दक्षिणमा ‘अपेक्षाकृत प्रभावकारी रक्षात्मक अभियान’ सञ्चालन गरिरहेको छ।

युक्रेनी सेनाले आइतबार बिहान गरेको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टाको अवधिमा रुसले ४३ वटा हवाई आक्रमण, चार वटा क्षेप्यास्त्र आक्रमण र ५१ वटा रकेट लञ्चरबाट आक्रमण गरेको उल्लेख छ।

जनरल स्टाफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रुसले युक्रेनको औद्योगिक पूर्वाधारमा आफ्नो आक्रामक अभियान केन्द्रित गरेको छ, आक्रमण देशको डोनेट्स्क प्रान्तको बखमुत, अवदिभका, मारिन्का र लाइमन वरिपरि २६ स्थान भइरहेको छ।”

डोनेट्स्कका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले दुई जना सर्वसाधारणको मृत्यु भएको र अन्य तीन जना घाइते भएको बताएको एपी न्युजले उल्लेख गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रुसी सेनाले देशको पूर्वी र दक्षिणतर्फका केही क्षेत्रमा हवाई आक्रमण गरेको छ।

रुसी आक्रमणका कारण खेरसन प्रान्तमा एक सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेक्सान्डर प्रोकुदिनले जानकारी दिए। जापोरिजियाका क्षेत्रीय गभर्नर युरी मालाश्कोले रुसी आक्रमणमा एक जना घाइते भएको बताए।

आंशिक रूपमा कब्जा गरिएको जापोरिजिया क्षेत्रमा मस्कोद्वारा नियुक्त प्रशासनका एक अधिकारी भ्लादिमिर रोगोभले आइतबार युक्रेनी सेनाले एउटा गाउँलाई नियन्त्रणमा लिएको बताए।

दक्षिणपश्चिमी ओडेसा प्रान्तको क्षेत्रीय सरकारका प्रवक्ता सेर्ही ब्राटचुकले युक्रेनी सेनाले रुसको कब्जामा रहेको बन्दरगाह शहर हेनिचेस्क नजिकैको खेरसन प्रान्तमा रहेको एउटा 'अत्यन्त महत्त्वपूर्ण' गोला बारुद केन्द्र नष्ट गरेको बताएका छन्।

युक्रेनको गृह मन्त्रालयले शनिबार अबेर राति दिएको जानकारीअनुसार काखोभका बाँध भत्किएपछि आएको बाढीका कारण युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा मृत्यु हुनेको संख्या १६ पुगेको छ भने रुसी अधिकारीहरूले मस्कोको नियन्त्रणमा रहेको क्षेत्रमा २९ जनाको मृत्यु भएको बताएका छन्।

जुन ६ मा बाँध भत्किएपछि आएको भीषण बाढीले खेरसन क्षेत्रको तल्लो निपर नदीको छेउछाउका शहरहरू तहसनहस पारिदिएको थियो। रसिया र युक्रेनले एकअर्कामाथि बाँध भत्काएको आरोप लगाएका छन्।


सम्बन्धित सामग्री