Saturday, May 11, 2024

-->

काकाकुल मधेशः चापाकलमा आउँदैन पानी, सुक्न थाले खोला

तापक्रम बढेर उखरमाउलो गर्मी भइरहेको तराई मधेशमा पानीको समेत समस्या थपिएको छ। वर्षा नहुँदा चापाकलमा पानी आउन छाडेको छ भने, १२ महिना नै बग्ने खोलासमेत यसपटक सुकेका छन्।

काकाकुल मधेशः चापाकलमा आउँदैन पानी सुक्न थाले खोला
पर्साको ठोरीमा पानीका लागि लाइनमा राखिएका गाग्री। तस्वीर: रितेश/उकालो

वीरगन्ज– वीरगन्ज–८ गहवाका ऋतुराज पटेल दुई महिनादेखि राति निदाउन पाएका छैनन्। उनको घरपछाडि २६० फिट गहिरो गाडिएको कलमा पानी आउन छाडेको छ। पानीको चक्करमा रातभरि जाग्राम बस्दा दिउसो काम गर्न नपाएको उनी बताउँछन्। 

“कहिलेकाहीँ छेउछाउका सबै घरका कल र मोटर पम्पहरू बन्द भएको बेला मध्यरातमा १२ देखि २ बजेसम्म मोटरले कलबाट पानी तान्छ,” ऋतुराजले भने, “सौभाग्यले थोरै भए पनि पानी आयो भने आउन्जेल मोटर चलाउँदै बस्नु पर्छ, रातभरि चलाउँदा हजार लिटरको ट्यांकीमा आधी पनि भरिँदैन। पानी आएन भने तनावले नै निद्रा आउँदैन।”

वीरगन्जको गहवा मात्र होइन श्रीपुर, रानीघाट, अशोक वाटिका, प्रगतिनगर, छप्कैया, भेडीयाही, नगवालगायत ठाउँमा पानीको चरम संकट भएको स्थानीय बताउँछन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रा. सुष्मा तिवारीले स्टेटस लेखिन्, “हिजो छपकैयाको एउटा ठाउँमा सानो बच्चादेखि बुज्रुग महिलाको हातमा बाल्टी, बोतल तथा भाडाहरू लिएर, पिउन र खाना बनाउनका लागि पानी कसको घरमा आको छ सोध्दै हिँडेको दृश्य देख्दा, आज जीवनको लागि नभई नहुने चिजको यो स्थिति हामी तराईवासीलाई खेप्नु परेको छ।” 

प्रा. तिवारीले उकालोसँग केही वर्षदेखि गर्मीयाममा कलहरूमा पानी आउन बन्द हुने तथा इनार र जलाशयहरू सुक्न थालेको बताइन्। यसपालि संकट चरम अवस्थामा पुगेको उनको भनाइ छ। वीरगन्जका आधाभन्दा धेरै घरधुरीले पानीको समस्या भोगिरहेको उनको अनुमान छ। 

वीरगन्ज महानगरपालिकाको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईंका अनुसार जमिनमा पानीको स्तर घटेर मोटरले समेत नतान्ने अवस्था भएको कारण शहरी क्षेत्रका स्थानीय समस्यामा छन्। पानी परेपछि मात्र यसको समाधान हुने चापागाईंले बताए। “जमिनमुनि हुने पानीको लेबल बढीमा २८/२९ फिट हुनुपर्छ। सतहमुनिको पानीको लेबल घटेर अहिले ३१ फिटमा झरिसकेको छ। यसबाट गर्मीले जमिन सुक्यो भनेर बुझ्न सकिन्छ,” उनी भन्छन्।

यसअघि, हरेक घरमा कल राखेर पानीको आवश्यक्ता पूर्ति गर्ने चलन बढ्दा खानेपानी संस्थानमार्फत आपूर्ति हुने पानीका ग्राहक कम थिए। पहिले सरकारी धारा जडान नगर्ने ग्राहक पनि अहिले धारा जडानका लागि धाइरहेको खानेपानी संस्थान वीरगन्ज शाखाका प्रमुख इञ्जिनियर निरन महर्जन बताउँछन्। धारा जडानका लागि दैनिक एक दर्जन हाराहारीमा निवेदन आउने उनको भनाइ छ।

वीरगन्ज महानगरपालिकाले पानीको हाहाकार हटाउन विभिन्न वडाका चार हजार घरधुरीमा खानेपानीको धारा निःशुल्क जडान गर्ने योजना बनाएको मेयर राजेशमान सिंहले जानकारी दिए। महानगरले खानेपानीको अधिक समस्या रहेका वडा नं. १ देखि १७ सम्म र १९ मा खानेपानी संस्थानसँग समन्वय गरेर धारा जडान गर्न लागेको उनले बताए।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्साको पश्चिमी गाउँपालिका ठोरीमा पानीको अभाव पहिलाभन्दा बढेको शिक्षक केशव रेग्मी बताउँछन्। “कुवा, धारा र नदीहरू सुकेपछि संकट बढेको छ, जंगलको स्रोतबाट बस्तीसम्म ल्याइएको कृुलोमा पनि यसपालि पानी आएको छैन,” रेग्मीले भने, “यो वर्ष लामो समय पानी नपर्दा खडेरी अलि लम्बिएको नै छ। खानेपानी र सिँचाइ दुवैको लागि पानी छैन, जेनतेन काम चलेको छ।” 

शिक्षक रेग्मीका अनुसार ठोरीको ठुटे खोलाको पानी ‘नाम मात्र’को बाँकी छ। ढेडो खोला, अमुआ खोला र झिँगे खोला सुकिसकेको उनले बताए।

पर्साको वीरगन्जमा मात्र नभई तीन वटा नगरपालिका र १० वटा गाउँपालिका सबैमा पानीको समस्या भएको जिराभवानी गाउँपालिकाका सरोज चौरसियाले बताए। “कहीँ कम र कहीँ अधिक रूपमा देखा परेको छ, तर सबैतिर पानीको समस्या छ,” उनले भने।

मधेशव्यापी समस्या 
पर्साकै छिमेकी बारा जिल्लाका इटयाँही, रजवटिया, फेटालगायत दर्जनौँ गाउँका कलमा पनि पानी आउन छाडेको छ। १२ महिना नै बग्ने खोलाहरू यसपटक सुकेको बघवनका सुनील पाण्डे बताउँछन्। उनका अनुसार कलैया उपमहानगरपालिका र महागढीमाई नगरपािलकाको बीच भएर बग्ने पसाह नदीमा पनि पानी सुकेको छ।

“बुढापाकाहरूका अनुसार पसाह नदी तर्न डुंगा चढ्नु पर्थ्यो, मैले आफैँ पनि पानीबिनाको पसाह देखेको थिइनँ,” पाण्डेय भन्छन्, “यसपालि पसाह सुक्यो। मलाई यो डरलाग्दो विषय हो जस्तो लागेको छ।”

स्थानीयका अनुसार १० वर्षदेखि बाराको उत्तरी क्षेत्रका अमलेखगन्ज, रतनपुरी, डुमरबाना, हरैया, भरतगन्ज सिंगौल, सपही र निजगढलगायत तीन दर्जन गाउँमा पानीको समस्या देखिन थालको थियो। वातावरण अभियन्ता पनि रहेका जितपृुर सिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष हरिदेव खरेल एक दशकदेखि बिस्तारै सुक्खा लागेको र अहिले पसाहलगायत अन्य साना खोला तथा खोल्सा सुकेको बताउँछन्।

“तराई मधेशको साझा समस्या नै पानी हो। बाराको जंगलभित्र रहेको प्रसिद्ध हलखोरिया दहमा पानी छैन। हात्तीहरूले गर्मीयाममा नुहाउने र तिर्खा मेट्ने दह भनेर सुनिआएको हात्तीघोल दह सुक्यो। बंगही दह पनि सुक्यो,” खरेल भन्छन्, “खासमा चुरे मुनिको क्षेत्रमा भएको अनियन्त्रित दोहनको प्रभाव हो। वन विनाशसँग पनि जोडिएको छ।”

उनका अनुसार डुमरबानाको पिलुवा, डकहा, कतर्वा र महेन्द्रनगरबाट १० वर्षअघि पानीको हाहाकार शुरू भएको थियो। त्यो फैलिँदै आसपासका जिल्ला र मधेशमा उस्तै समस्या देखिएको उनी बताउँछन्। 

यो पनि: उत्खननले बगर बन्दै जमिन, नाशिँदै जल र जीवनको चक्र

जल संकट बढ्दो अवस्थामा रहेकोले यसलाई समाधान गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारले प्रभावकारी योजनाहरू ल्याउनु पर्ने उनको भनाइ छ।

सिरहाको उत्तरी क्षेत्रका केही गाउँहरूमा पनि कलमा पानी आउन छाडेको मिथिला वाइल्डलाइफ फाउन्डेसनका अध्यक्ष देवनारायण मण्डलले बताए। “यो समस्या तराईमा जतासुकै छ। भूमिगत जलस्रोतहरू बिथोलिएपछि खानेपानीको समस्या त छँदैछ, कृषिका लागि सिँचाइ पनि हुने अवस्था छैन,” उनी भन्छन्।

चुरेक्षेत्र तराईको जल भण्डारण हो। यसको फेदमा रहेको जंगलमुनिको सतहमा संरक्षित पानी नै तराईका लागि मूल स्रोत भएको मण्डल बताउँछन्। अहिले त्यो जल भण्डार अनियन्त्रित उत्खनन्ले समाप्त हुँदै गएकोले समस्या देखिएको उनको भनाइ छ। “अर्को कारण चाहिँ, वर्षा नहुँदा बढ्दो गर्मीका कारण जमिन सुक्खा भएर भूमिगत पानी सुकेको छ, जसले गर्दा पानीको समस्या विकराल हुँदै गएको छ,” मण्डल भन्छन्।


सम्बन्धित सामग्री