Monday, April 29, 2024

-->

चर्च ब्वाइजको चमत्कार: ‘सी’ डिभिजनबाट लगातार उठेर ‘ए’ डिभिजन उपाधि

२०६६ सालमा स्थापना भएको, त्यसपछि पनि वर्षौंसम्म मोफसलका प्रतियोगितामा केन्द्रित भएको चर्च ब्वाइजले पहिलो सहभागितामै ‘ए’ डिभिजन लिग उपाधि जित्नु चमत्कारभन्दा कम छैन।

चर्च ब्वाइजको चमत्कार ‘सी’ डिभिजनबाट लगातार उठेर ‘ए’ डिभिजन उपाधि
तस्वीर : एन्फा

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिगका शुरूआती खेल खेल्दै गर्दा नवप्रवेशी चर्च ब्वाइज नयाँ क्लब थियो। उसले केही चमत्कार गर्ने संकेत देखाइसकेको थियो। तर, उपाधि नै जितिहाल्छ भन्ने धेरैले आकलन गरेका भने थिएनन्।

शुरूआती संकेतझैँ लिगको १०औँ चरणसम्म उसले तालिकामा राम्रै अग्रता लियो। केही खेल गोलरहित बराबरी खेले पनि टोली अपराजित रह्यो। त्यसैले समर्थकले मात्र होइन, उसकै प्रतिद्वन्द्वी टोलीका प्रशिक्षकले पनि चर्च ब्वाइजलाई उपाधि दाबेदार नै मान्न थाले।

तर, क्लबका अध्यक्ष टंकलाल राई भने आफ्नो क्लबलाई उपाधि दाबेदार मान्न तयार नै थिएनन्। उनी बारम्बार दोहोर्‍याइरहन्थे, “हाम्रो लक्ष्य भनेको शीर्ष ६ हो।”

यसको पनि कारण थियो।

पछिल्लो एक वर्षमा राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका सहित चार दर्जनभन्दा धेरै खेलाडी सुरक्षित भविष्यको खोजीमा विदेश पलायन भएका थिए। त्यसको प्रभाव लिगमा पर्ने नै भयो।

अझ चर्च ब्वाइजबाट खेलेर राष्ट्रिय टोलीमा पुगेका तेज तामाङ र दिनेश राजवंशी पनि अस्ट्रेलिया भासिएपछि राईको मनमा चिसो पस्यो। लिग सकिँदासम्म कति खेलाडी बाँकी रहलान् भनेर हिसाबकिताब गर्न सकिने अवस्था थिएन। अधिकांश क्लब युवा खेलाडीकै भरमा थिए।

राई भन्छन्, “आफूले राम्रो खेल खेलेरभन्दा पनि अन्य टोलीले नराम्रो खेलेर चर्च ब्वाइज उपाधिको दाबेदार देखिएको थियो। लिगमा जे पनि हुन सक्ने अवस्था थियो।”

उनले भनेझैँ २३औँ चरणको खेल सकिँदासम्म चर्च ब्वाइज र साबिक विजेता मछिन्द्र क्लबबीच दुई अंक मात्र फरक थियो।

यस्तोमा कसले लिग जित्ला भनेर अनुमान गर्न सक्ने अवस्था थिएन। तर, २४औँ चरणअन्तर्गत दशरथ रंगशालामा शनिबार भएको खेलमा चर्च ब्वाइजले जावलाखेलको सामना गर्‍यो। एक हिसाबले भन्दा फाइनलजस्तै रहेको त्यो खेलमा चर्च ब्वाइजले ३–० गोलअन्तरको जित निकाल्दै आफूलाई पछ्याइरहेको मछिन्द्रसँगको अंक दूरी ६ मा पुर्‍यायो।

अर्को दिन च्यासल मैदानमा भएको खेलमा मछिन्द्र विभागीय टोली नेपाल पुलिससँग २–१ गोलअन्तरले विजयी भयो। अर्थात् त्यहीँबाटै चर्च ब्वाइजको उपाधि यात्रा लगभग निश्चित जस्तै भयो।

अनि ढुक्क देखिए राई। “एक खेल कम खेलेको मछिन्द्रसँग ३९ अंक थियो, हामीले २४ खेल खेलिसकेका थियौँ। दुई खेल खेल्न बाँकी रहँदा हामीसँग ४४ अंक भयो,” उनले मंगलबार सुनाए, “लिगका बाँकी दुई खेलमा हामीलाई थ्री स्टारविरुद्ध एक अंक मात्र काफी थियो। त्यो अंक हासिल गर्‍यौँ र लिग जित्यौँ।”

तल्लोदेखि माथिल्लोसम्मको लगातार लिग
चर्च ब्वाइजले डेब्यू लिगमा उपाधि मात्रै जितेन, सर्वाधिक आठ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबले बनाएको ३७ वर्षे कीर्तिमान पनि बराबरी गर्‍यो, लगातार ‘सी’, ‘बी’ र ‘ए’ डिभिजन जित्ने।

यसअघि मनाङले २०३९ मा ‘सी’ डिभिजन जितेको थियो। २०४२ सालमा ‘बी’ र लगत्तै अर्को वर्ष २०४३ मा ‘ए’ डिभिजनको उपाधि जित्दै मनाङले लगातार लिग जित्ने कीर्तिमान नै कायम गर्‍यो।

त्यसयता यो सफलता कुनै क्लबले हासिल गर्न सकेन। तर, चर्च ब्वाइजले उक्त सफलता हासिल गर्‍यो। मुख्य प्रशिक्षक बालगोपाल महर्जन क्लब करिअरमा यस्तो सफलता बिरलै प्राप्त हुने बताउँछन्।

“म आफूलाई लक्की नै मान्छु। यसअघि सिनियर र जुनियर नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न उपाधि जित्यौँ। तर, लिग जित्ने र मनाङसँगको कीर्तिमानी बराबरी गर्ने अवसर मलाई जुर्‍यो,” उनले मंगलबार साँझ उकालोसँग भने, “यो एक दुर्लभ उपलब्धि नै मान्नुपर्छ। यस्तो सफलता जो कोहीलाई प्राप्त हुँदैन।”

चर्च ब्वाइजले यो सफलता मनाङले जस्तो चार वर्षमै प्राप्त गरेको होइन। उसले यो सफलता प्राप्त गर्न करिब १४ वर्ष कुर्नुपर्‍यो। चर्च ब्वाइज काठमाडौँको लिगका लागि नौलो क्लब हो।

२०६६ सालमा स्थापना भएको क्लब हो, चर्च ब्वाइज। स्थापनापछि उसले स्थानीय केही खेलाडी समेटेर मोफसलमा प्रतियोगिता खेल्न थाल्यो।

केही प्रतियोगितामा उपाधि हासिल गरेपछि उसले काठमाडौँ छिर्ने योजना बनायो। त्यसका लागि ‘सी’ डिभिजन छनोट खेल्नुपर्ने समीकरण थियो। तर, लगातार पाँच पटक छनोट खेलेको चर्च ब्वाइजले असफलता मात्र बेहोर्‍यो।

यद्यपि, मोफसलमा उसले लोभलाग्दो उपलब्धि हासिल गरी नै रह्यो। ‘सी’ डिभिजनमा छनोट हुनुअघि उसले पाथीभरा, दुहवी, दमक, बसाहा, सुरुङ्गा गोल्डकपलगायत मोफसलका नकआउट प्रतियोगिताका १२ उपाधि जितिसकेको थियो।

अन्ततः मोफसलबाहिर सबै उपलब्धि हासिल गरिसकेको चर्च ब्वाइजले १० वर्षपछि आफ्नो सपना साकार गर्‍यो।

उसले २०७६ को ‘सी’ डिभिजन लिग छनोट जित्यो। अनि बुन्यो शीर्ष डिभिजन खेल्ने सपना।

‘सी’ डिभिजन छनोटको उपाधि जितेको चर्च ब्वाइजले अर्को वर्षको चैतमा ‘सी’ डिभिजन लिगको उपाधि पनि उचाल्यो। त्यसको दुई वर्षमै ‘बी’ डिभिजन जित्दै शीर्ष डिभिजनमा पुग्न चर्च ब्वाइज सफल भयो।

बालगोपाल ‘फ्याक्टर’
चर्च ब्वाइजले लिग खेल्नुअघि नै अमेरिकी नागरिक प्रदीप हुमागाईंलाई टोलीको मुख्य प्रशिक्षक बनाएको थियो। नेपाली नागरिकता त्यागेर अमेरिकातिरै बस्ने गरेका उनले श्रम स्वीकृति लिनुपर्ने अवस्था आयो। तर, विभिन्न प्रक्रियागत झन्झटका कारण लिगको पाँचौँ चरण सकिँदासम्म उनले श्रम स्वीकृति प्राप्त गर्न सकेनन्।

प्रदीपले क्लब छाड्नुअघि चर्च ब्वाइजसँग ११ अंक थियो। त्यसयता चर्च ब्वाइजले दुई खेल प्रशिक्षकविहीन नै खेल्यो। ती दुवै खेल गोलरहित बराबरीमा टुंगिए।

महर्जनले लिगको आठौँ चरणबाट चर्च ब्वाइजको ‘कमान्ड’ सम्हाले। लिग जित्ने आश्वासन दिएर चर्च ब्वाइजमा आबद्ध भएका उनले शुरूका चार खेलमा त्यो अनुसारको नतिजा भने दिलाउन सकेनन्।

न्यूरोड टिम (एनआरटी), एपीएफ, फ्रेन्ड्स र थ्रीस्टारसँग चर्च ब्वाइजले अंक बाँड्यो। तर, १०औँ खेलमा सातदोबाटो यूथ क्बलमाथि १–० गोलअन्तरको जित निकाल्दै चर्च ब्वाइज उपाधि लक्ष्यमा फर्कियो। त्यसयता चर्च ब्वाइजले लिगमा एकदुई ठाउँमा बाहेक अन्यत्र पछाडि फर्केर हेर्न परेन।

प्रशिक्षक महर्जन यसको मुख्य श्रेय भने अध्यक्ष राई र टिम म्यानेजरलाई जाने बताउँछन्। खेलाडी अनुबन्धदेखि सबै कुरामा आफूलाई सहयोग भएको कारण यो सफलता प्राप्त गरेको उनको भनाई छ।

“बंगुबन्धु, साग, थ्री नेसन्स गेम र एनएसएल सबै उपाधि जितेँ। किन जितेँभन्दा त्यहाँ टिम राम्रो थियो, डेडिकेसन थियो। डिसिप्लिन, टेक्निक, ट्याक्टिस, मोटिभेसनलगायत सबै कुरा चाहिन्थ्यो। त्यो यहाँ पनि पाएँ, त्यसैले सफल भयौँ,” उनले भने।

लिग शुरू हुनुभन्दा अगाडि नै चर्च ब्वाइज बलियो टोली बनाउन चाहन्थ्यो। उसले थ्रीस्टारबाट कप्तान अनन्त तामाङसँगै गोलरक्षक प्रिसोलाई अनुबन्ध गर्‍यो। मनाङको कप्तानी गर्दै आएका अञ्जन विष्ट पनि त्यहीँ जोडिए। उनीहरूसँगै राष्ट्रिय टोलीबाट खेलिरहेका तेज तामाङ, दिनेश राजवंशी र एरिक बिष्ट थपिए।

तर, तेज र दिनेश एक खेल पनि नखेल्दै बिदेसिए। कागजमा बलियो देखिएको चर्च ब्वाइजलाई त्यसले खासै ठूलो असर भने परेन।

“हुन त म ८ म्याचपछि आएको थिएँ। सन् २०१२ देखि सहकार्य गरेको छोरा (अनन्त र अञ्जन) समानका खेलाडीहरू एकै ठाउँमा जोडिन पायौँ। राम्रो टिमवर्क भयो,” प्रशिक्षक महर्जन भन्छन्, “तर अट्याकिङ थर्डमा समस्या थियो। स्कोरिङ निस्किएन। मैले राष्ट्रिय, अन्तर्राष्ट्रिय र लोकल खेलाडीहरूलाई फोकस गरेँ। यसले केही टिमविरुद्ध फराकिलो अन्तरमा जित पनि निकाल्यौँ। यसैले पनि उपाधि जित्न सक्यौँ।”

खिन्न खेलाडी
शीर्ष डिभिजनको लिग जित्ने टोलीले अन्तर्राष्ट्रिय क्लबहरूको प्रतियोगिता, एएफसी कपमा सहभागिता जनाउने अवसर प्राप्त गर्छ। तर, चर्च ब्वाइजले भने त्यो अवसर गुमाएको छ। शीर्ष डिभिजनका टोलीले एशियन फुटबल कन्फेडेरेसन (एएफसी) क्लब लाइसेन्स पाउन आफ्नै एकेडेमीदेखि उमेर समूहको टोली र मैदानलगायत केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। तर, चर्च ब्वाइजले त्यो मापदण्ड नै पूरा गर्न सकेन।

उसले यसअघि पोखरातिरको विद्यालयसँग सहकार्य गरेर एकेडेमी चलाइरहेको थियो। लिग खेल्न ललितपुरमा एक मैदान भाडामा लिएको थियो। तर, त्यसले एएफसीले तोकेको मापदण्ड पूरा गर्न सकेन। उक्त मापदण्ड पूरा गर्न नसकेपछि एएफसी कपमा सहभागिता जनाउने अवसर भने लिगको उपविजेता मछिन्द्र क्लबले प्राप्त गर्‍यो।

पहिलो सहभागितामै चर्च ब्वाइजलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता गराउने मौका खेर जाँदा कप्तान अनन्त खिन्न देखिए। यसबाट क्लब व्यवस्थापनले पाठ सिक्नुपर्ने उनी बताउँछन्।

“चर्च ब्वाइजलाई अन्तर्राष्ट्रिय मञ्चमा लिएर जान नपाउँदा एकदमै दुःख लागेको छ। क्लबले नै एक अवसर गुमायो। यसबाट म्यानेजमेन्टले पाठ सिक्नुपर्छ,” उनी भन्छन्।

लिग अन्त्यतिर पुग्दैगर्दा चर्च ब्वाइजका खेलाडीहरू एएफसी कप खेल्ने कुराले फुरुङ्ग थिए। अन्य राष्ट्रका बलिया क्लब र खेलाडीहरूसँग प्रतियोगिता खेल्न पाउँदा पर्याप्त ‘एक्सपोजर’ प्राप्त गर्ने मौका पनि थियो। तर, क्लबले मापदण्डमा ध्यान नदिँदा दुःख लाग्नु स्वाभाविक रहेको लिगमा ६ गोल गरेका फरवार्ड अञ्जन बताउँछन्।

“हामीले यत्रो मिहिनेत गरेर टिमलाई जिताएका छौँ। तर, अर्को टोली जाँदा दुःख त लाग्छ नै। एएफसीमा सहभागिता जनाउन मछिन्द्र जान्छ रे भन्ने सुनेको छु। जो गए पनि राष्ट्रको सहभागिता गर्ने हो। बेस्ट विसेस,” उनले भने।


सम्बन्धित सामग्री