Saturday, April 27, 2024

-->

'टर्निङ प्वाइन्ट' बन्न सक्छ रहाणेको चेन्नाई यात्रा

अजिंक्य रहाणे यसपटककाे आईपीएलमा लयमा फर्किएका छन्। उनले रन मात्र बनाएका छैनन्, स्ट्राइक रेट पनि उत्कृष्ट छ। त्यसैले पाँच वर्षपछि भारतकाे एक दिवसीय टाेलीमा स्थान बनाउन सक्छन्।

टर्निङ प्वाइन्ट बन्न सक्छ रहाणेको चेन्नाई यात्रा

काठमाडाैँ– अनुभवी ब्याट्सम्यान अजिंक्य रहाणे सन् २०२२ को शुरूआतमा भारतीय टेस्ट टोलीबाट बाहिरिएपछि निकै दबाबमा थिए। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा उनको प्रदर्शन पनि निराशाजनक रह्यो।

७ इनिङ्स खेलेका उनले १२८ बलमा १३३ रनमात्रै बटुल्न सके। त्यसपछि कोलकाता नाइट राइडर्सले उनलाई टोलीबाट पनि हटायो। खस्किँदो प्रदर्शनपछि आईपीएलमा आफ्नो आधार मूल्य घटाएर ५० लाख भारूको समूहमा आफूलाई समावेश गरे। आईपीएलका लागि खेलाडीको ‘अक्सन’ हुँदा चेन्नई सुपर किंग्सले रहाणेका लागि बोली लगायो। उनलाई चेन्नईले ५० लाख भारूमा किन्यो।

रहाणेका लागि चेन्नईले अक्सनअघि नै योजना बनाएको थियो। टोलीका सीईओ काशी विश्वनाथनले मुख्य प्रशिक्षक स्टीफन फ्लेमिङ र कप्तान महेन्द्रसिंह धोनीसँग पनि यसबारे कुरा गरेका थिए। फ्लेमिङले रहाणेसँग राइजिङ पुणे सुपरजाइन्ट्समा काम गरेका थिए। पुणे महाराष्ट्रमा आधारित फ्रेन्चाइजी क्रिकेट टिम थियो, जसले सन् २०१६ मा आईपीएलमा सहभागिता जनायो र सन् २०१७ मा फाइनलमा खेल्यो।

पुणे वारियर्स इन्डियापछि पुणेको प्रतिनिधित्व गर्ने दोस्रो टोली हाे। मालिकहरू अवैध सट्टेबाजीमा संलग्न रहेको पाइएपछि चेन्नईलाई दुई सिजन आईपीएलबाट प्रतिबन्धित गरिएको थियो। त्यही टोलीको प्रतिस्थापनका लागि पुणे टोलीको निर्माण गरियो। सन् २०१५ मा राजस्थान रोयल्सले ७ लाख ५० हजार भारूमा भित्र्याएको रहाणेको प्रदर्शन लोभलाग्दो रह्यो।

१३ इनिङ्स खेलेका उनले ४ अर्धशतकसहित ५४० रन बनाए। त्यसपछि पुणेको व्यवस्थापक उनीबाट लोभिए। अर्को सिजन चेन्नईसँगै राजस्थान पनि प्रतिबन्धमा परेपछि जन्मिएको पुणेले उनलाई ८ करोड भारूमा भित्र्यायो। सन् २००८ मा मुम्बई इन्डियन्सबाट आईपीएल खेल्न थालेका उनले पाएको यही नै उच्च पारिश्रमिक थियो। पारिश्रमिक अनुसार उनले आफ्नो ब्याट पनि चलाए।

१४ इनिङ्स खेलका उनले ६ अर्धशतकसहित ४८० रन बनाए। तर, पुणे समूह चरणमै सिमित भयो। अर्को सिजन रहाणे झनै महँगिए। उनलाई पुणेले ९ करोड ५० लाख भारूमा ‘रिटेन’ गर्‍यो। तर, उनको प्रदर्शन त्यति राम्रो रहेन। फाइनलमा मुम्बई इन्डियन्ससँग १ रनले पराजित हुँदा उनले ३८ बलमा ४४ रन बनाएका थिए। प्रतियोगिताभर १६ इनिङ्समा २ अर्धशतकसहित ३८२ रन मात्रै बनाए।

अर्को दुई सिजन राजस्थानमा फर्किए। तर, प्रदर्शन झनै खस्किँदै गयो। दुई सिजनका २७ इनिङ्समा ७६३ रन मात्रै बटुल्न सके। त्यसपछि दिल्ली क्यापिटल्स पुगे। बिरलै मौका पाएका उनले ११ इनिङ्समा १२३ रन मात्रै बटुले।

यद्यपि, धोनीसँग खेलिसकेका रहाणेमाथि चेन्नईको विश्वास थियो। धोनीको कप्तानीमा भारतीय टोलीबाट पनि उनले धेरै खेल खेलिसकेका छन्। त्यसैले प्रशिक्षक-कप्तान जोडीले रहाणेलाई मन पराए। चेन्नईले रहाणेको मूल्य ५० लाखभन्दा बढी हुने अनुमान गरेको थियो। यसका लागि फ्रेन्चाइजीले तयारी पनि गरिसकेको थियो। तर, रहाणेका लागि चेन्नईबाहेक कुनै फ्रेन्चाइजीले बोली नै लगाएन।

रहाणेले यस सिजन पनि चेन्नईबाट मौका पाइहालेनन्। यसका लागि तेस्रो खेलसम्म कुर्नुपर्‍यो। वांखडे स्टेडियममा घरेलु टोली मुम्बई इन्डियन्सविरुद्ध भएको खेलमा उनले मौका पाए। टस हुनुभन्दा केहीबेर अघिसम्म उनलाई आफू प्लेइङ ११ मा परेको थाहा थिएन।

बेन स्टोक्स र मोइन अली घाइते भएपछि टोलीलाई अनुभवी खेलाडीको आवश्यकता पर्‍यो। अनि रहाणेले मौका पाए र चौका/छक्का प्रहार गरे। तेस्रो नम्बरमा क्रिजमा उत्रिएका उनले चेन्नईलाई ७ विकेटको जित दिलाउन २७ बलमा ७ चौका र ३ छक्कासहित ६१ रनको विस्फोटक इनिङ्स खेले।

यो इनिङ्स उनको करिअरको ‘टर्निङ प्वाइन्ट’ साबित भयो। उनले सन् २०२० पछि आईपीएलमा पहिलोपटक अर्धशतक बनाएका थिए। यो इनिङ्सपछि अचानक रहाणेलाई भारतीय टोलीमा लिने चर्चा चल्यो। तर, यो चर्चा चल्नुको कारण ६७ रनको इनिङ्स मात्र थिएन, यसको पछाडि रणजी ट्रफी पनि थियो।

रणजी ट्रफीको अन्तिम सिजनमा रहाणेले मुम्बईका लागि दुई शतकको मद्दतले ५७.६३ को औसतमा ६३४ रन बनाएका थिए। धोनीबाहेक मुख्य प्रशिक्षक फ्लेमिङ र ब्याटिङ प्रशिक्षक माइकल हसीले चेन्नईको क्याम्पमा रहाणेको ब्याटिङ सुधार्न मिहिनेत गर्नुपर्‍यो।

रहाणेलाई स्वतन्त्र रूपमा खेल्न र सधैँ तयार रहन सल्लाह दिए। उनले यो सिजन ३२.६० को औसतमा ३२६ रन बनाए। रहाणेले फाइनलमा गुजरात जायन्ट्सविरुद्ध १३ बलमा २७ रन बनाए। उनले दुई चौका र दुई छक्का प्रहार गरे। उनको इनिङ्सले चेन्नईलाई जितनजिक पुर्‍यायो।

च्याम्पियन बनेपछि रहाणेले भने, "म चेन्नई व्यवस्थापन र माही भाइ (धोनी)लाई धन्यवाद दिन चाहन्छु। उहाँले मलाई सधैँ साथ दिने वाचा गर्नुभयो। चेन्नईले दिएको स्वतन्त्रता पनि ठूलो कुरा हो। म आफ्नो ब्याटिङबाट धेरै खुशी छु।" धोनीले पनि रहाणेको तारिफ गरे। भने, "अजिंक्यजस्तो खेलाडीलाई सम्झाइरहनु पर्दैन। उहाँ धेरै अनुभवी हुनुहुन्छ।"

आईपीएलले क्रिकेटरको जीवनमा ठूला परिवर्तन ल्याएको उदाहरण धेरै छन्। आईपीएलमार्फत नयाँ खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्ने मौका मात्र पाउँदैन, पुराना खेलाडीलाई पुनरागमन गर्ने अवसर पनि सिर्जना गर्छ। यो वर्षको अन्त्यमा भारतमा एक दिवसीय विश्वकप आयोजना हुँदैछ। सन् २०१९ जस्तै यस पटक पनि भारतीय टोलीमा चौथो नम्बरको समस्या खडा भएको छ। पछिल्लो तीन वर्षमा श्रेयस अय्यरले चौथो नम्बरमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्थान पक्का गरेका थिए। तर, अय्यरले भर्खरै ‘ब्याक साइड’को शल्यक्रिया गरेका छन्। यस्तो अवस्थामा उनी विश्वकपसम्म ‘फिट’ हुन्छ या हुँदैनन् भन्न सकिने अवस्था छैन।

मार्चमा अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखलामा भारतले सूर्यकुमार यादवलाई चौथो नम्बरमा खेलाएको थियो। तर, कप्तान रोहित शर्माको यो प्रयाेग फ्लप साबित भयो। तीनै खेलमा सूर्यकुमारले खाता खोल्न सकेनन्। यति मात्र होइन, सूर्यकुमारले अहिलेसम्म २३ खेल खेल्ने मौका पाएका छन् र २४ को औसतमा ४३३ रन मात्र बनाउन सकेका छन्। यस्तो अवस्थामा सूर्यकुमारलाई नम्बर चारको विकल्पका रूपमा हेर्न सकिँदैन।

रहाणेले आईपीएलको १६औँ सिजनमा रन मात्र बनाएका छैनन्, स्ट्राइक रेट पनि उत्कृष्ट छ। रहाणेले ५२ को औसत र १९९ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन्। रहाणेको फार्मले उनलाई चौथो नम्बरको बलियो दाबेदार बनाएको छ। रहाणेसँग एक दिवसीय खेलेको अनुभव पनि छ।

उनले अन्तिम पटक सन् २०१८ मा एक दिवसीय टोलीमा खेल्ने मौका पाएका थिए। एक दिवसीय करिअरको कुरा गर्दा उनले ८७ इनिङ्समा ३५ को औसत र ७९ को स्ट्राइक रेटमा २९६२ रन बनाएका छन्। रहाणेले एक दिवसीय खेलमा ३ शतक र २४ अर्धशतक प्रहार गरेका छन्।


सम्बन्धित सामग्री