Friday, April 26, 2024

-->

बाह्रबिसे–तातोपानी सडक जीर्ण: जोखिम मोलेर सामान ढुवानी

बाह्रबिसे– तातोपानीखण्डको २४ किलोमिटर सडकमा बढी जोखिम छ। भत्किएको सडक मर्मतमा सरकारले चासो नदिएको व्यवसायीको गुनासो छ। 

बाह्रबिसे–तातोपानी सडक जीर्ण जोखिम मोलेर सामान ढुवानी

काठमाडौँ– नेपाल र चीनबीचको तातोपानी नाका सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ।

नेपालतर्फ बाह्रबिसेदेखि नाकासम्म विभिन्न स्थानमा पहिरो खसेपछि सडक जीर्ण बनेको छ। जसका कारण आवश्यक सामग्री ओसारपसार गर्न कठिनाइ भएको व्यवसायी दामोदर सत्यालले बताए।

सडक जताततै भत्किएकाले तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेको उनको भनाइ छ।

“सडकको स्तरोन्नति र बिस्तार हुन नसक्दा व्यवसायीले वर्षेनि सास्ती भोग्नुपरेको छ,” उनले भने, “तातोपानी क्षेत्र भौगोलिक रूपमा पनि विपद्को उच्च जोखिममा रहेकाले वर्षायाम शुरू भएसँगै मुख्य सडक बाढी, सुक्खा पहिरोलगायत समस्याका कारण सधैँ भासिने गरेको छ।”

सरकारले सडक मर्मतका लागि चासो नदिएको उनीहरूको गुनासो छ। भोटेकोशी नदीको किनार भएकाले पनि तातोपानी नाका जोड्ने सडकमा जोखिम बढी हुने गरेको छ। सामान बोकेर ठूला कन्टेनर सहज रूपमा गुड्नसक्ने अवस्था छैन।

४० फिटको कन्टेनर सामान बोकेर काठमाडौँसम्म ल्याउने अवस्था नरहेको अर्का व्यवसायी विजय शेर्पाले बताए। बाह्रबिसेदेखि २४ किलोमिटर सडकमा बढी जोखिम रहेको शर्पाको भनाइ छ। 

 


सम्बन्धित सामग्री