Thursday, April 25, 2024

-->

पश्चिमी सीमामा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहः व्यापारको प्रारूप बदल्ने आशा

भारतीय सहयोगमा नेपालगन्जमा निर्मित २ अर्ब ३५ करोडको एकीकृत जाँच चौकी उद्घाटनसँगै दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह बन्ने समझदारीले पश्चिमी नाकामा पनि अन्तर्राष्ट्रिय व्यापारको ढोका खुल्दैछ।

पश्चिमी सीमामा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहः व्यापारको प्रारूप बदल्ने आशा  
उद्घाटनपछि नेपालगन्जको एकीकृत जाँच चौकी हुँदै भारतबाट सामान लिएर बिहीबार नेपाल प्रवेश गरेको मालवाहक ट्रक। तस्वीरहरू: दामोदर भण्डारी

काठमाडौँ– नेपाल र भारतबीच हुने दुईदेशीय व्यापार तथा भारतीय मार्ग हुँदै तेस्रो मुलुकसँगको आयात–निर्यातमा पश्चिमी नाका अहिलेसम्म नाम मात्रका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा रहेकै बेला पश्चिमी क्षेत्रको प्रमुख नाका नेपालगन्जमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको छ भने कञ्चनपुरमा सुख्खा बन्दरगाह बन्ने निश्चित भएको छ। 

नेपालगन्जमा निर्मित एकीकृत जाँच चौकी भारत सरकारको २ अर्ब ३५ करोडको लागतमा तयार भएको हो। व्यापार आधुनिकीकरणको लागि महत्त्वपूर्ण मानिएको यो व्यापारिक पूर्वाधारको नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार बिहान अनलाइन माध्यमबाट संयुक्त रूपमा उद्घाटन गरे। 

८८ बिघा क्षेत्रमा फैलिएको आईसीपीमा एउटै प्रांगणमा भन्सार, अध्यागमन, बैंक, क्वारेन्टिनजस्ता व्यापार, पारवहन तथा यात्रु आवागमनको नियमन गर्ने कार्यालय सञ्चालन हुन्छ। जुम्ल्याहा संरचनाका रूपमा सीमा वारपार फैलिने आईसीपी अत्याधुनिक सुविधायुक्त भन्सार नाका हो। आईसीपीको उद्घाटनसँगै उक्त नाकाबाट बिहीबार मालसामानको औपचारिक आयात निर्यात शुरू भएको छ। यो नाका नियमित सञ्चालनमा पनि छिट्टै आउनेछ।  

साबिक नेपालगन्ज भन्सार नाका अबको केही महिनाभित्र नवनिर्मित आईसीपीबाट नै सञ्चालन हुनेछ। “दुवै देशका प्रधानमन्त्रीले आईसीपी उद्घाटन गरेपछि भारतबाट एक ट्यांकर पेट्रोलियम इन्धन, एक बुलेट एलपीजी ग्यास र प्लाइउड बनाउनमा प्रयोग हुने कच्चा सामग्री एक ट्रक आयात भएको छ,” नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले टेलिफोन वार्तामा भने, “यताबाट एक ट्रक जडीबुटी निकासी भएको छ।” 

उद्घाटनपछि नेपालगन्ज सीमा नाकास्थित एकीकृत जाँच चौकी भवन।

प्रधानमन्त्रीको भारत भ्रमणको मौका पारेर उद्घाटन गरिएको भए पनि आईसीपीको निर्माण कार्य पूरा हुन बाँकी छ। अन्तिम चरणका भौतिक पूर्वाधारहरू बनिसकेपछि आगामी एक–दुई महिनाभित्रमा नेपालगन्ज भन्सारको सेवा आईसीपीबाट सञ्चालन हुने शर्माले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्न बिहीबार नै नेपाल र भारतबीच सहमति भएको छ। प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा उक्त व्यापार पूर्वाधारको परियोजना बनाउन आर्थिक लगानी गरिरहेको भारतलाई नै निर्माणको जिम्मा पनि दिइएको छ। 

महाकाली नदी पारिको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने समझदारी पत्र नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षरपछि आदानप्रदान गरे । 

दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि सैद्धान्तिक सहमति भएपछि नेपालको इन्टरमोडेल विकास समितिले वातावरणीय प्रभाव मूल्यांकनको काम यसअघि नै सकिसकेको छ। यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने जिम्मा भारतीय सरकारी स्वामित्वको परामर्शदाता कम्पनी ‘राइस’ले पाएको छ।  

कञ्चनपुरको दोधारा–चाँदनीबाट भारतको प्रख्यात औद्योगिक क्षेत्र रुद्रपुर ९३ किलोमिटर मात्र टाढा छ। कञ्चनपुरमा सुख्खा बन्दरगाह नहुँदा अहिले सुदूरपश्चिमका व्यापारीले मालसामान आयात निर्यातका लागि २३१ किलोमिटर टाढाको नेपालगन्ज पुग्नु परिरहेको छ। 

दोधारा–चाँदनीलाई आधुनिक व्यापारिक नाकाको रूपमा विकास गर्ने माग आफूहरूले लामो समयदेखि राख्दै आएको कञ्चनपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जंगबहादुर मल्ल बत्ताउँछन्। त्यहाँ पनि एकीकृत जाँच चौकी (आईसीपी) बनाउन २०७९ साउन २३ गते भारत र नेपाल सरकारबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो। 

उक्त समझदारीअनुसार दोधारा–चाँदनीमा भन्सारको लागि प्रशासनिक भवन, पर्खाल तथा तारबार, सम्पर्क सडक, पार्किङ, गोदाम तथा क्वारेन्टिन चेकपोस्ट बन्नेछन्। आईसीपी सुरक्षा पोस्ट, अध्यागमन, बैंक, हुलाक, चमेनागृह, खानेपानी, शौचालय लगायतका पूर्वाधार सहितको हुनेछ। सरकारले महाकाली नदीमा पुल बनाएपछि त्यहाँ आधुनिक व्यापारिक नाका स्थापना गर्ने दसकौँ पुरानो सपना साकार हुन लागेको हो। 

दोधारा चाँदनीमा आईसीपी शुरू भएपछि त्यहाँबाट नेपालले अहिले प्रयोग गरेको आन्ध्रप्रदेशको विशाखापटनम् बन्दरगाह जत्तिकै दूरी (साढे १४ सय किलोमिटर)मा नेपालको व्यापारका लागि प्रस्तावित गुजरातको मुन्द्रा बन्दरगाह पनि पर्न जान्छ। मुन्द्रा बन्दरगाह नेपालले प्रयोग गर्न पायो भने युरोप, मध्यपूर्व र गल्फ मुलुकबाट भारत भएर आउने कन्टेनर भित्र्याउन करिब ३ हजार किलोमिटर ‘सी फ्रेड’ (समुद्री ढुवानी खर्च) र समय बचत गर्नेछ। ती मुलुकबाट नेपाल आउने कन्टेनरहरू अहिले विशाखापटनम् वा कोलकाता भएर आउँछन्। 

मध्यनेपालको प्रमुख नाका वीरगन्जको अलौमा यसअघिदेखि नै आईसीपी सञ्चालनमा छ। वीरगन्जकै सिर्सियामा रहेको  सुक्खा बन्दरगाह रेल सञ्जालमार्फत भारतका कोलकाता, हल्दिया र बिशाखापटनम् बन्दरगाह हुँदै अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गसँग जोडिएको छ। त्यस्तै विराटनगर नाकामा पनि आईसीपी र भैरहवा तथा काँकडभिट्टामा सुक्खा बन्दरगाह यसअघि नै सञ्चालनमा आएका छन्। चीनसँग जोडिएको उत्तरी नाका तातोपानीमा पनि सुक्खा बन्दरगाह छ। 


सम्बन्धित सामग्री