Monday, May 13, 2024

-->

दक्षिण कोरियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

दुई नेताबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारिक सम्बन्ध प्रवर्द्धनबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाली राष्ट्रपति र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
तस्वीर: रोयटर्स

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

जापानको हिरोसिमामा भएको जी–सेभेन शिखर सम्मेलनका क्रममा शनिबार भएको भेटमा पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारिक सम्बन्ध प्रवर्द्धनबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन्।

सो अवसरमा कोरियासँगको विशेष राजनीतिक साझेदारीबारे समेत छलफल भएको प्रवक्ता बाग्चीले बताएका छन्। दुवै पक्षले व्यापार, लगानी र प्रविधिका क्षेत्रमा सहकार्य गर्न सहमति जनाएका छन्। प्राविधिक उपकरण उत्पादन, प्रतिरक्षा र संस्कृति सम्बन्ध विस्तारबारे पनि छलफल भएको टाइम्स अफ इन्डियाले जनाएको छ।  

मोदी र येलले भारतले गरेको जी–ट्वेन्टी तथा कोरियाले गरेको हिन्द–प्रशान्त रणनीतिको अध्यक्षताबारे पनि छलफल गरेका थिए।

भारतीय प्रधानमन्त्रीको कार्यालयले कोरियाली राष्ट्रपतिसँगको प्रधानमन्त्री मोदीको भेटवार्ता फलदायी रहेको बताएको छ। 


सम्बन्धित सामग्री