Thursday, May 02, 2024

-->

मोरङमा बंगुरलाई देखियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

मोरङको बेलबारी–४ स्थित ठूली एकीकृत कृषि फर्ममा रहेका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। त्यहाँका बंगुरबाट नमूना लिई परीक्षणका लागि काठमाडौँस्थित प्रयोगशाला पठाइएको छ।

मोरङमा बंगुरलाई देखियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
फाइल तस्वीर

मोरङ- बेलबारीस्थित एक बंगुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। सो फर्मका बंगुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ। 

बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेका बंगुरमा सो रोगको लक्षण देखापरेको हो।  चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताए। “केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो,” लिम्बूले भने।

वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताएर नेपाल आएपछि उनले बंगुर पालना शुरू गरेका हुन्। विदेशमा सीकेको सीप प्रयोग गर्न आफूले बंगुर पालन शुरू गरेको उनी बताउँछन्। तर, रोगका कारण २५ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए।

छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगको असर नदेखाएको उनको भनाइ छ। उनले २२ कट्ठा जमिनमा तीन वर्ष अघिदेखि फर्म सञ्चालन गर्दै आएका छन्।

बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षणका लागि विराटनगर हुँदै काठमाडौँ पठाइएको जानकारी दिए। रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्ने भन्दै उनले प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने उहाँले बताए। 

उनका  अनुसार यो रोगको लक्षण दुई वर्षअघि नेपालमा भेटिएको थियो।


सम्बन्धित सामग्री