Sunday, May 05, 2024

-->

सगरमाथा आरोहणका क्रममा अस्वस्थ १ शेर्पालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

सगरमाथा आरोहणका क्रममा क्याम्प २ बाट माथि उक्लिँदै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि एक शेर्पालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।

सगरमाथा आरोहणका क्रममा  अस्वस्थ १ शेर्पालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौँ– सगरमाथा आरोहणका क्रममा क्याम्प २ बाट माथि उक्लिँदै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि एक शेर्पालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँमा ल्याइएको छ।

सतोरी आरोहण दलका सदस्य ३० वर्षीय फुर्वा शेर्पालाई अचानक रुघाखोकी, घाँटी दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल उद्धार गरी काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारार्थ भर्ना गरिएको हो। उक्त दलले मे १७ को बिहान सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यका साथ आरोहण थालेको थियो।

अन्य आरोहीको स्वास्थ्यमा पनि सामान्य समस्या देखिएको बताइएको छ। उनीहरूलाई आधारशिविरमा ल्याइएको छ। “आधार शिविरमा यस्तो समस्या धेरैलाई देखिएको छ, भाइरलजस्तै भएको छ। अन्य शेर्पाहरूलाई उद्धार गरी तल ल्याइएको छ,” सतोरी दलका विवेक पाण्डेले उकालोसित भने, “चिसोले भन्दा पनि आधारशिविरमा धेरै देशका मानिसहरू आउने र तिनीहरूले पनि धेरै किसिमका रोग ल्याउँछन्।”

यसअघि कोरोना भाइरसको संक्रमण देखिएका ६ जनालाई फिर्ता पठाइएको थियो। अहिले केही आरोहीलाई कोरोनाको जस्तै लक्षण देखिए तापनि स्वास्थ्य अवस्था त्यति जटिल बनेको देखिएको छैन। तर बिरामी भएका सबैमा उस्तै लछ्ण देखिएको छ। उनका अनुसार शेर्पा बिरामी पर्दा आरोहणमा असर पर्ने छैन। अतिरिक्त शेर्पाहरूको टोली ब्याकअपका रूपमा रहेको छ।

आठ जना शेर्पाको टोलीले शनिबार सगरमाथाको शिखरसम्म पुग्ने बाटो खुलाउनुका साथै डोरी टाँगेका थिए। त्यसको भोलिपल्ट आइतबार बिहान केही आरोहीहरू शिखरमा पुगेका छन्। शिखरमा पुग्ने आरोहीमा पाकिस्तान र अमेरिकाका गरी दुई जना महिला पनि छन्। सोमबार बिहान करिब सय जना आरोहीहरू चुचुरोमा पुग्ने बताइएको छ।

कसैको सहायताबिना एक्लै सगरमाथाको शिखरसम्म पुग्ने पहिलो पाकिस्तानी साजिद अलि सादपारा भएका छन्। उनी अक्सिजन नलगाई र शेर्पाहरूको सहायताबिना शिखरमा पुगेका थिए। अग्ला पहाड चढ्ने उनको पिताको सपना थियो।


सम्बन्धित सामग्री