Wednesday, May 08, 2024

-->

कांग्रेसले खाली गरिदिएको मैदानमा सत्ता ‘दाहिना’ बन्दा सम्भव उपेन्द्रको जित

कलैयाको करणराज होटलमा वैशाख ५ गते बसेको बैठकपछि उपेन्द्र यादवले रणनीति बदले। उनी कांग्रेस मतदाता तान्नेतिर मात्र केन्द्रित भएनन्, प्रधानमन्त्रीदेखि मधेशका मुख्यमन्त्री र मन्त्रीलाई समेत बारा उतारे।

कांग्रेसले खाली गरिदिएको मैदानमा सत्ता ‘दाहिना’ बन्दा सम्भव उपेन्द्रको जित

काठमाडौँ- उपनिर्वाचन आउन एक साता पनि बाँकी थिएन। अनलाइन पोर्टल सेतोपाटीले बारा-२ मा केन्द्रित रहेर गरेको सर्वेक्षणलाई आधार मानेर वैशाख ४ गते साँझ एउटा विश्लेषण सार्वजनिक गर्‍यो, जसको शीर्षक थियो ‘उपेन्द्र यादवलाई बारामा पनि आच्छु आच्छु, कुशवाहाको अग्रता।’

उक्त विश्लेषणमा ३५.६ प्रतिशतले जनमत पार्टीका उम्मेदवार कुशवाहालाई मत दिने बताएको उल्लेख थियो। दोस्रोमा जसपा अध्यक्ष यादवलाई २८.८ प्रतिशतले मत दिने बताएका थिए। तेस्रो स्थानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेल र नेकपा एमाले उम्मेदवार पुरूषोत्तम पौडेलबीच कडा प्रतिस्पर्धा रहेको भनिएको थियो। ८.६ प्रतिशतले कसलाई मत दिने निर्णय गरिनसकेको पनि उल्लेख थियो।

यो रिपोर्ट सार्वजनिक हुँदा उपेन्द्र यादव बाराको कलैयास्थित मुख्यमन्त्री सरोजकुमार यादवको घरमा आराम गरिरहेका थिए। त्यसको भोलिपल्ट नै उपेन्द्रले निर्वाचन परिचालन समितिका सदस्यसहित अगुवा नेताको बैठक बोलाए।

उपेन्द्र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष हुन्। सरोज उनकै पार्टीबाट मुख्यमन्त्री बनेका हुन्।

त्यति मात्र नभई सम्भावित नतिजाबारेको प्रक्षेपण र मत विश्लेषणबारे बुझ्ने जिम्मा उपेन्द्रले तत्कालै जसपाका प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई दिए। प्रदीपले विभिन्न सञ्चारमाध्यमबाट बारा खटिएका पत्रकारलाई फोन गरे। वैशाख ५ गते कलैयाको करणराज होटलमा बसेको जसपाको निर्वाचन परिचालन समितिको बैठकमा आफूले संकलन गरेको सूचना प्रदीपले 'ब्रिफिङ' गरे।

बैठकमा बोल्ने नेताले उपेन्द्र घरघर नपुगेको र गठबन्धनका नेताहरूलाई महत्त्व नदिएको गुनासो आएको सुनाए। त्यसपछि उपेन्द्रले सबै नेता–कार्यकर्तालाई बारामा केन्द्रित गर्न निर्देशन दिए। कमिकमजोरी सच्याउने भन्दै उनले त्यसपछि चुनावी रणनीति नै बदलेको एक नेता बताउँछन्। 

उपेन्द्रको यस्तो ‘मूभ’को कारण मंसिर ४ को निर्वाचनसँग जोडिएको छ। त्यसबेला पनि सेतोपाटीमा सप्तरी–२ बाट उनी पराजित हुने प्रक्षेपण सार्वजनिक भएको थियो। त्यो विश्लेषणलाई उनले बेवास्ता गरेका थिए। सप्तरी–२ मा उनी जनमत पार्टीका अध्यक्ष सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए। त्यही कारण उपेन्द्र यसपटक झस्किएनन् मात्र, रणनीति नै बदले।

उपेन्द्रको जितमा निर्णायक कांग्रेस
उपनिर्वाचन हुन चार दिनअगाडि पनि बारा-२ मा जनमतका शिवचन्द्र नै बलियो रहेको संकेत मिल्थ्यो। एक त गठबन्धनको फितलो समर्थन, अर्कोतिर जनमतलाई गैरयादवहरूको बलियो साथले शिवचन्द्रको पोल्टामा परिणाम जाने धेरैको आकलन बारा–२ का गाउँ–बजार घुम्दा देखिन्थ्यो।

चैत १९ गते कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले उपेन्द्र नै गठबन्धनको साझा उम्मेदवार हुने निर्णय गरेको थियो। तर, बाराका कांग्रेस नेता-कार्यकर्ता असन्तुष्ट थिए। कांग्रेस बारा जिल्ला सचिव भैयाराम यादवका अनुसार कांग्रेसका जिल्ला नेताले आफ्नै उम्मेदवार उठाउन माग गरेका थिए। 

कांग्रेसको केन्द्रले गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरे पनि जिल्लाका नेता-कार्यकर्ता सकारात्मक नभएको 'ब्रिफिङ' उपेन्द्रलाई भएपछि उनी कांग्रेसजन फकाउनतिर लागे। त्यसका लागि उनले कांग्रेसका केन्द्रीय नेतालाई नै बारा पुर्‍याए।

“उपेन्द्रजी हाम्रो मतबेगर जित्नसक्नु हुन्थेन। हामीले बेइमानी गरेनौँ। कांग्रेसको लगभग शतप्रतिशत मत छातामा गएको छ,” भैयाराम भन्छन्, “हामीले थोरै तलमाथि गरको भए उहाँ हार्नु हुन्थ्यो। तर देउवाजी र सारा केन्द्रीय नेताहरूको जोड भएका कारण हामीले छातामा मत हाल्यौँ।”

बारा कांग्रेस सभापति राजेशराय यादव पनि कांग्रेसकै मतले उपेन्द्र यादव उपनिर्वाचन जित्न सफल भएको बताउँछन्। “अरू गतिलो उम्मेदवार थिएनन्। पार्टीको दबाब पनि थियो। त्यसैले हामीले उपेन्द्रजीलाई सघायौँ,” उनी भन्छन्, “यदि हामीले इमान्दारिता नदेखाएको भए जित्न मुश्किल थियो। तर बेइमानी गर्नु कांग्रेसको नीति होइन।”

मंसिर ४ को निर्वाचनमा पनि कांग्रेसले यो क्षेत्रमा उम्मेदवार उठाएको थिएन। माओवादीबाट उम्मेदवार भएका शिवचन्द्र कुशवाहलाई सघाएको थियो। तर, जसपाका रामसहाय यादवले कुशवाहालाई पराजित गरेका थिए। उक्त निर्वाचनमा बारा-२ बाट समानुपातिकमा सबैभन्दा बढी मत जसपाकै थियो भने दोस्रोमा कांग्रेसको थियो। जसपाले १३ हजार २४२ र कांग्रेसले ११ हजार १७९ मत पाएका थिए। तेस्रोमा रहेको एमालेको ९ हजार १९३ र चौँथो भएको जनमतको ८ हजार ८४६ मत थियो।

सीके राउतविरुद्ध मधेशकेन्द्रित गठबन्धन
उपनिर्वाचनको मौन अवधि शुरू हुन जम्मा ४८ घण्टा बाँकी थियो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य जितेन्द्र सोनल महागढीमाईस्थित पोखरी छेउमा करिब ५० जनाको भेलालाई सम्बोधन गर्दै थिए। पाँच दलीय गठबन्धनमध्ये लोसपाको मत जसपातिर खसाउन लगाउने जिम्मा लोसपाले उनलाई सुम्पेको थियो।

सोनल भेलालाई उठेर सम्बोधन गर्दै थिए, स्रोता भुईंमा ओछ्याइएका तन्नामा बसेका थिए। सोनलको भाषणको ध्येय जसरी पनि सीके राउत र उनी नेतृत्वको जनमत पार्टीविरुद्ध त्यहाँका मतदातालाई उभ्याउनु थियो।

“सीके राउतको पार्टीले कदाचित जितेहाले पनि उनी सरकारमा जाँदैनन्। सरकारमा हुने हामी नै हो। उनले यो क्षेत्रमा एक ट्रयाक्टर माटो पनि खसाउन सक्दैनन् भने विकास के गर्छन्?” उनले भन्दै थिए, “यहाँको मान्छेलाई प्रहरीले पक्राउ गर्‍यो भने सीके राउत आउँदैनन् छोडाउन। छोडाउन आउने हामी नै हो। यो कुराहरू बाराबासीले बिर्सिनु हुँदैन।”  

बाराबाट जितेपछि जहाँ देउवा र प्रचण्ड बस्छन्, त्यहाँ उपेन्द्र यादव पनि बस्ने हुँदा उनलाई जिताउन आवश्यक भएको सोनलले बताए। उपेन्द्रले जितेपछि मात्रै बारामा विकास सम्भव हुने उनको भाषणको मुख्य आशय थियो। सोनल गएको मंसिर ४ को निर्वाचनमा बारा-४(२) बाट प्रदेशसभामा निर्वाचित भएका थिए।

राज्य संयन्त्रको साथ
उपेन्द्रलाई उपनिर्वाचन जिताउन निर्वाचन आचारसंहिता विपरीत मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव स्वयम् प्रचारमा खटिएका थिए। उनी वैशाख पहिलो सातादेखि नै ढुक्कै गृहजिल्ला बारामा थिए। घरदैलोमा पनि सहभागी भएका उनी चुनावको दिन मतदान केन्द्रहरूको भ्रमणमा थिए।

मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्रीद्वय सरिता साह र सुरिता साह पनि प्रचारमा खटिएका थिए। प्रचारको अन्तिम दिन त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हेलिकोप्टरबाट बाराको महागढीमाई आएर उपेन्द्रको पक्षमा मत मागेका थिए। उनीसँगै पूर्वप्रधानमन्त्रीद्वय, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल पनि उपस्थित थिए।

राजनीतिक विश्लेषक उमेशलाल दास उपेन्द्रले उपनिर्वाचन जित्न सत्ताको दुरूपयोग गरेको बताउँछन्। “उपेन्द्र कतिसम्म कमजोर देखिए भने उपराष्ट्रपति र मुख्यमन्त्री सोही क्षेत्रको भए पनि उनलाई जनमत एक्लैले हम्मेहम्मे पारेको छ,” उनी भन्छन्, “राज्य संयन्त्रले पनि उनलाई उत्तिकै सघायो। म त यही क्षेत्रको हो। यति सहयोग उपेन्द्रले नपाएको भए उनको पक्षमा नतिजा आउने थिएन।”

उपेन्द्रले यादव+मुस्लिम (एमवाई) भजाएर मत मागेको दासको आरोप छ। यादवले हदैसम्मको शक्ति लगाएर पनि ठूलो अन्तर बनाउन नसकेको उनी बताउँछन्।

अर्का राजनीतिक विश्लेषक वीरेन्द्र यादव पनि उपेन्द्रले चुनाव जित्न राज्यकै शक्ति लगाउनुको अर्थ मधेशमा उनी कमजोर साबित भएको बताउँछन्। “गठबन्धन र राज्य संयन्त्रको सहयोग नभएको भए उनको जित सम्भव थिएन,” उनी भन्छन्, “यति धेरै शक्ति लगाएर पनि उनलाई जित्न सहज नहुनु भनेकै उनी कमजोर हुनु हो।”


सम्बन्धित सामग्री