Saturday, June 22, 2024

-->

किन फुट्यो जसपा, कसले फुटायो?

जसपाबाट विभाजित भएर नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएका नेताहरूले अध्यक्ष यादवले अस्थिरता निम्त्याउन खोजेकाले अलग बाटो रोजेको तर्क गरेका छन्।

किन फुट्यो जसपा कसले फुटायो

काठमाडौँ– मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार जनता समाजवादी पार्टी (जसपा), नेपालको महाधिवेशन तयारी समितिको बैठक चलिरहेको थियो। त्यहीबेला काठमाडौँबाट जसपा विभाजन भएको खबर फैलियो। पार्टी विभाजनको यो खबरले बैठकमा खैलाबैला भयो। जसपा सांसद अशोक राईको नेतृत्वमा सात सांसद र २९ केन्द्रीय सदस्यले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खबरसँगै स्वाभाविक रूपमा चलिरहेको बैठकमा असामान्य अवस्था सिर्जना भयो। 

संघीय सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा छन्। यही बेला जसपामा विभाजन भएको हो। अध्यक्ष यादव आफू विदेश भ्रमणमा जाँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएका राजेन्द्र श्रेष्ठसमेत दल विभाजनतिर लागेका छन्।

पार्टी विभाजनका पक्षमा श्रेष्ठसहित सांसदहरू अशोक राई, वीरेन्द्र महतो, प्रदीप यादव, नवलकिशोर साह सुडी (संघीय सरकारका वनमन्त्री), सुशीला श्रेष्ठ, हसिना खातुन र रञ्जु ठाकुर छन्। पार्टीको नाम जसपा र चुनाव चिह्न मुठ्ठी राख्ने गरी उनीहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन्। नयाँ पार्टीमा राई अध्यक्ष र श्रेष्ठ संघीय परिषद् अध्यक्ष, नेता मोहम्मद इस्तियाक राई महासचिव रहने प्रस्ताव गरिएको छ।

हाल प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्। सात जना अल्गिएसँगै संस्थापन पक्षमा पाँच सांसद बाँकी छन्।

नेता श्रेष्ठ अध्यक्ष यादवले देशमा अस्थिरता निम्त्याउन खोजेकाले अलग बाटो रोजेको बताउँछन्। “यो पहिले देखिकै कुरा हो। मैले पाँच/छ महिनाअगाडि नै भनेको थिएँ, लामो यात्रा हिँड्ने हो भने मिलेर पार्टी चलाऔँ, तपाईं आफ्नो बाटो हिँड्ने हो भने हिँड्नूस् म आफ्नो बाटो हिँड्छु,” श्रेष्ठ भन्छन्, “हामी राजनीतिक अस्थिरता चाहँदैनौँ, स्थायित्वका माध्यमबाट देशमा सेवा प्रवाह, सुशासन, समृद्धि र समाजवादको यात्रामा हिँड्ने हो।” जसपाका तर्फबाट वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् रहने उनको भनाइ छ।

मन्त्री सुडी अध्यक्ष यादवले एकलौटी निर्णयका आधारमा पार्टी हाँक्न खोजेको, आफूहरूले पहिलेदेखि नै सचेत गराउँदै आएको तर सुधार नभएपछि यस्तो निर्णय लिन बाध्य भएको बताउँछन्। “सरकारमा हेरफेर गर्ने कुरा चलिरहेका बेला सरकारको स्थिरताका लागि हामीले एउटा निर्णय लियौँ। जबसम्म स्थिर सरकार हुँदैन तबसम्म विकास पनि हुँदैन, डेढ-दुई महिनामा सरकार फेर्दै गयो भने देशको विनाश हुन्छ,” उनले भने। वर्तमान सरकारलाई स्थायित्व दिनका लागि नै आफूहरूले यस्तो निर्णय लिएको उनले दाबी गरे।

पार्टी गठन भएको पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने कानूनी व्यवस्थाअनुसार जसपाको पहिलो महाधिवेशन यही जेठ २८, २९ र ३० गते जनकपुरमा हुने तय थियो। २०७७ वैशाख १२ गते जसपा गठन भएको थियो। उपेन्द्र यादवको नेतृत्वमा मधेशी जनाधिकार फोरम नेपाल स्थापना भएयता पटक–पटक फुट्दै, जुट्दै नाम फेरिँदै आएकोमा यसपटक पनि महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष बन्ने उनको चाहना पूरा नहुने देखिएको छ।

यो पनि : जनमत–जसपा टकराव: मधेशमा फेरि बदलाको राजनीति चर्किने चिन्ता

त्यसो त राई समूह संसदीय दलको नेता चयन गर्दादेखि नै अध्यक्ष यादवसँग असन्तुष्ट थियो। गत मंसिरमा सम्पन्न आमनिर्वाचनपछि प्रतिनिधिसभाको छैटौँ ठूलो दल बनेको जसपाले संसदीय दलको नेतामा आकांक्षी राईलाई किनारा लगाएर बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई चयन गर्‍यो। पार्टीको विधानअनुसार पहिलो वरीयता अर्थात् कार्यकारी अध्यक्ष यादवभन्दा पनि माथि रहेका संघीय परिषद्का अध्यक्ष राईले सर्वसम्मत संसदीय दलको नेता हुने इच्छा व्यक्त गरेका थिए।

तर पार्टी अध्यक्ष यादवले रामसहायलाई अघि सारेर मतदानको तयारी थालेपछि राईले संसदीय दलको नेतामा उम्मेदवारी नै दिएनन्। संसदीय दलको नेताको निर्वाचनका लागि गठित निर्वाचन समितिले रामसहायको एकल उम्मेदवारी परेकोले संसदीय दलको विधानको दफा १० को (४) बमोजिम उनी संसदीय दलको नेता निर्वाचित भएको सूचना सार्वजनिक गर्‍यो। राईसहित उनी नजिकका सांसदहरूले त्यसमा प्रतिवाद जनाएनन्।

पछि रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी सांसद निर्वाचित क्षेत्र बारा–२ मा उपनिर्वाचन भयो। त्यो उपनिर्वाचन जितेर उपेन्द्र आफैँ संसदीय दलका नेता चयन भए।

यता गत निर्वाचनअगाडि नै राई एमालेमा जाने चर्चा थियो। तर निर्वाचनका लागि उम्मेदवारी मनोनयनभन्दा एक दिनअगाडि जसपाले एमालेसँगै चुनावी तालमेल गरेपछि राईले जसपाबाटै चुनाव लडे र जित पनि हासिल गरे।

जसपामा भएको पछिल्लो विकासक्रमलाई कतिपयले वर्तमान सत्ता गठबन्धनको प्रमुख घटक, नेकपा एमालेको संसद्को पहिलो दल बन्ने चाहनासित जोडेर पनि हेरेका छन्। जसपाबाट विभाजित समूह चाँडै एमालेमा गाभिने उनीहरूको दाबी छ। जसपाका एक नेताले भने यसमा भूराजनीतिक चलखेल जोडिएको दाबी गर्दै भने, “यो सामान्य डिजाइनबाट भएको होइन। केही समयमा अरू दलमा पनि यसको असर देखिन थाल्नेछ।”

यो पनि : जसपामा चर्कियो समस्या, उपेन्द्रविरुद्ध बनेको ‘मोर्चा’ विभाजनसम्मको तयारीमा


सम्बन्धित सामग्री