काठमाडौँ– ठूला दलका अभीष्ट पूरा गर्न अनुकूल हुने गरी साना दलको विभाजन र एकीकरण हुने नेपाली राजनीतिको पछिल्लो प्रवृत्ति फेरि पनि दोहोरिएको छ। कानूनी व्यवस्थाअनुसार स्थापनाको पाँच वर्षभित्र महाधिवेशन गर्ने तयारीमा जुटेको जनता समाजवादी पार्टी (जसपा) नेपाल आइतबारदेखि फुटेको छ। २०७७ वैशाख १२ गते गठन भएको पार्टी ४ वर्ष १२ दिनमा तेस्रो पटक विभाजन भएको हो।
२०७७ वैशाख ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्यो। त्यसको उद्देश्य समाजवादी पार्टीको एउटा समूहलाई अलग गराउनु हो भनेर अर्थ्याइयो। त्यतिबेला पार्टी अध्यक्ष उपेन्द्र यादवसँग तत्कालीन सांसदहरू मोहम्मद इस्तियाक राई, प्रदीप यादव, रेणु यादवलगायत असन्तुष्ट थिए। उनीहरूलाई अलग्याएर बेग्लै दल बनाउने आशयले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली नेतृत्वको तत्कालीन सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भन्ने विश्लेषण गरियो।
तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रूपमै अध्यादेशको विरोध गर्यो। सरकारमा रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले र मओवादी मिलेर बनेको दल)कै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षले पनि विरोध जनाए। ओली सरकारले अध्यादेश फिर्ता पनि लियो। तर समाजवादी पार्टी विभाजनको तरबार झुण्डिएपछि त्यसबाट पार्टीलाई जोगाउन उसले रातारात राष्ट्रिय जनता पार्टी (राजपा)सँग एकीकरण गर्यो।
करिब ११ वर्षसम्म एक ठाउँमा आउन नसकेका र मधेशमा दुई धार भएर बढेका पार्टी २०७७ वैशाख १० गते मध्यरातमा एकजुट भए। त्यो घटना अप्रत्याशित थियो। त्यसअघि ६ दल मिलेर बनेको महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सोही रात एकताको सहमतिपत्रमा हस्ताक्षर गरे। समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ र राजपाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले सहमति गरेसँगै जनता समाजवादी पार्टी नेपालको जन्म भयो।
त्यसबेला फुट्नबाट जोगिएको समाजवादी पार्टी त्यो एकतापछि अझ मजबुत देखियो। मुख्यतया मधेशमा आधारित दुई प्रमुख दलहरू एकजुट हुनुपछाडि एकताको सन्देशलाई भाष्य बनाउन खोजिए पनि त्यसबेलाको एकता बाध्यतात्मक थियो। त्यतिखेर विफल भयो भनिएको तत्कालीन प्रधानमन्त्री ओलीको योजना करिब ४ वर्षपछि अहिले पूरा भएको भनी टिप्पणी पनि भइरहेका छन्।
संघीय सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा छन्। उनको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष रहेका राजेन्द्र श्रेष्ठ र संघीय परिषद् अध्यक्ष अशोक राईसहित प्रतिनिधिसभामा रहेका पार्टीका सात सांसद अलग्गिएपछि संस्थापनसँग पाँच सांसद बाँकी छन्। प्रतिनिधिसभामा १२ सदस्य रहेको जसपा विभाजन हुँदा सांसदको संख्याको हिसाबले अध्यक्ष यादव पक्ष अल्पमतमा परेको छ।
विभाजन टारेर तत्कालीन राजपासँगको एकीकरणपछि बनाइएको जसपा गठनपछि पहिलो पटक फुटेको होइन। अध्यादेशलाई साधन बनाएर पार्टी फुटाउन सकिने गरी सरकारमा हुँदा एमालेले गरेको प्रयासको तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चर्को विरोध गरेको थियो। तर ओली नेतृत्वको सरकारलाई अदालतमार्फत् विस्थापित गरेर सत्तामा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पार्टी विखण्डनमा अझै सजिलो हुने गरी अध्यादेश ल्याएर एमाले र जसपा फुटाउने बाटो खालिदियो।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाअनुसार कुनै दलको केन्द्रीय समिति र संघीय संसदको संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरू समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन। देउवा सरकारले ऐनमा रहेको ४० प्रतिशतलाई २० मा झारेर त्यो पनि केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकतिर मात्र पुर्याएमा दल फुटाउन मिल्ने बाटो खोलिदियो।
देउवाको नेतृत्वमा २०७८ असारमा सरकार बन्नुअघि नै तत्कालीन नेकपा विभाजित भएर नेकपा (एमाले) र माओवादी केन्द्र अलग भइसकेका थिए। एमालेबाट चोइटिएर नेकपा (एकीकृत समाजवादी) र जसपाबाट चोइटिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यसबेला अध्यादेशबाट आएको कानूनअनुसार गठन भए।
जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले चुनावचिन्ह साइकल लिएर २०७८ भदौ ३ मा लोसपा गठन गर्नु जसपा नेपाल स्थापनाको साढे १५ महिनाभित्रै भएको पहिलो फुट थियो। त्यसपछिको अर्को दुई वर्ष आठ महिनामा अहिले विधिवत् रूपमा ठूलो समूहले पार्टीबाट अलग्गिएर नयाँ दल बनाएको हो। नाम जसपा र चुनाव चिन्ह मुठ्ठी राख्ने गरी निर्वाचन आयोगमा सोमबार दर्ता भएको नयाँ दलमा राई र श्रेष्ठसँगै नेता मोहम्मद इस्तियाक राई, पार्टीका प्रमुख सचेतक प्रदीप यादव, सांसद वीरेन्द्र महतो, नवलकिशोर साह सुडी (संघीय सरकारका वनमन्त्री), सुशीला श्रेष्ठ, हसिना खातुन र रञ्जु ठाकुर छन्।
जसपा विभाजनको ‘एमाले आयाम’
गत निर्वाचनअघि नेता अशोक राई एमालेमा जाने चर्चा थियो। तर निर्वाचनको लागि उम्मेदवारी मनोनयनको अघिल्लो दिन मात्र जसपा र एमालेबीच तालमेल भयो र राई जसपाबाटै चुनाव लडे। उनी सुनसरी–१ बाट प्रतिनिधिसभामा निर्वाचित पनि भए। त्यसबेला एमालेसँग चुनावी गठबन्धनका लागि आफैले बढाएको प्रयास सफल भएपछि मात्र उनले एमाले पस्ने तत्कालीन योजना रोकेका थिए।
चुनावमा पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ मा एमालेले साथ नदिएको अध्यक्ष यादव पक्षधर नेता कार्यकर्ताको प्रतिक्रिया थियो। अरू निर्वाचन क्षेत्रहरूमा चुनावपछि असन्तोष र आरोप–प्रात्यारोप देखिए पनि राईको क्षेत्रमा गठबन्धनको धर्म निर्वाहमा उनको पुरानो दल एमाले कतै नचुकेको टिप्पणी सुनिन्थ्यो।
एमालेको बलियो साथ पाएर राई विजयी हुँदा सप्तरीमा पराजय भोगेलगत्तै असन्तुष्ट बनेका अध्यक्ष यादवले २०७९ मंसिर १८ मा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चुनाव सकिएसँगै नेकपा (एमाले) सँग आफ्नो दलको सहकार्य पनि सकिएको बताएका थिए। अर्को दिन मंसिर १९ मा राईले यादवको त्यो भनाइ व्यक्तिगत भएको भन्दै त्यसलाई पार्टीको धारणा नमानिने प्रतिक्रिया दिए। चुनावको मुखमा शुरू भएको राई–यादव टकराव निर्वाचन सकिएको १५ दिनमै यसरी सतहमा आएको थियो।
निर्वाचनपछि प्रतिनिधिसभाको छैटौँ ठूलो दल बनेको जसपाको संसदीय दलको नेतामा आकांक्षी राईलाई किनारा लगाएर २०७९ पुस १३ मा बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई चयन गरियो। पार्टीको विधानअनुसार पहिलो वरियतामा रहेका राईले सर्वसम्मत संसदीय दलको नेता हुन राखेको चाहनाविपरीत अध्यक्ष यादवले रामसहायलाई अघि सारेका थिए।
त्यसबाट क्षुब्ध बनेका राईले संसदीय दलको नेतामा उम्मेदवारी नै नदिएपछि संसदीय दलको नेताको निर्वाचनका लागि गठित समितिले एकल उम्मेदवार रामसहायलाई विधानअनुसार निर्वाचित भएको सूचना टाँस्यो। पछि रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनकै क्षेत्र बारा–२ मा भएको उपनिर्वाचन जितेर उपेन्द्र आफै संसदीय दलको नेता चयन भए।
जसपाबाट मोहभंग भएको कारण राई र उनका समर्थनमा रहेका सांसदहरूले त्यहाँ सामान्य प्रतिवादसम्म गरेनन्। उपेन्द्र यादवलाई ठूलो झट्का दिने मनसाय बनाएको कारण प्रतिवाद नगरेको त्यतिबेला आकलन गरिए अनुसारको नतिजा यतिखेर देखा परेको हो।
पार्टी विभाजन गरी अलग भएकामध्ये राई र श्रेष्ठको साबिक राजनीतिक दल नेकपा एमाले नै हो। नवगठित पार्टीको महासचिव भएका नेता इस्तियाक राई लामो समयदेखि जसपाभित्र केपी ओलीसँग निकटता भएको नेताको रूपमा चिनिएका हुन्। त्यस्तै, २०७७ वैशाखको पहिलो साता समाजवादी पार्टी फुटाउन अध्यादेश ल्याइएको भनिएको प्रकरणमा एमालेसँग निकै सक्रियातासाथ संवादमा रहेका सांसद हुन् पर्सा–१ का प्रदीप यादव।
जसपा विभाजनको खबर आउँदा उता मधेश प्रदेशको जनकपुरधाममा आसन्न पहिलो महाधिवेशनको तयारी समितिको बैठक चलिरहेको थियो। यस खबरले बिथोलिएको बैठकमा सहभागी एक नेताले ‘पछि गएर एमालेसँग मिल्ने डिजाइनअनुसार पार्टी फुटाउन लागिएको खेल हो’ भनेर प्रतिक्रिया दिएका छन्।
पार्टी फुटाएर नयाँ दल बनाउनेमा सक्रिय रहेका मन्त्री सुडीलाई उकालोले सोधेको थियो, “पछि एमालेसँग एकीरण हुने किसिमले यो दलको सिर्जना भएको हो?” उनले ‘त्यस्तो होइन’ भनेर प्रतिक्रिया दिए। “आजै त विभाजन भएको छ, अहिले हामी कहाँ एमालेमा गइराखेका छौँ र?” आइतबार साँझ उनले भने, “एमालेमा जाँदा त बताइदिन्छौँ नि हामी जादैछौँ भनेर।”
फोरम नेपालदेखि जसपासम्म
उपेन्द्र यादवको नेतृत्वमा गठन भएको तत्कालीन मधेशी जनअधिकार फोरम पहिला गैरसरकारी संस्था थियो। २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानमा संघीयता उल्लेख नभएको भन्दै यादवले माइतीघरमा संविधानको प्रतिलिपि जलाए। सोही मुद्दामा उनी पक्राउ परे। पछि मधेशमा आन्दोलनले बिस्तारै आकार लियो। त्योसँगै मधेशी जनअधिकार फोरम, उपेन्द्र यादव र मधेशको अधिकार तथा पहिचानको मुद्दा उजागर भए। मधेशी जनअधिकार फोरम, नेपाल दलका रूपमा २०६४ वैशाखमा निर्वाचन आयोगमा दर्ता भयो।
स्थापनासँगै विभाजनको क्रम पनि शुरू भयो। भाग्यनाथ गुप्ताको नेतृत्वमा रहेको एउटा समूह यादवलाई समर्पणवादी भन्दै अलग भयो। २०६४ भदौ १५ गते उनीहरूले फोरमबाट अलग भएर मधेशी जनअधिकार फोरम, मधेश गठन गरे। पहिलो संविधानसभा निर्वाचन २०६४ मा फोरमले ५२ सिट जिते पनि त्यो निर्वाचनलाई फोरम मधेशले बहिस्कार गरेको थियो।
संविधानसभाको पहिलो निर्वाचनपछि पुष्पकमल दहाल नेतृत्वको सरकारमा बलियो उपस्थिति दर्ज गरेको फोरममा चिरा पर्न धेरै समय लागेन। उपेन्द्र यादवको कार्यशैली र पार्टीको सैद्धान्तिक विषयहरूमा विचलन भएको भन्दै नेता अमर यादवले २०६५ चैत ७ गते अलग भएर मधेश तराई फोरम गठन गरे।
दाहालपछि प्रधानमन्त्री बनेका माधव नेपालको सरकारमा जाने विषयमा विवाद भएपछि संसदीय दलका नेता विजयकुमार गच्छदारले त्यतिबेलाको संविधानसभाका २८ सभासद्को साथ लिएर २०६६ जेठमा पार्टी फुटाए। उतिबेला त्यो ठूलो झट्का थियो। सरकारमा पार्टीको तर्फबाट को मन्त्री बन्ने, को नबन्ने भन्ने विषय नै त्यस विभाजनको मुख्य कारण बनेको थियो। गच्छदारले अर्का नेता शरतसिंह भण्डारीको साथ लिएर मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे।
फोरम फुटाएका गच्छदारको फोरम लोकतान्त्रिक पार्टी पनि धेरै समय सग्लो रहन सकेन। भण्डारीले २०६९ असारमा राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) गठन गरे। अरू असन्तुष्टहरू पनि त्यसै गरी फरक पार्टी खडा गरेर अलग्गिए। फोरम लोकतान्त्रिकबाट निस्केका सञ्जयकुमार साहले २०६७ पुस ६ गते मधेश क्रान्ति फोरम गठन गरेका थिए भने २०६८ माघ ६ गते उपेन्द्र झाले नागरिक रक्षा दल बनाएका थिए।
२०६८ जेठ ९ गते जयप्रकाश गुप्ताले फोरमका राजकिशोर यादवसहितका १३ सभासद् लिएर मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी गठन गरे। बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेकै बखत सर्वोच्चबाट भ्रष्टाचारी ठहर भएका गुप्ता जेल गएपछि कार्यवाहक अध्यक्ष राजकिशोर यादवले पार्टीको नेतृत्व गरे। फोरम गणतान्त्रिकका नन्दकुमार दत्तले २०६९ पुस ११ गते उही नामको अर्को पार्टी बनाए।
यहीबीच उपेन्द्र यादवले महन्थ ठाकुर लगायतका अन्य मधेशवादी दलसँग एकताको कुरा अगाडि बढाइरहेका थिए। तर नेतृत्वको विषयमा कुरा नमिल्दा एकता सम्भव हुन सकेको थिएन। यद्यपि दोस्रो, तेस्रो तहका नेताहरू एकीकरणका लागि नियमित छलफलमै थिए। तर जहिले पनि नेतृत्वकै विवादले ती छलफल सार्थक भएनन्।
तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले त्यसबेलाको सद्भावना पार्टी र तमलोपासँग एकीकरणको प्रयास जारी राखेकै बेला एमालेबाट अलग भएका अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी (ससपा) नेपाल र खस समावेशी पार्टीसँग एकीकरण भएर २०७२ जेठ ३२ गते संघीय समाजवादी फोरम नेपाल बन्यो।
नेकपा एमालेबाट अलग भएपछि अशोककुमार राईले स्थापना गरेको ससपाकै सदस्य रहेका मोहम्मद रिजवान अन्सारी एकीकरणपछि संघीय समाजवादी फोरम नेपालमा धेरै दिन टिकेनन्। अन्सारी अन्ततः २०७२ माघ २१ मा संघीय नवविचार समूह गठन गर्न पार्टीबाट छुट्टिएका थिए। सोही समूह २०७३ पुस २ मा नेपाल संघीय समाजवादी पार्टीमा रूपान्तरण भएको थियो।
संघीय समाजवादी फोरमको तर्फबाट उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग मिलेर जसपा बनेको थियो। नयाँ शक्ति पार्टीको तर्फबाट भट्टराई र समाजवादी फोरमको तर्फबाट यादवले २०७६ वैशाख २१ गते पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरे।
त्यसको दुई दिनपछि राजधानीमा आयोजित एक समारोहबीच दुई पार्टी एकीकरण भई समाजवादी पार्टी नेपाल गठनको घोषणा गरिएको थियो। एकीकृत पार्टीमा भट्टराई पहिलो, यादव दोस्रो, अशोक राई तेस्रो र राजेन्द्र श्रेष्ठ चौथो वरियतामा थिए। यही दल २०७७ वैशाख १० गते मध्यरातमा महन्थ ठाकुर नेतृत्वको राजपासँग एकीकरण भएपछि गठन भएको पार्टी हो जसपा नेपाल। २०७९ साउन १२ मा बेग्लै दल बनाउने घोषणा गरेर जसपाबाट अलग्गिएका बाबुराम भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेको थियो। अहिले जसपा नेपालबाट अलग्गिएर जनता समाजवादी पार्टी (जसपा) जन्मिएको छ।