काठमाडौँ– “मीन दाइ! २०४६ सालमा तपाईंले खिच्नुभएको दुर्गा दिदी (दुर्गा थापा)को फोटो दिनुस् न।”
फोटो पत्रकार प्रसिद्धि स्थापितले दुई हप्ताअघि फोन गरेर मीनरत्न बज्राचार्यसँग आग्रह गरे। मीनले ‘नाइँ’ भन्न सकेनन्।
हरेक वर्षको चैतमा २०४६ सालको जनआन्दोलनको जानकारी र त्यससँग सम्बन्धित तस्वीर माग्न धेरैले मीनलाई सम्झिन्छन्। प्रसिद्धिले पनि त्यही कारण तस्वीर मागेको होला भन्ने उनले ठानेका थिए। तर फरक उपयोगका लागि तस्वीर मागेको थाहा पाएपछि उनी खुशीले गद्गद् भए।
“नेपालले पठाउन लागेको दोस्रो स्याटलाइटमा राखेर अन्तरिक्षमा पठाउन फोटो मागिएको रहेछ,” मीन भन्छन्, “त्यो सुनेर मलाई धेरै खुशी लाग्यो।”
यो खबर सुन्दा उनी ‘बेड रेस्ट’मा थिए। १० महिनाअघि सवारी दुर्घटनामा परेपछि खुट्टा चलाउन नमिल्ने अवस्था थियो। बिहान खाना खाएर परिवारका सदस्य काममा निस्किएपछि उनी एक्लै पर्थे। अनि, समय बिताउन पुराना तस्वीर निकालेर खिचिएको मितिअनुसार पुनः व्यवस्थित गर्दै जान्थे।
त्यो दिन पनि पुराना तस्वीर हेर्दैगर्दा प्रसिद्धिको फोन आएको थियो। कुराकानीपछि उनलाई त्यो तस्वीर लिएको पल झलझली याद आयो।
यसरी खिचियो त्यो तस्वीर
नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चाको आह्वानमा २०४६ सालको अन्त्यतिर आन्दोलन चर्किंदै थियो। त्यसलाई रोक्न चैत २४ गतेदेखि काठमाडौँमा कर्फ्यु लगाइएको थियो। तर कर्फ्यु तोडेर जनता सडकमा निस्किए। ठाउँठाउँ गोली चलेको थियो। कतिपयले ज्यान गुमाइरहेका थिए।
चैत २६ गते राति तत्कालीन राजा वीरेन्द्रले आन्दोलनरत दलहरूसँग सम्झौता गरे। देशमा प्रजातन्त्रको पुनर्बहाली भयो। बहुदलीय प्रतिस्पर्धाबाट संसदीय प्रणालीको अभ्यास हुने भयो।
राजा वीरेन्द्रले नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरेर प्रजातन्त्र पुनर्बहालीको घोषणा गरे। जनता राति नै सडकमा निस्किएर विजय जुलुस मनाउन थाले। तर कर्फ्यु लागू गर्न सडकमा खटिएका प्रहरीलाई उक्त घोषणाबारे जानकारी नभएको र ठाउँठाउँमा गोली चलाएको मीन बताउँछन्। प्रहरीको गोलीबाट भेडासिंहमा पुष्परत्न शाक्य तथा रेस्टुरेन्टमा काम गर्ने युवा राजन रायमाझीको मृत्यु भयो।
भोलिपल्ट चैत २७ गते बिहानैदेखि विजय जुलुस निस्किन थाल्यो। मीन पनि तस्वीर लिन जुलुस पछ्याउन थाले।
आन्दोलनको आह्वान गर्ने नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले दिउँसो खुलामञ्चमा विजयसभा गरे। २०४६ चैत २७ गते दिउँसो करिब ४ बजेतिर उक्त सभामा उनले एउटा तस्वीर लिए। सभा भइरहेको बेला एकजना महिला उभिएर चिच्याइन्। ती महिलाले नारा लगाएको तस्वीर मीनको क्यामरामा कैद भयो। उनी थिइन् दुर्गा थापा। अनि दुर्गालाई कैद गरिएको मीनको त्यो तस्वीर २०४६ सालको आन्दोलन चिनाउने ‘आइकोनिक’ बन्यो।
“त्यतिबेला मसँग सामान्य निकोनको एफएम२, एपार्चर २.५ भएको १०५ एमएमको पोट्रेट लेन्स थियो। त्यही लेन्सले चउरको पश्चिमदेखि पूर्वसम्मको भीडलाई खिच्न पानोरामा सट खिच्दै थिएँ,” मीन सम्झन्छन्, “त्यतिबेला तीनदेखि चार स्टेपमा मैले सट खिच्दै गर्दा दुर्गा थापा बीचमा उभिएर नारा लगाइन्। एकैछिनमा अरूले उनलाई बसाइहाले। मैले खिच्दै गर्दा त्यो मोमेन्ट क्याप्चर भयो।”
उक्त तस्वीरको महत्त्व त्यसबेलाका चर्चित पत्रिकाका सम्पादकले नबुझेको मीनको गुनासो छ। उक्त तस्वीर पत्रिकाहरूले छापेनन्। तर जब जर्मन फोटो पत्रकार एवं सम्पादक थोमस बंकले किताबको लागि कभर बनाउन उक्त तस्वीर छनोट गरे, त्यसको महत्त्व बढ्यो।
मीनले तस्वीर देखाउँदै जाँदा बंकले उनलाई रोक्दै भनेका थिए, “हामीले ठ्याक्कै यस्तै फोटो खोजेका हौँ। यसमा आममानिस छन्। आममानिसहरूको शक्ति यसमा देखिएको छ। यसमा भएका विभिन्न पार्टीका झन्डाले यो फोटोलाई हस्तक्षेप गरेको छैन।”
अचेल मीन त्यही तस्वीर बारम्बार हेर्छन्। घोत्लिन्छन्। ‘किन यो फोटो प्रसिद्ध भयो?’ आफैँलाई प्रश्न गर्छन्। त्यो बेला उनीबाहेक हातका औँलामा गन्नसक्ने फोटो पत्रकार थिए।
तस्वीरले बनेका सम्बन्ध
मीनले अष्ट्रेलियामा फोटोग्राफीको तालिम लिने अवसर पाए। त्यहाँबाट फर्किएपछि जनजीवनका फोटोहरू खिच्थे। अन्तर्राष्ट्रिय म्यागजिनहरूमा छापिएका तस्वीर भने नियमित हेर्थे।
मीनले २०४४ सालमा गोपालराज श्रेष्ठको अंग्रेजी पत्रिका ‘द कमनर’बाट फोटो पत्रकारिता शुरू गरे। पहिलोपटक उनले खिचेर छापिएको थियो, पत्रकार पदम ठकुराठीलाई गोली हान्नेहरूको तस्वीर। कमनरमा १९८७ जुलाई १७ (२०४४ साउन १)मा उक्त तस्वीर छापिएको थियो।
सोही वर्ष फागुन २९ गते फुटबल भइरहेको बेला दशरथ रंगशालामा भागदौड हुँदा ७१ जनाको मृत्यु भएको थियो। आँधी आउन शुरू गरेपछि भागदौड भएको थियो। उक्त भागदौडको तस्वीर पनि मीनले खिचेका थिए।
यी दुई घटनाका तस्वीरले उनलाई पनि चर्चित बनायो। राजनीतिक दलका नेताले पनि चिने। उनी गणेशमान सिंह, पीएल सिंहलगायत नेतासँग नजिक भए। प्रतिबन्धित दलका कार्यक्रमबारे उनले अगाडि नै सूचना पाउन थाले। अनि कार्यक्रम शुरू हुनुभन्दा एक घण्टाअघि नै त्यहाँ पुग्थे।
सबै जना पत्रकार एकै ठाउँमा बसेर तस्वीर लिने तरिका पनि उनलाई मन पर्दैन। त्यो शैली अहिले पनि कायम छ। उनी भने डुलीडुली तस्वीर लिन्थे।
त्यतिबेला रिलले फोटो खिच्नुपर्थ्यो। एउटा रिलमा ३६ देखि ४० वटा फोटो आउँथ्यो। कुनैमा त २० देखि १५ वटा मात्र पनि अट्थ्यो। रिल खर्च गर्न लोभ लाग्ने हुँदा सचेत भएर खिच्थे।
त्यही आन्दोलन ताका खिचेका अन्य फोटो पनि उनी अझै सम्झन्छन्। जसमा एउटा छ, इन्द्रचोकमा फुटपाथ व्यापारी नवल खड्कालाई गोली लागेको।
“त्यतिबेला मसँग २८ को फिक्स लेन्स थियो। त्यसले खिच्दै थिएँ, एक्कासी गोली लागेर ती युवा ढले। स्थानीय युवाले उठाए,” उनी भन्छन्, “मैले पछाडि सर्दैसर्दै ब्ल्याक एण्ड ह्वाइटमा क्लीक गरिहालेँ।”
अर्काे तस्वीर छ, चैत २४ गते सिंहदरबार अगाडिको आन्दोलन। भद्रकालीबाट सिंहदरबारतिर फर्केर खिचेको उक्त तस्वीरका कारण पछि रामशरण महतसँग मनमुटाव नै भएको थियो।
महतले ‘डिफेन्स अफ डेमोक्रेसी’ किताब लेखेका छन्। त्यसको कभरमा मीनले खिचेको त्यही तस्वीर छ। तर कभरमा राख्दा डिजाइनरले तस्वीर तोडमोड गरिदिए। यो विषय उनले मिडियामा बताए। अनि त, महतसँगको सम्बन्ध बिग्रिगयो।
जति पुराना तस्वीर, उति महत्त्व
२०४६ सालको आन्दोलन शुरू भएपछि सरकारले गणेशमान सिंह र मनमोहन अधिकारीलाई नजरबन्द गरेको थियो। पछि वीर अस्पतालमा कैद गरियो। जब राजाले प्रजातन्त्रको पुनर्स्थापनाको घोषणा गरे, दुवैजना रिहा भए। रिहा हुँदै गरेको क्षण पनि उनले तस्वीरमा कैद गरेका छन्।
मीनका अनुसार त्यतिबेलाको आन्दोलन भक्तपुर र पाटनमा पनि चर्किएको थियो। चैतको दोस्रो हप्ता पाटनका महिला र पुरुषले हातमा लठ्ठी, खेतबारीमा काम गर्ने औजारलगायत सामग्री लिएर विरोध गरेका थिए।
तस्वीर लिन उनी भक्तपुरसम्म पुग्थे। त्यहाँ जाने सडक अहिलेजस्तो सहज थिएन। सार्वजनिक गाडी पनि सहज थिएनन्। आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध थियो।
हरेक दिन आन्दोलनमा निस्कँदा उनी ‘मृत्यु नहोस्’ भन्ने कामना गर्थे। किनकि, आन्दोलनमा छर्रा गोली चल्थ्यो। उनका लागि लाठी चार्जमा पर्नु त सामान्यजस्तै भइसकेको थियो। उनी भन्छन्, “टियर ग्यास त मेरो लागि डियर ग्यासजस्तै भइसकेको थियो।”
२०४६ सालको आन्दोलनको आइकोनिक फोटोहरू खिचेर चर्चा पाएका मीन आफूलाई ‘भाग्यमानी’ ठान्छन्। उनी भन्छन्, “म ग्रेट फोटोग्राफर वा फोटो पत्रकार होइन, तर म भाग्यमानी फोटो पत्रकार हुँ। सामान्य क्यामेराले खिचेका मेरा फोटोहरू अहिलेसम्म पनि रुचाइएका छन्। फोटोले नेपाली राजनीतिक वृत्तमा छाडेको प्रभावको मूल्यांकन अझै पनि भइरहेको छ।”