Thursday, May 02, 2024

-->

बारा-२ बाट संसद् छिर्न खोजिरहेका उपेन्द्रलाई जनमत र लोसपाको तगारो

गत निर्वाचनमा सप्तरी-२ बाट पराजित उपेन्द्र यादव बारा-२ मा हुने उपनिर्वाचनमार्फत संसद् छिर्ने दाउमा छन्। तर उनलाई मधेश केन्द्रित दल लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र जनमत पार्टीले चुनौती दिँदैछन्।

बारा-२ बाट संसद् छिर्न खोजिरहेका उपेन्द्रलाई जनमत र लोसपाको तगारो

काठमाडौँ- बारा-२ मा हुने उपनिर्वाचनका लागि १० दलीय गठबन्धनमा रहेका तीन मधेश केन्द्रित दलले छुट्टाछुट्टै उम्मेदवार उठाउने भएका छन्। बारा-२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव उपराष्ट्रपति बनेपछि त्यहाँ वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आफू संसद छिर्ने उद्देश्यका साथ खाली गराएको उक्त क्षेत्रमा मधेश केन्द्रित दल जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपाले) पनि उम्मेदवारी दिने भएका छन्। आधिकारिक घोषणा नगरे पनि लोसपाले बारा-२ सहित उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताए।

लोसपाले बारा-२ बाट राजेन्द्र महतोलाई उम्मेदवार बनाउने तयारी गरेको छ। महतो मंसिर ४ मा भएको निर्वाचनमा सर्लाही-२ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पराजित भएका थिए। राय माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए।

उता, सीके राउत नेतृत्वको जनमत पार्टीले पनि बारा-२ मा उम्मेदवार उठाउने तयारी गरिसकेको छ। जसपा अध्यक्ष यादव उनै राउतसँग मंसिर ४ गतेको निर्वाचनमा सप्तरी-२ बाट पराजित भएका थिए। यादवलाई बारा-२ मा हुने उपनिर्वाचनमा पनि रोक्न राउत चुनावी अभियानसहित बुधबार नै बारा पुगिसकेका छन्।

जसपाबाट यादव र लोसपाबाट महतोले चुनाव लड्ने तयारी गरे पनि जनमतबाट उम्मेदवारको टुंगो लागिसकेको छैन। गठबन्धनका ठूला दल कांग्रेस र माओवादीले कसलाई सघाउने भन्ने निर्णय पनि गरिसकेका छैनन्। यी दुई दलको निर्णयले गठबन्धनको साझा उम्मेदवार तय हुनेछ।

उपेन्द्रलाई साझा उम्मेदवार बनाउन जसपाको पहल
जसपा केन्द्रीय कार्यकारिणी समितिको बुधबारको बैठकले बारा-२ मा गठबन्धनले आफ्ना उम्मेदवारलाई समर्थन गर्नुपर्ने मागदाबी गर्ने निर्णय गरेको छ। जसपा प्रवक्ता मनीष सुमन पनि सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट जसपाले उम्मेदवारी पाउनुपर्ने बताउँछन्।

“बारा-२ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुन्छ भन्ने हाम्रो अपेक्षा छ। त्यसमा हाम्रो हक लाग्छ र हाम्रै तर्फबाट हुन्छ पनि, गठबन्धनमा आबद्ध अन्य दलले दाबी गर्न पाउँदैनन्,” सुमन भन्छन्। 

लोसपा भने यादवलाई गठबन्धनको साझा उम्मेदवार मान्न नसकिने बताउँछ।  “चुनावमा उम्मेदवार पार्टीको हुन्छ, गठबन्धनको होइन। यदि चुनाव नै लड्नु छ भने पार्टीको उम्मेदवार भएर आउनुपर्यो,” लोसपाका एक नेता भन्छन्, “लोसपाले उपेन्द्र यादवलाई गठबन्धनको साझा उम्मेदवार स्वीकार्न सक्दैन।”

जनमतले पनि उपेन्द्रलाई गठबन्धनको साझा उम्मेदवार मान्न नसक्ने केन्द्रीय सदस्य बीपी साह बताउँछन्। उनका अनुसार यही साता पार्टीले उम्मेदवार छनोट गेरर चुनावको तयारी थाल्ने योजना बनाएको छ। 

“जुनसुकै पार्टीको उम्मेदवार आए पनि जनमत पार्टी आफ्नो अडानबाट पछाडि हट्दैन। हामीले एकपटक उपेन्द्र यादवलाई हराइसकेका छौँ। अब फेरि हराउछौँ,” साह भन्छन्, “जनमत बारा-२ मा बाहिरको उम्मेदवारलाई स्वीकार्दैन। बरू त्यहीँको हाम्रो पार्टीको नेतालाई जिताउछौँ।” 

उपेन्द्रविरुद्ध राउतको ‘मिसन बारा-२’
यादवलाई बारा-२ मा पनि पराजित गर्न जनमत अध्यक्ष राउतले 'मिसन' नै थालेका छन्। उनले बिहिबार बारा पुगेरै ‘मिसन बारा-२’ शुरू भएको घोषणा गरे। 

गएको बुधबार जनमत पार्टी प्रवेश गर्नेहरूका लागि गरिएको स्वागत कार्यक्रममा उनले बारा-२ वीर योद्धाहरूको भूमि भएकोले त्यहाँ बाहिरिया उम्मेदवार आउन दिन नहुने बताए। त्यसको भोलिपल्ट बिहीबार उनले फेसबुकमा स्टेटस लेखेका छन्, “स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुन्जायस छैन, यहाँ हर हालतमा जनमत पार्टी नै विजयी हुनेछ।”

जनमतले बारा-२ मा स्थानीय उम्मेदवार नै उठाउने पनि राउतले घोषणा गरेका छन्। बुधबारको कार्यक्रममा उनले भने, “म बाराबासीलाई चुनौती दिन चाहन्छु कि तपाईंहरूसँग आफ्नै मान्छे छ कि छैन चुनाव लड्ने? हामी जनमतबाट यहाँका मान्छेलाई चुनावमा उठाएर जित्छौँ र फिरङ्गीलाई फेरि हराएर पठाउछौँ।”

बारा-२ बाट संसद् छिर्ने महतोको तयारी
वैशाख १० मा हुने तय भएको उपनिर्वाचनको लागि चैत १२ गते निर्वाचन आयोगमा दल दर्ता गराउन पार्टीको कार्यकारणी समितको बिहीबार बसेको बैठकले निर्णय गरिसकेको लोसपा नेता भण्डारीले जानकारी दिए। उपराष्ट्रपतिमा रामसहाय निर्वाचित भएपछि सो क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार बन्ने दाउमा रहेका उपेन्द्रलाई सत्ता गठबन्धन भित्रैबाट लोसपाका वरिष्ठ नेता महतोले टक्कर दिने तयारी गरेका छन्।

महतोलाई पार्टीबाट उम्मेदवार बनाउन गृहकार्य भइरहको उनीनिकट एक नेता बताउँछन्। कार्यकारणी समिति सदस्य जितेन्द्र सोनलले पार्टीबाट आधिकारिक निर्णय भयो भने वरिष्ठ नेता महतो बारामा उम्मेदवार बन्ने सम्भावना नकार्न नसकिने बताए। सोनल बारा जिल्लाकै स्थानीय तथा प्रदेशसभा सदस्य हुन्। 

महतो भने अहिले नै आफूले संचारमाध्यममा बोल्ने सही समय नभएको बताउँछन्। “१२ गते आयोगमा दल दर्ता हुनु भनेकै पार्टीले चुनावमा भाग लिन्छ भन्ने हो,” उनले उकालोसँग भने, “त्यसपछि उम्मेदवार को बन्ने भन्ने विषय आउँछ, जसमा अहिले औपचारिक छलफल भएको छैन।” 

लोसपाबाट बारा-२ मा को उम्मेदवार भन्ने आधिकारिक जवाफ चैत २० गते नै थाहा हुने महतो बताउँछन्। 


सम्बन्धित सामग्री