Friday, April 26, 2024

-->

दुर्घटना कुरिरहेका छन् हाम्रा भान्सा

ग्यास बिक्रेता महासंघका अनुसार अहिले‍ ५९ कम्पनीका एक करोड २० लाखभन्दा बढी सिलिन्डर प्रयोगमा छन्। ती सिलिन्डरको गुणस्तर अनुगमन प्रभावकारी हुन नसकेको अधिकार उपभोक्तावादीहरू बताउँछन्।

दुर्घटना कुरिरहेका छन् हाम्रा भान्सा
प्रतिकात्मक तस्वीर

काठमाडौँ– कांग्रेस नेता चन्द्र भण्डारीकी आमा हरिकलाको बिहीबार बिहान निधन भयो। नेता भण्डारी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि बिहीबार नै भारतको मुम्बई लगिएको छ।

भण्डारीको भान्सामा राखिएको ग्यास सिलिन्डर लिक भएर आगो सल्किँदा उनीहरू घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान छ। बिहीबार नै दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरास्थित कृषि बीउ उत्पादन केन्द्रमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन्। सिलिन्डर विस्फोटबाट मानवीय क्षतिका घटना नयाँ होइनन्।

प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनयता ग्यास सिलिन्डरकै कारण विभिन्न १० वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, १६ जना घाइते भए। प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा यस्ता प्रकारका कुल १३ घटना हुँदा पाँच जनाको ज्यान गएको थियो। १६ जना घाइते भएका थिए। त्यसभन्दा अघिल्लो वर्ष १० घटनामा तीन जनाको ज्यान गएको थियो। 

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ प्रभावकारी नियमन र आवश्यक कानून नहुँदा उपभोक्ताहरू जोखिममा परिरहेको बताउँछन्। “घरभित्र उपभोक्ताले प्रयोग गरिरहेको ग्यास सिलिन्डर बमसरह छन्। विगतमा सिलिन्डर दुर्घटनामा धेरैको ज्यान गइसकेको छ,” बानियाँले भने, “ग्यास सिलिन्डर अहिले गाउँ– गाउँसम्म पुगेको छ। त्यसैले गाउँसम्मै जोखिम बढेको छ।”

ग्यासको कारोबार गर्ने कतिपय व्यापारी विदेश बस्ने र उपभोक्ताको सुरक्षामा ध्यान नदिने गरेको उनको आरोप छ। उनीहरूले उपभोक्तालाई मूल्यमा मात्र नभई गुणस्तरमा पनि ठग्दै आएको उनले आरोप लगाए। 

“हामीले पटकपटक यो समस्या समाधानको माग गर्दा सुनुवाइ भएन, उपभोक्तालाई सिलिन्डर दुर्घटनाले क्षति पुर्‍याइरहेको दुखद् खबरहरूको श्रृंखलामा चन्द्र भण्डारी र उहाँको आमा थपिनुभयो,” बानियाँले भने, “ग्यास उद्योगहरूले धेरै वर्ष पुराना सिलिन्डर प्रयोग गरिरहेका छन्। ती सिलिन्डरको गुणस्तर जाँच प्रभावकारी छैन।”

छैन पेट्रोलियम कानून
आयल निगमको एलपीजी ग्याससम्बन्धी विभागीय प्रमुख नेत्र काफ्ले नेपालमा ग्याससम्बन्धी नियामक निकाय नभएको बताउँछन्। उनका अनुसार नापतौल तथा गुणस्तर विभागलाई उपभोक्ताले प्रयोग गर्ने ग्यास नियमनको अधिकार दिइएको छ। 

“आयल निगमसँग आफ्नो ग्यास भण्डारणको व्यवस्था छैन। नेपालका ५९ ग्यास उद्योग निगमसँग आबद्ध छन्। उद्योगलाई ग्यास आपूर्ति गर्ने र बजारमा ग्यासको अभाव हुन नदिने काम निगमको हो,” काफ्लेले भने, “नियमन गर्ने, जरिबाना गर्ने, धरपकड गर्ने, थुनामा पठाउने अधिकार निगमसित छैन।” त्यस्तो अधिकारको प्रयोग नापतौल तथा गुणस्तर विभाग वा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसित भएको काफ्लेले बताए। 

नेपालमा पेट्रोलियमसम्बन्धी छुट्टै कानून चाहिने विषय व्यवसायीसहित आफूहरूले पनि उठाइरहेको उनी बताउँछन्। तर सरकारले नै कानून बनाउन चासो नदेखाएको उनको भनाइ छ। 

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँ पनि छुट्टै पेट्रोलियम कानून बनाउन पटक–पटक आवाज उठाए पनि बेवास्ता गरिएको बताउँछन्। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण संसदीय समितिले यस विषयमा बोल्नु पर्ने उनको भनाइ छ।

कतिपय दुर्घटना चेतनाको अभावले पनि हुने बानियाँले बताए। ग्यास लिक भएको बेला बत्तीको स्विच थिच्दा प्रायः दुर्घटना हुने गरेको उनी बताउँछन्। त्यसबाट जोगिन र अन्य सुरक्षाका उपायबारे उपभोक्ता सचेतनाको कमी भएको उनको भनाइ छ।

ग्यास बिक्रेता महासंघका अध्यक्ष चन्द्रबहादुर थापा सम्भावित जोखिमबाट बच्न सिलिन्डरको खरिद र प्रयोगमा उपभोक्ता नै चनाखो हुनुपर्ने बताउँछन्। कम्पनीको आधिकारिक डिलरबाट ग्यास खरिद गर्नुपर्ने उनको भनाइ छ।

“आधिकारिक डिलरको बिक्रीकर्तालाई ग्यासको सही प्रयोगबारे थाहा हुन्छ। उपभोक्तालाई लिकेज वा त्यस्तो कुनै समस्या पर्‍यो भने उसले सजिलैसँग समाधान गरिदिन्छ,” थापाले भने।

डिलर सञ्चालनको अनुमति दिँदा स्थानीय तहले पनि ध्यान दिनुपर्ने थापा बताउँछन्। “डिलर त्यो ठाउँमा दिन उपयुक्त छ कि छैन भन्ने पनि स्थानीय तहले बुझ्नुपर्छ। अहिले चामल र तरकारी बेच्ने पसलमा ग्यास बिक्री गर्ने अनुमति माग्दा पनि सजिलैसँग दिइएको छ,” उनले भने, “यो प्रज्वलनशील पदार्थ हो, जसले दुर्घटनाको जोखिम निम्त्याइरहेको हुन्छ। एउटा मापदण्ड बनाएर बिक्रीको अनुमति दिनुपर्छ।”

ग्यासको प्रयोगमा उपभोक्ता आफैँले पनि सावधानी अपनाउनुपर्ने थापा बताउँछन्। ग्यास लिकेज भइहाले आगोजन्य पदार्थ चलाउन नहुने उनको भनाइ छ। बिजुलीका स्विच अन वा अफ पनि गर्न नहुने उनले बताए। “कि त रेगुलेटर अफ गर्नुपर्‍यो, कि सेफ्टी क्याप लगाउन पर्‍यो। यसो गरेमा मात्र ग्यासको सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ,” उनले भने। 

ग्यास सिलिन्डरको आयु कति हुन्छ?
ग्यास बिक्रेता महासंघका अध्यक्ष थापाका अनुसार सिलिन्डरको बनावट नबिग्रेको खण्डमा बनेको मितिले १० वर्षसम्म प्रयोगमा ल्याउन सकिन्छ। १० वर्षपछि सिलिन्डरको अवस्था बुझ्न ‘हाइड्रोस्टाटिक टेस्ट’ हुन्छ। उक्त परीक्षणबाट योग्य ठहरिए थप पाँच वर्ष प्रयोग गरिन्छ। तर योग्य नभए कवाडमा जाने थापा बताउँछन्।

कसरी हेर्ने म्याद?
थापाका अनुसार सिलिन्डरको म्याद उपभोक्ता आफैँले हेर्न सक्छन्। सिलिन्डरको माथिल्लो भागमा रेगुलेटरको पछाडि हुने ‘नेक’मा अङ्ग्रेजी ‘ए’, ‘बी’, ‘सी’ वा ‘डी’मध्ये एउटा अक्षर लखिएको हुन्छ। त्यसैगरी, अङ्कहरू पनि हुन्छन्। “अंग्रेजीका प्रत्येक अक्षरले प्रत्येक तीन/तीन महिनालाई जनाउँछन्। मानौँ ‘बी २५’ लेखिएको छ भने त्यसले दोस्रो तीन महिनाको अन्तिम महिना जुन २०२५ सम्म त्यो सिलिन्डर प्रयोग गर्न सकिन्छ,” थापाले भने।

‘ए’ले जनवरी, फेब्रुअरी र मार्च जनाउँछ। ‘बी’ले अप्रिल, मे र जुनलाई संकेत गर्छ। यसैगरी ‘सी’ले जुलाई, अगस्ट र सेप्टेम्बर तथा ‘डी’ले अक्टोबर, नोभेम्बर र डिसेम्बरलाई जनाउँछ। 

नियमन कसले गर्छ?
ग्यास बिक्रेता महासंघका अनुसार अहिले बजारमा ५९ कम्पनीका एक करोड २० लाखभन्दा बढी ग्यास सिलिन्डर प्रयोगमा छन्। सिलिन्डरको संख्या थपिँदै जाने हुनाले संख्या बढ्दै जाने महासंघको भनाइ छ।

सिलिन्डर गुणस्तरको मापदण्ड निर्धारण गर्ने र अनुगमन नेपाल गुणस्तर तथा नाप तौल विभागले गर्छ। विभागकी प्रवक्ता ज्योति जोशी भट्ट आफूहरूको दायरामा रहेका विभिन्न ५० वटा ग्यास उद्योगहरूले नेपाल गुणस्तर चिह्न ‘एनएस’ प्राप्त गरेको बताउँछिन्। ती कम्पनीको अनुगमन गर्ने गरेको उनले बताइन्।

आफूहरूको अनुगमन क्षेत्रभन्दा बाहिरका सिलिन्डर गुणस्तरीय नहुन पनि सक्ने उनको भनाइ छ।


सम्बन्धित सामग्री