Thursday, April 25, 2024

-->

१८ बालबालिकाको मृत्युपछि कफ सिरप निर्माता कम्पनीको लाइसेन्स खारेज

कम्पनीले उत्पादन गरेको कफ सिरपको सेवनबाट उज्बेकिस्तानमा गत डिसेम्बरमा १८ जना बालबालिकाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीको लाइसेन्स खारेज गरिएको छ।

१८ बालबालिकाको मृत्युपछि कफ सिरप निर्माता कम्पनीको लाइसेन्स खारेज

भारतले औषधि निर्माता कम्पनी मेरिअन बायोटेकको लाइसेन्स खारेज गरेको छ। 

कम्पनीले उत्पादन गरेको कफ सिरपको सेवनबाट उज्बेकिस्तानमा गत डिसेम्बरमा १८ जना बालबालिकाको मृत्यु भएको खबर बाहिरिएपछि उत्तर प्रदेशको ड्रग्स कन्ट्रोलिङ एन्ड लाइसेन्सिङ अथोरिटीले बुधबार कम्पनीको लाइसेन्स खारेज गरेको हो। 

सरकारले कम्पनीको लाइसेन्स स्थायीरूपले खारेज गरिदिएको उत्तर प्रदेशको नोइडास्थित कम्पनीको प्रमुख कार्यालयका अधिकारीले बताए। कम्पनीले आधिकारिक रूपमा प्रतिक्रिया जनाएको छैन। यस कम्पनीले अब कुनै प्रकारका औषधि उत्पादन गर्न नपाउने गौतम बुद्ध नगरका औषधि निरीक्षक भैरव बाबरले बताए। कम्पनीको लाइसेन्स खारेज भएसँगै यससँग जोडिएका विवादास्पद विषयमा छानबिन अघि बढ्ने बाबरलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

यसअघि गत मार्च ४ मा भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ) कम्पनीको लाइसेन्स खारेज गर्न सुझाएसँगै पछिल्लो निर्णय भएको हो। यस कम्पनीको डीओके–१ कफ सिरफ खाएका कारण उज्बेकिस्तानमा १८ बालबालिकाको मृत्यु भएको घटना जोडिएपछि औषधि सुरक्षा सम्बन्धमा भारतमा अनुसन्धान चलेको थियो। सो कफ सिरप भारतमा भने बिक्री हुँदैन।

यसअघि मार्च ३ मा गौतम बुद्ध नगर प्रहरीले कम्पनीको सेक्टर ६७ को फार्माका सञ्चालन प्रमुख र दुईजना वैज्ञानिकहरूलाई पक्राउ गरेको थियो। भारत सरकारले गत डिसेम्बरमा कम्पनीका उत्पादनको जाँच गर्दा २२ वटा स्याम्पल गुणस्तरहीन सामग्री प्रयोग भएको र मापदण्डविपरीत भेटिएपछि सीडीएससीओका अधिकारीहरूको निर्देशनमा उनीहरू पक्राउ परेका हुन्।

साथै, भारतले हालै उज्बेकिस्तानको फर्म कुरामम्याक्स मेडिकलमा पठाएका कप सिरपमा उपभोग्य म्यादमा सन् २०२१ मे देखि अप्रिल २०२४ सम्म मिति उल्लेख छ।

यता, उज्बेकिस्तानका ल्याबहरूमा भएको जाँचमा पनि ती कप सिरपमा असाधारण मात्रामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल भेटिएको संयुक्त राष्ट्रसंघले जनाएको थियो। यी तत्त्व मानिसको शरीरका लागि हानिकारक हुन्।

यस कम्पनीले बनाएका दुईवटा कफ सिरफ गुणस्तरीय नभएको भन्दै विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले यसअघि जनवरीमा ती औषधि प्रयोग नगर्न चेतावनी दिएको थियो। तर कम्पनीले आरोपको खण्डन गर्दै आएको थियो। भारतमा उत्पादित औषधि प्रयोग र बालबालिकाको मृत्यु जोडिएको यो विश्वव्यापी दोस्रो घटना हो।

यसअघि गत अक्टोबर ५ मा भारतको मेडेन फार्माले उत्पादन गरेका कफ सिरपहरूको सेवनका कारण पश्चिम अफ्रिकी मुलुक द गाम्भियामा ७० बालबालिकाको ज्यान गएको विषय जोडिएपछि डब्लुएचओले त्यस कम सिरपविरूद्ध रेड अलर्ट जारी गरेको थियो। 


सम्बन्धित सामग्री