Saturday, April 27, 2024

-->

पहिरोले भत्काएको भवन २ वर्षसम्म बनेन, खुला आकाशमुनि पठनपाठन

बागलुङको जनता प्राथमिक विद्यालयमा भवन अभावका कारण दुई वर्षदेखि खुला आकाशमुनि पठनपाठन हुँदै आएको छ। विद्यालयको भौतिक अवस्था नाजुक भएपछि विद्यार्थीको संख्यासमेत क्रमशः घट्न थालेको छ।

पहिरोले भत्काएको भवन २ वर्षसम्म बनेन खुला आकाशमुनि पठनपाठन
तस्वीर : रासस

बागलुङ– चौरको छेउमा काठले बारेको तीन कोठे अस्थायी टहरा। एउटा कोठामा कार्यालय र दुई कोठामा पठनपाठन। अन्य तीन कक्षा खुला आकाशमुनि। विद्यालयको प्रांगणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकास्थित एक विद्यालयको हो।

जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्रांगणमा पठनपाठन गराइएको भने हैन। कक्षाकोठा अभावका कारण विद्यार्थीले खुला आकाशमुनि पठनपाठन गर्न बाध्य छन्। बाढी पहिरोका कारण भवन भत्किएपछि दुई वर्षअघि सार्वजनिक चौरमा विद्यालय सारिएको थियो। अस्थायी छाप्रो र खुला आकाशमुनि पठनपाठन भइरहेको प्रधानाध्यापक कृष्णकुमारी श्रीसले जानकारी दिए।

“तीन वर्षअघि भिरालो जग्गामा भएको विद्यालय पहिरोको जोखिममा पर्‍यो। विद्यालयको चार कोठे भवन भासिएर पढाउनै सकिएन, पहिरोको समस्याले दुई वर्षदेखि विद्यालय नजिकैको सार्वजनिक चौरमा अस्थायी छाप्रोसहित पठनपाठन गर्न थालिएको हो, साँघुरा टिनको छाप्रोमा पढाउन निकै समस्या छ”, प्रधानाध्यापक श्रीषले भने। विद्यालयमा ३१ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कक्षाकोठाको अभाव भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तत्कालका लागि दुई वटा पक्की कक्षा कोठा बनाइने र अर्को वर्ष थप दुई कक्षा कोठा माग गरिएको उनले बताए।

कक्षाकोठा बन्न समय लाग्ने भएपछि अझै एक वर्ष पठनपाठन गराउन समस्या भइरहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम छन्त्यालले बताए। “विद्यार्थीलाई खुला आकाशमुनि पढाउनु हाम्रो रहर हैन। पक्की भवन बन्ने स्थान खाली भएपछि अस्थायी छाप्रो अन्यत्रै बनाइन्छ”, उनले भने। अध्यक्ष छन्त्यालका अनुसार विद्यालयको भौतिक अवस्था नाजुक भएपछि विद्यार्थीको संख्यामा समेत क्रमशः कमी हुँदै आएको छ।

विद्यालयमा पक्की शौचालय निर्माण भइसकेको र शुद्ध खानेपानीको व्यवस्थापन भने भइसकेको उनले बताए। हिउँदमा घाम ताप्दै पठनपाठन गराउन सहज भए पनि बर्खाको समयमा समस्या भएको विद्यालयका शिक्षक थम्मन श्रीषले बताए। ठुलो पानी पर्दा अस्थायी टहरामै पानी पस्ने गरेको छ। 


सम्बन्धित सामग्री