Saturday, April 27, 2024

-->

‘बोर्डिङ स्कुल’लाई विस्थापित गराउने सामुदायिक स्कुलको कथा

इन्द्रायणी माविका विद्यार्थी तरकारी र फलफूल फलाएर विद्यालयलाई बेच्छन्। स्थानीय कृषक विद्यालयबाट बेर्ना लगेर खेती गर्छन्। तीन वर्षभित्रै फेरिएको यो विद्यालयका कारण गाउँको बोर्डिङसमेत बन्द भएको छ।

‘बोर्डिङ स्कुल’लाई विस्थापित गराउने सामुदायिक स्कुलको कथा

नुवाकोट– स्कुलको प्रांगणबाटै सार्वजनिक बाटो थियो। त्यहीँबाट गाईवस्तु ओहोरदोहोर गराइन्थ्यो। बालबालिकालाई खेल्ने ठाउँसमेत थिएन। चारैतिर जोखिमपूर्ण नहर र खोल्सा थिए। कति बालबालिका घाइते भए स्कुलसँग लेखाजोखा छैन। यही डरले अभिभावकहरू आफ्ना बालबालिकालाई स्कुल पठाउन डर मान्थे। 

तीन वर्षपछि पञ्चकन्या गाउँपालिका–१ बाँनियाटारस्थित इन्द्रायणी माविको कथा बदलिइसकेको छ। यही स्कुलमा २१ वर्षदेखि पढाइरहेका शिक्षक विमलकुमार थपलिया भन्छन्, “भौतिक संरचना, शैक्षिक सामग्री, विद्यार्थी संख्या हरेक हिसाबले विद्यालय अभावमा थियो। जेनतेन चलाउनुपर्ने बाध्यता थियो। अब ती दिन छैनन्।”

अहिले इन्द्रायणी माविले ‘ग्रिन स्कुल’को परिचय बनाएको छ। नर्बे, फिनल्यान्डजस्ता देशका राजदूतसमेत यहाँ पुगिसकेका छन्। प्रधानाध्यापक कुमार पाठक अभिभावक, व्यवस्थापन समिति र शिक्षकहरूका कारण स्कुल बदल्न सम्भव भएको बताउँछन्।


साना कक्षाबाट पहिलो सुधार
इन्द्रायणी स्कुलमा २०७७ सालबाट माध्यमिक तह सञ्चालनमा आएको थियो। बर्सेनि कक्षा वृद्धि भए पनि अभिभावक र विद्यार्थीको आकर्षण थिएन। स्कुललाई सुधार गर्ने उद्देश्यसहित तत्कालीन वडाध्यक्ष मणिनाथ लामिछाने र व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर ढकाल, पूर्वप्रधानाध्यापक रामप्रसाद लामिछाने, अहिलेका वडाध्यक्ष महानन्द ढकालले कुमार पाठकलाई प्रधानाध्यापक बन्ने प्रस्ताव राखे। त्योबेला उनी तादी गाउँपालिका–५ स्थित जनकल्याण आधारभूत विद्यालयका शिक्षक थिए।

‘गाउँकै मान्छे आए विद्यालय राम्रो होला’ भनेर आफूलाई प्रधानाध्यापकको प्रस्ताव गरिएको पाठक बताउँछन्। पहिलोपटक उनले यो प्रस्ताव अस्वीकार गरे। पटकपटक अनुरोध गरेपछि २०७८ सालमा उनी प्रधानाध्यापक भएर आए। उनी आउँदा कक्षा कोठा अस्तव्यस्त थिए। गाउँका हुनेखाने र शिक्षकका छोराछोरी यो स्कुलमा देखिँदैन थिए। पढ्ने र पढाउनेमा कोही पनि गम्भीर थिएनन्। “मैले एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा गर्नुपर्ने सुधारका योजना बनाएँ। साथीहरू त्यसमा सहमत हुनुभयो,” उनी भन्छन्।

प्रधानाध्यापक कुमार पाठक।


प्रधानाध्यापक पाठकले साना कक्षाबाट सुधार थाले। कक्षा १ भन्दा अगाडिको शिशु कक्षा हटाएर ‘बोर्डिङ’ (संस्थागत) स्कुलमा जस्तो नर्सरी, एलकेजी, यूकेजी राखे। अंग्रेजी माध्यमबाट पनि पढाउन थालियो। कक्षाकोठालाई धुलोमुक्त गर्न कार्पेट हाले। भित्ताहरूमा रङ लगाए। बालबालिकाका लागि शैक्षिक, खेलकुद सामग्रीहरूको बन्दोबस्त मिलाए। तीन महिनामा नै परिवर्तन देखियो।

विद्यालय हाताबाटै बग्ने एउटा नहर थियो। त्यसलाई बाँसले छोपेर अस्थायी व्यवस्थापन गरे। दीर्घकालीन व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय इकाईको सहयोगमा नहरलाई स्कुलभन्दा बाहिर निकालेपछि बालबालिकाहरू सुरक्षित आवतजावत गर्न थाले। स्कुलको प्रांगण हुँदै गएको सार्वजनिक बाटो पनि बाहिर सारे। त्यसपछि विद्यालय क्षेत्र पर्खालले घेरियो। तारजाली राखियो। अनि सीसीसी क्यामरा पनि जडान गरियो।

साना कक्षाहरूमा कार्यरत शिक्षकलाई तालिम दिइयो। कक्षाहरूमा जनशक्ति थपियो। यति गरेपछि अभिभावक र विद्यार्थीको आकर्षण बढ्न थाल्यो। २०७८ सालमा १७८ जना मात्र भएको विद्यालयमा एक वर्षमा नै विद्यार्थी संख्या ३५० पुग्यो।


अन्य विद्यालयमा जस्तो यहाँ अंकबाट मात्र कक्षाको नाम राखिएको छैन। पुनम तामाङ कञ्चनजंघा कक्षामा अध्ययनरत छिन्। कक्षा ५ लाई ‘कञ्चनजंघा’ नाम दिइएको छ। उनी भन्छिन्, “मेरो घर कविलास हो। बुवाआमाले यहाँ राम्रो पढाइ हुन्छ भन्ने थाहा पाएपछि भर्ना गराइदिनु भएको हो।”

कक्षाको नाम हिमालहरूबाट मात्र नभई जिल्लाका नाममा पनि छन्। बागमती प्रदेशका जिल्लाहरू याद गर्न सिन्धुली, रामेछाप, दोलखा, भक्तपुर, धादिङ, काठमाडौँ, काभ्रेलगायत कक्षाहरू छन्। 

बोर्डिङ नै विस्थापित
इन्द्रायणी माविमा हाल २३ शिक्षक कार्यरत छन् जसमध्ये ६ जना स्थायी छन्। कोही अनुदान, कोही करार र कोही निजी स्रोतमा छन्। पठनपाठनको माध्यम अंग्रेजी र नेपाली दुवै छ।

यो स्कुल उत्कृष्ट त भएको छ नै आसपासका बोर्डिङ नै बन्द हुने अवस्थामा पुर्‍याइदिएको छ। गत वर्षको भर्ना तथ्यांकअनुसार १०० भन्दा धेरै विद्यार्थी निजी विद्यालयबाट आएका छन्। दुई वर्ष अघिसम्म यही ठाउँमा आठबिसे युनिभर्सल बोर्डिङ स्कुल थियो। इन्द्रायणी मावितिर विद्यार्थी सर्न थालेपछि उक्त स्कुल बन्द भएको छ।

बोर्डिङ स्कुलका विद्यार्थी मात्र होइन शिक्षक पनि इन्द्रायणीमा आएका छन्। युनिभर्सल बोर्डिङ बन्द भएपछि त्यहाँका शिक्षक ठाकुरप्रसाद लामिछाने र कल्पना ढुंगाना इन्द्रायणीमा कार्यरत छन्। शिक्षक लामिछाने भन्छन्, “हामी जहाँ भए पनि शिक्षण पेसा नै गर्ने हो। विद्यार्थीलाई व्यवहारिक बनाउन सक्नुपर्छ, त्यसैको खोजीमा छौँ।”

पुनम तामाङ।


विद्यालयले विद्यार्थीहरूलाई रुचिअनुसार अतिरिक्त ज्ञान र सीप पनि सिकाउने गरेको छ। कोही गायक, कोही शिक्षक त कोही डाक्टर र नर्स बन्ने सपना बोकेका छन्। कञ्चनजंघा कक्षामा अध्ययनरत पुनम भने गायक बन्न चाहन्छिन्। 

पारि वनमा न्याउली रूँदा कोइलीवारि गीत गाउँछ,
मेरो गाउँको तामाङ दाइले बैगुनीलाई गुन लाउँछ।

पुनमले गीत गाएर सुनाइन्। बैगुनीलाई पनि गुन लगाउनुपर्छ भन्ने सोचले आफूले यो गीत गाएको उनी सुनाउँछिन्।

नेपाली विषयकी शिक्षक तुलसा मिश्र विद्यार्थीलाई घोकाएर वा कापीमा लेखाएर मात्र नभई फरक शैलीले पनि सिकाउन सकिने बताउँछिन्।

समुदायसँग जोडिएको स्कुल
रसुवा कक्षादेखि कञ्चनजंघा कक्षासम्म (नर्सरीदेखि कक्षा ५ सम्म) का विद्यार्थीले पाउने दिवाखाजा फरकफरक छ। शिक्षक ठाकुरप्रसाद लामिछानेको नेतृत्वमा खाजा समिति बनाइएको छ र त्यसैले दुई वर्षदेखि खाजाको मेनु तयार गरिरहेको छ। लामिछाने भन्छन्, “पहिला एकै प्रकारको खाजा खुवाइन्थ्यो। पोषणको तालिम पाइयो र विश्व खाद्य कार्यक्रमले सहयोगसमेत गरेपछि हामीले मेनु बनायौँ।”

पहिलोपटक विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले बोडी, करेला, सिमी, भेन्टा, तोरी आदिको बीउ पठाएको थियो। तर बीउ लगाउने जमिन विद्यालयसँग थिएन। जग्गा भाडामा लिएर कृषि उत्पादनलाई निरन्तरता दिइएको प्रधानाध्यापक पाठक बताउँछन्। 

नर्सरी बनाउनेलगायत काममा पञ्चकन्या गाउँपालिकाले सहयोग गरेको छ। विद्यालयले सिजनअनुसार विभिन्न किसिमका फलफूल तथा टनेल बनाएर तरकारीको उत्पादन गरिरहेको छ। फलफूल र तरिकाका बेर्ना विद्यालयले अभिभावकलाई समेत वितरण गर्छ। अहिले विद्यालयले कृषकलाई तरबुजाका बेर्ना वितरण गरिरहेको छ।

विद्यालयमा प्राविधिकतर्फ ८० भन्दा धेरै विद्यार्थीले बाली विज्ञान पढिरहेका छन्। उनीहरूको पनि विद्यार्थी समूह छ। विद्यार्थी समूहले उत्पादन गरेको तरकारी र फलफूल स्कुलमै खपत भइरहेको प्रधानाध्यापक पाठक बताउँछन्। उनी भन्छन्, “विद्यार्थीले उत्पादन गरेको फलफूल तरकारी दिवा खाजामा प्रयोग गर्छौं। स्कुलबाट विद्यार्थीले बजार मूल्यअनुसार पैसा पाउँछन्।”


विद्यालयले मुख्यरूपमा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको छ। आफैँ बिरूवा दिएर उत्पादन गर्न लगाउँछ र उत्पादन भएको फलफूल, तरकारी बजार मूल्यमा खरिद गर्छ। खाजा समितिका संयोजक तथा शिक्षक लामिछाने भन्छन्, “यहाँको सबै सामानहरू स्थानीय कृषकबाटै आउने हो। पोषणयुक्त खाना पहिचान गरेर स्थानीय उत्पादनलाई प्रयोग गरिरहेका छौँ।”

स्थानीय सिमरा उपभोक्ता सहकारी र महांकालेश्वर कृषि सहकारीमा अभिभावकहरू नै संलग्न छन्। यी सहकारीले प्रत्येक सोमबार विद्यालयलाई दुध उपलब्ध गराउँछन्। सहकारीले उपलब्ध गराउने दुध स्कुलकै बालबालिकाहरूको घरबाट संकलन गर्छ। 

एक वर्ष अघिसम्म विद्यालयमा दुध पुर्‍याउन अभिभावक नै आउँथे। विद्यालयमा दुध जम्मा गर्नेलगायत समस्या देखिएपछि अभिभावकहरू संलग्न भएर सहकारी खुलेको हो। विद्यालयमा सहकारीबाट दुध आए पनि पैसा भने सम्बन्धित अभिभावकले सिधै पाउँछन्।

व्यवस्थित भान्सा
विद्यालयमा सुधार आउनुमा डब्लूएफपीको ग्रिन स्कुल अवधारणाले पनि सहयोग पुर्‍याएको छ। त्यही कार्यक्रमले विद्यालयको भान्सा बनाइदिएको हो। डब्लूएफपीले भान्सा घरसँगै हात धुने ‘स्टेसन’ र सौर्य उर्जाको पनि व्यवस्थापन गरिदिएको छ। प्रधानाध्यापक पाठक भन्छन्, “डब्लूएफपीको सहयोगले विद्यालयको मासिक ३ हजारभन्दा धेरै रुपैयाँ बचेको छ। ग्यास सिलिन्डर फेर्ने पैसा पहिलाजस्तो खर्च हुँदैन।”

सरकारबाट उपलब्ध हुने रकम अन्य विद्यालयहरूमा अपुग भइरहेका बेला इन्द्रायणी माविले बालबालिकालाई खाजा खुवाएर त्यसबापतको पैसा वर्षको १ लाखभन्दा धेरै बचत गरेको छ। दिवा खाजाको दैनिक ‘अपडेट’ मोबाइलमार्फत लिइने गरिन्छ। ग्रिन स्कुल प्रोजेक्टले स्थापना गरिदिएको ‘मोबाइल मनिटरिङ सिास्टम’बाट कति विद्यार्थी उपस्थित भए र कतिले खाजा खाए भन्ने तथ्यांक राखिन्छ। बालमैत्री शिक्षणका लागि शिक्षकलाई तालिम, कक्षा सुधारका अन्य कार्यक्रममा पनि डब्लूएफपीले सहयोग गरेको छ। 

विद्यालय सुधारमा अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समितिको पनि सहयोग रहेको प्रधानाध्यापक पाठक बताउँछन्। उनी भन्छन्, “विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न पैसा मात्र होइन दृढ इच्छाशक्तिको पनि आवश्यकता पर्छ। विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय सरकार सबैको सहयोग छ। विद्यालय यत्तिको बन्नुमा प्राविधिक शिक्षकहरू, शिक्षक स्टाफ सबैको योगदान छ।”

अहिले उनलाई आसपासका विद्यालयहरूले व्यवस्थापन सम्हालिदिन प्रस्तावसमेत गरिरहेका छन्। “शैक्षिक सुधार होस् या विद्यालयको अन्य व्यवस्थापन होस्, टिमवर्क नै ठूलो कुरा हो। त्यसमाथि स्कुलमा शिक्षकहरूको लगाब हुनुपर्छ। सकारात्मक सोच हुनुपर्छ। हामीले आफ्नो कर्तव्य बिर्सिनु भएन।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम पाठक।


इन्द्रायणी माविमा नुवाकोटका तादी, लिखु, पञ्चकन्या र सूर्यगढी चार गाउँपालिकाका विद्यार्थी पढ्छन्। रूकुम र मुगुका विद्यार्थीले पनि यहाँबाट शिक्षा लिइरहेका छन्। यो स्कुलमा डब्लूएफपी, ग्रामीण स्वावलम्बन विकास केन्द्र, रूडेक नेपाल, रूम टू रिड, कार्डसन नेपाल, नेपाल रेडक्रस सोसाइटीलगायतले पनि विभिन्न सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष उत्तम पाठक बताउँछन्। उनी भन्छन्, “एउटा विद्यालय सुधार हुन अभिभावक, शिक्षकलगायत सम्बन्धित निकाय सबैले सकारात्मक भूमिका खेल्नुपर्ने हुन्छ। विव्यसको अध्यक्षमा म आइसकेपछि दरबन्दी थप्नेदेखि धेरै काम गरेको छु।”

विद्यार्थीको पढाइबारे अभिभावकलाई प्रत्यक्ष बोलाएर छलफल गराउने गरेको उनको भनाइ छ। पाठक भन्छन्, “ओदानको तीन वटा टेकोले जुन भूमिका खेलेको हुन्छ शिक्षक, अभिभावक र व्यवस्थापन समिति त्यस्तै हुनुपर्ने रहेछ। प्रधानाध्यापकको गुड लिडरसिप हुनुपर्‍यो। त्यसपछि शैक्षिक सुधार हुन्छ।”

कुमार सरको कथा
दुई वर्षअघि इन्द्रायणी माविको प्रधानाध्यापक हुन आइपुगेका कुमार पाठकको पढाइ शुरू भएको विद्यालय यही हो। उनको घर विद्यालय रहेको वडा नं. १ कै सिमरा गाउँमा छ। “मैले कखरा पढेको स्कुल नै यही हो। मेरो पढाइ र हुर्काइ यही स्कुलमा भयो। अहिले यो विद्यालय सुधारको हिस्सेदार बन्न पाउँदा गर्व लाग्छ,” उनी भन्छन्।

उनले इन्द्रायणीबाट कक्षा ५ उत्तीर्ण गरे। त्यसपछि चौघोडाको क्षेत्रपाल माविबाट एसएलसी उत्तीर्ण गरे। ११/१२ कक्षा पढ्नलाई नजिकै स्कुल थिएनन्। काठमाडौँ जान सम्भव भएन। पढाइमा ब्रेक लाग्यो। चार वर्षपछि क्षेत्रपाल माविमै कक्षा ११ को पढाइ शुरू भएपछि उनी पनि भर्ना भए।

२०६५ सालतिर ११/१२ पढिरहेका बेला उनलाई बोर्डिङमा पढाउन अवसर मिल्यो। मासिक एक हजार रुपैयाँ तलबमा नवचेतना बोर्डिङ स्कुलमा पढाउन थाले। त्यहीँबाट उनको शिक्षण यात्रा शुरू भयो। बिहान पढ्ने दिउँसो पढाउने दैनिकी थियो। तर त्यही बेला पितृवियोग खेप्नु परेपछि फेरि एक वर्ष पढाइ रोकियो।

कक्षा १२ सकेपछि सिमराबाट १५ किलोमिटर टाढा सदरमुकाम विदुरको बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्नातक भर्ना भए। उनले मासिक दुई हजार ५०० मा अर्को बोर्डिङमा पढाउन थाले। केही बोर्डिङमा उनको ओहोरदोहार चलिरह्यो। “आर्थिक अवस्थाका कारणले त्यस्तो गर्नुपरेको हो। घरव्यवहार चलाउने मेरै काँधमा थियो। १५ किलोमिटर टाढाको कलेज आक्कलझुक्कल मात्र जान्थेँ।”

२०६९ सालतिर स्नातकको पढाइ पूरा गरे। त्यसपछि शिक्षण पेसा छाडेर रेडक्रसमा काम थाले। रेडक्रसको सामाजिक परिचालक भएर ललितपुर खटिए। सामुदायिक प्रशिक्षक भएर रेडक्रसमै काम गरिरहेको समयमा कुमारले स्नातकोत्तरसम्मको अध्ययन सकाए।


२०७१ सालतिर शिक्षक सेवा आयोगमा उनको नाम निस्कियो। त्यसपछि जीवनको बाटो मोडियो। उनले नुवाकोटकै तादी गाउँपालिका–५ को जनकल्याण आधारभूत विद्यालयमा करिब सात वर्ष पढाए। शिक्षण पेसामा आउनुमा हजुरबुवा ठाकुर पाठकको प्रेरणा पनि रहेको उनी सम्झिन्छन्। “नाम निकालेर खाएको जागिर कुनै नेताको दैलोमा गएर खाएजस्तो हुँदैन भनेर हजुरबा भन्नुहुन्थ्यो,” उनी भन्छन्।

सात वर्षसम्म पढाएपछि कुमारलाई विदेश जाने सोच पलायो। रेडक्रसमा काम गर्दाका प्रायः साथी क्यानडा थिए। त्यसले गर्दा पनि शिक्षण पेसाभन्दा रेडक्रसमार्फत क्यानडा जाने सोच आएपछि आवश्यक कागजात निर्माणमा लागे। त्यही बेला उनलाई इन्द्रायणी माविको प्रध्यानाध्यापकको जिम्मवारी सम्हाल्न बारम्बार आग्रह भयो। “म स्कुलमा आउनुभन्दा पहिला मेरो गुरू बुद्धध्वज थापा नै प्रअ हुनुहुन्थ्यो। उहाँले पनि मलाई यहाँ आउन सहयोग गर्नुभयो। सबैले सहयोग गरेपछि काम थालियो। विदेश जाने भोक मरेर गयो।”

प्रधानाध्यापक पाठककी श्रीमती पनि शिक्षणमा नै छिन्। ‘अब विदेश जाने योजना त छैन?’ भन्ने प्रश्नमा उनी हाँस्दै भन्छन्, “त्यो सपना त्यागिसकेँ। मेरा छोराछोरी पनि यतै पढाउँछु। यो स्कुललाई विदेशबाट विद्यार्थी पढ्न आउनेसम्मको बनाउने योजनामा छु।”


सम्बन्धित सामग्री