मतदानमा मतदाताको न्यून सहभागिता, १ बजेसम्म ३२ प्रतिशत मत मात्र खस्यो

निर्वाचन आयोगका अनुसार दिउसो १ बजेसम्म ३२ प्रतिशत मत मात्र खसेको छ।

काठमाडौँ- देशभर आइतबार (आज) भइरहेको निर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ। काठमाडौँ सहित देशका मतदान केन्द्रमा मतदान गर्ने मतदाताको संख्या विगतका निर्वाचनमा भन्दा निकै कम छ। निर्वाचन आयोगका अनुसार दिउसो १ बजेसम्म ३२ प्रतिशत मत मात्र खसेको छ।

विगतका निर्वाचनमा भिडभाड हुने मतदान केन्द्रहरू १२ बजेसम्म खाली थिए। काठमाडौँ जस्तै प्रदेश नम्बर १, मधेश प्रदेश तथा अन्य प्रदेशहरूमा समेत मतदाताहरू मतदानका लागि निकै कम संख्यामा मतदान केन्द्रमा पुगेको जिल्ला स्थित सहयोगी पत्रकारहरूले बताएका छन्।

२०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा ६८.६६७ प्रतिशत मत खसेको थियो। त्यसैगरी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ६५.०७४ मत खसेको थियो। १ करोड ७७ लाख मतदाता रहेकोमा १ करोड १५ लाख ४० हजार जनाले मतदान गरेका थिए।

२०७० सालमा भएको दोस्रो संविधानसभामा ७८.७४ प्रतिशत मत खसेको थियो। १ करोड २१ लख ४७ हजार मतदाता रहेकोमा ९५ लाख १६ हजार ७३४ जनाले मतदान गरेका थिए।

त्यस्तै २८ चैत २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा १ करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेकोमा १ करोड ८ लाख ६६ हजार २ सय मतदाताले मतदान गरेका थिए। प्रतिशतका आधारमा यो ६१.७० प्रतिशत हो।

त्यसैगरी २०५६ वैशाख २० गते र जेठ ३ गते दुई चरणमा सम्पन्न भएको निर्वाचनमा ६५.७९ प्रतिशत मत खसेको थियो।  करिब १ करोड ३५ लाख १८ हजार ८३९ मतादाता रहेकोमा ८८ लाख ९४ हजार ४४ मतदाताले मात्र मतदानमा सहभागिता जनाएका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत मत खसेको थियो। करोड २३ लाख २७ हजार ३२९ मतदाता रहेकामा करिब  प्रतिशतले मात्रै मतदान गरेका थिए।

३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४८ वैशाख २९ गते नेपालको इतिहासमा भएको निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो। उक्त निर्वाचनमा १ करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेका थिए।

नेपालकै इतिहासमा पहिलो पटकको आम निर्वाचन २०१५ फागुन ७ गते शुरू भएर विभिन्न चरणमा ४५ दिन लगाएर सम्पन्न भएको निर्वाचनमा ४२.१८ प्रतिशत खसेको थियो। ४२ लाख ४६ हजार ४६८ मतदाता रहेकोमा १७ लाख ९१ हजार ३७२ ले मात्र मतदान गरेका थिए।