जसलाई अघिल्लो दिन ‘मधेशको छाउरो’ भनियो, भोलिपल्ट तिनै ‘बतासे अन्डा’ बने। ‘गँजडी’ त ट्यागलाइनमै थियो। तर, कहीँकतै वादी–प्रतिवादी नबनीकनै तिनै ‘बालम बाबु’ भ्यू–टावर चढेर शरणार्थी र सुकुमवासी बस्ती नियाल्दै छन्।
घटनाको सुखान्त संयोग यहीँबाट शुरू हुन्छ। झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट सांसदका प्रत्यासी रहेका बालेन्द्र शाह (बालेन)को जिल्ला भ्रमण र भेटघाटको तालिका अचाक्ली थियो। उनका अघिपछि अभियन्ता कुमार व्यञ्जनकार मात्र होइन, बालेनकै दाजु कौशल शाह पनि थिए नै।
निर्वाचनको एक साताअघि फागुन १६ गते अपराह्न कौशल शाह साथीभाइ लिएर दमक, भाङबारी भ्रमणमा आइपुगे। अलिक बढी एमालेको गढ र केही राप्रपा, कांग्रेसको प्रभाव रहेको पत्तो पाएर कौशल दमक नगरका भित्री गाउँहरूमा रहेका कुरा बुझ्न र नयाँ कुरा बुझाउन गाउँघर पुगेका थिए। “मेरो भाइ बालेनले कहिल्यै भ्रष्टाचार गर्ने छैन, यो मेरो विश्वास र बचन दुवै हो,” कौशलले भाङबारीको भीडमा यति मात्र भने र बजारतिर निस्किए।
पर्तिर बजारमा भने झापा–५ का अर्का प्रत्यासी केपी शर्मा ओली ‘तपाईंहरू देश जलाउनेलाई छान्ने कि बनाउनेलाई?’ भन्दै अमूर्त र उडन्ते भाष्य सुनाउनमा व्यस्त थिए। ‘मैले चतरा–भोजपुर पानीजहाज चलाएकै हो। जनकपुरमा रेल्वे ल्याएकै हो। दैलेखमा ग्यास निकालेकै हो। सुकुमवासीलाई परिचयपत्र दिएकै हो’ टाइपका जथाभावी सपनाका फेहरिस्त सुनाउन लागिपरेका थिए ओली र उनका भाइभारदार।
गाँस–बास–कपासका सदावर्ती उही नारा गाउँ–शहरमा छ्याप्छ्याप्ती थिए। आफूले घरआँगन पुग्ने सडक बनाएको, घरघरमा पानीका धारा जोडिदिएको र पूर्व–पश्चिम रेल्वेदेखि भान्सा–भान्सामा ग्यासको योजना अघि सारेको ओलीको मन्तव्यमा भरपुर आशा र सपना थियो नै। तर, गाउँ–गाउँसम्म पुगेको त्यही सडक हुँदै कुना–कन्दरासम्म पुगिरहेको सीमापारीको तरकारी, चामल वा चटपटेको ‘नेक्सस’बारे ओली र उनको समूहले न बोलेको थियो, न सोचेको थियो। दापागाछी गाउँको लोकल टमाटर र जिरे खोर्सानी दमक बजारमा बिक्नै सकिरहेको थिएन, जहाँ भारत–चीनका लोभलाग्दा टमाटर, राताम्मे खोर्सानी, गतिला आकारका प्याज अनि अम्बा निकै सस्तो मूल्यमा बिकिरहेको हुन्थ्यो।
त्यही रनभुल्लमा पहिलोपटक झापाली गाउँ–बस्ती हुँदै सुनसरीको इटहरी पुगेका बालेनले चुनावीसभामा भन्न भ्याए— “चिया पिउनुभयो? कुन ठाउँको पिउनुभयो? इलाम कि दमकको? बिहान खानामा तरकारी कताको खानुभयो? पारिको त होला!” जम्मा ३ मिनेटको सम्बोधनमा बालेनले कुनै तिलस्मी कुरा गरेनन्। आफू सरकारमा गएमा ६ महिनाभित्र दैलेखको ग्यास टुकुरे सुकुमवासी बस्तीका घरघरमा ल्याइहाल्ने ओली–गफ सुनाएनन्। बरु भने— “हाम्रै तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी यहाँ झापा, सुनसरी, विराटनगरमा उपभोग गर्न पाइएको छैन। यो दुःखको कुरा हो।”
सूत्र यही थियो, ‘बालेन सूत्र’। तत्कालै बालेन्द्र शाहले नयाँ सरकारको नेतृत्व गरे पनि वा दुईतिहाइ मतको आडमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बने पनि ‘भैहाल्ने’ केही होइन। तर, हिजोसम्म सपनाबाट ब्युँझिएर बाँच्नै मुस्किल हुने तौरतरिकाका योजना र गुरुयोजना जेजसरी सुनाइन्थ्यो, र त्यही कारण ऐठन बेहोरिरहेका जनसाधारणका लागि ‘बालेन–मन्त्र’ काफी थियो। समाजवाद, साम्यवाद हुँदै जनताको बहुदलीय जनवाद, मार्क्सवाद, लेनिनवाद अनि ‘सर्वहारा हिताय’को सदावर्ती रटनासामु ‘चिया कहाँको खानुभयो? तरकारी त पारीको होला’को मन्तव्य आफैमा ‘मन की बात’झैँ बनिदियो।
कहीँ पुग्न सपना त देख्नैपर्छ। तर, कत्रो र कस्तो सपना? पछिल्ला वर्षमा भ्यू–टावरको सपना–जपना लिएर हिँडेका ओलीको यो टावरअघि उभिएर यसको व्याख्यामा बोल्नेहरू स्थानीय दमक नगरका मेयर–उपमेयर थिएनन्, न त भौतिक योजना वा शहरी विकासका विज्ञहरू थिए। बरु, मौकापरस्त छायाछवि बनाउने कार्यकर्ताहरू रामकुमारी झाँक्री, लक्की शेर्पा वा अब्दुस मियाँहरू मात्र थिए। झन्डै २ अर्ब रुपैयाँको राष्ट्रिय लगानीको यो स्वप्न–टावर बनाउन जग्गा दिने दातामध्येका एक स्थानीय होटल सञ्चालक रमेश गौतमको छाप्रो–झुप्रोमा हात्ती आएर विध्वंस गरेको एक वर्ष पनि भएको छैन। हात्ती आक्रमणमा परेर गम्भीर घाइते भएका गौतमका नाबालक छोरा र श्रीमती अझै तंग्रिन सकेका छैनन्। (दापागाछीको कृषिजन्य क्षेत्रमा भ्यू–टावर बनाउन यहाँका २३ किसानले निःशुल्क जग्गा दिएका थिए।)
दापागाछीको दमक भ्यू–टावर हम्से–दुम्से जंगलको छेवैमा उभिएको छ। टावरबाट रतुवा–मावाको बगरसँगै नजिकैको भुटानी शरणार्थी बसोबास र सुकुमवासी बस्ती भने छर्लङ्गै देखिन्छ। कुन कार्यविधिअनुसार र कस्तो प्रतिफल सुनिश्चितता देखेर भ्यू–टावर बनाइयो भन्ने आधारभूत ज्ञान झाँक्री, शेर्पा वा मियाँलाई नभएको हुन पनि सक्छ। बरु महालेखाको ६०औँ वार्षिक प्रतिवेदनको लामो अध्ययन–मूल्यांकनपछिको निचोड मात्रै नजर गरे पुग्छ जहाँ भनिएको छ— ‘भ्यू–टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन भएको छैन। माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुनेगरी यस्ता आयोजना सञ्चालन हुनुपर्छ।’
फागुन २१ को चुनावअघि यही भ्यू–टावरको आँगनमा गएर रास्वपाका बालेन प्रचारक र अभियन्ताहरूले सामूहिक तस्वीर खिचेको खबर सामाजिक सञ्जालमा चर्चामा छाइरह्यो। बालेनले आफ्नो झापा–५ चुनावी प्रतिबद्धतामा राज्यको लगानी रहेको भ्यू–टावर सञ्चालनमा उपाय खोजिने अठोट अघि सारेका छन्। तर, यो अठोटसँगै विकास र योजनाको प्राथमिकतामा यस्तो भ्यू–टावर(संस्कृति) कति आवश्यक छ, यसबारे पनि धारणा बनाउनु जरुरी छ। अनि, केवल शासकीय लहडमा बन्ने यस्ता टावरहरूमा पनि गिरीबन्धुमा झैँ नीतिगत अपचलन छ कि छैन, यसको पनि खोजी हुनु उत्तिकै जरुरी छ।
पूर्वप्रधानमन्त्री एवं झापा–५ का तीन दशकयताका जनप्रतिनिधि ओलीले योपटक चुनाव हार्नुमा एउटा प्रमुख कारण कुशासन पनि हो, जसमा नीतिगत भ्रष्टाचारका अनेक बुँदा जोडिएका छन्। र, जसको एउटा सिम्बोलसमेत हो— दापागाछी भ्यू–टावर।
यो पनि– ‘ऊ गर्नै लागेथेँ, सरकार ढालिहाले’
***
भ्यू–टावरसँगै जन्मिएको र एकअर्कामा अन्तरसम्बन्धित देखाउन खोजिएको अर्को ओली ‘ड्रिम–प्रोजेक्ट’ हो— नेपाल–चीन मैत्री औद्योगिक पार्क। दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिकासमेत जोडिएको १२ सय बिघा (प्रस्तावमा २२ सय बिघा भनिएको थियो) क्षेत्रफलको औद्योगिक पार्क पनि ‘शासकीय लहड’ मात्रै पो थियो कि भन्ने परिणति अहिले उब्जिएको छ। झन्डै ६५ अर्ब रुपैयाँमा निर्माण हुने औद्योगिक पार्क (उद्योगणमा रहने कार्यालयहरू टावरमा राखिने प्रारम्भिक योजना थियो। तर, औद्योगिक पार्कमा आउने भनिएको चिनियाँ सहयोग (बेल्ट एण्ड रोड इनिसिएटिभ)को टुंगो नलाग्दै र पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नबन्दै उब्जिएको मुआब्जा विवाद तथा आदिवासी उठिबासको मुद्दाले यसपटक नेता ओलीलाई झनै चेपुवामा पार्यो नै।
मूलतः केही सीमित पहुँचवाला व्यक्तिका माझमा भने ‘औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण हुँदैछ’ भन्ने जानकारी पुगिसकेको र त्यही संकेतका आधारमा कौडीको भाउमा स्थानीयको जग्गा खरिद गरेर राखिएको सूचना अहिले आएर पुष्टि हुन थालेको छ। दमक औद्योगिक पार्क सरोकार मञ्चका पदाधिकारीले दिएको पछिल्लो जानकारीमा, औद्योगिक पार्कभित्र कतै क्लिनिङ कम्पनी त कतै रबर उद्योगका नाममा ठूलो जमिन हिस्सा ओगटेर बस्ने पार्टीपंक्तिका बिचौलिया निकै रहेछन्। ती पदाधिकारीहरू (थापा, श्रेष्ठ, राई आदि)को हर्कतबारे पार्क ड्रिम–प्रोजेक्टका अभियन्ता तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष पनि जानकारी पुर्याइएकै हो। त्यही थलोबाट उठिबास लागेका वा मुआब्जामा अड्किएका रीता वनेम (शनिश्चरे), कर्ण सुतार (सेतुमारी), उचितलाल धिमाल, माक्खुमायाँ चेम्जोङ, खगेन्द्र भट्टराई, अनिता शेर्मा, देवेन्द्र श्रेष्ठ र सुभद्रा जोशीमध्ये केहीले ओलीलाई भेटे पनि। तर, ओलीको जवाफ उस्तै थियो— ‘खोइ, मलाई थाहै थिएन।’
यो पनि – आफ्नै सपनाले दपेट्दै छ ओलीलाई
कुरो यत्तिकैमा सकिँदैन। चीन–नेपाल औद्योगिक पार्कको शिलान्यास (२०७७) भएलगत्तै यो थलोमा शुरू भएको भू–राजनीतिको देखिने वा नदेखिने सरोकार पनि सानो थिएन। प्रस्तावित औद्योगिक पार्कको गौरादह बिन्दुबाट करिब १५ किलोमिटरको दूरीमा पर्छ भारतीय दशगजाको जंगे पिलर। त्यो बिन्दुमा चिनियाँ बृहत् परियोजना आएमा आपत्ति रहने संकेत कूटनीतिक तवरमा समेत भारतले दिइसकेको छ।
योपटक चुनावी नाराबाजी र होहल्लाका माझ अर्का प्रत्यासी बालेन शाह पनि गौरादह–गौरीगन्ज र सेतुमारी–शनिश्चरेका यी मुकामहरूमा पुगेका रहेछन्। त्यहाँका दुई सयभन्दा बढी आदिवासी–जनजातिलाई वर्षौंदेखि सुकुमवासी परिचयपत्र दिइएको तर जग्गाको पुर्जा नबाँडिएको अवस्था पनि स्वाभाविक रूपमा बालेनका निम्ति चुनावी मुद्दा बन्यो नै। योभन्दा महत्त्वपूर्ण, भू–राजनीति र रणनीतिको अवस्थालाई बुझेर बालेनले आफ्नो झापा–५ चुनावी वाचापत्रमा औद्योगिक पार्कका निम्ति चिनियाँ सहयोग नलिने भनेर जुन प्रतिबद्धता जनाए, त्यसको दूरगामी अर्थ र महत्त्व छ नै।
यसरी जानी–नजानी आफैले उब्जाएको ड्रिम–प्रोजेक्ट र त्यहाँ आसपासमा बस्ने स्थानीय ओलीका विरुद्धमा उभिएका रहेछन्। मुआब्जादेखि सुकुमवासी समस्यासम्म अल्झाएरै वर्षौंसम्म बसेपछि र ‘अब फेरि प्रधानमन्त्री बनेमा समस्या सुल्झाउनेछु’ भनेर विगतमा चार पटक प्रधानमन्त्री बनेका ओलीले थुम्थुम्याइरँदा पनि पत्याउने कोही भइदिएन।
त्यही छिद्रमा बालेन शाह ‘विश्वास’ बनेर छिरिहाले।
***
एमाले र कांग्रेसले गाउँगाउँमा फैलिएका आफ्ना जनवर्गीय संगठनहरू र विरासतको कथा सुनाइरहेकै थिए। बालबच्चाले कतै ओलीको राजनीतिक भाषण सुनिहाले भने पनि ‘घमण्ड, अहम् र भ्रम’को गुढ–मन्त्र सिक्ने हुन् कि भन्ने तहको भय फैलिएको थियो, फैलाइएको थियो। उहिलेदेखि बाले पत्त्याएका परम्हंस–भक्त महेश बस्नेत, विष्णु रिमाल, राजेश बज्राचार्य र नयाँ नवीनतम भक्तिगानमा जोडिएकी रामकुमारी झाँक्री, लक्की शेर्पाजस्ता विलक्षण पात्रहरू सुनाइरहेका हुन्थे— “बा जहाँ उभिनुहुन्छ, लाइन त्यहीँबाट शुरू हुन्छ।” ओह, पूरै अमितावको ‘कालिया’ स्टाइल थियो, जगजगी!

चर्को घेराबन्दीमाझ ‘म झोले हुँ’का अभियन्ताहरूले सुनाइरहे— “बालेनले यता पनि सुकुमवासीको उठिबास लगाउँछ, काठमाडौँमा जस्तै! उसले उता डोजर चलायो, यहाँ पनि चलाउँछ।”
ओली स्वयंले भने— “दुई थरी अण्डामध्ये बालेन भनेको ‘बतासे अण्डा’ हो!”
अहँ, अनेक उपमाहरू पाइरहने बालेनले भने प्रतिवाद गरेनन्। ‘मलाई भोट दिनु परेन, बरु काम दिनुहोस्’ भन्दै अनौठो प्रत्यासी बनिरहे बालेन।
यसो भन्दैमा, बालेन्द्र शाह कुनै तिलस्मी पात्र होइनन्। काठमाडौँ महानगरमा मेयर छँदा उनले गरेको भन्दा नगरेको कामको सूची देखाउने र सुनाउनेहरू यथावत् छन्। यसपटक चुनावमा रास्वपा वा घण्टी लहरभन्दा पर्तिर नेता केपी ओलीको भ्रमलाई चिर्नमा जोकोही लागेका थिए। यहाँसम्म कि कांग्रेस, एमालेका पाका–पुराना पुस्ता पनि आजित थिए— ओलीको मनोदशा र मनोवृत्तिबाट। बालेन पुगे झापा–५, भिन्न क्रेज र छायाछवि लिएर। उनी नभएका भए अर्का प्रत्यासी नेपाल कम्युनिस्ट पार्टीका रन्जित तामाङले ओलीलाई हराउनेसम्मको अवस्था आएको थियो। यसपटक झापा–५ मा बालेनको विजयभन्दा बढी ‘अति सर्वत्र वर्जयेत्’को पराजय हो, जुन हुनैपर्ने थियो।
योपटक अर्को यथार्थ पनि जनसाधारणले बुझेका छन्। जस्तो, नेपालगन्ज बस्ने कांग्रेसका पुराना कार्यकर्ता र लेखक सनत रेग्मीले सामाजिक सञ्जालमै लेखेका छन्— “हामी तटस्थ मानिसहरूले देखेका छौँ। अधिकांश उम्मेदवारहरूलाई मतदाताले चिनेकै थिएनन्। बालेनको नामबाट मत ओइरिएको हो। अब यदि बालेनसँग बेइमानी गरियो भने जनताको विश्वास पाउने छैन रास्वपाले। अनि, उसको पनि पतन शुरू हुनेछ।”
‘पहिले संसद् जल्यो, पछि गोली चल्यो’को राजनीतिक प्रशिक्षण पाएर र त्यस्तै भाष्य बनाउने जत्थाका निम्ति अन्ततः त्यही ‘अकारण गोली चलाइएको दिन भदौ २३’ को हिसाबकिताब निकै महँगो साबित भयो। त्यही भदौ २३ को यथास्थिति त्यसबेला (चुनावअघि) बीबीसी भिडियो रिपोर्टदेखि यतिखेर गौरीबहादुर कार्की प्रतिवेदनसम्म समेटिएर आयो नै।
अनि, कहीँकतै युद्धपरस्त नबनी बालेन्द्र शाहले झापा–५ मा अकल्पनीय तरिकामा चुनाव जिते। उनले कहीँकतै ओठे–जवाफी नबनीकनै कोरल्ने अण्डा र बतासे–अण्डाको अर्थ–अन्तर्य बताइदिए, धन्यवाद बालम बाबु!
खटनको होइन, चाहनाको प्रस्थान
एक्लै हिँड्न रुचाउने एक्लो यात्री
यात्री विचार,
कतै नहिँडेर पनि हिँडिरहने यात्री
जसरी हिँड्छ चितुवा वनमा,
मन परेको दिशा वेगले!
खोज्दै हिँडेको आफैलाई
बलेका टायरका धुँवा
र, चक्काजाम र बन्दहरू नाघेर
बल्ल यहाँसम्म आइपुगेँ...
(कवि वैरागी काइँला)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

भ्यु टावरमा बतासे अन्डा , देवेन्द्र भट्टराई को विश्लेषणात्मक आलेख ज्यादै सान्दर्भिक छ । देशै डुबाउने खालका यस्ता टावर मार्का कु योजना मा ठोक्किएपछि बतासे अन्डा पनि सिउरवाला ठुलो भाले का रूपमा जन्मिदो रहेछ । दमके टावरबाट उत्पन्न यस भालेले मुलुकमा नयाँ बिहानीको जागरण गराउने सम्भावना छ ।
डा तुलसी भट्टराई
4 months, 1 week ago