सन्दर्भ: अन्तर्राष्ट्रिय नारी दिवस
चुनावी मैदानमा होमिँदा आठ महिनाकी गर्भवती रञ्जु मतदानको १० दिनअघि आमा बनेकी थिइन्। १० दिनको शिशु बोकेर मतदान गरेकी उनी त्यसको भोलिपल्ट काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइन्।
काठमाडौँ– यसपालिको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द–सूची बुझाउने अन्तिम मिति गत पुस १४ गतेलाई तोकिएको थियो। त्यस दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको बन्द–सूचीमा विवेकशील साझा पार्टीबाट एकता गरेर रास्वपामा समाहित भएकी रञ्जु दर्शनाको नाम पनि थियो।
खस–आर्य महिला क्लस्टरमा उनको नाम रहेको सूची बाहिर आएपछि कतिपयले प्रत्यक्ष निर्वाचन लड्न डराएर समानुपातिक सूची रोजेको टीकाटिप्पणी गरे। रास्वपाबाट समानुपातिक सूचीमा पर्न आन्तरिक ‘प्राइमरी इलेक्सन’ लडेकी रञ्जुले यस्तो टीकाटिप्पणीपछि आफू गर्भवती भएकाले धेरै दौडधुप गर्न नसक्ने हुँदा समानुपातिक सूचीमा बसेको जवाफ दिएकी थिइन्।
प्राइमरीतर्फ अगाडि रहेकी रञ्जुलाई रास्वपाले बन्द–सूचीमा भने प्राथमिकताक्रममा केही पछाडि धकेलिदिएको थियो। यसबारे सार्वजनिक रूपमै असन्तुष्टि पोखेकी उनले आफूबारे भएका टीकाटिप्पणीलाई पनि ख्याल गरेर हुनसक्छ, बन्द–सूचीबाट नाम फिर्ता लिने निर्णय गरिन्। र प्रत्यक्षतर्फ नै निर्वाचन लड्न काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिइन्।
परिणाम छर्लङ्ग छ। उनी प्रतिस्पर्धी उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भइन्।
घरदैलो चलिरहँदा अस्पताल बसाइँ
फागुन २१ को निर्वाचनका लागि उम्मेदवारहरूले मतदातालाई दैलोमै पुगेर भेट्ने र मत माग्ने घरदैलो कार्यक्रम तीव्र पारेका थिए। उम्मेदवारी दर्ता गर्दा आठ महिनाकी गर्भवती रहेकी रञ्जु पनि सम्भव भएसम्म घरदैलोमा पुगिरहेकी थिइन्।
त्यहीबीच उनको आमा बन्ने घडी आइपुग्यो। मतदानभन्दा १० दिनअघि उनले अस्पतालबाट काठमाडौँ–१ का मतदातालाई भिडियो सन्देश जारी गरिन्। र त्यही दिन सन्तानलाई जन्म दिइन्।
गर्भवती अवस्थामा घरदैलो गरिरहँदा उनलाई श्रीमान् किशु कुईंकेलसम्मले साथ दिएका थिए। अस्पताल भर्ना हुँदा भने रास्वपाको प्रचारप्रसारमा जुटेकी पूर्व मिसनेपाल अनुष्का श्रेष्ठ र रास्वपाकै समानुपातिक सूचीमा रहेकी व्यवसायी विदुषी राणासम्म उनको घरदैलोमा जोडिएका थिए।
१० दिनपछि, फागुन २१ गते मतदान भइरहँदा रञ्जु काठमाडौँस्थित रत्नराज्य स्कुल मतदान केन्द्रमा देखिइन्। त्यहाँ पुग्दा उनले १० दिनको नवजात शिशु बोकेकी थिइन्। दिउँसो करिब साढे २ बजे उम्मेदवारको रूपमा त्यहाँ पुग्दा देखिएको यस्तो दृश्य सामाजिक सञ्जालमा एकाएक चर्चित बन्यो। कतिपयले न्वारानसमेत भइनसकेको शिशु लिएर मतदानकेन्द्र पुगेकी रञ्जुको सराहना गरे, कतिपयले भने उनले भोट बटुल्नका लागि भावनात्मक ‘स्टन्ट’ गरेको टिप्पणी पनि गरे।
जे जस्ता टिप्पणीको सामना गर्नु परे पनि रञ्जुले यसमार्फत एउटा प्रष्ट सन्देश दिइरहेकी थिइन्– मातृत्व महिलाको कमजोरी होइन, बरु यो शक्ति पो हो।
यसको कारण छ। महिलाहरू कुनै पनि क्षेत्रमा अघि बढ्नेक्रममा जब आमा बन्ने घडी आइपुग्छ, त्यहाँनेर धेरै कुरा फेरिन्छन्। एकातिर शारीरिक अवस्था, अर्कोतिर सन्तानको जिम्मेवारीले उनीहरूको पेसागत वा व्यावसायिक जीवनमा केही वर्ष नै ‘ब्रेक’ लाग्ने गर्छ। यस्तो हुन्छ भन्ने भाष्य समाजमा जबर्जस्त रूपमै स्थापित छ।

रञ्जुले यसपालिको निर्वाचनमा निर्वाचित हुँदैगर्दा यही भाष्य चिर्ने जमर्को गरेकी छन्। सम्भवतः उनी अब चाँडै काखमा रहेको सन्तानसँग मात्र होइन, काठमाडौँ–१ का मतदाताले सुम्पेको जिम्मेवारी बोकेर सदनमा सक्रिय देखिने छिन्।
‘मातृत्व कमजोरी होइन’ भन्ने सन्देश रञ्जुले यसपालि पहिलोपटक दिएकी होइनन्। १० वर्षअघिको एउटा अर्को घटना छ। त्यसबेला प्राध्यापक डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारको मागसहित सत्याग्रहमा थिए। त्यसबेला विवेकशील अभियानमा जोडिएकी रञ्जु डा. केसीको सत्याग्रहको समर्थनमा यसैगरी उभिएकी थिइन्। त्यसक्रममा प्रतीकात्मक रूपमा उनले डमी शिशुसहित विरोध प्रदर्शन गरेको तस्वीर चर्चित बनेको थियो।
वैकल्पिक राजनीतिको आशा जगाउने अभियन्ता
संविधानसभाले जारी गरेको संविधानअनुसार पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो। त्यसक्रममा काठमाडौँ महानगरपालिकाको मेयरमा विवेकशील नेपाली दलबाट उम्मेदवारी दिएकी रञ्जु त्यहीबेला पहिलोपटक आममानिसको नगरमा परेकी हुन्।
त्यसबेला उनले एमाले र कांग्रेसका उममेदवारपछि तेस्रो धेरै मत ल्याएकी थिइन्। एमालेका विद्यासुन्दर शाक्य मेयर निर्वाचित हुँदा रञ्जुले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन्।
रञ्जुको राजनीतिक अभियान त्यसको पाँच वर्ष पहिले, २०६९ मै शुरु भएको थियो। उज्ज्वल थापा लगायतले शुरु गरेको विवेकशील नेपाली दलमा आबद्ध भएकी उनी जसले जतिबेला पनि नेपाल बन्द गर्ने परिपाटी मौलाएको त्यो बेला ‘नेपाल खुल्ला छ’ भन्ने आवाज उठाउन सक्रिय थिइन्।
२०७४ को प्रतिनिधिसभा निर्वाचनपछि वैकल्पिक राजनीतिको नारा बोकेको विवेकशील र साझा पार्टीबीच एकता भयो। २०७८ सालमा भने उनले तत्कालीन विवेकशील साझा पार्टीमा वैचारिक मतभेद उत्पन्न भएपछि पार्टी छाडिन्।
त्यहीबीच उनी सेलरोटी व्यवसायमा पनि लागिन्। राजनीतिबाट पार नलागेपछि सेलरोटी बेच्न थालेको भनेर कतिपयले उनको खिसीटिउरी पनि गरे।
२०७९ मा रञ्जु फेरि राजनीतिमा फर्किइन्। उनले त्यसबेला प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–५ बाट स्वतन्त्र उम्मेदवारी दिइन्। उनको चुनाव चिन्ह सेलरोटीको चाङ थियो। यद्यपि, त्यसबेला उनले ६०० मत मात्र प्राप्त गरिन्।
“विगतमा जे भयो भयो, अब हामीले आ–आफ्नो क्षेत्रबाट सम्भव भएसम्म सुधार गर्नुपर्छ,” रञ्जुले भनिन्, “अब पर्फर्म गरेर देखाउनैपर्छ। रियल फाइट बल्ल शुरू भएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
