मनोसामाजिक अपांगता भएकाको मताधिकार सुनिश्चित गर्न माग

विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपांगता भएकाहरू मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको बताइएकाे छ।

तस्वीर : रासस

पोखरा– मनोसामाजिक अपांगता भएका व्यक्तिले अन्य व्यक्ति सरह मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएकाे छ।

मनोसामाजिक अपांगता भएका व्यक्तिहरू इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधान हटाउन माग गरेका हुन्। मनोसामाजिक अपांगता भएकाहरू मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको वाग्लेले बताए।

प्रचलित ऐनमा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति मतदान गर्न र उम्मेदवार हुन अयोग्य छन् भनी किटान गरिएको छ। यस अवस्थामा व्यक्तिहरूले आफ्नो अधिकार उपभोग गर्नबाट वञ्चित भएकाले यसलाई संशोधन गर्नुपर्ने उनीहरूको माग छ। 

संविधानको प्रस्तावनामा सामाजिक न्याय सुनिश्चितता गर्ने समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको भएपनि विभेदकारी कानुनले यस अवस्थाका व्यक्ति मताधिकारबाट वञ्चित हुनु परेको सुवेदीले बताए।

प्रदेश निर्वाचन अधिकृत पराजुलीले याे निकै पहिलेदेखि नै उठिरहेको महत्वपूर्ण विषय रहेको जनाउँदै कसैको आत्मसम्मानमाथि चोट पुग्ने र मताधिकारबाट वञ्चित हुने कार्यलाई रोक्न सक्दो पहल गर्ने बताए।