Saturday, December 14, 2024

-->

हातबुना कपडा जोगाउन संघर्ष गरिरहेका किरण

अहिले कपडा रंगाउन प्रयोग हुने वस्तु अचाक्ली महँगिएको छ। हर्रो, बर्रो, खैर, पदमचाल, मजिटो, ओखरको बोक्रा, गुलाफको फूल, प्याजको बोक्रा लगायतका कच्चा पदार्थ पहिला सस्तो थियो।

हातबुना कपडा जोगाउन संघर्ष गरिरहेका किरण
तस्वीरहरू: किसन/उकालो

ललितपुर– विद्यालय जाँदा किरण श्रेष्ठ (६३) सँग अहिलेको जस्तो विदेशी लुगा थिएन। केही गिनिचुनी लुगामात्रै हुन्थ्यो उनीसँग। त्यस्तो लुगा बुबाले नै घरमा तयार पारिदिएका हुन्थे, हातबुना तानमा। उनलाई यो कपडा लगाउँदा एकदमै सहज महसुस हुन्थ्यो। राम्रो माग पनि भएको र पुस्तैनी पेसासमेत भएको कारण उनी सोच्थे, “यो हाम्रो पहिचान हो। यसलाई हामीले संरक्षण गर्नुपर्छ।” त्यसैले होला उनले डिग्री लिए अनि कपडा व्यवसायमा हात हाले। 

“पहिला सोचेजस्तो सफलता हात पर्‍यो। कमाउन पनि निकै कमाइयो। तर पछि हरेक चिज महँगो हुँदै गयो। अन्तर्राष्ट्रिय कपडासँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था रहेन। अब मेरो पुस्ताले यो पेसा संरक्षण गर्न सक्छ कि सक्दैन भन्ने कुराको चिन्ता पो लाग्न थालेको छ,” उनी भन्छन्।

करिब तीन दशकअघि लुभुमा अहिलेजस्तो घना बस्ती नै थिएन। खेतैखेत, छरिएर रहेका पातला बस्ती। त्यही बस्तीमा नेवारी समुदायको बाक्लो उपस्थिति। उनीहरूको मुख्य पेसा थियो कृषि। उनीहरू दिनभर खेतीपातीमा व्यस्त हुन्थे र आफूलाई चाहिने अन्नपात उब्जाउँथे। बिस्तारै उनीहरूको सोच आफूलाई चाहिने चिज आफैँले उत्पादन गर्नेतिर मोडियो। त्यसकै उपज थियो हातबुना तान।

त्यो समय लुभुमा हाते तानको एउटा पनि कारखाना थिएन। तर घरघरमा भने थुप्रै तान थिए। एकदेखि दुई हजार रुपैयाँ खर्चमा काठको तान भनेजस्तै बन्थ्यो। फलामकै मेसिन बनाउनुपरे पनि १०/१२ हजारमा बन्थ्यो। त्यसैले घरघरमा तान राख्न कुनै समस्या थिएन। न त व्यवसायीले ठूलो लगानी गरिदिनुपर्ने अवस्था नै थियो। त्यसैले लुभुका बासिन्दा यसमै बढी लोभिएका थिए। तानमा बुनेकामध्ये आफूलाई चाहिने लुगा उनीहरू घरमै राख्थे र केही बजारमा बेच्थे।

कपडाका लागि चाहिने धागो उपलब्ध गराउने व्यवसायीहरू पनि थिए। किसानहरू दिउँसोभर खेतको काम गरेर बेलुका फर्किने बेला कपडाको लागि तिनै व्यवसायीबाट धागो लिएर जान्थे। बेलुका खाली भएको बेला कपडा बुन्थे र बिहान खेतमा जानुअघि बिक्रेताकहाँ छाडेर जान्थे। 

किरणका बुबा गंगाबहादुर र माइलाबुवा बद्रीबहादुर श्रेष्ठ पनि यसैमा जोडिए। उनीहरू आफ्नो उत्पादन मात्र नभई अरूले बुनेका कपडाको पनि व्यापार गर्थे। त्यही कारण उनीहरू ललितपुरको ग्वार्को थातथलो छाडेर लुभु सरेका थिए। हातबुना कपडा गंगा र बद्रीले ठमेल बजारमा बिक्री गर्थे। गंगाको व्यापार बिस्तारै सुक्दै गयो। तर बद्रीको भने यही व्यवसाय गर्दा स्वदेशी र विदेशी व्यवसायीसँग राम्रो सम्बन्ध गाँसियो। 

कपडाको माग स्वदेशमा मात्रै होइन, विदेशमा पनि उच्च थियो। त्यसले देखाएको सम्भावना पछ्याउँदै बद्रीले आफ्नो परिवार यही पेसामा लगाउने निधो गरे। बुबाले यही काम गर्दै आएका कारण किरणलाई पनि बच्चैदेखि हातबुना कपडामा विशेष चासो थियो। डिग्री हासिल गरेर जागिर खानुभन्दा पुस्तैनी व्यवसायमा पसेर माइलाबुवाको काँध हलुका पारिदिनु उनलाई जाती लाग्यो।

आफ्ना सर्टिफिकेट दराजमा थन्क्याएर उनले माइलाबुवाको प्रस्तावलाई सहर्ष स्वीकार गरे। कपडाको व्यापार शुरू गर्दा किरणले कारखाना नै खोलेका थिएनन्। एक सानो कोठाबाट व्यवसाय थालेका थिए। त्यसबेला कपडा बुन्ने प्राय: महिलाहरू उनको पसलमै धागो लिन आइपुग्थे। उनी कुनै सामान धरौटी राखेर धागो दिई पठाउँथे। त्यो धागो घर लिएर जाने गृहिणीहरू फुर्सदको समयमा कपडा बुन्थे। त्यसरी बुनेर ल्याएको कपडा पसलमा नापको हिसाबले खरिद हुन्थ्यो। उत्पादन जति प्राय: बद्रीले नै लिन्थे। केही मात्र अन्यलाई दिन्थे। बिस्तारै व्यापारमा परिचित भएका उनको पनि बजार जम्दै गयो। व्यापारीहरू उनीसँग जोडिँदै गए।

शुरू–शुरूमा व्यापारबाट राम्रै आम्दानी भयो, महिनाकै आठ–नौ लाखसम्म। त्यसपछि उनी आफैँ यसलाई विस्तार गर्न तम्सिए। व्यापार ठूलो बनाउने हुटहुटीले १३ वटा मेसिन किने र १२/१३ जना कामदार राखे। कम्पनीको नाम राखे प्राकृतिक हस्तबुनाइ तथा रंगाई उद्योग। 

करिब १५ वर्षसम्म उनले व्यापारमा घाटा सहनै परेन। त्यतिखेर मेसिनबाट कपडा उत्पादन कमै हुन्थ्यो। हातबाट धेरै बुनिन्थ्यो र त्यसको माग पनि धान्न गाह्रो थियो। चाहिने धागो अल्लो र गाँजाको रेसाबाट बन्थ्यो। यस्तो धागो नेपालमा पनि पाइन्थ्यो, बुटवलतिर। उनी भारत र चीनबाट पनि धागो आयात गर्थे। रासायनिक रङ प्रयोग गर्ने गरेका थिएनन्। रंगाउन अमला, हर्रो, बर्रो, ओखर तथा अनारका बोक्रा प्रयोग हुन्थ्यो। त्यसैले उनले उत्पादन गरेका कपडाको माग जापान, अमेरिका र स्पेनलगायत सम्पन्न मुलुकसम्म थियो। 

त्यसबेला किरणलाई बजारको माग धान्न पो सक्छु कि सक्दिनँ भन्ने नयाँ पिर थपिन थालेको थियो। कपडाको माग उच्च हुन थालेपछि लुभुमा कलकारखाना धेरै खुल्न थाले। उनीहरूले हाते तान विस्थापन गर्दै ठूल्ठूला मेसिन लगाए। तानको तुलनामा धेरै कपडा उत्पादन पनि हुने र कर्मचारीको तलब पनि कम लाग्ने हुँदा यसतर्फ धेरैको आकर्षण बढ्यो।  

उत्पादन धेरै हुँदा बिस्तारै कच्चा पदार्थको भाउ बढ्दै गयो। सँगसँगै साना व्यवसायी संकटमा पर्न थाले। त्यति नै बेला व्यवसायीहरूले विदेशी लुगाफाटाको आक्रामक बजारीकरण शुरू गरे। तुलनात्मक रूपमा स्वदेशीभन्दा विदेशी कपडाको भाउ सस्तो पर्दै गएपछि कपडा बिक्री हुन छाड्यो। बजारबाट पनि पैसा उठ्न छाड्यो। त्यसको असरले  किरणलाई २०६५ सालतिर पाँच–सात लाख रुपैयाँ ऋण नै लाग्यो। 

“कतिपय ग्राहकबाट पैसा नै पाइएन। अलिअलि होइन लाखौँ लाख। कति गएर कराउने? त्यसको असर व्यवसायमा पर्‍यो,” उनी भन्छन्। ऋण लागेपछि एकपटक व्यवसाय नै त्याग्ने सोच पनि उनमा नपलाएको होइन। तर पुस्तैनी व्यापारलाई चटक्कै छाड्न किरणको मनले दिएन। अझ दुई छोरालाई लालनपालन गरिदिने र घर धानिदिने व्यवसाय नै यही भएको कारण उनलाई पैतृक जग्गा बेच्न कर लाग्यो। 

बल्लतल ऋणबाट माथि उठ्ने प्रयास गरिरहेका बेला कोरोनाको विश्वव्यापी महामारी आयो। अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा उत्पादन भएका कपडा गोदाममै थन्किए। कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्था आयो। त्यसपछि उनले कर्मचारी कटौती गरे। त्यतिबेला लगानी गरेको पैसा फिर्ता नआएको उनी बताउँछन्।

“अहिले वर्षको कमाइ भनेको त्यही आठ–नौ लाख हो। कर्मचारीको तलब दिनु पर्‍यो। कच्चा पदार्थ किन्नु पर्‍यो। फाइदा नै छैन। बरु यही व्यवसाय चलाउने भवन भाडामा दियो भने २०/२५ हजार बच्छ। तर यो काम गरेर महिनाको त्यति पनि जोगाउन गाह्रो छ,” उनी भन्छन्। 

अहिले कपडा रंगाउन प्रयोग हुने वस्तु अचाक्ली महँगिएको छ। हर्रो, बर्रो, खैर, पदमचाल, मजिटो, ओखरको बोक्रा, गुलाफको फूल, प्याजको बोक्रा लगायतका कच्चा पदार्थ पहिला सस्तो थियो। यी समानहरू बजारमा सहजै प्राप्त हुन्थे। त्यसैले कपडा एकदमै सस्तो हुन्थ्यो। तर माग बढिरहँदा यीमध्ये कतिपय वस्तु हराउँदै गए। यसको असर हातबुना कपडामा परेको किरण बताउँछन्। “अहिले मजिटो किलोकै ३०० देखि ३५० रुपैयाँसम्म पर्छ। सबै सामान महँगो छ,” उनी भन्छन्। 

उनका अनुसार एक किलो धागो रंगाउन एक किलो नै अनारको बोक्रा लाग्छ। अनार अहिले ४०० देखि ५०० रुपैयाँ प्रतिकिलो पर्छ। कपडामा उनी 'इन्डिगो' पनि प्रयोग गर्छन्। जिन्सलगायत कपडा रंगाउन प्रयोग गरिने इन्डिगो नेपालमा पाइँदैन। उनले भारतबाटै आयात गर्ने गरेका छन्। यो किलोको तीन हजार ५०० देखि चार हजार रुपैयाँसम्म पर्छ। अन्य सामान भने उनले नेपालकै साना तथा खुद्रा व्यापारीसँगै लिने गरेका छन्।  

भारतमा इन्डिगोको खेती हुँदै आएको छ। नेपालमा भने कच्चा वस्तु निकाल्ने तर संरक्षण नगरिने भएकाले यस्ता सामानहरूको मूल्य बढ्दै गएको किरण बताउँछन्। यसको प्रत्यक्ष असर उनले आफ्नो व्यवसायमा भोगेका छन्। अहिले उनीसँग तीन जना मात्र कामदार छन्। तिनलाई पनि तलब खुवाउन गाह्रो परेको किरण बताउँछन्। यद्यपि आफूसँग भएका एक–दुई क्रेतालाई जोगाइराख्न भए पनि घाटाकै व्यापार गरिरहेको उनको भनाइ छ। 

भारतमा महात्मा गान्धीले सन् १९०५ तिर गाउँ–गाउँमा रोजगारी प्रदान गर्न चर्खा आन्दोलन शुरू गरेका थिए। त्यसैबाट खादीको कपडा बुनिन्थ्यो। तर विदेशी कपडा सस्तो पर्दै गएपछि त्यो महँगो हुनपुग्यो। त्यसैले यसको व्यवसाय पनि बन्द हुने अवस्थामा पुगिसकेको थियो। तर सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री भएसँगै उनले खादीको कपडालाई प्रवर्द्धन गर्ने योजना बनाए। औपचारिक कार्यक्रममा यही कपडा लगाएर जाने गरे। उनी आफैँले प्रयोग गरेपछि भारतमा यो कपडाको माग क्रमश: बढ्दै गएको किरण बताउँछन्। 

नेपालमा पनि कुनै राजनीतिक पार्टी या प्रसिद्ध व्यक्तिले त्यस्तै गरिदिए आफूहरूलाई 'ब्रान्डिङ' गर्न समस्या नहुने उनको तर्क छ। “उत्पादकको काम उत्पादन गर्ने मात्रै हो। उनीहरू एक्लैले गरेर ब्रान्डिङ गर्न सम्भव नै छैन। के–के बनाउन मिल्छ भन्ने थाहा हुँदैन। तर मोदीले झैँ प्रोमोट गर्दिए त हुन्छ नि। त्यहाँ हुन्छ भने हाम्रोमा पनि किन हुन सक्दैन?” उनी भन्छन्। 

अहिले नेपालमा फेसन डिजाइनको पनि पढाइ हुने गरेको छ। तर उत्पादित जनशक्तिलाई देशमै रोजगारीको प्रत्याभूति छैन। भविष्य खोज्न अमेरिका पुगेका प्रबल गुरुङजस्ता धेरै डिजाइनर उतै हराइरहेका छन्। उनीहरूले विदेशीले उत्पादन गरिरहेको कपडा नै डिजाइन गरिरहेका छन्। तर आफ्नै मौलिक कपडाको डिजाइन गरेर अन्तर्राष्ट्रिय मञ्चमा लैजान सके यी नविनतम् सोच बोकेर आउने डिजाइनरलाई यसैमा फलिफाप हुने किरणको बुझाइ छ। आईटी पढ्दै गरेका आफ्ना दुई छोराहरूबाट त्यो अभाव पूरा गर्ने चाहनामा छोराहरूको रुचि मेल नखाँदा उनी चिन्तित छन्। 


भिडियो


सम्बन्धित सामग्री