Tuesday, May 07, 2024

-->

पहाडलाई स्वागत गर्न आतुर मधेश चिहाउँदा

धेरै वर्षपछि जब राजनीतिमा चासो बढ्यो, तब ती मान्छेका विद्वेषपूर्ण कुरा सम्झेँ। हेर्दा सामान्य लागे पनि ती आरएसएस कार्यकर्ताले उतिखेर बालमष्तिस्कमा विष भरेका थिए।

पहाडलाई स्वागत गर्न आतुर मधेश चिहाउँदा

मान्छे कि सुखले घुम्छ कि दुःखले। माथिको भनाइ नेपाली समाजमा स्थापित छ। हामी भने समाज बुझ्ने र जनताका समस्या पहिचान गर्ने उद्देश्यले दुई वर्ष पहिले दशैँको समय पैदल घुम्न निस्केका थियौँ। घुम्ने क्षेत्र हामीले मधेश रोजेका थियौँ। म आफैँ महोत्तरी भँगाहामा जन्मे हुर्केकाले यो भेग/क्षेत्रप्रतिको मोह अर्को कारण थियो।

राज्यको नक्साभित्र मधेश अटेको छ, तर मधेशीहरू अट्न सकेका छैनन्। मधेशले देश खोज्यो, तर देशले मधेश खोजेन। आज पनि मधेशप्रति शासकहरूको दृष्टिकोण फेरिएको छैन। काठमाडौँको सडकमा हिँडेको मधेशीलाई भारतीय' देख्ने द्वेषी चस्मा अझै फुटेको छैन। मधेशको विषयमा बग्रेल्ती समस्या छन्, ती समस्या अन्य शृंखलामा उठान पक्कै गर्नेछु। अहिले यात्रातर्फ फर्कौं:

हाम्रो यात्राको आधार हुलाकी मार्ग थियो। यात्राको थालनी मधेश प्रदेशको पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट गर्ने उद्देश्यले कैलालीका गोविन्द भण्डारा र म त्यता हानियौँ। पछि यात्रामा बाराका रामनरेश यादव, महोत्तरीका नवीन कोइराला थपिनेछन्।

यात्राको बिन्दु नपुग्दै हामी चितवन रोकियौँ। चितवनको भरतपुरमा अनुप आचार्य र आशिष पौडेल भेटिए। भोलिपल्ट अनुप र आशिषसहित हामी माडीको यात्रामा निस्कियौँ। १० कक्षामा अध्ययनरत अनुप आचार्य भेटेपछि मलाई भारतका शहीद भगतसिंहको याद आयो। आशिषचाहिँ शायद कलेज पढ्दै थिए। उमेरभन्दा धेरै परिपक्व र वैचारिक रहेछन् अनुप। 

माडीमा हामी सोमेश्वरको बीच जंगलमा बनाइएको छाप्रोमा बास बस्यौँ। स्थानीयले खास गरी सांस्कृतिक र धार्मिक यात्रुहरूका लागि भनेर बनाइदिएको अस्थायी आवास थियो यो। त्यो आवासमा ओढ्ने ओच्छ्याउनेको काम चलाउ व्यवस्था रहेछ।

माडी, सोमेश्वर, ठोरी र बाँदरझुला
माओवादी युद्धकालयता माडी चर्चामा छ। अर्कोतर्फ, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमै रोपेको 'राम फण्डा'ले पनि चर्चामा थियो उतिखेर माडी। हामीले वास बिताएको स्थान भारतको सीमादेखि पाँच सय मिटरजति उचाइको फरकमा थियो। 

भोलिपल्ट सोमेश्वरगढी पुग्यौँ। त्यहाँ भारतले नेपालको सीमा मिचेर नयाँ पिलर निर्माण गरेको छ। सोमेश्वर नेपालले अंग्रेजसँग लड्दा बनाएको चार किल्लामध्ये एक किल्ला रहेको स्थान हो। सो किल्लालाई राज्यले संरक्षण गर्न सकेको छैन, बरु स्थानीयले पटक–पटक भारतीय सीमा सुरक्षा बलसँग झगडा गर्दै आफ्नो इतिहास जोगाएका छन्।

सीमा, निकुञ्जलगायत यावत् समस्याको चंगुलमा वर्षौंदेखि ठोरी डुबिरहेको छ। समय–समयमा हुने राजनीतिक घटनाहरूसँग ठोरी त्यति सन्तुष्ट देखिँदैन। रामको जन्मसँग ठोरीलाई लिनुदिनु केही छैन। एउटै चिन्ता छ, ठोरीवासीलाई भोलि उठ्दा नेपाली रहिन्छ कि रहिन्न? 

सत्ताको सावाँब्याजसँग उनीहरूलाई कुनै हिसाबकिताब चाहिएको छैन। त्यहाँका नागरिकको मनोभावना र अनुहारले त्यही बताइरहेको थियो। मध्याह्नतिर हामी पुनः माडी फर्कियौँ। सक्षम नामका एक युवकको घरमा खाना खाएर हामी पर्साको ठोरीका लागि बस चढ्यौँ। सक्षम माडीकै एक शिक्षित युवा हुन्।   

यात्राले सोचेको परिवेश र स्थान निर्धारण गर्न सक्दैन। ठोरी हिँडेका हामीलाई समयले आफ्नो बन्धक बनायो र, पुनः चितवनकै माडी नगरपालिकामा पर्ने बाँदरझुला पुर्‍यायो। बाँदरझुला प्रचण्डको राजनीतिक इतिहास गाँसिएको स्थान पनि हो। नेपाली राजनीतिको मुद्दालाई कुनै पनि बेला परिवर्तन गर्ने क्षमता राख्छन् प्रचण्ड। पटक–पटक प्रधानमन्त्री बन्न सफल प्रचण्डले यहाँका जनताको जीवनस्तर भने उकास्न सकेका रहेनछन्। जनताको अवस्था उपल्लो कर्णालीको भन्दा कम छैन, बरु कतिपय सम्बन्धमा बढी छ। 

बाँदरझुला पुग्न चितवन राष्ट्रिय निकुञ्ज हुँदै पर्सा राष्ट्रिय निकुञ्ज पार गरेर पर्साको चौतारा हुँदै जानुपर्छ। म र गोविन्द दशैँको मुखमा भीडमा उभिँदा निसास्सिने अवस्थामा गाडी चढी अयोध्यापुरी पुग्यौँ। बसभित्र असहज भएपछि बसको छतलाई यात्राको सिटमा परिणत गर्‍यौँ। गोविन्द र म गफमा मस्त थियौँ। आडैमा बसेका एक जना साथीले प्रश्न गरिहाले, "सरहरू युट्यूबर हो?" "हैन, किन र?" कुरा लम्बियो। कुराकानी व्यक्तिगत हुँदै समाज, नेता, राजनीति र गाउँसम्म पुगे। 

कुराकानी हुँदाहुँदै हामी समाज, नेता र राजनीतिमा प्रवेश गर्याैं। प्रकाश तामाङ नामका उनले आफ्नो गाउँको अवस्था सुनाएपछि भने, "मलाई त नेपाली भनेर गर्व गर्न मनै लाग्दैन।" मसिनो र मिजासिलो गरी बोल्ने उनको गायक बन्ने सपना रहेछ। 'भ्वाइस अफ नेपाल' नाम रियालिटी सोमा सहभागी हुन अडिसन दिएका थिए, तर छनोट हुन सकेनछन्। 

यात्राका अर्का साथी रामनरेश यादवजीलाई वीरगन्जमै रोकेर हामी प्रकाशजीको घरतिर लाग्यौँ। चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने बाँदरझुला विस २०१८ सालमा बसेको रहेछ। चेपाङ, तामाङ, गुरुङ र मगरको बाहुल्यता रहेको ६०० घरधुरीमा आठ–नौ घर ब्राह्मण क्षेत्री रहेछन्। रिपु नदीको छेउमा रहेको बस्तीको दक्षिणतर्फ तीन किमीजतिको दूरीमा नेपाल–भारत सीमा पर्छ। सीमापारि जमुनियामा ठूलो बजार लाग्छ। खाजा खान गाडी रोकेको स्थान अयोध्यापुरीबाट रिपु खोलाको तिरैतिर बाटो बनाउने हो भने सो बस्ती आउन एक घण्टासमेत नलाग्ने प्रकाश सुनाउँछन्। 

तर, माडी नगरपालिका वडा नम्बर ९ कै अर्को गाउँ पुग्न दुई घण्टाको बसको यात्रा तय गरेर पुछारसम्म पुग्न थप तीन घण्टासम्म हिँड्नुपर्छ। सो सुकुमबासी बस्तीमा गाडी चलाउन पाइँदैन। बाटो छैनन्। दुई दर्जनभन्दा बढी खहरे खोला छन्। अरू बेला शान्त रहने खहरेले वर्षामा थुप्रैको ज्यान लिएको बताउँछन् प्रकाश। उनले सुनाए– एक पटक त एक जना दिदीलाई सुत्केरी व्यथा लाग्यो। खहरेमा ठूलो भेल आएको थियो, गाउँमा अस्पताल थिएन। दिदी बच्चा जन्माउन नसकेर बित्नुभयो। सुगम भनिने चितवन जिल्लाको व्यथा हो यो, जहाँबाट प्रचण्ड निर्वाचित भए, जहाँ एमालेको महाधिवेशन भयो। 

जनगणना गर्न २०३६ सालमा सरकार पहिलो पटक तथ्यांक खोज्दै बाँदरझुला पसेछ। सरकारले तथ्यांक त लियो, तर गनेको जनतालाई कुनै सेवासुविधा भने दिएन, आजसम्म त्यहाँ बिजुली सुविधासमेत छैन। २०७८ सालको तिहारमा विद्युत् प्राधिकरणले देशभर लोडसेडिङ नहुने घोषणा गर्‍यो। अहिलेसम्म विद्युत् लाइन नपुगेको बाँदरझुलाको अन्धकारबीच एउटा घरमा बिजुली बत्ती बल्छ। त्यो सशस्त्र प्रहरीको क्याम्प हो। सो क्याम्पमा मात्र पर्साको चौताराबाट तानिएको बिजुली बल्छ। सुन्दा पनि अचम्म लाग्छ, जनताको बस्ती अन्धकारमा डुब्दा राज्य कसरी झिलिमिली रहन सक्छ!

बस्तीमा जंगली जनावरको आक्रमणले बर्सेनि नागरिकको ज्यान गइरहेको छ। भारती डाँकुहरूको उत्तिकै रजाइँ छ। त्यति मात्रै होइन, राज्यकै अंगको रूपमा रहेको सेनाले माछा मारेको आरोपमा यहाँ निमुखा चेपाङहरूलाई मार्छ। दुई वर्षअघि निकुञ्ज प्रशासनले माडीकै वडा नम्बर ९ को चेपाङ बस्तीमा आगो लगाइदियो। उक्त घटनाको राजधानीमा समेत चर्को विरोध भयो। सत्तामा बस्नेले जनताको घर नभई गोठ जलाएको भन्नसमेत भ्याए। 

जनताको गोठ र घरसमेत पहिचान गर्न नसक्ने कसरी सत्ताको मालिक बन्न पुग्यो? फेरि, गोठमा चाहिँ आगो लगाउन मिल्छ? प्रश्न भावनात्मक मात्र होइन, सैद्धान्तिक पनि छ। सत्तामा पुग्नेहरूले त्यस्तै गोठहरूले नै आफूलाई मन्त्री र प्रधानमन्त्री बनाएको कुरा बिर्से, शायद। तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालताका पनि ०५८ सालमा ६ सय घरधुरीलाई खरानी बनाएका रहेछन्। राजनीतिशास्त्रको विद्यार्थी हुनुको नाताले सत्ताको प्रकृति दबाउनु हो भनेर पढेका कुरा ठोरी पुग्दा प्रमाणित भयो। 

केही वर्षअघि ओली सरकारले सुकुमबासीसम्बन्धी समस्या समाधान गर्ने भनेर आयोग बनाएको थियो। आयोगको अध्यक्षमा चितवनकै देवी ज्ञवाली भर्ती गराइयो। चितवनकै नेता आयोगको अध्यक्ष बनेपछि बाँदरझुलावासी खुशी नहुने कुरै भएन, तर उनीहरूको खुशी धेरै दिन टिक्न सकेन। किनकि सुकुमबासी आयोगले उनीहरूको दर्ता नै लिन मानेन। कारण एउटै जनायो, "बस्ती निकुञ्जभित्र पर्छ।" स्थानीय भन्छन्, "हामी यहाँ बस्न मिल्दैन भने हामी सबैलाई एकै ठाउँमा अन्तै सारिदिए हुन्छ।" स्थानीय जनप्रतिनिधिलाई समस्या समाधानभन्दा सस्ता फन्डामा रमाइलो छ, त्यही भएर उनीहरूले बाँदरझुलाको नाम हनुमानझुला राख्ने कुरासमेत अघि बढाए।  

ठोरी भारत नेपालबीचको नाका हो। कुनै समय चितवन आसपासका पहाडी भेगका मानिस नुन बोक्न जाने ठाउँसमेत हो ठोरी। ठोरीका जनताले अन्य सिमानाको जनताझैँ निकै साहसका साथ सीमाको रक्षा गरेका छन्। हामीले स्थानीयसँग कुरा गर्‍यौँ। उनीहरूले भने– भारतीय पक्षसँग नेपालीको झडप पर्दा ठुटे खोलाको पुलनजिकै बसेको सशस्त्र प्रहरीको टोली भने मूकदर्शक बनेर बस्छ। साँध सिमानाको कुरा मात्रै होइन, सत्तासँग नजिक भएका सामन्तीहरूबाट आदिवासी थारूहरू प्रताडित छन् भन्ने कुरासमेत पत्ता लाग्यो। 

ठोरी नगरपालिकामा पर्ने ब्रह्मानगरमा पर्सा राष्ट्रिय निकुञ्जभित्र शिकारीबास भन्ने एउटा गाउँ छ। २०२१ सालको नयाँ नापी हुनु अघिदेखि नै सो गाउँमा थारूहरूको बसोबास रहेको प्रकाश थारूले बताए। बाँदरझुला र सो गाउँको एउटै व्यथा छ। अधिकांश जमिन साहु-मालिकहरूको कब्जामा छ। थारूहरूले जमिनको उत्पादन काठमाडौँमा बस्ने मालिकलाई बुझाउनुपर्छ। 

मधेश प्रदेशको ठोरीबाट सप्तरीसम्म हुलाकी सडक हुँदै सीमाञ्चालको मत बुझ्न हामी त्यता लाग्यौँ। वीरगन्जमा रामनरेश यादवसँग भेट भयो। उनी त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कीर्तिपुर क्याम्पसमा सँगै पढेका साथी हुन्। हामी तीन भाइ वीरगन्ज घुम्यौँ। ठाकुरराम बहुमुखी क्याम्पस पुग्यौँ। सरकारी क्याम्पस कसरी वरवाद हुँदैछ भन्नेबारे पहिलेदेखि नै जानकार भएको मलाई ठाकुरामको अवस्थाले खासै भावुक बनाएन। गोविन्दले रक्सौल सिमाना हेर्ने रहर गरेपछि हामी चर्को घाम र धुलो खाँदै रक्सौल पुग्यौँ। 

मुसहर बस्ती
साँझ कलैया वडा नम्बर ३ मोतीबाघमा रहेको मुसहर बस्तीमा पुग्यौँ। मुसहरहरूको समस्या उत्तिको नाजुक र पीडादायी छ। तुलनात्मक हिसाबले मुसहरको अवस्था राउटेभन्दा तल्लो अवस्थामा छ। कर्णालीको यात्राताक राउटेको जीवनलाई नजिकबाट नियाल्न पाएका आधारमा निकालेको निष्कर्ष हो यो। 

मोतीबाघस्थित रोडछेउमा रहेको मुसहर वस्तिका घरहरू एक वर्षअघि हावाहुन्डरीले उडाएछ। वीरगन्जका समाजसेवी प्रकाश थारूको पहलमा पुनः घरहरू बनाइएको रहेछ। घर के भन्नु? उही राति ओत लाग्ने ठाउँ। हामीले स्थानीय महादेव माझी (मुसहर) सँग लामो संवाद गर्‍यौँ। उनी पनि सुकुमवासी हुन्। नेपाल सरकारको एउटा तथ्यांकमा नेपालमा ९७ प्रतिशत मुसहर भूमिहीन रहेको उल्लेख छ, तर सरकारले बनाएको भूमि आयोगले उनीहरूको तथ्यांक दर्ता गर्न मानेनछ। तथ्यांक वडाको सिफारिसका आधारमा आयोगले गर्छ। तर वडाले नै सिफारिस गर्न नमानेको गुनासो महादेवले सुनाए। 

वडाध्यक्षले "सरकारी पर्ती जग्गा कहाँ छ? खोजेर ल्याउनु, अनि मात्र दर्ता गर्छु" भनेको उनले सुनाए। उनले भने, "हजुर, हामी कहाँ जग्गा खोज्दै हिँड्नु?" इतिहासदेखि भूमिहीन मात्र नभएर नागरिकताविहीन रहेका मुसहरहरू राज्यका सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको छ। मुसहरहरू आधारभूत आवश्यकताबाट समेत वञ्चित छन्। समस्या बग्रेल्ती छन्। नेताहरू नीति र अजेन्डामा भन्दा भोटमा राजनीति गर्न माहिर छन्। राजनीतिक अजेन्डा नै चुनावदेखि चुनावसम्म भएपछि त्यो यसो स्वाभाविक हो। नागरिकताविहीन मुसहरहरूसँग भोटको अपेक्षा हुने कुरा भएन। त्यसैले यो समुदाय नेता र राजनीतिक दलको आँखामा पर्दैन। सोही कारण सामाजिक सुरक्षालगायत विषयमा मुसहर सधैँ तल परेका छन्। 

हुलाकी मार्गमै पर्ने सप्तरीको पटौनाका मुसहर समुदायको अवस्था व्यवस्थाको नामझैँ बदलिएको छैन। अधिकांश भूमिहीन छन्, शिक्षाबाट वञ्चित छन्। सरकारी तथ्यांकअनुसार मुसहर समुदायको औसत आयु ४४ वर्षको छ। राज्यको नीति पनि मुसहरविरोधी छ। सरकारले भने वृद्ध भत्ता पाउने उमेर दलितको हकमा ६० वर्ष राखेको छ। त्यसो हुँदा बाराबाट हिँड्दै हामी रौतहट पुग्यौँ। 

रौतहटको मौलापुर पुग्दा राति ८ बजेको थियो। हामी थाकिसकेका थियौँ। लामो यात्रामा हिँडेका साथीहरूबीच पनि एउटा बिन्दुमा पुगेपछि त्यति बोलचाल हुन्न रहेछ। म, रामनरेश र गोविन्द आफ्नै तालमा हिँडिरहेका हुन्थ्यौँ। हामी रौतहट आएको जानकारी फेसबुकबाट राजेश यादवले थाहा पाएपछि उनले आफ्नो घर आउन आग्रह गरे। राजेशसँगको मेरो पहिलेकै चिनारी हो। हामी त्यो रात राजेशकोमा नै बस्यौँ। 

भोलिपल्ट बाइकमा राजेश र अर्का सहृदयी भाइले हामीलाई गौर शहर घुमाए। सीमानजिकै भारतले ठूलो बाँध बनाएको रहेछ। यस्तो बाँध भारतले नेपालसँगको अधिकांश सीमा स्थानमा बनाएको छ। बाँधका कारण बर्सेनि गौर बजारलाई डुबानमा पार्दो रहेछ। यसबारे नेपाल सरकार मौन छ, मधेशकेन्द्रित दल जानकार छन्। उनीहरू बोल्न सक्दैनन् वा चाहँदैनन्। अन्य दल पनि भारतले नेपालसँग समान व्यवहार गर्नुपर्छ  भनेर प्रश्न गर्न सक्दैनन्। 

राति ९ बजेतिर हामी गौरबाट मलंगवा पुग्यौँ। अन्तिम ८ किलोमिटरजति भने ट्र्याक्टरमा 'लिफ्ट' पायौँ। साथी अनिल मन्डलले हामीलाई मलङ्गवाको सरकारी कलेजको छात्रावासमा सुताए। भोलिपल्ट बिहान मलङ्गवामा केही साथीहरूसँग भेटघाट सकेपछि हामी महोत्तरीतर्फ अघि बढ्यौँ। महोत्तरी रामगोपालपुरबाट हामी भंगहा नगरपालिका पुग्यौँ, त्यो मेरो गाउँ पनि हो। हामी त्यहीँ बस्यौँ। यहाँबाट यात्रामा नवीन कोइराला पनि जोडिए। हामीसँग रहेका साथीहरू बलवा सरपल्लो गए। हामी पछि एकै पटक जनकपुरमा भेट्यौँ। 

थोरै बदलाव र पुरानो सम्झना
डुल्दा देखियो, मधेशको ग्रामीण जीवनमा केही परिवर्तन भने आएको छ, तर यो परिवर्तनमा राज्यको कुनै लगानी देखिँदैन। परिवर्तनको कारण वैदेशिक रोजगारी हो। मुसहर समुदायका एक प्रतिनिधि पात्र हुन् डा.दिलीप कुमार। आफ्ना दाइहरूले विदेशबाट कमाएर पठाएको पैसाको सहयोगले  सन् २०१३ मा किर्गिस्तानबाट एमबिबिएस सके। मधेसको उत्पीडित समुदायबाट डाक्टर बन्ने कुरा गर्वको विषय हो। हुलाकी मार्गका वरपरका 'आर्थिक क्षेत्र'हरूमा पनि परिवर्तन आएको देखियो। अर्कोतर्फ, मधेशमा गाँजा, गोटी (ट्याब्लेट) र सिरिन्ज लगायतका लागुऔषधको समस्या उत्तिकै छ। यसमा वैदेशिक रोजगारी र सीमाको सहजता पनि कारक बनेको छ। 

सात वर्ष जनकपुर बसेको हुनाले जनकपुर मेरा लागि नौलो थिएन। जनकपुर सांस्कृतिक शहर हो, यहाँको संस्कृति-सभ्यता देखाएर देशले करोडौँ आर्जन गरेको छ। सीताको साइनोले भारतसँग बेलाबेला हात पसार्ने माध्यमसमेत बनेको छ। विडम्बना, तर पुरानो सम्पदा र संस्कृति

बचाएर बस्ने मधेशीहरू चाहिँ राज्यको आँखामा 'बिहारी' बन्न पुगेका छन्। 

६ कक्षादेखि संस्कृत पढ्न म ज्ञानकूप संस्कृत जनकपुरमा भर्ना भएको थिएँ। छात्रावासमा आमाले छोडेर जाँदा हामी दुवैको आँखाभरि आँसु थियो। म धेरै दिन छात्रावासको छतमाथि गएर एक्लै रुने गर्थें। घरभन्दा बाहिर पहिलो पटक म यसरी बसेको थिएँ। पाँच वर्ष संस्कृत स्कुलमा पढेको म त्यतिखेर जनकपुर पुग्दा पुराना स्मृति फेरि 'फ्ल्यासब्याक'मा आए। 

जनकपुरमा बास बस्ने क्रममा एक जना साथीसँग भेट भयो। उनले आफू दलित भएको कुरा शुरूमै भने। मैले जवाफ फर्काए, "यसले हामीलाई अप्ठ्यारो पर्दैन। हामी जात व्यवस्था विरोधी हौँ।" उनको अभिव्यक्तिले थाहा हुन्छ, हामी बसेको समाजको जात व्यवस्थाले मान्छे कुन मनोदशामा बाँचेका छन्। उनको कुराले मन भारी भयो र अनि दलित भएकै कारण भेरीमा बगेका नवराजहरू सम्झिए। 

मनमनमा धेरै कुरा तँछाडमछाड गर्न थाले। म यसका कारणहरू के होलान् भनेर सम्झन खोजेँ। हाम्रा विश्वविद्यालयहरूमा आज पनि  मनुस्मृतिका श्लोक र भाष्य रटाइन्छ, जबकि त्यही मनुस्मृति आधारित जात व्यवस्थाले देशलाई पछि धकेलेका कुरा भने हाम्रा पाठ्यक्रमहरूमा पढ्न पाइँदैन।

नेपालका सीमावर्ती गाउँहरूको दैनिक जीवन यापनको लागि खपत हुने सामानको बजार भारतका सीमावर्ती बजार हुन्। नेपालमा भन्दा सस्तोमा सामान पाउने हुनाले नेपालीहरू भारतीय बजार जाने गर्छन्। उनीहरूले थोरै व्यक्तिगत उपभोगका लागि सामान ल्याउँदा पनि भारतीय एसएसबीको अपमान र नेपाली सशस्त्र प्रहरीले दिने दुखले सीमावासी दिक्क छन्। हामी पनि सीमासम्म पुग्यौँ र मान्छेहरूसँग तिनका अप्ठ्यारा र सहजताबारे कुरा गर्‍यौँ।

पूर्वको घामले अँध्यारोको संकेत गर्दै थियो। सीमाबाट हामी सिरहाको औरही गाउँपालिकातर्फ अघि बढ्यौँ। साथी मनोज पासवानको नयाँ घर बन्दै गरेकोले उनले रामबालक यादव सरको घरमा हामीलाई वासको व्यवस्था गरे। यादव विभिन्न पहाडी जिल्लाका विद्यालयमा शिक्षण सकाएर केही पहिले मात्र सेवानिवृत्त भएका रहेछन्। निवृत्तिपछि मधेशका कुरीतिहरू फाल्न आफू लागिपरेको उनले बताए। यादव सरले मिठो आतिथ्यसहित स्वागत गर्दै भने, "हाम्रो अवस्था बुझ्न यति लामो यात्रा पैदल आउनु भयो। धेरै खुसी लाग्यो।" सरको कुराले मन दंग भयो।

मधेशप्रतिको पहाडी नजर
यात्राको दोस्रो दिन चितवनको माडीमा एक जना पाका 'कम्युनिस्ट' कार्यकर्ताले भनेको सम्झिएँ, "सुवर्णपुरबाट अघि गोर्खाली भेटिँदैनन्। तपाईंहरू यस्तो ठाउँ जान आँट्नुभएछ, जहाँ दिउसै मान्छे बेपत्ता पारिन्छन्। मानवता भन्ने अलिकति पनि हुँदैन उनीहरूमा, नेपाली भाषा पनि बुझ्दैनन्। तपाईंको टिममा कैलालीको साथीसमेत हुनुहुँदो रहेछ। होस् पुर्‍याएर हिँड्नुहोला।"

उनको कुराभित्र पहाडी समुदायको मधेशप्रतिको नजर र भाष्य थियो। चितवनको ती 'कामरेड'को भाष्य यो राज्यसत्ताको भाष्य पनि हो। यो भाष्य नेपाली राज्यसत्ताले २ सय वर्ष लगाएर निर्माण गरेको हो। विभिन्न समयमा शासक बनेका राणा र पञ्चलगायतका शासकले निर्माण गरेको द्वेषी भाष्य हो यो। त्यही भाष्यविरुद्ध मधेशले लामो समययता आन्दोलन गर्दै आयो। 

सो असन्तुष्टिको उच्च रूप थियो, मधेश आन्दोलन। मधेशी जनताको लक्ष्य मुक्ति थियो, तर नेताको नियत सत्ता थियो। आन्दोलनताका केही स्थानमा साम्प्रदायिक घटना पनि भए, केही घटनाकै आधारमा समग्र आन्दोलनलाई गलत भन्न सकिँदैन। माथिका दुई सन्दर्भ र अभिव्यक्तिबाट यो प्रस्ट हुन्छ कि अहिले पनि पहाडले मधेशलाई स्वीकार गर्दैन, तर मधेश सदैव पहाडलाई स्वागत गर्न आतुर देखिन्छ। मधेशी बहुल स्थानमा पहाडीहरूले जनमतबाट नै सत्ता चलाउने अवसर पाउनु तर पहाडमा भने मधेशीले निर्वाचन जित्नु त परकै कुरा, उम्मेदवार नै नउठाइने कुराले मधेसी र पहाडीको सम्बन्धको असन्तुलन प्रस्टिन्छ। 

सिरहा पुगेको तेस्रो दिन कल्याणपुर गाउँपालिका नजिकैको विद्यालयमा रामरिझन यादव सरले हामीलाई स्वागत गर्ने तथा अन्तरक्रिया कार्यक्रम राख्नुभएछ। यादव पाका कम्युनिस्ट नेता तथा पत्रकार पनि हुन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विद्यालयका शिक्षक तथा विद्यार्थी र स्वयम् यादव सर भएको कार्यक्रममा हुलाकी सडक र सीमाञ्चलको जनजीवनबारे खुलेर छलफल भयो। हामीले हाम्रो यात्राको अनुभूति राख्यौँ। विद्यार्थीले स्थानीय सरकारले शिक्षामा काम गर्न नसकेका कुरा राखे। उनीहरूले कामभन्दा भ्रष्टाचार ज्यादा भएको कुरा राखिरहँदा नेताहरू नाजवाफ देख्यौँ। सम्भवतः यो हाम्रो राष्ट्रिय समस्या हो। 

देवशरण यादव दाइ जनयुद्धका कमान्डर हुनुहुन्थ्यो। जनयुद्धताक मधेशमा उहाँजस्ता थुप्रै योद्धाको पसिना लगानी भएको थियो। त्यहाँ पुगेर देवशरण दाइसँग फोन कुरा गरेँ, उहाँले आफू काठमाडौँ भएको तर पनि आफ्नो घर पुग्न आग्रह गर्नुभयो। यो अर्को आतिथ्य थियो। बिहानको खाना खाने अगाडि कुनै टुंगो थिएन। त्यसो हुँदा हामीले दाइकोमा नै खाना खाएर निस्कने निधो गर्‍यौँ। भगवानपुरमा खाना नखाने हो भने हामी एकै पटक राजविराज पुग्न पर्थ्यो।

प्रदीप गिरिको घर गजेन्द्रनारायणको शालिक
भगवानपुरमा समाजवादी चिन्तक प्रदीप गिरिको घर रहेछ। हामीले उहाँबारे स्थानीयको राय जान्ने प्रयत्न गर्‍यौँ। गिरिप्रति पनि अन्य नेताको भन्दा फरक धारणा पाएनौँ। राजनीतिज्ञ बुद्धिजीवी मात्र भएर पुग्दैन। फेरि, जनतालाई नेताको बौद्धिकतासँग भन्दा पनि आफ्ना दैनिक समस्या समाधान होस् भन्ने चासो हुन्छ। भगवानपुरका जनताले गिरिले जनताको कहिल्यै कुनै काम सम्पन्न गरेको आफूहरूलाई थाहा नभएको बताए। यस्तो सुन्दा अफसोस लाग्यो। (दिवंगत गिरि मेरा प्रिय वैचारिक नेतामध्ये एक हुन्)

यात्राको लगभग उत्तरार्धमा हामी थियौँ। मेरो सम्झनामा राजविराजमा मैले चिनेको कोही साथी थिएन। गजेन्द्र नारायण सिंह चोकमा एउटा सेल्फी खिच्यौँ र एक जना भाइको कोठामा बास बस्ने जोरजाम भएपछि त्यता लाग्यौँ। भाइ बीबीएस पढ्ने रहेछन्। कोठामा पस्नेबित्तिकै हेड्गेवार (केशव बलिराम हेडगेवार)को फोटो झुन्ड्याएको देखेँ। हेड्गेवार उनै थिए, जसले सन् १९२५ मा राष्ट्रिय स्वयंसेवक संघको स्थापना गरेका थिए। संघले हिन्दूवादी विचारधारा अँगालेको थियो। उनीहरूको उद्देश्य हिन्दू राज्यको स्थापना थियो। सो संगठन नेपालमा पनि विस्तार गरिएको छ। 

भाइ पूर्वी विराटनगर क्षेत्रअन्तर्गत रहेर आरएसएसका लागि काम गर्दा रहेछन्। उनीसँग संघबारे लामो कुराकानी भयो। संघले कहाँ–कहाँ कसरी काम भइरहेको छ, सोको पनि जानकारी दिए। उनका कुरा म संयम भाव र चासोका साथ सुनिरहेको थिएँ। उनी हरेक सन्दर्भमा मुसलमानलाई दोषी ठहर्‍याउँथे। उनी यो संसारमा मुसलमानकै कारण मानव समुदायको अस्तित्व संकटमा छसमेत भन्थे। 

आरएसएसको पुरानो दीक्षा
म त्यस्तै कक्षा सातआठमा विद्यालय पढ्दै गर्दाको घटना सम्झिएँ। सोही संघबाट एक जना विद्यालयमा आउँथे। एक हप्ताजति सामान्य कुराकानी गरेँ। नजिक भएपछि उनी हरेक पाँच बजे आएर हामी विद्यार्थीलाई खोखो र रुमाल लुकाइलगायत खेल खेलाउँथे। 'शान्ति पाठ' पढाउँथे, तर अशान्ति उनको प्रवचनमा हुन्थ्यो। अहिले पनि सम्झना छ, उनले एक दिन भनेका थिए, ‘विराटनगरमा आयोजित एउटा कार्यक्रममा भाग लिइदिन हामीले गिरिजाप्रसाद कोइरालालाई बोलाउन गएका थियौँ। उनले आफू बिरामी छु भनेर झूट बोले। तर, अर्को दिन सोही कार्यक्रमको दिन मुसलमानको एउटा कार्यक्रममा सहभागी भए। यसो गरेर उनले हिन्दू धर्मको अपमान गरे। उनले हाम्रो संस्कृति मास्न खोजे, कोइराला मुसलमान हुन्।’ 

धेरै वर्षपछि जब राजनीतिमा चासो बढ्यो, तब ती मान्छेका विद्वेषपूर्ण कुरा सम्झेँ। हेर्दा सामान्य लागे पनि ती आरएसएस कार्यकर्ताले उतिखेर बाल मस्तिष्कमा विष भरेका थिए। सोही आरएसएसले आज नेपालका थुप्रै बाल मस्तिष्कमा विषको पोको भर्दै छ। मधेशमा पछिल्ला दिनमा भएका साम्प्रदायिक द्वेष र हिंसाले त्यही संकेत गर्छन्। तिनै शिक्षाको असर हो भनेर अनुमान लगाउन सकिन्छ।

मधेशमै जन्मेर त्यहाँको जीवनलाई बुझेका आधारमा भन्न सकिन्छ, नेपाललाई कहिल्यै पनि मुसलमान समुदायबाट खतरा छैन। गोरखा राज्यको विस्तारमा समेत योगदान गरेको यो समुदायले जहिल्यै सहअस्तित्व स्वीकारेको छ। नेपाललाई त्रास त पश्चिमाहरूको धार्मिक, सांस्कृतिक वा राजनीतिक संस्कृतिबाट छ। 

भोलिपल्ट हामीले राजविराजका नागरिक समाजका अगुवा बलराम यादव, पुराना माओवादी नेता तथा कांग्रेसमा आबद्ध अमेरेन्द्र यादव लगायतका व्यक्तिहरूसँग भेट्यौँ, उहाँहरूका कुरा सुन्यौँ। भेटमा चिउरा, छोलातरकारी र कचरि खायौँ। यो मधेशको विशेष नास्ता हो, काठमाडौँमा मम र चाउमिन भनेजस्तै। दिउँसो पख हामी १८ दिन लामो यात्रा टुंग्याउँदै आ–आफ्ना गन्तव्यमा फर्कियौँ।


नेपाल‍–चीन सम्बन्धबारे चीनको सियान च्याओ थोङ विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका दहाल यसअघि नेपालमा मिटरब्याज पीडितका पक्षमा भएका आन्दोलनमा सक्रिय थिए।


सम्बन्धित सामग्री