Friday, May 03, 2024

-->

आँखाको टेढोपनलाई बेवास्ता गरे निम्तिन सक्छ अन्धोपनको जोखिम

विशेषज्ञ भन्छन्– ‘बालबालिकाको आँखा टेढो भएमा छिटोछिटोअल्छी हुँदै जान्छ र पछि त्यसलाई निको पार्न गाह्रो हुन्छ जसबाट सधैँका लागि दृष्टि नै गुम्न पनि सक्छ। त्यसकारण आँखा जँचाइराख्नुपर्छ।’

आँखाको टेढोपनलाई बेवास्ता गरे निम्तिन सक्छ अन्धोपनको जोखिम
प्रतीकात्मक तस्वीर।

काठमाडौँ– शंखमूलकी विशेषता पोखरेल २० महिनाकी भइन्। १५ महिनाको हुँदा उनको आँखामा समस्या देखिएको थियो। शुरूमा अभिभावकले सामान्य होला, निको हुन्छ भन्ने सोचेका थिए। तर समस्या बढ्दै गएपछि छोरीलाई तिलगंगा आँखा अस्पताल लगेर जँचाएको आमा अनिता बताउँछिन्। 

अस्पताल पुगेपछि मात्र अनिता र उनका श्रीमान‍्ले छोरीको आँखामा टेढोपनको समस्या भएको थाहा पाए। उनले आँखा बांगो पारेर हेर्ने गरेको भए पनि चस्मा लगाउनुपर्ला भन्ने नसोचेको अनिता बताउँछिन्। डाक्टरले ६ वर्षसम्म चस्मा लगाएर टेढोपन नहटेमा आँखाको अप्रेसन गर्नुपर्ने सल्लाह दिएका छन्। छोरी सानै भएकाले चस्मा लगाउन गाह्रो भइरहेको अनिता बताउँछिन्।

“बच्चाको आँखा टेढो भए/नभएको पत्ता लगाएर उपचार खोज्न ढिला गर्न नहुने रहेछ” अनिता भन्छिन्, “अभिभावको कारण छोराछोरीको जीवन अन्धकार हुन नदिन जन्मनासाथ बेलाबेलामा आफ्ना बालबच्चाको आँखा जाँच गराइरहनुपर्ने रहेछ।”

अनिता पोखरेल तिलगंगा अस्पतालमा छोरीका साथ। तस्वीर: सुस्मिता/उकालो

रुकुमका नौ वर्षीय पवन केसीको आँखामा उनी चार वर्षको हुँदा सानो थोप्ला देखिएको थियोे। त्यसलाई परिवारले सामान्य सोचे। तर पछि त्यही समस्याले ठूलो रूप लियो। आँखामा टेढोपन बढ्दै गएपछि छिमेकीहरूले पनि देखेर भन्न थाले। त्यसपछि जँचाउन नजिकैको अस्पताल लैजाँदा समस्या पत्ता नलागेपछि तिलगंगा अस्पताल, काठमाडौँ ल्याएको उनकी आमा अनिता केसी बताउँँछिन्। 

“टोपीले गर्दा समस्या भएको होला, निको होइजाला भनेर बस्दा चस्माले पनि नहुने भइसकेछ” उनी भन्छिन्, “टेढोपनले पनि आँखामा यति धेरै समस्या ल्याउने रहेछ भन्ने कुरा अस्पताल आएर मात्र थाहा पाएँ।” 

बर्दियाकी २४ वर्षीया पार्वती देवकोटा पेशाले शिक्षक हुन्। उनलाई सानैदेखि आँखाको टेढोपनको समस्या थियो। हेर्नमा खासै असर नपरेकाले अप्रेसन गर्न अनिवार्य नहोला भन्ने ठानेर उनले उपचार नगराई बसिन्। तर पछि त्यही समस्याको कारण उनलाई समस्या थपिँदै गयो। 

एउटा वस्तुलाई दुई वटा देख्ने र एउटालाई हेर्दा अर्काेलाई हेरेजस्तो देखिने हुँदा दृष्य ठम्याउन नसकेपछि मात्र अस्पताल आएको र डाक्टरको सल्लाहअनुसार टेढोपनको शल्यक्रिया गरेको पार्वती बताउँछिन्। 

टेढो आँखाको शल्यक्रियापछि तिलगंगा आँखा अस्तालमा शिक्षक पार्वती देवकोटा। तस्वीर: सुस्मिता/उकालो

“समस्या सानैदेखि थियो तर यसले धेरै असर नगर्ला भन्ने सोचेँ। पछि पढाउन र हेर्नमै समस्या भएर अस्पताल आएकी हुँ,” उनी भन्छिन्, “आँखा टेढो भएपछि आफ्नै साथीहरूले समेत धेरै जिस्क्याए। सुन्दा नराम्रो लाग्ने रहेछ। त्यसैले टेढो आँखाको शल्यक्रिया गराएँ।” 

तिलगंगा अस्पतालमा कार्यरत बाल नेत्ररोग विशेषज्ञ डा. सिर्जना अधिकारी टेढो आँखाको उपचार सानै उमेरमा गर्न अभिभावकहरूलाई सल्लाह दिने गरेको बताउँछिन्। “अभिभावकले सामान्य रूपमा लिएर उपचारको खोजी नगर्दा बालबालिकामा पछि ठूलो असर परिरहेको हुन्छ। वयस्क व्यक्तिमा शिक्षण पेशा गरिरहेकाहरूलाई यो समस्या बढी मात्रामा देखिएको छ। उमेर बढेपछि कस्मेटिक शल्यक्रिया गर्न सकिन्छ। तर त्यो अवस्थामा टेढोपन पूरै निको नहुन पनि सक्छ।”

समाजमा अझै पनि टेढो आँखा भएका बच्चा जन्मिए भने भाग्यमानी हुन्छन् भन्ने अन्धविश्वास रहेको उनी बताउँछिन्। “यसैका कारण बेलैमा उपचार नगर्दा धेरै बच्चामा आँखाको दृष्टि कमजोर हुँदै जाने गरेको छ,” डा. अधिकारी भन्छिन्।

आँखाको टेढोपन के हो?
केही कुरा हेर्दा आँखा बांगो हुने अवस्थालाई टेढो आँखा भनिन्छ। सिधा आँखाले जति देखिन्छ, बांगिएको आँखाले त्यति देख्न सक्दैन। आँखा मांसपेशीको माध्यमबाट चल्छ र कुनै कारणवश आँखाको मांसपेशी कमजोर भएमा आँखा टेढो हुन्छ। 

कुनै व्यक्तिको एउटा आँखा टेढो हुन सक्छ, कसैको दुवै। एउटा आँँखा टेढो छ भने त्यो आँखा अल्छी भएर जान्छ र बिस्तारै दृष्टिमा कमी आउँछ। यदि दुवै आँखा टेढो भयो भने दुवै आँखाको दृष्टि बराबर मात्रामा कमजोर हुँदै जान्छ। 

टेढोपनको कारण र बालबालिकालाई हुने जोखिम
वंशानुगत कारण, आँखाको रोग, चस्मा  लगाएको अवस्थामा पावर बढी हुनु, आँखाका पर्दाहरूमा खत वा कुनै प्रकारको रोग हुनु, जन्मजात आँखाको नसामा चोट लाग्नु लगायतका विभिन्न कारणले आँखामा टेढोपनको समस्या देखिन्छ। 

आँखामा मोतिविन्दु या जलविन्दुको समस्या हुनु, आँखाको नसामा पक्षघात (प्यारलाइसिस) हुनु, मांसपेशीमा समस्या आउनु र थाइराइडको समस्या देखिनु लगायतका अन्य कारणले पनि टेढोपनको समस्या देखिन्छ।

टेढोपनको समस्या जुनसुकै उमेरका व्यक्तिहरूमा पनि हुने गर्छ। तर यसको जटिलता भने साना बालबालिकामा बढी हुन्छ। त्यसकारण ६–६ महिनाको अन्तरमा सबै व्यक्तिले आँखा जाँच गराइरहनुपर्ने विशेषज्ञहरूको सल्लाह छ।  

टेढोपनका प्रकार
सम्बन्धित विशेषज्ञका अनुसार टेढोपन भित्री र बाहिरी गरी दुई प्रकारका हुन्छन्। बाहिरी टेढोपन कहिले देखिने र कहिले नदेखिने खालको हुन्छ। बालबालिकाले कहिले सिधा हेर्ने गर्छन् भने कहिले आँखा बांगो बनाएर हेर्छन्। 

बिरामी भएर कमजोर अवस्थामा पुगेका बेला उनीहरू टाढा एकोहोरो टोलाएर हेरिरहन्छन्। त्यसबेला आँखा बिस्तारै बाहिर जान्छ। त्यो बाहिरी टेढोपनको अवस्था हो। भित्री टेढोपनमा बालबालिकाले हेर्दा वा आँखा घुमाउँदा दृश्यकेन्द्र भित्र नभई बाहिर जान्छ। त्यस्तो अवस्थामा मस्तिष्कले दुवै आँखालाई सिधा बनाउन सकेको हुँदैन र टेढोपनको समस्या हुन्छ। 

आँखा टेढो भएको कसरी थाहा पाउने?
बालबालिकाको टेढो आँखा प्रष्ट रूपमा देखिन्छ। एउटा आँखा सिधा हेरे पनि अर्काे आँखाको हेराइ बांगो भएर बाहिरतिर जान्छ। तर यो कुनै बेला देखिने र कुनैबेला नदेखिने पनि हुन्छ।

यस्तो समस्या फोटोमा प्रष्ट रूपमा देख्न सकिन्छ। फोटो खिच्दा बालबालिकाले आँखा सानो पारेर हेरिरहेका हुन्छन्। घरभित्र हुँदा उनीहरूले सामान्य अवस्थामा हेरिरहेका हुन्छन्। जब उनीहरू बाहिरको वातावरणमा जान्छन् तब मात्र उनीहरूको आँखा सानो र बांगो भएको देखिन्छ।

टेढोपनको उपचार र रोकथाम विधि
शुरूमा के कारणले आँखा टेढो भएको हो पत्ता लगाउनुपर्ने, कारण पत्ता लगाएपछि त्यहीअनुसार उपचार गर्न सहज हुने डा. अधिकारी बताउँछिन्। त्यसपछि आँखाको दृष्टि कस्तो छ भनेर जाँच गराउनुपर्ने उनको भनाई छ। 

यसमा प्रचलित पहिलो उपचार विधि चस्मा लगाएर आँखा ठिक पार्नु हो। दृष्टि ठिक भएपछि कस्मेटिक शल्यक्रिया गरेर आँखाको टेढोपन हटाउन सकिन्छ। आँखाको दृष्टि भित्र र बाहिर बराबर भयो भने टेढोपनलाई शल्यक्रिया मार्फत सिधा बनाउन सकिन्छ।

“यदि टाउकोमा चोट लागेर वा अन्य कारणले मांसपेशी कमजोर भई प्यारलाइसिस भएर आँखा टेढो भएको छ भने त्यस्ता बच्चाको आँखाको थेरापी गराउनु पर्छ,” बाल आँखारोग विशेषज्ञ डा. अधिकारी भन्छिन्, “प्रायः टेढोपनको समस्या उपचारपछि निको हुन्छ। तर कुनै अवस्थामा भने त्यो निको नहुन पनि सक्छ। उपचार पाएमा बालबालिकाको आँखाको टेढोपन पूरै निको हुन्छ।” 

यदि कुनै व्यक्तिको आँखामा चोटपटक लागेको छ भने त्यसले बिस्तारै आँखामा असर गर्छ र उपचारपछि पनि निको नहुने अवस्था आउँछ। त्यस्तो प्रायः वयस्क मानिसहरूलाई हुने गरेको छ। उनीहरूको आँखाको दृष्टि सिधा छ भने शल्यक्रियापछि सुधार आउँछ। तर कतिपय अवस्थामा शल्यक्रियाबाट पनि निको नहुन सक्छ।

बालबालिकाको आँखामा टेढोपनको समस्या पत्ता लगाउन एकदमै जरुरी हुने डा. अधिकारी बताउँछिन्। उनका अनुसार समयमा नै उपचार गर्न सकिएन भने आँखा अल्छी भएर जान्छ र पछि अन्धोपन समेत हुन सक्छ। बालबालिकाको टेढो भएका आँखा छिटो अल्छी हुँदै जान्छ र पछि त्यसलाई निको पार्न गाह्रो हुन्छ जसबाट सधैँका लागि दृष्टि नै गुम्न पनि सक्छ।


सम्बन्धित सामग्री