Friday, May 03, 2024

-->

डिजिटल डिभाइसको लत छुटाएर बालबालिकालाई मायोपियाबाट जोगाऊँः डा. सिर्जना अधिकारी

मायोपिया भएको समयमै थाहा नपाएर चस्माको प्रयोग गर्न ढिला भएमा फेरि पहिलेकै जस्तो दृष्टि फिर्ता गर्न गाह्रो हुन्छ।

डिजिटल डिभाइसको लत छुटाएर बालबालिकालाई मायोपियाबाट जोगाऊँः डा सिर्जना अधिकारी
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

मायोपिया अर्थात् दृष्टिदोष। विश्वव्यापी रूपमै बढिरहेको आँखाको यो समस्या बालबालिकाको दृष्टि कमजोर बनाउने प्रमुख कारणमध्ये एक हो। संसारमै यसबाट प्रभावित बालबालिकामध्ये ८० देखि ९० प्रतिशत स्कुले उमेरका छन्। यो समस्या जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन्छ। तर, पछिल्लो समयमा कम्प्युटर, मोबाइलमा तथा भिडियो गेममा धेरै समय बिताउने बालबालिकालाई मायोपियाको जोखिम बढ्दै गएको छ। यसका प्रकार र प्रभाव तथा उपचार, रोकथाम र सावधानीका उपायबारे तिलगंगा आँखा अस्पतालमा कार्यरत बाल नेत्ररोग विशेषज्ञ डा. सिर्जना अधिकारीसँग उकालोका लागि सुस्मिता खड्काले गरेको कुराकानी:

मायोपिया कस्तो खालको समस्या हो ?
मायोपिया भनेको एक प्रकारको दृष्टिदोष हो। यो विशेष गरेर आँखामा चस्मा लगाउनुपर्ने समस्या हो। 

मायोपिया कति प्रकारका हुन्छन् ?
यो दुई प्रकारको हुन्छ। एउटा फिजियोलोजिकल मायोपिया जसमा चस्माको  धेरै पावर हँुदैन। अर्को प्याथोलोजिकल मायोपिया हो। यसमा आँखाको पावर माइनस ७–८ भन्दा धेरै हुन्छ। यीमध्ये प्याथोलोजिकल मायोपियामा आँखाको पर्दामा खराबी आउँछ जसले गर्दा दृष्टिपर्दा पातलो हुन्छ। फिजियोलोजिकल मायोपिया बढ्दै गयो भने यसले प्याथोलोजिकलको रूप लिन सक्छ जसले आँखाको पर्दामा असर पार्छ।

मायोपिया के कस्ता कारणबाट हुन्छ?
वंशाणुगत कारणले पनि हुन्छ। बाआमा अथवा परिवारका कुनै सदस्यलाई मायोपिया भएको छ भने बालबालिकामा पनि देखिन सक्छ। स्कुल जाने उमेरका बालबालिकामा यो समस्या बढी मात्रामा देखिन सक्छ जसलाई स्कुल मायोपिया भनिन्छ। यसमा बालबालिकाको उमेरसँगै उनीहरूको आँखाको आकार पनि बढ्दै जान्छ। त्यसले गर्दा आँखामा माइनस पावर देखिन थाल्छ। धेरै नजिकबाट कम्प्युटरको स्क्रिन हेर्दै काम गर्ने व्यक्तिलाई पनि मायोपिया हुन्छ। 

कुन उमेर समूहमा यसको प्रभाव बढी छ?
स्कुल जाने बालबालिकामा मायोपियाको समस्या बढी देखिने भएकाले मुख्यतः ६–७ बर्षदेखि १६–१७ बर्षको उमेर समूहलाई नै यसले ज्यादा प्रभावित बनाउँछ। कसैकसैलाई जन्मेको तीन/चार महिनापछि पनि देखिन सक्छ। कहिलेकाहीँ २२/२५ वर्षका मानिसमा पनि देखा पर्छ। मायोपिया जन्मजात पनि हुनसक्छ तर यस्ता प्रभावितको संख्या निकै कम हुन्छ। 

एकपटक मायोपिया भइसकेपछि उपचारबाट पूरै निको हुन्छ कि हुँदैन?
चस्मा लगाउनु नै यसको सबैभन्दा प्रभावकारी उपचार हो। यसमा कस्तो हुन्छ भने विशेषगरी टाढाका वस्तुहरू हेर्दा आँखाले फोकस गर्न सकिरहेको हुँदैन। जाँचेर आँखाको पावरलाई चाहिने अनुसारको चस्मा लगाएपछि फोकस राम्रो भई दृष्टिमा सुधार हुन्छ। कुनै व्यक्तिको आँखाको पावर माइनस ५ छ भने माइनस ५ कै चस्मा लगाएपछि उसले सबै देख्छ। त्यतिबेला हाम्रो हिसाबमा दृष्टि क्षमता सामान्य देखिन्छ तर उसको  आँखाको माइनस पावरको समस्या समाधान भएको हुँदैन। 

यो समस्यामा उमेर बढेपछि चस्मा नै लगाउनु नपर्ने गरी समाधान निकाल्न पनि सकिन्छ। सामान्यतया १८–१९ वर्षको उमेरपछि मायोपियाको वृद्धि कम भएर जान्छ। त्यसबेला आँखाको पावर बढ्न रोकिन्छ अर्थात् सन्तुलित बिन्दुमा स्थिर हुन्छ। त्यही मौकामा हामीले लेजर सर्जरीमार्फत मायोपियालाई हटाउन सक्छौँ। मायोपिया पूरै हटाउन वा बढ्न नदिन औषधिले काम गर्छ। जस्तै, मायोपियाको कारण आँखाको पावर माइनस १ छ भने २, ३, ४ हुँदै बढेर नजाओस् भन्नको लागि औषधिको प्रयोग गर्न सकिन्छ। 

उपचार समयमा नहुँदा यसको असर कुन अवस्थासम्म पुग्छ?
मायोपियाको उपचार समयमा भएन भने दृष्टि कमजोर हुन्छ। समयमै मायोपिया भएको थाहा भएन र बेलैमा चस्मा लगाइएन भने त्यसले जटिल समस्या निम्त्याउँछ। केटाकेटीको उमेर भनेको दृष्टिको विकास हुने समय हो। त्योबेला आँखामा लागेको रोगको उपचार गराएको छैन र केटाकेटीले राम्रोसँग देख्न सकेका छैनन् भने उनीहरूको आँखा अल्छी भएर जान्छ। खसगरी ८–९ वर्षको उमेर सबैभन्दा महत्वपूर्ण हुन्छ। त्यसबेलासम्म पनि उपचार भएन भने अल्छी भएको आँखामा पछि जति नै चस्मा लगाए पनि फेरि पहिलेकै जस्तो दृष्टि फिर्ता गर्न गाह्रो हुन्छ।

मायोपियाको उपचारका विधिहरू के कस्ता छन्?
मायोपियाको उपचारमा सबैभन्दा सजिलो, महत्वपूर्ण र सहजै उपलब्ध  हुन सक्ने विधि भनेको चस्माको प्रयोग हो। यसको विकल्पमा ‘कन्ट्याक लेन्स’ पनि प्रयोग गर्न सकिन्छ। आँखाभित्र राखिने कन्ट्याक्ट लेन्स प्रत्येक दिन लगाउनु र निकाल्नु पर्छ। यसको प्रयोग पूरै हटाउन भने लेजर सर्जरी गर्न सकिन्छ।

सहरी जीवनशैली र ‘डिजिटल डिभाइस’को अत्यधिक प्रयोगले बालबालिकामा मायोपिया बढ्दै गएको भनिन्छ, यो के कति सत्य हो?
‘डिजिटल डिभाइस’को अत्यधिक प्रयोगले बालबालिकामा मायोपिया बढी मात्रामा देखिएको सत्य हो। यस्तो समस्या पहिलेदेखि नै थियो। तर, कोभिडको बेलामा घरबाहिर जान नपाउँदा धेरै बालबालिकाले अनलाइन कक्षा पढ्न थाले। त्यसकारण उनीहरूमा डिजिटल डिभाइस प्रयोगको क्रम ह्वात्तै बढ्यो। त्यसैले गर्दा नेपालमा मात्र नभई विश्वव्यापी रूपमा नै  आँखाको पावर बढ्ने समस्या देखा पर्न थाल्यो। 

यो समस्याको प्रभाव त्यतिबेला मात्र व्यापक मात्रामा देखापर्‍यो जतिबेला बालबालिकाहरू स्कुल जान थाले। घरमा बसेर अनलाइन कक्षा लिँदा या किताब पढ्दा आँखा नजिकैबाट पढिने हुँदा त्यसबेला दृष्टिको समस्या भएको जस्तो लाग्दैनथ्यो। तर, स्कुल खुलेपछि शिक्षकले टाढाको बोर्डमा लेखेको हेरेर पढ्न नसक्ने हुन थाल्यो। अनि अस्पतालहरूमा आँखा जँचाउन र उपचार लिन आउने बालबालिकाको भीड लाग्यो।  त्यसपछि मात्र मायोपिया बढेको थाहा भयो। यद्यपि, त्यसभन्दा पहिले पनि धेरै अध्ययन–अनुसन्धानहरूले बालबालिकाको दृष्टि क्षमतामा ‘डिजिटल डिभाइस’ले असर पारिरहेको देखाएको थियो। मोबाइल अथवा कुनै पनि डिभाइस धेरै मात्रामा हेर्ने व्यक्तिमा मायोपिया बढेको पाइन्छ।

बालबालिकामा मायोपिया भए नभएको कसरी थाहा पाउने?
मायोपिया अर्थात् कुनै पनि कारणले आँखाको दृष्टि कमजोर गराइरहेको छ भने उनीहरूलाई हेर्नमा समस्या परिरहेको हुन्छ। आँखा सानो र चिम्सो बनाएर हेर्ने, आँखा झिमझिम पार्ने, टेलिभिजनहरू नजिकै गएर हर्ने, टाउको दुख्ने, आँखा चिलाउने, आँशु आउने, परेलाको डिलमा आनो आउने इत्यादि मायोपियाका लक्षणहरू हुन्। यस्ता समस्या देखिएको छ भने आँखाभित्र केही असर छ भन्ने थाहा पाउन सकिन्छ। बोर्डमा लेखिएका अक्षरहरू पढ्न र सार्न नसकेर नजिकै बस्ने साथीको कापीबाट सारेको देखेमा विद्यालयका शिक्षकहरूले पनि थाहा पाउनुपर्छ कि त्यस्ता बालबालिकामा दृष्टिदोषको समस्या छ। 

मायोपियाको असरबाट बालालिकालाई जोगाउन अभिभावकले के कस्ता कुरामा सावधानी अपनाउनुपर्छ?
अविभावकले गर्न सक्ने रोकथामको सबैभन्दा महत्वपूर्ण उपाय नै बालबालिकालाई मोबाइल वा ‘डिजिटल डिभाइस’को प्रयोग कम गराउनु हो। उज्यालोमा बस्ने–खेल्ने बालबालिकामा मायोपिया कम भएको विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यसकारण बालबालिकालाई सधैँभरि कोठामा राख्नुभन्दा हरेक दिन छोटो समय भए पनि बाहिर लगेर घुमाउने, कुदाउने, खेलाउने गर्नुपर्छ। 

त्यसबाहेक बालबालिकाको आँखा सामान्यभन्दा भिन्न देखियो, रातो भयो, चिलायो, हेर्दा झिमझिम भइरह्यो, आँखा चिम्सो पारेर हेर्नुपर्‍यो, आँखामा टेडोपन देखियो अथवा आँखामा कुनै पनि किसिमको समस्या देखा पर्‍यो भने तुरुन्तै नजिकैको आँखा अस्पतालमा गएर देखाउने र समयमै उपचारमा गराउने गर्नुपर्छ। 

एकदमै ख्याल राख्नुपर्ने अर्काे कुरा के छ भने कुनै लक्षणबिना पनि बालबालिकाको आँखामा दृष्टिसमस्या भइरहेको हुन्छ। त्यही भएर  अभिभावकहरूले  बेलाबेलामा केटाकेटीहरूको आँखा जाँच  गराइराख्नुपर्छ। जन्मेको ४५ दिन भित्रमा एक पटक आँखा जाँच गराएर त्यसपछि हरेक ६/६ महिनामा जँचाइराख्नुपर्छ। त्यति गर्न सकिएन भने पनि कम्तीमा स्कुल पढ्ने उमेरमा एक पटक आँखाको जाँच गराउने र त्यसपछि वर्ष/वर्ष दिनमा नियमित जँचाइराख्ने गर्नुपर्छ। 

मायोपियाको रोकथामका लागि घरपरिवारका अभिभावक, विद्यालयका शिक्षक र बालबालिका सबैका लागि एक विशेषज्ञका रूपमा के सल्लाह दिनुहुन्छ?
आँँखा जाँच समयमै गरौँ। आफूले बाहिरबाट हेर्दा केही समस्या नदेखिए पनि बेलाबेलामा  आँखा  केन्द्रहरूमा गएर दृष्टि परीक्षण गराऊँ। स्कुलहरूमा पनि आजभोलि आँखाजाँच शिविरहरू चल्छन्। त्यस्ता शिविरहरूमा आँखा जाँच गराउन बालबालिकालाई प्रोत्साहित गरौँ। सबैभन्दा महत्वपूर्ण कुरा, डिजिटल सामानको प्रयोग आफूले पनि कम गरौँ। बालबालिकालाई खुला प्राकृतिक वातावरणमा खेलाउने, घुमाउने जस्ता कार्यमा जोड दिऊँ। 


सम्बन्धित सामग्री