काठमाडौँ– ३७ वर्षीया कृष्णा गुरुङ काठमाडौँको वनस्थलीमा बस्छिन्। एक वर्षअघि गरिएको शल्यक्रियाबाट उनी पाठेघरको मुखको क्यान्सरमुक्त भएकी छन्। क्यान्सरको पहिचान भएलगत्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उनको शल्यक्रिया भयो। प्रारम्भिक चरणमै पत्ता नलागेको भए उनको क्यान्सरको उपचार कठिन हुन सक्थ्यो।
श्रीमान्सँगको शारीरिक सम्पर्कमा रगत बग्ने, नराम्रो गन्ध आउने भइरहेको थियो। करिब एक महिना जति यसलाई सामान्य ठानेर गुरुङ दम्पती अस्पताल नगई बसे। तर, समस्या जटिल हुँदै जाँदा उनीहरू बेलैमा जँचाउन सशस्त्र प्रहरी अस्पताल पुगे। कृष्णाको पाठेघरको मुखमा क्यान्सर देखिए पनि शुरूकै चरणमा रहेकाले जटिल लक्षणहरू थिएनन्।
“अस्पताल जान मलाई असजिलो लागिरहेको थियो,” गुरुङले भनिन्, “भित्री कुरा भएर पनि होला, कसैसँग खोल्न सकिरहेको थिइनँ। अहिले त म मेरा साथीभाइ सबैसँग यसबारे खुलस्त कुराकानी गर्छु।”
आफूजस्ता धेरै महिलाहरूले भोगिरहेको सास्ती र जोगिने उपायबारे थाहा पाउन परस्परको अन्तर्क्रिया जति उपयोगी अरू केही हुने रहेनछ भनेर पनि उनले आफ्नै अनुभवबाट बुझिन्। हाल पाठेघरको मुखमा लाग्ने क्यान्सर रोगविरुद्धको खोप पाइने जानकारी उनी आफ्ना साथीसंगीलाई दिन्छिन्। आफ्ना सन्तानलाई र त्यसमा पनि विशेषतः छोरीहरू जति सबैलाई यो खोप दिनुपर्ने उनी ठान्छिन्।
यस्तै, दुई वर्षअघि आमा बनेकी धापासीकी छिरिङ शेर्पाले सुत्केरी भएको दुई महिनापछि एक्कासि बेहोशै बनाउने गरी उच्च रक्तस्रावको सामना गर्नुपर्यो। अस्पताल पुगेर जँचाउदा उनलाई पनि पाठेघरको मुखको क्यान्सर देखियो। तेस्रो चरणमा पुगेको क्यान्सरको शल्यक्रियापछि रेडियसन थेरापी हुँदै गत वर्ष भदौमा केमोथेरापी लिएपछि हाल उनी स्वस्थ छिन्।
झन्डै मृत्युको मुखमा पुगेकी शेर्पालाई महिला स्वास्थ्यको विषयमा बेलैमा जानकारी नहुँदा भोग्नुपरेको दुःख कम पीडादायी रहेन। यस्ता विषयमा समाजमा खुलस्तसँग बहस हुनुपर्ने उनी बताउँछिन्।
के हो एचपीभी?
पाठेघरको मुखमा हुने क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा. सौजन्य कर्माचार्य बताउँछिन्। सामान्यतया पुरुषमा हुने भाइरस यौन सम्पर्कमार्फत् महिलामा सरेर हुने यो एक किसिमको सरुवा रोग हो जसको पहिचान डीएनए जाँचबाट गरिन्छ।
“पाठेघरको मुखको क्यान्सर निम्त्याउने यो भाइरस यौन सम्पर्कबाट महिलामा आएपछि जीवनभर जोखिम रहन्छ,” डा. कर्माचार्य भन्छिन्, “यौन सम्पर्कमा रहने १०० मध्ये ८० देखि ९० जना महिलामा यो भाइरस संक्रमणको सम्भावना हुन्छ।”
यद्यपि, भाइरसबाट संक्रमित हुँदैमा क्यान्सर लागी नहाल्ने उनी बताउँछिन्। डा. कर्माचार्यका अनुसार, व्यक्तिको शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो छ भने दुई वर्षभन्दा बढी यो भाइरस शरीरमा बस्न सक्दैन। “१०० महिलामा यो भाइरस सरेको छ भने ९० जनामा आफै निको भएर जान्छ भने बाँकी पाँचदेखि दशमा क्यान्सरका रूपमा विकसित हुन्छ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार एचपी भाइरस सिफिलिस, गोनोरिया जस्तै शारीरिक सम्पर्कबाट सर्छ। यो संक्रमति पुरुष वा महिला संक्रमितबाट अन्यमा सर्ने भाइरस हो। यद्यपि, यस भाइरसले पाठेघरको मुखको क्यान्सर गराउनमा बढी भूमिका खेल्छ। सोही कारण कुनै पनि महिलाले शारीरिक सम्पर्कमा आउने उमेरभन्दा अघि नै एचपीभी विरुद्धको खोप लिनुपर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार महिलाहरूलाई लाग्ने क्यान्सरमध्ये संख्याको हिसाबले चौथो नम्बरमा पर्छ पाठेघरको मुखको क्यान्सर। नेपालमा पनि पाठेघरको मुखको क्यान्सर हुने बिरामीमध्ये करिब ८० प्रतिशतको कारक एचपी भाइरस नै हुने गरेको उनले बताए।
“प्रायजसोे क्यान्सर वंशाणुगत रूपमा मात्र सर्ने हुन्छ। तर, मानिसको जीवनको स्वाभाविक पाटो हो, शारीरिक सम्पर्क,” डा. कर्ण भन्छन्, “त्यसो हुँदा एक व्यक्तिबाट अर्कोमा एचपी भाइरस सजिलै सर्ने सम्भावना प्रबल हुन्छ। यही कारण यसका संक्रमित संख्या धेरै भएको हुनसक्छ।”
विश्वभर १५–४९ उमेर समूहका महिला र पुरुष दुवैलाई यो खोप दिने गरिएको छ। विश्व स्वास्थ्य संगठनले सन् २०३५ सम्ममा खोप कार्यक्रममार्फत यस रोगलाई निर्मूल पार्ने लक्ष्य राखेको छ। यसका लागि खोप वितरणको कार्यक्रमलाई चुस्त गतिमा बढाइएको संगठनले जनाएको छ।
सोही लक्ष्यलाई भेट्ने योजनामा नेपाल सरकारको स्वास्थ तथा जनसंख्या मन्त्रालयले पनि चालु आर्थिक वर्षबाट खोप वितरणको पाइलट प्रोजेक्ट (परीक्षण परियोजना) शुरू गरेको मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ। यद्यपि, आर्थिक वर्ष २०७७/७८ देखि यस खोपको लागि सरकारले बजेट छुट्ट्याउने गरे पनि खोप खरिद हुन सकेको छैन।
किन आइरहेको छैन खोप?
प्रतिनिधि सभाको गत जेठ ७ गते बसेको बैठकमा सांसद डा. चन्दा कार्कीले संसदमा पाठेघरको मुखको क्यान्सरको खोप व्यवस्था गरिनुपर्ने विषयमा आवाज उठाएकी थिइन्। नेपालमा प्रतिवर्ष २३ सय पाठेघरको क्यान्सरका नयाँ बिरामी थपिने र १५ सय बिरामीको मृत्यु हुने तथ्यांक उनले प्रस्तुत गरेकी थिइन्।
उक्त तथ्यांकलाई उनी डरलाग्दो आकार मान्छिन्। “यो संख्या अझै कम हो,” उनले भनिन्, “यहाँ राम्रो परीक्षण नै भइरहेको छैन। समूहमा परीक्षण गर्ने हो भने यो संख्या अझ बढी आउनेछ।” खोपले ३५ प्रतिशत महिलाको मृत्यु दर कम गर्ने उनको दाबी छ।
गत वर्षको नीति तथा कार्यक्रममा सरकारले खोप ल्याउने प्रतिबद्धता जनाएर पनि कार्यान्वयन नगरेको देखिएको उनले संसदमा बताएकी थिइन्। पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतनालाई देशव्यापी बनाउन र यसको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समेट्न उनले सरकारसँग माग गरिन्।
यस पटकको बजेटमा ‘स्वास्थ तथा जनसंख्या’ अन्तर्गतको बुँदा नम्बर २३४ मा उल्लेख भएअनुसार, महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान तथा प्रारम्भिक उपचारलाई क्रमशः बिस्तार गरिने सरकारको योजना छ। पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने र संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा क्रमशः बिस्तार गर्ने कार्यक्रम पनि बजेटमा समेटिएका छन्।
आर्थिक वर्ष २०७७/७८ देखि एचपीभी खोपको लागि बजेट छुट्टिए पनि चालु आर्थिक वर्षमा बल्ल २० हजार डोज खोप आउन लागेको छ। ‘पाइलट प्रोजेक्ट’ अन्तर्गत ल्याउन लागिएको उक्त परिमाणको खोप प्रतिव्यक्ति दुई डोज आवश्यक पर्ने कारण १० हजारको लागि मात्र पुग्ने स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया बताउँछन्।
९ देखि १४ वर्षका किशोरीलाई लगाइने उक्त खोप कुन कुन जिल्लामा कसरी लगाउने हो त्यसबारे निर्णय भई नसकेको उनले बताए। खोप खरिदका लागि १० करोड बजेट विनियोजन भएको छ।
यसै महिना (असार)को पहिलो हप्ता २० हजार डोज एचपीभी खोप ल्याउने तयारी भए पनि आपूर्ति गर्ने ठेक्का पाएको कम्पनीले नेपाल भित्र्याउन अझै केही समय लाग्ने जनाएको डा. चौरासिया बताउँछन्। उनका अनुसार असारको अन्तिम सातासम्ममा खोप नेपाल आइपुग्नेछ।
सरकारको यो पाइलट प्रोजेक्ट निराशाजनक रहेको सासंद डा. कार्की टिप्पणी गर्छिन्। क्यान्सरजस्तो रोग खोपबाट निर्मूल हुन्छ भने यसमा राज्यले अभिभावकको भूमिका खेल्नुपर्ने उनी बताउँछिन्।
“तीन करोड जनतामध्ये आधा संख्या महिलाको छ। तर, ३ हजार/३५ सय डोज अनुदानमा आउन लागेको खोपले कति जनालाई पुग्छ र?” उनले भनिन्, “यसलाई राष्ट्रियस्तरको खोप कार्यक्रममा सुचीकृत गरी अघि बढाउनु अति नै आवश्यक छ। क्यान्सर जस्तो जटिल रोगको खोप छ र त्यसले बचाउँछ भने हाम्रा महिलाले लिन पाउनु पर्छ।”
पाठेघरको मुखको क्यान्सर यस्तो रोग हो जसमा अन्य क्यान्सरको तुलनामा मानिसलाई धेरै अघि नै सावधानी अपनाएर बचाउन सकिन्छ।
एचपी भाइरसको संक्रमण पुरुषलाई पनि
स्त्री क्यान्सररोग विशेषज्ञ डा. कर्माचार्यका अनुसार, महिला मात्र नभई पुरुषमा पनि ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को संक्रमण हुन्छ। यसबाट महिलामा जस्तै पुरुषहरूको यौनांगमा पनि क्यान्सर हुनसक्ने सम्भावना रहेको उनले बताइन्। यद्यपि, पुरुषको तुलनामा महिलामा धेरै हुने उनको भनाइ छ। सोही कारण पनि महिलाले अनिवार्य रूपमा खोप लिनु जरुरी देखिएको छ।
‘द न्यु योर्क टाइम्स’ म्याजेगिनले उल्लेख गरेअनुसार, उच्च आय हुने देशमा यो खोप किशोर–किशोरी दुवैलाई प्रदान गर्ने गरिएको छ। यद्यपि, विश्व स्वास्थ संगठनले विकासशील मुलुकहरूमा एचपी भइरसबाट क्यान्सर लागेका बिरामीमध्ये ९० प्रतिशत महिला भएका कारण हालको लागि किशोरीहरूलाई प्राथमिकतामा राखी खोप लगाउन सल्लाह दिएको छ।
“खोपको प्रभावकारिता ९० देखि ९५ प्रतिशतसम्म रहेको डा. कर्माचार्य बताउँछिन्। विकसित देशमा यसखालको खोप किशोरकिशोरी यौन सम्पर्कमा आउनुभन्दा अघिको उमेरमा लगाइन्छ। यसबाहेक कोही व्यक्ति हालसम्म शारीरिक सम्पर्कमा संलग्न भएको छैन भने पनि खोप लगाउँदा समस्या नहुने डा. कर्माचार्यको भनाइ छ। उनका अनुसार विशेष गरी शारीरिक सम्पर्कमा रहने ४६ वर्षसम्मका विवाहित महिलाले खोप लगाउनुपर्छ।
“विश्व स्वास्थ्य संगठनले निश्चित उमेर समूह तोकेर उनीहरूले खोप लगाउन नहुने भनेको छैन,” उनले भनिन्, “खोप लगाउने सबैभन्दा उत्कृष्ट समय शारीरिक सम्पर्कमा आउनुअघि हुन्छ। विवाहित तथा यौनमा सक्रिय महिलाले यो खोप लगाएमा क्यान्सरको जोखिमबाट सुरक्षित रहन सकिन्छ।”
भाइरसको संक्रमणपछि पाठेघरको मुखको क्यान्सर देखा पर्न वर्षौं लाग्ने कारण पनि समयमै जनचतेना फैलाउन सके यसबाट धेरै महिलालाई बचाउन सकिने उनी बताउँछिन्। यो भाइरस शरीरमा देखिएपछि क्यान्सरको रूपमा विकसित हुन ५ देखि २० वर्षसम्म लाग्छ,” डा. कर्माचार्यले भनिन्, “तर, जचेतनाको अभावमा क्यान्सर लागेर पनि तेस्रो–चौथो चरणमा पुगेपछि मात्र बिरामी अस्पताल आइपुग्ने गर्नुहुन्छ। रोकथाम गर्न सकिने रोगले यसरी महिला ग्रसित हुनु दुःखद् कुरा हो।”
समाजमा व्याप्त लैंगिक विभेदलाई यसको प्रमुख कारण मान्छिन् उनी। “महिलाहरूले आफ्नो स्वास्थभन्दा पनि घरायसी काम र परिवारलाई प्राथमिकतामा राख्दा क्यान्सरले स्वास्थ जटिलता र आर्थिक संकट पैदा गरिरहेको छ। समयमै खोप लगाए यस्तो स्थिति आउँदैन,” उनी भन्छिन्।
निजी अस्पतालमा एचपीभी खोपको मूल्य ३ देखि ७ हजार रुपैयाँसम्म पर्छ। तर, उत्पादक कम्पनीको लागतअनुसार मूल्य फरक हुने डा. कर्माचार्य बताउँछिन्। यसबाहेक पनि नेपालका विभिन्न अस्पतालमा हाल तीन वटा खोप सिफारिस गरिएको छ। एउटा चीनमा बनेको नयाँ खोप छ भने अन्य दुई वटा पहिलेदेखि बजारमा उपलब्ध छन्।
अन्तर्राष्ट्रिय रूपमा यो खोपको प्रभावकारिता राम्रो देखिएको छ। चार–पाँच वर्षयता माग बढेको कारण खोप पाउन भने अझै सहज भइसकेको छैन।