Thursday, May 02, 2024

-->

सुरक्षित छैनन् काठमाडौँका स्विमिङ पुल

एक-एक घन्टामा फेर्नु पर्ने पानी धेरैजसो स्विमिङ पुलमा बिहान एकपटक मात्र फेरिन्छ, अझ कतिले हप्तामा एकपटक शनिबार मात्र फेर्छन्। क्लोरिन र पोटासको मात्रा पनि नमिलाइ राख्दा कपाल तथा छालामा समस्या हुन्छ।

सुरक्षित छैनन् काठमाडौँका स्विमिङ पुल
तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ- सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्‍को पौडी पोखरीमा परिवारका चार सदस्यसहित अघिल्लो शनिबार पौडी खेल्न पुगेकी नन्दा अधिकारीले निकै असहज महसुस गरिन्। पोखरीमा ठूलो भिडका कारण पौडिँदा हातखुट्टा अर्कोसँग ठोक्किएको उनको गुनासो थियो।

“परिवार नै आएका छौँ। महँगो शुल्क तिरेर होटलका स्विमिङ पुलमा जान सकिँदैन। अलिक सस्तोमा आइन्छ। प्रायः क्षमताभन्दा बढी मान्छे खेलाउँछन्। शनिबार त पौडिँदा एउटाको हातखुट्टाले अर्कोलाई लाग्छ,” अधिकारी भन्छिन्।

काठमाडौँमा शनिबार पनि ३२ डिग्री तापक्रम मापन गरिएको छ। गर्मी बढ्दै जाँदा काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रका स्विमिङ पुल भरिभराउ हुन थालेका छन्। तर, पौडीका पारखीहरू अधिकांश स्विमिङ पुल गुणस्तरीय नभएको गुनासो गर्छन्। 

गर्मीको बेला स्विमिङ खेल्दा शारीरिकदेखि मानसिक स्वास्थ्यमा समेत फाइदा पुग्ने हुँदा सरकारी तथा निजी संस्थाले चलाएका स्विमिङ पुलमा घुइँचो लाग्ने गरेको कुपन्डोलस्थित एक स्विमिङ पुलका संचालक  देवराज कटवाल बताउँछन्।

“पहिला राखेप या नेपाल पुलिस क्लबमा मात्रै स्विमिङ पुल थियो। त्यहाँ सीमित व्यक्तिले मात्र स्विमिङ गर्न पाउँथे। अहिले सबैतिर भएको कारण सर्वसाधारणको पहुँच बढेको छ,” उनी भन्छन्, “विन्टरमा स्विमिङ खेल्न सम्भव नै हुँदैन। तर, समरमा घुइँचो हुने गरेको छ।” 

आफूहरूले संचालन गरेको स्विमिङ पुलमा दैनिक ७०० देखि एक हजार जनासम्म आउने कटवाल बताउँछन्। सार्वजनिक बिदाको दिन चार हजार जनासम्म आउने उनको भनाइ छ। 

“काठमाडौँमा निजी घर, विद्यालय र होटलमा पनि स्विमिङ पुल छन्। तर, सबैमा सर्वसाधारणको पहुँच हुँदैन। अहिले काठमाडौँमा होटलको बाहेक करिब ५० वटा स्विमिङ पुल छन्। भिड धेरै भएर कतिपटक त टिकट पनि फिर्ता गर्नुपर्ने अवस्था हुन्छ,” कटवाल भन्छन्।

भिडकै कारण सार्वजनिक स्विमिङ पुल प्राय: फोहोर हुने सातदोबाटोमा भेटिएका सेवाग्राही सुलभ आचार्य बताउँछन्। पौडी संघले बनाएको मापदण्डअनुसार स्विमिङ पुलमा एकपटक ठूलो समूहले पौडी खेलिसकेपछि पानी फेर्नुपर्ने हुन्छ। एक घन्टामा पानी फेरिने गरी निरन्तर पानी थप्ने र बाहिरिने गरी प्रणाली बनाउनुपर्ने नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ बताउँछन्।*

तर, पानी फेर्नु त परकै कुरा, पानी सफा गर्न हालिको क्लोरिनको मात्रा नमिल्दा छाला नै कालो बनाएको आचार्य गुनासो गर्छन्। स्विमिङ गर्दा प्रायः आँखा पोल्ने, कपाल बिग्रने गरेको पनि उनी सुनाउँछन्।

अत्यधिक भिड हुने स्विमिङ पुलमा आफैँ सजग हुनुपर्ने आचार्यको भनाइ छ। “पुल सञ्चालकहरूले गुणस्तरमा ध्यान दिएका छैनन्। भेडा बाख्रा जसरी पानीमा उतारेका छन्। क्लोरिनको मात्रा नमिलेको पानी मुखमा पर्ला कि भनेर डराउँदै पौडिनुपर्छ। कतिपय स्विमिङ पुलमा त बेलुका जाँदा पानीको रङ नै अर्कै देखिन्छ,” उनी भन्छन्।

धन्यन्तरीस्थित स्विमिङ पुलका एक कर्मचारी शनिबार मात्र पोखरीको पानी फेर्ने गरेको बताउँछन्। अरु दिन धेरै भिड नहुने भएकाले पानीमा क्लोरिन र पोटास हालेर निर्मलीकरण मात्र गरिने उनको भनाइ छ।

अनुगमन नै हुँदैन
देशभर अन्तर्राष्ट्रिय मापदण्ड तय भएका अथवा सुरक्षित स्विमिङ पुलको संख्या १२० को हाराहारीमा मात्र रहेको पौडी संघका महासचिव श्रेष्ठ बताउँछन्। उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार वयस्कका लागि चौडाइ १५ फिट, लम्बाइ २५ र गहिराइ न्यूनतम ६ फिट हुनुपर्छ। बालबालिकाका लागि भने चौडाइ १२ फिट र लम्बाइ १५ फिट तथा गहिराइ तीन फिट हुनुपर्छ।

यस्ता पोखरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता पनि गराउन सकिन्छ। तर, काठमाडौँमा भएका निजी तथा व्यवसायिक स्विमिङ पुलहरू भने अधिकांश मापदण्ड विपरीत छन्। यस्ता स्विमिङ पुललाई पहिला पौडी संघले नियमन गर्ने तयारी थालेको थियो। तर, खेलकुदका लागि गठन गरिएको संघले व्यवसायको नियमन गर्न नपाउने भन्दै निजी क्षेत्रले विरोध गरेपछि आफूहरू पछि हटेको उनी बताउँछन्।

“स्विमिङ पुल बनाउँदा सुरक्षाको पाटो हेर्नुपर्छ। कसको लागि बनाउने र कत्रो बनाउने भन्ने हुन्छ। तर, यहाँ अधिकांश मापदण्डविपरीतका छन्। हामीले यसको मापदण्ड बनाउन लागेका थियौँ। तर, खेल संघले निजी क्षेत्रमाथि हात हाल्न लागेको भनेर चर्को विरोध हुन थालेपछि हामीले वास्तै गरेनौँ,” उनी भन्छन्। 

प्रतियोगिता गराउँदा मात्रै होइन, व्यावसायिक रूपमा संचालन गर्दासमेत सुरक्षाको पाटो अनिवार्य हेर्नुपर्ने महासचिव श्रेष्ठ बताउँछन्।

कसरी हुने सुरक्षित?
अन्तर्राष्ट्रिय स्विमिङ खेलाडी गौरिका सिंह स्विमिङ गर्न जाँदा सुरक्षा सतर्कता महत्त्वपूर्ण हुने बताउँछिन्। उनका अनुसार पुलमा उत्रिँदा टोपी र चस्मा अनिवार्य लगाउनुपर्छ। यसले आँखा र कपाललाई क्लोरिनबाट जोगाउँछ। छाला र कपाललाई जोगाउन नुहाएर कपाल र शरीर भिजाउनुपर्छ। पुलबाट निस्किएपछि राम्रोसँग साबुन पानीले नुहाउनुपर्छ।

“सनस्क्रिन प्रयोग गर्नुपर्छ। मोइस्चराइजर वा नरिवल तेल लगाउनुपर्छ। भिटामिन–सी, ई र डी भएको खानेकुरा खानुपर्छ,” सिंह भन्छिन्।

यसका बाबजुद पनि स्विमिङ पुल प्रयोग गरेपछि दाग, जलन या आँखा रातो भए वा छालामा कुनै प्रकारको ‘इन्फेक्सन’ भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्ने उनको सल्लाह छ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि स्विमिङ गर्दा निकै सावधानी अपनाउनुपर्ने बताउँछन्। छालामा घाउ, खटिरा आदि समस्या भएका व्यक्तिले स्विमिङ गर्दा अन्यलाई सर्ने जोखिम उच्च हुन्छ। 

स्विमिङ गर्दा देखिने समस्याबारे अनुसन्धानात्मक अध्ययन नभए पनि सार्वजनिक पोखरीको पानीले शरीरमा विभिन्न रोगको संक्रमण गराउने खतरा रहने डा. पुन बताउँछन्। “स्विमिङ पुलको पानीको उचित व्यवस्थापन नहुँदा संक्रमण बढ्छ। पोखरीको सरसफाइमा क्लोरिन प्रयोगको बाबजुद पनि क्रिपटोइस्पोरिडियम नामक परजीवी केही दिन जीवित रहन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा संक्रमण हुन्छ,” उनी भन्छन्। 

विभिन्न देशमा भएका अध्ययन तथा अनुसन्धानले स्विमिङ पुलको पानीले संक्रमणको दर हरेक वर्ष बढ्दै गएको देखाएको डा. पुन बताउँछन्। संक्रमण भएका व्यक्तिलाई पखाला लाग्ने, शरीरका अंगहरु बाउँडिने, वान्ता हुनेजस्ता विभिन्न लक्षण देखिन्छन्। त्यसैले पनि अनिवार्य मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ।

किन स्विमिङ गर्ने?
अधिकांश सर्वसाधारण गर्मी बढेपछि शीतलताको खोजीमा पौडी पोखरी पुग्ने गर्छन्। यसबाट शरीरको व्यायाम पनि हुने डा. पुन बताउँछन्।

नेपाल पौडी संघले स्विमिङ गर्दाका फाइदाहरू धेरै रहेको जनाएको छ। पौडी संघले उल्लेख गरेका केही फाइदा यस्ता छन्-
- हात, खुट्टा र शरीरका अन्य अंगसमेत पानीमा चल्ने भएकाले शरीर लचकदार हुन्छ।
- हात, खुट्टा, पेटलगायत शरीरका अधिकांश भागको व्यायाम हुन्छ।
- पौडिदा शरीरको पूरै भाग चल्मलाउने हुँदा रगत शरीरमा राम्रोसँग बहन्छ।
- शारीरिक व्यायाम हुने भएकाले राम्रोसँग निद्रा लाग्छ।
- शरीरका मांसपेसीका साथै हड्डी सक्रिय हुने हुँदा मजबुत हुन्छ।
- शरीरको तौल सन्तुलनमा आउँछ।
- थकान मेट्छ र तनावबाट मुक्त गराउँछ।
- कोलस्टेरोल या रगतमा भएको टक्सिकलाई हटाउन मद्दत गर्छ।
- क्यालोरी नष्ट गर्छ।
- रक्तचापलाई पनि नियन्त्रण गर्छ।


*सम्पादन गरिएको।


सम्बन्धित सामग्री