Friday, June 14, 2024

-->

मनपरी चलिरहेका ‘स्विमिङ पुल’ : मापदण्ड छैन, ज्यानै जोखिममा

स्विमिङका लागि होटल पुगेका सजिलमान शाक्यलाई करेन्ट लागेपछि नौ महिनादेखि अचेत छन्। स्विमिङ पुलमै डुबेर ज्यान जाने घटनासमेत भएका छन्। पानी फोहोर भएको गुनासो त सामान्य जस्तै छ।

मनपरी चलिरहेका ‘स्विमिङ पुल’  मापदण्ड छैन ज्यानै जोखिममा

काठमाडौँ– दिनेश श्रेष्ठ पौडी खेल्न जान्दैनन्। असह्य गर्मी भएको बेला भने स्विमिङ पुल जान मन पराउँछन्। गएको शनिबार धन्यन्तरीस्थित स्विमिङ पुल गएका थिए। १० मिनेट नबित्दै उनी पुलबाट बाहिरिए।

“एकैछिनको रहरले पुल छिरेको थिएँ तर आँखा र छाला पोल्न थालेपछि बाहिर निस्किहालेँ। स्विमिङ नआए पनि पानीमा पस्न मन पर्छ। स्वास्थ्यको हिसाबले भने डर लाग्छ,” श्रेष्ठ भन्छन्, “पानी फेर्ने गर्‍या छन् कि छैनन् त्यो त थाहा भएन तर पानीको रङ देख्दै जोखिमयुक्त छ भन्ने लाग्छ।”

गर्मी बढेसँगै काठमाडौँ उपत्यकाका स्विमिङ पुल भरिभराउ हुन थालेका छन्। अरू दिनभन्दा शनिबार र बिदामा बाक्लो भीड हुन्छ।

अपिल गुरूङ ‘फुटसल’ र स्विमिङ मन पराउँछन्। उनले काठमाडौँका धेरै स्विमिङ पुलमा ‘डाइभ’ लगाइसकेका छन्। तर कतिपयमा आधारभूत नियम नै पूरा नगरिएको उनको भनाइ छ। “मान्छे पहिला खोला, ताल र नदीमा पौडी खेल्थे। अहिले स्विमिङ पुलमा आउनुको कारण सुविधा र सुरक्षाका लागि हो। पैसा पनि त्यसैका लागि तिर्छन्,” गुरूङ भन्छन्, “पुल मालिकहरूले त्यतातिर ध्यान दिन जरूरी छ। न्यूनतम मापदण्ड नै पूरा नगर्दा दुर्घटनाको खतरा बढ्दै छ।”

सुजल बस्नेत बानेश्वरस्थित स्विमिङ पुल गइरहन्छन्। स्विमिङ गरिरहेकाहरू अनुशासनमा नरहेको देख्दा उनलाई ज्यानको माया नभएको महसुस हुन्छ। कतिपयले स्विमिङ गर्दा विधि र प्रक्रिया पुर्‍याउँदैनन्। “उनीहरूलाई हेर्ने मान्छे पनि हुँदैन। सेफ्टीका लागि रबर ट्यूबसम्म हुँदैन। कोही ड्रिङ्क्स गरेर स्विमिङ गर्न आइरहेको हुन्छ। यो सबैको निगरानी गर्ने मान्छे राख्ने जिम्मा सञ्चालकको हो,” सुजल भन्छन्, “तर काठमाडौँका धेरै स्विमिङ पुलमा गाइड र रेखदेख गर्ने मान्छे छैन।”

राष्ट्रिय खेलकुद परिषद् पौडी शाखाका प्रमुख मधुसूदन बस्नेत यस्ता समस्या गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको स्विमिङ पुलहरूमा मात्र भएको बताउँछन्। उनका अनुसार सरकारले सञ्चालन गर्दै आएको स्विमिङ पुल अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको छ। 

“हामीले सञ्चालन गर्दै आएको पुलमा मापदण्ड पूरा भएको छ। यसमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत भइसक्यो। तर खासगरी होटल र व्यवसायिक प्रयोजनका लागि बनाइएका पुलहरू सुरक्षित छैनन्,” उनी भन्छन्, “लम्बाइ कति हुनुपर्छ, चौडाइ कति हुनुपर्छ र पानीको गुणस्तर कस्तो हुनुपर्छ भन्नेसम्म थाहा नभएकाहरूले पुल सञ्चालन गरिरहेका छन्।”

जोखिममा जीवन
सजिलमान शाक्य नौ महिनादेखि उठ्न सकेका छैनन्। करिब दुई महिना त कोमामै रहे। गएको साल भदौ १५ गते ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरको स्विमिङ पुलमा उनलाई करेन्ट लागेको थियो। त्यो दिन सजिल श्रीमती र छोरीसहित होटलको छतमा रहेको स्विमिङ पुल गएका थिए।

'हिटेड' पुल भएका कारण उनकी छोरीको ‘गगल्स’मा बाफ जमेको थियो। गगल्स सफा गरिदिन उनी पुलबाहिर किनारमा निस्किएका थिए। त्यही बेला हात पुल छेउमा जडान गरिएको ‘स्पट लाइट’मा पर्दा उनलाई करेन्ट लाग्यो। उनी त्यहीँ कक्रिए।

होटल स्क्वायरको स्विमिङ पुल।

सजिलमानलाई तत्काल ललितपुरस्थित मेडिसिटी अस्पताल लगियो। डाक्टरले मृत्यु भइसकेको अनुमान गरे। तर सीपीआर (मुटुको धड्कन पुन: सञ्चालन गराउने विधि) अपनाउँदा उनले श्वास फेर्न थाले पनि चेत फर्किएन। करिब दुई महिना कोमामा रहेपछि अहिले आँखा देख्न थालेका छन्। शरीर भने अझै चल्न सकेको छैन। 

मेडिसिटी र माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट अहिले उनी घरको विस्तारामा सरेका छन्। उनलाई घरमै २४ घण्टा 'नर्सिङ केयर' दिइएको छ। 

होटल सञ्चालकको लापरबाहीका कारण आफ्नो छोराको यस्तो हालत भएको भन्दै बुवा पुष्करमान शाक्यले जिल्ला प्रहरी कार्यालय ललितपुरमा कर्तव्य ज्यान उद्योगको जाहेरी लिएर पुगेका थिए। तर शुरूमा प्रहरीले लिन मानेन। करिब पाँच महिनापछि गएको पुस २७ गते परिवारले सरकारी वकिलमार्फत जाहेरी दियो। त्यसपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको कारण होटल सञ्चालकमध्येकी ललिता भण्डारीले आत्मसमर्पण गरेकी थिइन्। अहिले यो मुद्दा अदालतमा विचाराधीन छ। भण्डारीलाई तारिखमा छाडिएको छ।

करेन्ट लागेर भन्दा पनि स्विमिङ पुलमा डुबेर मृत्यु हुनेको संख्या धेरै छ। गत वर्ष असार १० गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित शुभश्री व्यांक्वेट ब्लु हेभनको स्विमिङ पुलमा १९ वर्षीय प्रभाश अधिकारी पौडी खेल्ने क्रममा डुबे। उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि सिभिल अस्पताल बानेश्वर पठाइयो। तर उपचारकै क्रममा उनको मृत्यु भयो। 

२०७६ जेठ २ गते टोखा नगरपालिकाको धापासीस्थित स्विमिङ पुलमा डुबेर एक युवक घाइते भए। उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिए पनि उनको ज्यान जोगिएन। २०७५ भदौ १५ गते पनि पौडी खेल्ने क्रममा २३ वर्षीय निना निरबु शेर्पाको मृत्यु भएको थियो। बुढानीलकण्ठ नगरपालिका–१२ कपनका शेर्पा स्विमिङ गर्दागर्दै बेहोस भएपछि स्तुपा सामुदायिक अस्पताल बौद्ध लगिए पनि उनको मृत्यु भयो।

स्विमिङ पुलमा घाइते वा मृत्यु हुनु असामान्य भएको स्विमिङका पारखी दीपेश आचार्य बताउँछन्। स्विमिङ पुल वरिपरि 'लाइफ गार्ड' नराखिँदा यस्ता घटना दोहोरिने गरेको उनी बताउँछन्। “स्विमिङ पुल सञ्चालन गर्ने तर वरिपरि मान्छे नराख्ने भन्ने पनि हुन्छ? को मान्छे कसरी स्विम गरिरहेको छ, कस्तो अवस्थामा छ, निगरानी गर्ने मान्छे राख्नु पर्दैन?” आचार्य भन्छन्, “अधिकांश स्विमिङ पुलमा देखिने यो साझा समस्या हो। स्विमिङ गर्न आउने सबैलाई स्विमिङ आउँछ भन्ने छैन। रेखदेखका लागि मान्छे स्ट्यान्डबाइ भए यो समस्या आउँदैन।”

स्विमिङ प्रशिक्षक शंकर कार्की पनि स्विमिङ पुलका सञ्चालककै दोष भएको बताउँछन्। “स्विमिङ पुलमा हुनुपर्ने र अनिवार्य राखिनुपर्ने सुरक्षा गार्ड र सुरक्षा यन्त्रहरू छैनन्। जुन सबैले सामान्य ठानिरहेको तर यो असमान्य हो,” कार्की भन्छन्, “पुल सञ्चालनमा आउने बित्तिकै सबै दुरुस्त हुनुपर्छ तर प्राथमिक सुरक्षा विधि पनि ख्याल गरेको भेटिँदैन।”

मापदण्ड न कानून
स्विमिङ पुल निर्माणका लागि नेपालमा कुनै मापदण्ड बनाइएको छैन। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भने स्विमिङ पुलको मापदण्ड भएको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ बताउँछन्। तर तिनको पालना गरिँदैन। राष्ट्रियस्तरमा मापदण्ड र कानून नहुँदा नै दुर्घटना हुने गरेको उनको भनाइ छ। सरकारीस्तरबाट बनेको पुललाई नियमन गर्न सकिए पनि निजी पुलहरूको नियमन नभएको उनी बताउँछन्।

“स्विमिङ पुलका लागि ऐन बनाउन आवश्यक भइसकेको छ। पुललाई व्यवस्थित बनाउन मापदण्ड र अनुगमनमा ध्यान नदिई हुँदैन,” श्रेष्ठ भन्छन्, “हालसम्म सरकार यस विषयमा गम्भीर देखिएको छैन तर तुरून्तै कानून बनाएर कार्यान्वयनमा ल्याइहाल्नु अपरिहार्य भइसकेको छ।”

सातदोबाटोस्थित खेलकुद परिसरमा रहेको स्विमिङ पुल।

पौडी खेलाडी राजेश वज्राचार्य भने स्विमिङ पुलको नियमित अनुगमन भए दुर्घटनाहरू न्यून हुने बताउँछन्। कानून र मापदण्ड नभए पनि होटल सञ्चालकले आफैँ पुलको सुरक्षा दुरूस्त बनाउन सके दुर्घटनाबाट जोगाउन सकिने उनको भनाइ छ।

कानून र मापदण्ड नहुँदा नै जसले जहाँ पनि स्विमिङ पुल चलाउने छुट पाएको सजिलमानका बुवा पुष्करमान बताउँछन्। जथाभावी पुल सञ्चालन गर्नेविरुद्ध सरकारले अंकुश लगाउन जरूरी भएको उनको भनाइ छ।

“ल ठिकै छ मेरो छोराको त्यस्तो भयो। तर यो मेरो छोराको विषय मात्रै होइन। यसमा गम्भीर नबने मेरो छोराजस्तै अरूको छोरा पनि लापरबाहीको शिकार हुनसक्छन्,” उनी भन्छन्, “देशैभरि घटना हुँदा पनि किन सरकार मौन छ? किन कोही सांसद यो विषयलाई सदनमा उठाएर कानून बनाउने प्रस्ताव गर्दैनन्?”


सम्बन्धित सामग्री