Friday, May 03, 2024

-->

यात्रा अनुभवः युद्धमा रहेको रुस पुग्दा

रुसी बजारमा यतिबेला अमेरिकी डलर कार्ड वा नगद कहीँकतै पनि चल्ने अवस्था छैन। बरु, युरो र भारतीय रूपैयाँको कारोबार सहज देखियो। कतिपय साथीहरूले अमेरिकी डलर बोकेकै भरमा बेखर्ची हुनुपर्ने अवस्था आयो।

यात्रा अनुभवः युद्धमा रहेको रुस पुग्दा

एशिया शब्दसँग छन्द मिल्दो रसिया अर्थात्, रुसबारे धेरै पहिले सुनेको, पढेको र गुनेको दुरदेश थियो। कम्युनिस्टहरूको आदर्श थलोको नमूना बसाइ, बजार र सभ्यता कस्तो होला भन्ने कौतूहल थियो।

नेपाल, भारत तथा विश्वका धेरै कम्युनिस्ट सिद्धान्त बोक्ने र वामपन्थी विचार बिखरीत भएका देशका नेताहरूले समाज नदेखेकै भरमा, साहित्य र दर्शन पढेकै भरमा वा गुरूले सिकाएको पाठको पदचाप पछ्याएकै भरमा ‘महान कम्युनिस्ट क्रान्ति’का कुरा गर्छन्। तर धेरै कुरा जति नांगो आँखाले मौनमा खुलाउँछन्, बोल्ने टिभि, रेडियो र पत्रपत्रिकाभन्दा चौडा सत्य थमाएर जान्छ। 

रुस भन्ने बित्तिकै धेरैले कम्युनिस्टको प्रयोगस्थल भन्ने अर्थमा बुझ्छन् र अबेरसम्म सोभियत संघको आरोह अवरोहबारे बोलिरहन्छन्। त्यसपछि आउने रुसको परिचय करिबकरिब आतंकसँग जोडिएको छ। त्यसको प्रचारप्रसारमा अमेरिकाले अगुवाइ गरेको देखिन्छ भने, अन्य युरोपेली मुलुकहरू पनि काँधमा काँध मिलाएर आवाजमा आवाज भरिरहेका भेटिन्छन्। तर वास्तविकता अहिलेको रुसमा गई हेर्दा निकै फरक पाइयो। 

आजको रुसको अन्तरतार युरोपसँग यति घना रूपमा जोडिएको छ कि, अमेरिका वा अन्य मुलुकहरूले चाहेर पनि भत्काउन नसक्ने नेपाल–भारतसँगको सम्बन्धजस्तो, उत्तर र दक्षिण कोरियाको जस्तो, विशेषतः रुस र युक्रेनको जस्तो। अहिले सञ्चारमा आइरहेका युद्धका त्राहिमाम खबर र स्थलगत रुसको भ्रमणमा देखिएको शून्यता र आफ्नै लय हेर्दा बदलिँदो परिवेश वा सामाजिक सञ्जाल निर्माणमा जसले अगुवाइ गर्यो त्यो देश, व्यक्ति वा समाजले कसरी बाँकीलाई डोर्याउन सक्दोरहेछ, त्यो सतही खेला चुडाउने अर्थका रूपमा रुसको भ्रमण निकै रसिलो रह्यो। 

आयात र निर्यातसँग हिस्सामा कमजोर रहेको अमेरिकासामु रुसको उपस्थिति निकै बलियो देखियो। रुसमा चीन र भारतका गतिविधि देख्न सकिन्छ। यद्यपि, संसारको अभिभावक बनेर सुस्ताएको बेलायतपछि उदाएको तत्कालीन सोभियत संघ तथा हालको रुस र अमेरिकाका सामु देखिएका चुनौती र यथार्थ निकै कहालीलाग्दा छन्। यसबारे जानकार बोल्नै पर्छ, अमेरिकाभित्र पनि यसको आवाज उठिरहेको छ। 

सम्झौँ त, भियतनाम युद्धको भयावहबारे अमेरिकीहरू कति बाँडिएका थिए र सरकारविरुद्ध सडकमा ओर्लिएका थिए। त्यो अवस्था अहिलेको रुस र बाँकी पश्चिमा मुलुकहरूको जालोले कुनै न कुनै रूपमा संकेत गर्छ। रुस–युक्रेन सम्बन्धको गहिराइमा जाँदा थाहा भयो, आजको रुसको उदय नै युक्रेनमा भएको रहेछ। रुस हाँक्ने धेरै नेताहरू युक्रेनी रहेछन्। त्यसो भए अहिलेको युद्ध कसरी सम्भव भयो? 

चीन र भारतको अस्पष्ट अडानले उत्तेजित पश्चिमाहरूलाई सामसुम पारेको अवस्था छ। आयात र निर्यातको आफ्नै साइकलमा कुदिरहेको रुसलाई अमेरिकी डलरसँगको विनिमयमा ह्रास आए पनि अर्थव्यवस्था बलियो भएको प्रमाण आफ्नै आँखाले देखियो। 

रुसी बजारमा यतिबेला अमेरिकी डलर कार्ड वा नगद कहीँकतै पनि चल्ने अवस्था छैन। बरु, भारतीय रूपैयाँको कारोबार सहज देखियो। स्थानीय कारोबार रुबल र युरोमा भएको पाइनु अमेरिकी डलरबाहकका लागि निकै दुःखद् अवस्था हो। यात्रामा रहेका साथीहरू कतिपयले अमेरिकी डलर बोकेकै भरमा बेखर्ची हुनुपर्ने अवस्था आयो। संसारलाई एउटै सूत्रले बाँध्ने अन्तर्राष्ट्रिय मुद्राका रूपमा बलियो भएको अमेरिकी डलरको अवस्था रुसभित्र कुनै स्थान नभएको पाउँदा ती दुई देशको आपसी वैरभावमा बाध्यताले जोडिएका हामी र बाँकी विश्वयात्रीहरू अलमलमा परेका थियौँ। 

क्रेमलिन स्क्वायर
विश्व राजनीतिमा क्रेमलिन स्क्वायरको महत्त्व विशेष छ। भूराजनीतिले केन्द्रीकृत गरेको स्थानको प्राचीन महत्त्व पनि त्यत्तिकै छ। सेन्ट बसिल चर्चको उपस्थिति पनि निकै पुरानो हो। बाहिरी विश्वका शोधार्थीहरू, विशेषगरी बेलायती र अन्य पश्चिमी देशका अनुसन्धाताले सन् १९८० को दशकपछि मात्र क्रेमलिनको इतिहासबारे खोज्न थालेका थिए। रेड स्क्वायरको इतिहास करिब ५०० वर्षभन्दा पहिलेको हो। युरोपका अन्य देशहरूका दरबारको तुलनामा भव्य बनाइयोस् भन्ने रुसी सम्राटको चाहनाअनुरूप यो विशाल उपस्थिति हुनपुग्यो। 

आइभन भसिलविचको समयदेखि अहिलेसम्म आइपुग्दा क्रेमलिनले धेरै उतारचढाव भोगेको पाइन्छ। आइभनलाई समस्त रुसको पहिलो जार शासक मानिन्छ। स्वर्ण डोमहरूको सुन्दरता निकै भव्य देखिन्छ। क्रेमलिनमा चम्कने रुबीका पाँचवटा ताराहरू सधैँ चम्किरहेका हुन्छन्। सन् १९३५ अगाडि ताराहरूको स्थानमा दुइमुखे चिलको आकृति थियो। सोभियत सरकारको उदयपछि ताराहरू चम्कन थाले, तर भवनको सुन्दरता, ओज र सम्मान उही रहँदै आयो। 

रुस निकै विशाल देश भइकन पनि प्रतिनिधित्व गर्ने यही क्रेमलिन स्क्वायर क्षेत्र हो। संसारकै ठूलो, तर कहिल्यै नसुनिएको जारकालीन घण्टी पनि यहीँ छ। हालसम्मकै ठूलो क्यानन पनि यहीँ भएकोले क्रेमलिनको महत्त्व सबै कोणबाट उच्च छ। बगिरहेको मस्कोभा नदीमा थामिइरहेको क्रेमलिनको स्थायी छायाँ आफैँमा अलौकिक छ। 

लेनिनको वाचाल शारीरिक अस्तित्वभन्दा उनको सजीव चेतनाको सक्रियता विश्वभरका कम्युनिस्ट समाजमा हुर्किरहेको छ। रसायनले ब्युँताएको, धोइपखाली सौन्दर्य साधनले बल्दो लेनिनको भौतिक शरीरको दर्शन संसारभरका सबै राता वामपन्थी र सेता शुभचिन्तकहरूका लागि उत्तिकै महत्त्वको छ। अत्यधिक प्रेम, सम्मान र श्रद्धाका व्याख्या थरिथरिका हुन्छन्, चीनमा माओ, उत्तर कोरियामा किम, रुसमा लेनिन र केही क्रिश्चियन गुरुहरूका शरीरलाई पनि जस्ताको तस्तै राखिएको छ। हेर्नेहरूको घुइँचो हुन्छ।

हामी पुग्दा हँसिया हथौडासहितको गोलो सूर्यको भीमकाय संकेतलाई क्रेनले चर्चको मध्यभागतर्फ उठाएर राख्दै थियो। भीडमाझ कसैले कारणबारे बोल्यो– ‘नाजी जर्मनीमाथि सोभियत संघले विजय पाएको दिनको सम्झना सम्मानमा ९ मे लाई सन् १९४५ देखि विजयोत्सवका रूपमा मनाइँदै आइएको छ।’ 

जोसेफ स्टालिनले भनेको ‘लङ लिभ आवर भिक्ट्री’ कहिलेसम्म बाँचिरहला भन्ने त थाहा छैन, तर क्रान्ति प्रतिक्रान्ति, विद्रोह, शान्ति र फेरि विद्रोहको श्रृंखला सभ्यताको अविरल प्रकृति रहेछ जस्तो लाग्छ। हिरोहरू जसै जन्मन्छन्, बन्छन् र हराउँछन् पनि। लेखिने र मेटिने शब्दको सातुमा मैले रुस भ्रमण अवधिभर भोड्का मिसाइरहेँ र वर्षमा लामो चिसो लिइ आउने मौसमवाहकलाई अर्पण गरिरहेँ।

रेड स्क्वायर नजिकै भव्य मल छ। विश्व ब्राण्डका मुख्य सामग्री पाइने उक्त मलमा साथीहरूसँग करिब एक घण्टा समय खर्च गरियो। धेरै पहिले त्यहाँ स्थानीय सामग्रीहरू सुपथ मूल्यमा पाइने गर्थ्यो, अहिले महँगा विदेशी ब्राण्डले स्थान लिएका छन्। प्रायः पसलहरूमा चहलपहल छ, कुनै पनि खालको युद्धका संकेत छैनन्। ग्राहकहरू सुरक्षितरूपमा परिभ्रमण गरिरहेका छन्। 

सेन्ट पिटर्सबर्ग
पेट्रोग्राद, लेनिनग्राद हुँदै सेन्ट पिटर्सबर्ग बन्न पुगेको शहरको कथा पनि निकै सुन्दर छ। हरेक शहर र नगरको इतिहास बेग्लाबेग्लै हुन्छ, तर धेरैको समानता नदी तट वा समुद्री किनाराको सभ्यता भने उस्तै–उस्तै हुन्छ। निभा नदीको सुन्दरतामा सेन्ट पिटर्सबर्ग बगिरहेको देख्नेहरूले यस शहरलाई भेनिस अफ दि नर्थ भनेका छन्। मलाई पनि त्यही नामको पुकारा सुन्दर लाग्यो, साँघुरो युरोपियन बसाइलाई अझ भव्य बनाउन सकिन्थ्यो भने त्यो सेन्ट पिटर्सबर्ग हुनेछ। नगरमा फोहोरको समुचित समाधान र रोजगारको उपलब्धता हुने हो भने, जाडोलाई बिर्साउने महिनाहरू पातलिएर जानेछन्। 

सर्वाधिक आकर्षण भने पिटरह्फ प्यालेस रह्यो, जसको शाब्दिक अर्थ पिटरको कचहरी भन्ने हुन्छ। युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको यस दरबारको संरक्षण निकै उदाहरणीय छ। सन् १७०० भन्दा पहिलेदेखिको इतिहास बोकेको यस दरबारको स्वरूपहरू समयसँगै, शासकहरूको रुचिअनुसार बदलिँदै गएको थियो। 

अलेक्जेन्ड्रिन पार्क र अपर गार्डेनको सुन्दरता पनि प्रकृतिप्रेमीहरूका लागि अचुक गन्तव्य बन्छ नै। २० मिटर माथिसम्म जाने पानीको फोहोरा (समसन फाउन्टेन) र वरपर पोखरीमा दरबारका विभिन्न भागहरू प्रतिबिम्बित भएको देख्न सकिन्छ। सन् १९४१ मा जर्मन सेनाले आक्रमण गर्दा कैयौँ मौलिक भवन क्षेत्रहरूमा क्षति पुगेको भए पनि युद्ध सकिनेबित्तिकै तत्कालै दरबारलाई सोभियत सरकारले पुरानै स्वरूपमा फर्काएको थियो। इतिहासको गौरव र गाथालाई जस्ताको तस्तै संरक्षण राखिनुपर्छ भन्ने चेत आफैमा सुन्दर कर्म थियो। कतिपय देशहरूमा नयाँ राजनीतिक व्यवस्था आउने बित्तिकै पुराना कुरालाई जरैदेखि फाल्ने र नयाँ स्थापित गर्ने गरेको देखिन्छ। त्यसरी इखको सभ्यतामा नगइ रुसी नेतृत्वमा रहेकाहरूले समयक्रमसँगै इतिहासका धरोहरलाई पनि चुस्त र संरक्षित अवस्थामा राखेको पाउँदा रोचक लाग्यो। 

सेन्ट पिटर्सबर्गको थिएटर अनुभव पनि गज्जबको रह्यो। मिखाइलोभस्की थिएटरमा ‘द सिलिपिङ ब्युटी ब्याले’ हेर्दाको अनुभूति अत्यन्तै भव्य थियो। समकालीन रुसी थिएटरहरूको चर्चा गर्दा यस थलोको नाम सेन्ट पिटर्सबर्गकै सबभन्दा उत्कृष्ट सांगितिक थिएटरका रूपमा लिइन्छ। यस ब्यालेको पहिलो शो १६ डिसेम्बर २०११ मा गरिएको थियो। तीन खण्डको सांगितिक प्रस्तुतिमा प्योटर टेकाइकोभस्कीको जादू जति वर्णन गरे पनि कमै हुन्छ, जति पल्ट हेरे पनि धित नमर्ने खालको छ। दुइ घण्टा पैतालीस मिनेटको ब्यालेमा सिम्फोनो अर्केष्ट्राको क्लासिकल स्वाद अनि कताकता ज्याजमय माहोल पनि बनायो। कोरियोग्राफर नाचो डुआटोको सिल्पलाई सुन्दर परिकथाको स्टेज र पात्र चित्रणमा झण्डै ९०० दर्शक पनि त्यही कथाभित्रै पन्छी वा पुतलीजसरी भाग लिइरहेको भान हुन्थ्यो।   

युद्धको छायाँमा रुस–अमेरिका 
हामीले रुस छाडेको केही दिनमा क्रेमलिन भवनमा ड्रोन आक्रमण भएको समाचार सुनियो। तर, ती झिना आक्रमणका पछाडि र अन्य विगतमा भएका र भविष्यमा हुने सबै आक्रमणहरूमा पश्चिमा, विशेषगरी अमेरिकाको हात छ भन्ने विश्वास अधिकांश रुसीहरूमा भएको मैले पाएँ। रुसी जनमानसमा अमेरिकाविरोधी भावना बाक्लोरूपमा फैलिरहेको मैले पाएँ। त्यो वास्तविकतालाई रुसले कुटनीतिमार्फत आफ्ना सहयोगी देश चीन र भारतसम्म पनि सहजै प्रवाहित गरेको जान्न गाह्रो भएन। 

विश्व राजनीतिमा देखिने तत्व र भूगोलको स्वामित्व भएको गर्जन गर्ने ख्वामितहरू केवल रमिते हुन् र सबैलाई आफ्नो हतियार बेच्नु परेको छ, युद्धलाई व्यापारीकरण गर्नु परेको छ भन्ने तथ्य बुझ्नेहरूको संख्या धेरै छ। प्रविधि र समाचारका कारण अमेरिकाको आलोचना रुसभित्र मात्र होइन, संसारभर पुगिरहेको छ।

अमेरिकी सुरक्षाको क्षेत्रमा काम गर्ने रिपोर्टले भन्छ– अफ्रिकाको दानवीकरण गोरो छाला भएका देशहरूले गरेका छन्। हत्या, हिंसाको गणितलाई हेर्ने हो भने, जतिको संख्यामा अफ्रिकामा हत्या हिंसाका घटनाहरू हुन्छन्, त्योभन्दा बढी अमेरिकाभित्र भइरहेका हुन्छन्। तर त्यहाँको प्रसाशन र गोप्यताका कारणले केवल थोरै घटनाहरू प्रकाशमा आएका हुन्छन्। 

रुस र अमेरिकाको सम्बन्धलाई हेर्दा आणविक शक्तिका अलावा दुइ देशको प्रतिस्पर्धा अन्तरिक्षको शोधमा पनि उत्तिकै छ। सोभियत संघको अवसानपछि तत्कालीन रुसी राष्ट्रपति बोरिस यल्तसिनले सन् १९९१ देखि १९९९ सम्म अमेरिकासँगको सम्बन्ध सौहार्दपूर्ण राखिरहेका थिए। जसै नाटोले युगोस्लाभियामा सन् १९९९ मा आक्रमण गर्यो, रुसले त्यसैलाई आधार बनाएर आजसम्म पनि अमेरिकालाई संशयका रूपमा हेरिरहेको छ। 

सन् २०१२ देखि रुसको शक्तिमा रहेका भ्लादिमिर पुटिनसम्म आइपुग्दा युक्रेनको विषयलाई लिएर होस् वा सिरिया युद्धको प्रसंगमा होस् वा अमेरिकाले लगाउने गरेको आरोप, सन् २०१६ र २०२० को चुनावमा रुसको सक्रियतालाई नै ठूलो प्रश्न बनाइराखेको अवस्था छ। 

आजको परिस्थितिले युवामा शत्रुताको बढ्यो भने भोलिको अवस्था अझै फरक हुनसक्छ। अमेरिकाको तुलनामा भौगोलिक रूपमा रुस ठूलो छ, जनसंख्याको हिसाबले अमेरिकीहरूको संख्या हाबी छ। दुवै देशको दबदबा सैन्य बलमा आधारित छ। सैन्य सामग्री र संख्याका हिसाबले रुस बलियो देखिन्छ। उता अमेरिकी सुरक्षा प्रविविधिमा आधारित भएकाले को भन्दा को कमको अवस्थामा छन्। 

यी दुई ठुला देशको छायाँमा बाँकी विश्वको उतारचढाव भइरहेको देखिन्छ। युरोपेली संघका सदस्य देशहरूसँग रुसको प्रत्यक्ष व्यापारिक सम्बन्ध छ, जुन अमेरिकाका लागि टाउको दुखाइको विषय भएको देखिन्छ।

अहिलेको अवस्थालाई हेर्ने हो भने, रुस एक्लै र बाँकी विश्व एकातिर भएजस्तो गरी युद्धको ब्राण्डिङ गरिएको छ। वास्तविकता, रुस लगायत विश्वशक्ति चीन र भारतको अग्रगामी विकास अमेरिका र अन्य देशका लागि टाउको दुखाइको विषय हो। तसर्थ अमेरिकी राजनीतिमा प्रभाव पार्ने युद्ध अपराधीहरूको पहुँचका कारण ह्वाइटहाउसको ठाडो आदेशमा कैयौँ देशहरूले आफ्ना दूतावासहरूमा ‘वी आर विथ युक्रेन’ टाँसेर खुलारूपमा युद्ध छेडेको देखिन्छ। 

पछिल्लो कालखण्डमा रुस र युक्रेन भ्रमण गर्नेहरूले रुसी जनजीवन र युक्रेनी जनताको शान्तिको कामनालाई विदेशी शक्तिले कसरी दुरूपयोग गरिरहेका छन्, छर्लङ्ग हुन्छ। रुस भ्रमणमा भेटिएका धेरै पर्यटकहरू भन्थे पनि, ‘वि आर विथ रसिया।’ 

बदलिँदो अर्थतन्त्र र राजनीति
कार्ल मार्क्सको पूँजीवादी दर्शन अब सिमेट्रीमा सेतो कालो धब्बा भएको ओभरकोट लाएर प्रियतमलाई मौनमा पुकारा गरिरहेको प्रेमील आत्माले अँगालेको रङ र चर्चगार्डेनमा ठडिएका ढुंगाको रङ एकै छन्। रुसी समाजले अर्थतन्त्रको महत्त्व बुझेर लेनिनले चिन्तनको भूमिलाई स्टालिनले रातोतातो वेगमा गति दिएर गए भने, त्यसपछिका नेताहरूले पनि हँसिया र हथौडा प्रेमभन्दा पनि अर्थतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेतर्फ पाइला चालेको देखिन्छ। यसरी, उनीहरू हरेक नागरिकले प्रत्याभुत गर्न सक्ने परिवर्तन ल्याउन कस्सिए। ती सबैको जोडफल आजको रुसी समाज हो। 

चीनभन्दा कैयौँ गुणा मुखरीत समाज रुसको छ। भारतीय समाजका लागि पनि आजको रुससम्म आइपुग्न निःसन्देह दशकौँ लाग्ने छ। विश्वशक्तिको उतारचढावलाई हेर्दा रुसमा पुटिन, चीनमा सी चिनफिङ र भारतमा नरेन्द्र मोदीको बर्तुलता शीर्ष पदको वरपर घुमिरहेको छ। उनीहरूको भित्री लालसा यसरी बाक्लो रङले पोतिएको छ कि, पदमा रहन सकिएन भने आफ्नो देशको दशा प्रतिकूल भएर जाने ठान्छन्। 

संसारभरका विभिन्न देशहरूमा कम्युनिस्टहरूले आफ्नै रूपमा व्याख्या र अर्थसहित मार्क्सवाद, लेनिनवाद, माओवाद चिन्तनलाई अंगिकार गरेको पाइन्छ। उत्तर कोरियाको नीति पनि करिब त्यसकै प्रतिध्वनी हो भने, क्युबा पनि सोही रूपमा अघि बढेको छ। कम्बोडियामा पोलपोटको उदय र अवसानपछि एकखाले निरकुंश राजनीतिले प्रश्रय पाएको छ। तर त्यसको ‘साइड इफेक्ट’ चुलिँदो विकासक्रमलाई पनि अस्विकार गर्न सकिँदैन। 

चीनले माओको चिन्तनलाई देङ स्याओ पिङ हुँदै चिनफिङसम्म आइपुग्दा मौलिक परिभाषा गर्दै खुला अर्थनीतिलाई अवलम्बन गरेको छ। रुसको स्वभाव पनि बदलिँदो विश्व अर्थतन्त्रमा बलियो देश बनेर बसेको छ। मानवीय अत्यावश्यक पदार्थहरूको उपलब्धताले युरोप र बाँकी विश्वमा रुसले अमेरिकाको एकाधिकारलाई तोडेको छ। आफैँले उत्पादन गर्ने र उपयोगितामा विश्वास गर्ने रुसका लागि अन्य देशहरूलाई उपलब्ध गराउनु भनेको देशका लागि आवश्यक अर्थोपार्जन गर्नु हो। युक्रेन युद्धको निहुँमा पश्चिमा देशहरू एक ठाउँमा उभिएका बेला रुसले ग्यास, इन्धनलगायतका आवश्यक सामग्रीहरू भारत र चीनमार्फत बाँकी विश्वलाई बेचिरहेको छ। यही गति र तीव्रतामा रुसले काम गरिरह्यो भने विश्वको सर्वाधिक उत्पादनशील राष्ट्र बन्न सक्छ। 

आणविक हतियार र अन्य युद्धकौशलका सामग्रीहरू पनि विश्वका कतिपय देशहरूलाई रुसले बेचिरहेको छ। भारतले हतियार खरीदमा सबैभन्दा बढी रुससँग निर्भरता राख्ने गर्छ। त्यस्तै अन्य देशहरू पनि छन्, जसले खुलारूपमा नभई आन्तरिकरूपमा रुससँग बलियो सम्बन्ध स्थापित गरेर आफ्नो सैन्यक्षमतालाई वृद्धि गरिरहेका छन्। 

आउँदा दिनहरूबारे 
रुसी साहित्यको गरिमा र उचाइ जति बृहत छ, त्यो कल्पनाशीलता र बौद्धिकताको उचाइमा आउँदो रुसले हासिल गर्ने छ। नूतनकालमा रोपिएको चेतनाको बिज फुल्ने, फल्ने र परिणाम देखाउने बेला आइरहे झैँ लाग्छ। विश्वका मानव समुदायका लागि उपयोगी दर्शन र साहित्य रचना गर्ने रुसी समाजको संस्कृति र जीवनयापन अरुभन्दा भिन्द छैन भन्ने देखाउने रचनाहरू धेरै छन्। ती उत्कृष्ट रचनाहरूले पुरस्कारलाई तिरस्कार गर्दै नोबेल बिजेता कृतिहरूभन्दा कैयाँै गुणा बढी विश्व नागरिकहरूको मन जितेर लोकप्रियता कमाएका छन्। जसको तौल नोबेलको भन्दा धेरै गुणा बढी छ। 

संसारकै सर्वप्रिय लेखक लियो तोल्सतोयले बारम्बार रुसी एकेडेमी अफ साइन्सले नोबेल पुरस्कारका लागि सिफारिस गर्ने आफ्नो नामको साटो अरु नै लेखकलाई पठाउन अनुरोध गरेका थिए। उनले भनेका थिए, ‘पुरस्कारवापत् आउने रकम हात लाग्नबाट अहिलेसम्म आफूलाई बचाएको छु। मेरो दृष्टिमा यो पुरस्कार राशीको रकम पनि अन्य रकमले झैँ राक्षसी राप मात्र ल्याउने हो।’

त्यस्तै, अर्का महान् लेखक म्याक्सिम गोर्कीले पनि नोबेल पुरस्कार पाएनन्। भनिन्छ, स्विडेनका राजाले कम्युनिस्ट लेखकलाई कहिल्यै यो पुरस्कार दिने छैनन्। तर, सोभियतको विरोधमा उभिएका गोर्की भन्दा निकै कमसल लेखक बुनिन्लाई रुसी प्रवासीको रूपमा सम्मान दिएर सोभियत सरकारलाई चिढाएका थिए। अर्का रुसी लेखक दिमित्री मेरजेस्कोभस्की, जसले ‘क्राइष्ट एण्ड एन्टीक्राइष्ट ट्रिअलजी’ लेखेर युरोपमा सर्वाधिक लोकप्रियता कमाएका थिए, जो दशपल्टसम्म नोमिनेसनमा परेर पनि अस्विकृत भएका थिए। 

विश्वराजनीतिको चेपमा साहित्यलाई राखिनुहुन्न, चाहे त्यो स्वदेशभित्रको पुरस्कारको सीमारेखा होस् वा विश्वस्तरको। साहित्यलाई साहित्यकै रूपमा हेरिनुपर्छ। सोहीअनुरूप सम्मान गरिनुपर्छ। संसारभरका साहित्यक चेत भएका अनुरागीहरूले यही बताइरहेका छन्। 

वास्तवमा पूँजीलाभको जोडघटाउमा लागिरहेका देशहरूको मौलिक संस्कृति छैन। तर, रुसको विविधता र मौलिकता सोभियतकाल सकिएपछि पनि जस्ताको तस्तै छ। आत्मनिर्भरको पाटोमा विश्वका धेरै देशहरूले आधुनिक रुसबाट सिक्न सक्छन्। रुसी संस्कृति, साहित्य र कलाका माध्यमहरूमा मानवजातिलाई उत्कृष्ट बनाउँदै समुचित समाजको परिकल्पना गरेका छन्।


सम्बन्धित सामग्री