Thursday, May 09, 2024

-->

व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम हरिचौर बजार

बागलुङको पुरानो सदरमुकाम हरिचौर बजार क्षेत्रमा आवश्यक पर्ने विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ। सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ।

व्यवस्थित बन्दै बागलुङको पुरानो सदरमुकाम हरिचौर बजार

बागलुङ- हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो। साँघुरा ठाउँमा अव्यवस्थित बस्तीका कारण बजारको सौन्दर्य हराउँदै गएको छ। तर, गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रूपमा विकास गरिरहेको छ।

बजार क्षेत्रमा आवश्यक पर्ने विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ। सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ। चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी  वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ वडाध्यक्ष पवन हमालले बताए। 

नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ६ लाख रुपैयाँले उद्यान निर्माणको शुरूआत गरेको छ। नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि हरेक वडामा बालउद्यानलगायतका संरचना निर्माण थालिएको वडाध्यक्षहमालले बताए। उनले बजार नजिकैको दुई रोपनी सार्वजनिक जग्गामा बालउद्यान निर्माण भइरहेको जानकारी दिए। 

बालउद्यानसँगै ढल व्यवस्थापनलगायतका कामसमेत भइरहेको छ। बालउद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरी सम्याएर संरचना निर्माण गर्न थालिएको वडाध्यक्ष हमालको भनाइ छ। उद्यानसँगै बगैँचासमेत व्यवस्थापन गरिनेछ। अहिले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्री राखिएको उनले जानकारी दिए।

अहिलेसम्म बजार क्षेत्रमा कुनै पनि तनाव व्यवस्थापन गर्ने स्थल नभएको भन्दै वडा कार्यालयले छोटो समय भए पनि भुल्ने स्थान बनाउन थालेको अध्यक्ष हमाल बताउँछन्। आफूहरूले हरिचौर बजारलाई समेत थप व्यवस्थित र बालमैत्री बजारका रूपमा विकास गर्न थालेको उनको भनाइ छ।

“यस वर्षदेखि हामीले बजार व्यवस्थापन गर्नुका साथै बालउद्यान निर्माण गर्न थालेका छौँ, बजार तीव्ररूपमा विस्तार हुँदैछ, दिनदिनै भिडभाड हुने हुँदा शान्त हुने ठाउँको अभाव पनि छ, त्यसले गर्दा मान्छेलाई एकैछिन भए पनि ‘फ्रेस’ हुन र मनलाई शान्त पार्नका लागि बालउद्यान निर्माण गरेका हौँ”, अध्यक्ष हमालले भने, “खासगरी बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी यो निर्माण गरेका हौँ, यस वर्ष केही काम भएको छ, आगामी वर्षको बजेटले पूर्णता दिनेछौँ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले हरिचौर बजारको सौन्दर्यीकरण गरी व्यवस्थित बनाउन नगरपालिकाले मापदण्ड बनाएको बताए। बजारमा तीव्ररूपमा भवनहरू बनिरहेको भन्दै अब निर्माण हुने सबै संरचना नगरपालिकाले बनाएको मापदण्डअनुसार बनाउनुपर्ने प्रवक्ता भण्डारी बताउँछन्। यहाँ ऐतिहासिक गलकोट दरबार छ। हरिचौर हुँदै पर्यटकीयस्थल टेउवाको मूर्तिकला पुगिने हुँदा बजारमा विभिन्न संरचना बनाउन थालिएको उनको भनाइ छ।


सम्बन्धित सामग्री