Monday, May 06, 2024

-->

कोरोना संक्रमण शुरूआतको संकेत– सतर्क नभए ‘आउटब्रेक’

विभिन्न सञ्चारमाध्यममा सरुवा रोग विज्ञहरूले ओमिक्रोनका सबभेरियन्ट संक्रामक भए पनि कम घातक रहेको बताइरहेका छन्। यसकारण आममानिसले सजगता नअपनाएर लापरबाही गर्न सक्छन्। त्यसले ‘आउटब्रेक’ निम्त्याउन सक्छ।

कोरोना संक्रमण शुरूआतको संकेत– सतर्क नभए ‘आउटब्रेक’

कुनै रोगको संक्रमण फैलिने शुरूआती अवस्थालाई ‘फ्लेयर–अप’ भनिन्छ। अर्को शब्दमा, कुनै पनि संक्रमणको आकस्मिक शुरूआत (आउटब्रेक) हुनुअघिको अवस्था फ्लेयर–अप हो।

गत हप्ताबाट नेपालमा कोरोना संक्रमणको पुनः फ्लेयर–अप भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै चैतमा देशभर गरेको र्‍यान्डम नमूना संकलन तथा परीक्षणमा २४ जनामा शतप्रतिशत ओमिक्रोनका सबभेरियन्ट पुष्टि भएको जनाएको छ।  ती सबभेरियन्टमा ओमिक्रोन बीए १.१, ओमिक्रोन बीए २, ओमिक्रोन बीए २.७६, ओमिक्रोन बीए ५, ओमिक्रोन बीए ५ं.२, ओमिक्रोन एक्सबीबी १.१६, ओमिक्रोन एक्सबीबी १.५, ओमिक्रोन एक्सबीबी २ं.६, ओमिक्रोन एक्सबीएफ छन्।

चैतको दोस्रो सातासम्म शून्यबाट क्रमशः ५० जनाभन्दा माथि नयाँ संक्रमित पुष्टि नभएको अवस्था थियो। तर, सोमबार २ हजार ५६६ संकलित नमूनामध्ये १२४ जनामा संक्रमण पुष्टि भएको छ। तीन हप्तायताको नमूना संकलन र परीक्षणमा संक्रमितको संख्या बढ्दै गएको छ। 

छिमेकी देश भारतमा अप्रिल पहिलो हप्तामै ३२ हजार ४७८ नयाँ संक्रममित भेटिएका थिए। यही अवधिमा ७८ जनाको मृत्यु भएको तथ्यांक अप्रिल १० मा सार्वजनिक भएको थियो।

भारतमा ओमिक्रोन एक्सबीबी १.१६ फैलिएको छ। खुला सिमाना र कमजोर सुरक्षा चेकपोष्टका कारण भारतबाट उक्त सबभेरियन्ट नेपालमा आउन सक्ने सम्भावना उत्तिकै छ। यसबाट फ्लेयर–अप शुरू हुन्छ। फ्लेयेर–अप यसकारण पनि महत्वपूर्ण छ कि, बेलैमा हस्तक्षेप गर्न सकेमा जुनसुकै संक्रामक रोगबाट बच्न सकिन्छ। 

कतिपय संक्रमित भएका, तर लक्षण नदेखिएकाहरू विभिन्न स्थानबाट घरगाउँ फर्किन्छन्। कमजोर चेकजाँच र आममानिसले पनि तत्काल स्वास्थ्य सतर्कता नअपनाउँदा कोरोना संक्रमण फैलने प्रशस्त अवधि हुन्छ। अन्ततः यही फ्लेयर–अपले आउटब्रेकको स्वरूप लिन्छ। 

फ्लेयर–अपलाई ठोस संकेतको रूपमा मानिए पनि आउटब्रेक भइहाल्छ भनेर मान्न सकिने अवस्था पनि हुँदैन। यसका विविध कारण छन्। हाल, मौसमी परिवर्तनसँगै कोरोना संक्रमितको संख्या वृद्धि भएको छ। रुघाखोकी लाग्ने, ज्वरो आउनेलगायत लक्षण मौसमी फ्लुसँग मिल्दोजुल्दो हुन्छ। यी लक्षण मौसमी–फ्लु वा कोरोनाको हो भनेर छुट्याउन सक्नु पर्छ। बिरामीले चेकजाँच गरे मौसमी–फ्लु मात्र हो वा कोरोना संक्रमण छुट्याउन सकिन्छ।

रोग संक्रमणका माध्यम
संक्रामक रोग सर्ने प्रमुख चार माध्यम हावा, पानी, भेक्टर (किराको टोकाइ) र फंगस हुन्। जसमध्ये, हावाबाट सर्ने रोग अझ छिटो सर्छन्। मौसमी रुघाखोकी र कोरोना भाइरस यसैमा पर्छन्। 

हावाको माध्यमबाट सर्ने रोगका लागि फ्लेयर–अपको अवधि अझ छोटो हुन्छ। एकै दिनमा चार जना संक्रमितले ४०० जनालाई सार्न सक्छन्। झाडापखाला, हैजाजस्ता पानीको माध्यमबाट सर्ने रोगको ‘फ्लेयर–अप’ अवधि तुलनात्मक रूपमा लामो हुन्छ। 

डेंगीजस्तो किराको टोकाइबाट सर्ने रोग पनि छिटै सर्ने सम्भावना हुन्छ। विशेषतः छालासँग सम्बन्धित रोग फंगसका कारण सर्ने गर्छन्। यस्तो रोगको पनि फ्लेयर–अप अवधि छोटो रहन्छ। 

नयाँ भेरियन्टः सजगता आवश्यक
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार अहिले कोरोना संक्रमण गराउने भेरियन्ट ओमिक्रोनका सबभेरियन्ट हुन्। विभिन्न सञ्चारमाध्यममा विज्ञहरूले यी सबभेरियन्ट संक्रामक भए पनि कम घातक रहेको बताएका छन्। यसकारण आममानिसले सजगता नअपनाएर लापरबाही गर्न सक्छन्।

तुलनात्मक रूपमा यी भेरियन्ट कम घातक होला, तर आउटब्रेक नियन्त्रणमा सजग रहनुपर्छ। अहिले फैलिएको भेरियन्ट अर्को कुनै भेरियन्टसँग ‘म्युटेशन’ भएर अझ घातक नहोला भन्न सकिन्न। 

चेतना व्यक्तिगत विषय पनि हो। गत वर्ष यो बेला हामी मास्क लगाउने, साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने चलन बसिसकेको थियो। स्वतन्त्रता एउटा मावनीय गुण हो। हरेक मानिस स्वतन्त्र रूपमा हिँड्न खोज्छ। कतिपयलाई मास्क लगाउन मन पर्दैन।

गर्मी मौसम शुरू भएको छ। अब तापक्रम बढ्दै जाँदा कतिपयलाई एकछिन पनि मास्क लगाउन गाह्रो लाग्छ। क्षणिक सहजता हाम्रो लागि प्यारो हुनसक्छ। मास्कले पूरै रोकथाम गर्छ भन्ने होइन। तर, हामीले अपनाउनु पर्ने सजगता भने महत्वपूर्ण छ।

सम्बन्धित सरकारी निकायको जिम्मेवारी
कोरोना फैलनुमा आममानिसलाई मात्र दोष दिन मिल्दैन। मानवीय गुण बुझेर सम्बन्धित मन्त्रालय तथा जनस्वास्थ संस्थाले बेलाबेला नागरिकलाई स्वास्थ्य चेतनाको अभियान चलाउनुपर्छ।

हामीसँग स्वास्थ्य चेतना कम छ। यसको कारण शिक्षाको कमी पनि हो। सामाजिक जीवनशैलीमा स्वास्थ्य र शिक्षाप्रति सचेतता अपनाउनेको संख्या कम छ। 

हाम्रो व्यक्तिगत चाहना र मानसिकताका कारण पनि जीवनशैली परिवर्तन गर्न सकेका छैनौँ। ‘हामीले कोभिडलाई जित्यौँ’ भन्ने धारणा धेरैमा विकसित भएको छ। जुन गलत हो। कोभिड जुनै बेला जुनसुकै रूपमा परिवर्तन भएर आउन सक्छ। यसलाई मनन गरेर सरकारका सम्बन्धित निकायले समय–समयमा जनचेतनाको कार्यक्रम चलाउनु पर्छ। 

फ्लेयर–अपको समयमा छुटाउन नहुने अर्को पक्ष हो, खोप। आममानिसलाई खोप लगाउनको लागि प्रोत्साहन गर्नुपर्छ। सरकारले खोप लगाएको तथ्यांक अध्ययन गरी छुटेकाको पहिचान गरेर लगाउन प्रोत्साहन गर्नुपर्छ।

फ्लेयर–अपमा हस्तक्षेप जरुरी
फ्लेयर–अपमा पहिलो जोड व्यवहारिक हस्तक्षेपका लागि हुनुपर्छ। दैनिक जीवनमा व्यवहारिक सतर्कता आवश्यक हुन्छ। जस्तो, मास्क लगाउने, साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्नेलगायत व्यवहारिक पाटोमा सम्बन्धित संस्थाले आमनागरिकलाई सुसूचित गर्नुपर्छ।

हरेक नागरिकका लागि खोप पनि अर्को महत्वपूर्ण विषय हो। ग्रामीण र अझ दलित तथा सीमान्तकृत वर्ग रहेको क्षेत्रमा खोपको पहुँच नभएको हुनसक्छ। यसमा तदारुकताका साथ काम गर्नुपर्छ। त्यस्तै, सामाजिक व्यवस्थामा घरबाहिर मानिसबीचको भौतिक दूरी ६ फिट कायम राख्ने विषय पनि पर्छ।

हस्तक्षेपका विभिन्न चरण हुन्छन्। जबसम्म मानिस संक्रमित हुँदैन, तबसम्म चिकित्सा हस्तक्षेप आवश्यक पर्दैन। कोरोना संक्रमित नै भएपछि भने औषधी, उपचारमूलक विधिमा जाने गरिन्छ। 

यसपटक कोरोनाको फ्लेयर–अप शैक्षिक सत्रको अन्त्यमा भएको छ। यसकारण स्कुले बालबालिका बिदामा घरमै छन्। यसले पनि संक्रमणदर कम गराएको छ। नत्र, स्कुल र बालबालिकाबाट अझ धेरै संक्रमणको सम्भावना रहन्थ्यो।

यसअघिका कोरोनाकालले सरकारको स्वास्थ्य प्रणाली र व्यवस्थापन कति कमजोर छ भन्ने दर्शाएको छ। अबको लागि सम्बन्धित निकायहरूले ध्यान दिने विषय भनेको निगरानी हो। 

कोरोना संक्रमणमा मन्त्रालयले २४ घण्टे निगरानी र तथ्यांक संकलन गरिरहेको छ। तर, यसबाहेक अन्य संक्रामक रोगमा भने एक हप्ताको संक्रमण तथ्यांक र निगरानी राख्ने गरेको छ। अन्य संक्रमित रोगलाई पनि कोराना जसरी नै निगरानीमा राख्नु पर्छ। उदाहरणका लागि, भोजपुरमा हैजा वा डेँगी फैलियो भने, त्यसको सात दिनपछि मात्र तथ्यांक आउँछ। त्यस अवधिसम्म हैजा निकै फैलिसकेको हुन्छ र आउटब्रेकको सम्भावना रहन्छ।


महामारी रोग विशेषज्ञ डा. ढकालसँगको कुराकानीमा आधारित।


सम्बन्धित सामग्री