Sunday, April 28, 2024

-->

नेपालमा सेरोटाइप–२ स्वरूपको डेंगी अत्यधिक, सावधानी अपनाउन आग्रह

पानी जमेको सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी लाग्ने गर्छ।

नेपालमा सेरोटाइप–२ स्वरूपको डेंगी अत्यधिक सावधानी अपनाउन आग्रह

काठमाडौँ– नेपालमा डेंगीको सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो।

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले सेरोटाइप–२ स्वरुपको डेंगी ४१ प्रतिशत देखिएको जानकारी दिए। महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमूना परीक्षण गरेको थियो।

परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ। उहाँले तीमध्ये सेरोटाइप–१ केहीमा र सेरोटाइप–३ पनि देखिएको छ। सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमूना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ।

मानिसमा एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप भए खतरनाक हुने उनको भनाइ छ। अहिलेसम्म नेपालमा डेंगी संक्रमणका चारवटै स्वरूपका सेरोटाइप देखिएका छन्। एउटा स्वरुपको सेरोपाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ।

“चारैवटै सेरोटाइपको भिन्न भन्ने हुँदैन। जुन सेरोटाइप लाग्छ, त्यसले रोगविरुद्धमा लड्ने क्षमता विकास गर्छ,” उनले भने, “तर एउटा सेरोटाइप लागेर अर्को सेरोटाइपको संक्रमण भएपछि त्यसको लक्षण बढी खतरानक हुन्छन्।”

डेंगी संक्रमण दुईपटक लागेपछि बढी संक्रामक रहेको हुन्छ। “पहिलोपटक सेरोटाइप–१ डेंगीको स्वरूप देखिएको छ भने अर्कोपटक संक्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ,” उनले भने, “यसरी पुनः डेंगी देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्छ।” डेंगी भाइरसको प्रोटिनको संरचनाका आधारमा सेरोटाइप छुट्याइने गरिन्छ।

शाखा प्रमुख डा. दाहालले पहिलोपटक लागेको सेरोटाइपले  शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताए। महाशाखाका अनुसार पुसयता मात्र पाँच हजार ६८८ जनामा संक्रमण देखिएको छ। सबभन्दा बढी सुनसरी जिल्लामा तीन हजार ४८६ जनामा देखिएको छ।

लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा संक्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ। डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि लाग्ने गर्छ। 

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।


सम्बन्धित सामग्री