Saturday, April 27, 2024

-->

लोप हुँदै कुमाल समुदायको पेशा

परिश्रम धेरै गर्नुपर्ने तर मूल्य कम पाइने भएकाले माटाको भाँडा बनाउने पेशा धान्न मुस्किल परेको कुस्मा नगरपालिका–८ का भीमबहादुर कुमालको भनाइ छ।

लोप हुँदै कुमाल समुदायको पेशा
फाइल तस्वीर

पर्वत– माटाका भाँडा वर्तन बनाउँदै आएका कुमाल समुदायको मुख्य पेशा लोप हुने अवस्थामा पुगेको छ।

सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल जातिको पेशा हराउँदै गएको हो। २०४२/४३ बाट कुस्मा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल जातिले विकल्प खोज्न थालेका हुन्।

माटाका भाँडाकुँडा बनाउँदै आएका कुस्मा नगरपालिका–८ निवासी छविलाल कुमाल, चन्द्रकोटे कुमाल, बमबहादुर कुमाल र दुर्गाबहादुर कुमालको मृत्यु भइसकेको छ। उनीहरू माटोका हुन्डा, घैँटो, आरी, ठेकी, दियो, पाला, भुड्का बनाउँथे। त्यो सीप र कला नयाँ पुस्ताले जीवित राख्ने सम्भावना नरहेको छविलालका छोरा भीमबहादुरले बताए। 

परिश्रम धेरै गर्नुपर्ने तर सोअनुसार मूल्य नपाइने भएकाले बाउ बाजेको पेशा धान्न मुस्किल परेको उनको भनाइ छ। “माझमेलाबाट ल्याएको कालो चाम्रो माटो, खरेहा फलाम खानीको रातो माटो र काली गण्डकीबाट ल्याएको बालुवा मुछेर, कुटेर चाम्रो बनाइ औँडी बनाइ पोल्ने गरिन्थ्यो। औँडीका लागि सुकेका दाउरा, गुइँठा, हाडे उन्यू समेतको जोहो गर्नुपर्ने हुन्छ,” ८० वर्षीय चन्द्रबहादुर कुमाल भन्छन्, “अहिलेको पुस्ताले यस्तो दुःख गर्न छाडिसकेका छन्।” 

उनका अनुसार तत्कालीन समयमा कुमालले बनाएका माटाका भाँडा भोटबाट आएका भोटेले किनेर लैजान्थे। परिवारको संख्या बढेसँगै माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न कठिन हुने भएकाले पछिल्लो पुस्ताले यसको विकल्प रोज्न थालेको उनको भनाइ छ। 


सम्बन्धित सामग्री