Thursday, May 02, 2024

-->

बझाङको बाँठपाला विद्यालय: जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बाँठपाला आधारभूत विद्यालय ३५ वर्षअघि स्थापना भएको हो। स्थापनाकालका १० विद्यार्थीमध्ये वीरबहादुर सार्की र मोती सार्कीले एसएलसी पास गरेका थिए। अहिले दुवै जना सरकारी सेवामा आबद्ध छन्।

बझाङको बाँठपाला विद्यालय जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बझाङ– बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार २२ किलोमिटर टाढा छ। त्यहाँबाट डेढ किलोमिटर दूरीमा छ, भक्तपुर गाउँ। यही गाउँको  बाँठपाला आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थी दलित समुदाय मात्रै छन्। 

बाँठपालामा ९५ जना दलित समुदायका बालबालिका अध्ययन गरिरहेका छन्। एक कार्यालय सहयोगीबाहेक सबै दलित समुदायकै शिक्षक शिक्षिकाले अध्यापन गराइरहेका छन्। बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको हो। स्थापना कालका १० विद्यार्थीमध्ये दुई जनाले मात्रै एसएलसी पास गरे। वीरबहादुर सार्की र मोती सार्कीले एसएलसी पास गरेका थिए।

अहिले दुवै जना सरकारी सेवामा आबद्ध छन्। वीरबहादुर तलकोट गाउँपालिकामा कृषि प्राविधिक छन्। प्रावि तहमा नाम निकालेका मोती ताप्लेजुङमा पढाइरहेका छन्। विद्यालयमा शुरूआती शिक्षकलाई तलबस्वरूप घरायसी अन्न दिइन्थ्यो। संस्थापक शिक्षक भिकुले सार्की थिए। पाँच कक्षासम्म अध्ययन गरेका भिकुलेकै कारण विद्यालय स्थापना भएको थियो। 

भिकुलेले तीन वर्ष लगातार पढाए। पछि गाउँमा केही विवाद आएपछि दुई वर्ष विद्यालय नै बन्द भयाे। दुर्गा भवानी मावि खौलामा अध्ययनरत बालबालिका हेपिन/कुटिन थालेपछि भिकुलेकै नेतृत्वमा बाँठपाला फेरि सञ्चालनमा आयो। २० वर्षसम्म तीन कक्षासम्म मात्रै चलेको विद्यालय २०६४ सालपछि पाँच कक्षासम्म भयो। ६० वर्षीय उनले दुर्गा भवानीमै पढेका हुन्। 

दलित समुदायको शून्य उपस्थिति हुने उक्त विद्यालयमा भिकुले गएसँगै गाउँबाट अन्य विद्यार्थी पढ्न गएका थिए। बाल्यकालमा पढ्न अब्बल उनी शिक्षकको प्रिय थिए। बाहिरबाट आएका शिक्षकबाट पढाइको महत्त्व बुझेका उनले २०४४ सालमा गाउँमै विद्यालय स्थापना गरेका थिए। एसएलसी पास गरेर उनी सोही विद्यालयको एकल शिक्षक बने। स्थापना कालदेखि २६ वर्षसम्म दलित समुदायका बालबालिका भर्ना हुन आएनन्। २०७० सालयता मात्र दलित समुदायका बालबालिका विद्यालय जान थालेका हुन्।

पाँच कक्षाको पठनपाठन हुन थालेपछि विद्यालयले कार्यालय सहयोगी राख्यो। अहिलेका प्रधानाध्यापक बोटी कामी २०६२ सालदेखि सो विद्यालयमा शिक्षक भएका हुन्। २०७० सालदेखि प्रधानाध्यापक छन्। भिकुलेपछि भुवन सार्की, अम्बे सार्की प्रधानाध्यापक भए। 

विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन

दलित समुदायको थरलाई जोडेर अहिले पनि फलानो टोल भन्ने चलन मेटिएको छैन। हरेक ठाउँका गैरदलित समुदायले दलित समुदायलाई चिनाउनका लागि अपहेलित नाम राखेको पुस्तौँ बितिसकेको छ। त्यसमध्येका दुई गाउँ हुन् भक्तपुर र ललितपुर। गैरदलित समुदायले सहनै नसक्ने गरी विभेद गर्न थालेपछि गाउँको नामै फेर्नुपरेको स्थानीय गोरख कामी बताउँछन्। उनका अनुसार स्थानीय अगुवाले भुलवाडा टोललाई ‘भक्तपुर’ र लुहारवाडा टाेलको नाम ‘ललितपुर’ राखेका हुन्। 

नजिकै सार्की समुदायको टोल सार्कीवाडा पनि भक्तपुरमै गाभियो। “बाटोमा हिँड्दादेखि सबैले अनेक तरिकाले हेला गर्न थालेपछि सात/आठ वर्षअगाडि नै बस्तीको नाम फेरेका हौँ”, उनले भने। सामाजिकरूपमा बाध्य भएर विभेद कम गरे पनि मानसिकरूपमा भने गैरदलित समुदायको अहंकार नटुटेको कामीको भनाइ छ।

 “यहाँका कतिपय गैर दलितलाई अहिले पनि अपहेलित शब्द सामान्य नै लाग्छ”, उनी भन्छन्, “दलित समुदायका कसैको नाम पनि बङ्ग्याएर बोलाउने धेरै छन्। त्यस्तो सुन्दा आफूलाई लाज लाग्छ तर, भन्नेलाई केही लाग्दैन।”

यता विद्यालयले भने विभेद मुक्तिका लागि निकै फड्को मारेको छ। प्रअ कामी भन्छन्, “हाम्रो विद्यालयमा आइसकेपछि विभेद भन्ने न शिक्षकलाई थाहा छ, न विद्यार्थीलाई। बालबालिका, कार्यालय सहयोगी, शिक्षक सबै सँगै बसेर खान्छौँ। तर, समुदायमा भने अझै यो शिक्षा सबैको कानमा फुक्नुपर्ने देखिन्छ।”

दुर्गा भवानी माविमा २०४३ सालमा प्रधानाध्यापक बनेर आएका थिए, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुनबहादुर थापा।उनी त्यस विद्यालयमा आउँदा दलित समुदायको उपस्थिति शून्यजस्तै थियो। “नजिकैको गाउँ धेरै ठुलो तर, विद्यार्थी छँदै थिएनन्”, थापा भन्छन्, “त्यस गाउँमा धेरै पटक धायौँ। सामुदायिक विद्यालयमा सबैले पढ्नुपर्छ। घर नजिकको स्कुल, मौकाको फाइदा उठाउनुस् भन्ने अभियान नै चलायौँ। त्यसपछि विद्यार्थी आउन थाले।”

थापा शिक्षा सबैका लागि हुनुपर्छ भन्ने सोच राख्थे। “बालबालिका घरमा नरोकिउन् भन्दै विद्यालय पढाउन अभिभावकलाई आग्रह गरेँ, उहाँहरूले पनि स्विकार्नु भयो र विद्यार्थीको सङ्ख्या बढ्दै गयो”, उनी भन्छन्,  “त्यस बेलामा पढाइलाई महत्त्व कसैले दिँदैनथे, हामीले हाम्रै विद्यार्थी भिकुलेलाई शिक्षक बनाउन र गाउँमा विद्यालय खोल्न सल्लाह दियौँ। शिक्षाको महत्त्व बुझाउँदै गयौँ। पछि विद्यालय फस्टाउँदै गएको हो।”

पालिकाकै नमुना विद्यालय 

सानो ठाउँमा स्थापना भएको विद्यालयमा खुला चौरको अभाव छ। पालिका, संघसंस्था, स्थानीयको प्रत्यक्ष सहयोग भइरहेको हुँदा शैक्षिक गुणस्तर बढ्दै गएको छ। शिक्षक भरतबहादुर सार्की भन्छन्, “हाजिरीजवाफलगायत कार्यक्रममा सहभागी भएर हरेक पटक राम्रो नतिजा ल्याइरहेका छौँ।” विद्यालयमा सबै निकायले मिहेनत गरे पनि शिक्षकको भने अभाव छ। “बाल कक्षादेखि पाँचसम्म छ पिरियड हुन्छन्। पाँच शिक्षकले सबै पिरियड मुस्किलले पढाउनुपरेको छ”,  उनले भने।

प्रदेश र स्थानीय तहको सहयोगमा भवन निर्माण गरिएको छ। “बाँठपालालाई दलित मात्रै पढ्ने भनेर बुझ्ने गरिन्थ्यो”, उनले भने, “तलकोट गापा, विश्व खाद्यलगायत संघसंस्थाबाट सहयोग भएपछि अहिले खौलाबाट पनि विद्यार्थी आइरहेकाछन्। 


सम्बन्धित सामग्री