Monday, April 29, 2024

-->

आनन्दपुरवासी भन्छन्– अब मजदुरी गर्न भारत जानुपर्दैन

आनन्दपुरमा पहिले तरकारी उत्पादन हुँदैनथ्यो। बारीमा लगाएको मकैले खान नपुग्ने भएपछि भारत जानुको विकल्प थिएन। तर, अहिले प्रत्येक परिवारले तरकारीखेती थालेका छन्।

आनन्दपुरवासी भन्छन्– अब मजदुरी गर्न भारत जानुपर्दैन 

बझाङ– बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए। आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनले तरकारीखेती थालेका हुन्। 

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन। पाँच कट्टामा बीउ रोपेका उनको रोजाइ तरकारी खेती नै भएको छ। 

“दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो। गत साता ३४ हजार रुपैयाँको आलु बिक्री गरेँ। अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ,” बोहराले भने। बोहरा यसवर्ष मात्र लामो समयसम्म घरमा बसेका हुन्। 

वर्षमा झन्डै आठ महिना बोहराको भारतमै मजदुरी गरेर बित्थ्यो। त्यही कमाइबाट परिवारको खर्च चल्थ्यो। बोहराले भने, “एक वर्षयता मजदुरी गर्न भारत गएको छैन। आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु। अब मजदुरी गर्न भारत जाँदिन।” 

कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताइन्। “हामीलाई आलु खेतीबारे खासै  ज्ञान थिएन। कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ। बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ। यसरी  व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो । शुरूआतमै फाइदा भयो,” उनले भनिन्।

किशोरावस्थामै पुरुष विद्यालय छोडेर भारतमा मजदुरी गर्न जाने गरेका छन्। रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा थिए। रमादेवीले भनिन्, “अब गाउँमै तरकारी खेतीमै मिहेनत गर्न लगाउँछु। यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ। पढाइ पनि गर्छ, भारत पठाउँदिन।”

मनमती बोहरा ७१ वर्षकी भइन्। उनलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन। “एकपटक बाली फेर्नुपर्‍यो भनेर आलु र टमाटर लगाएका थियौँ तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन,” उनले भनिन्। 

यसपटक भने एकै गराबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताइन्। धवलसिंह बोहरा अहिले दोस्रो चरणमा आलु बजारीकरण गर्नका लागि तयारी गरिरहेका छन्। “पहिलो चरणमा लिएको आलु कैलालीसम्म पुग्यो,” उनले भने, “फेरि आलु निकालेर सुकाइरहेका छौँ। अब दोस्रो साता ट्रकमा नै तराईसम्म लिने तयारी भइरहेको छ।”

धवलसिंहको परिवारमा अहिले पाँच जना छन्। सबै आलु खेतीमा संलग्न छन्। दुईवर्ष अगाडि नै नेपाल आएका धवलसिंहलाई यसपटक भने व्यावसायिक सफलता मिलेको छ। “वर्षभरि काम गर्दा एक हजार पनि गाउँमा नकमाउने हामी अहिले निर्धक्क छौँ। समयअनुसारको व्यवसायबाट लाभ लिन सकिने रहेछ भन्ने सिकाइ पनि भयो।” उनले भने। 

यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताए। “कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बीउदेखि बजारसम्मको काम गरिरहेका छौँ,” विष्टले भने, “कृषकले इमानदारिताका साथ काम गरेमा उहाँहरूको भविष्य कृषिमै सुनिश्चित हुन्छ।” 

जिल्लामा विभिन्न प्रकारका हाइब्रिड तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उनको भनाइ छ। “हामीले चैते धानको पनि सफल परीक्षण गरिसकेका छौँ। ड्रागनखेती भरखर शुरू गरेका छौँ। नतिजा सफलोन्मुख छ,” उनले भने।

फेरिएको आनन्दपुर

आनन्दपुरमा ३५ परिवार छन्। ती परिवारका सदस्य अधिकांश भारतको पिथौरागढमै छन्। सानो तिनो काम गर्न सक्ने सबै पुरुष चार महिनाबाहेकका आठ महिना मजदुरीका लागि जान्छन्। पिथौरागढमा भारी बोक्ने, गाडी उतार्ने, भर्ने, सामान ओसारपसारलगायत काम गर्छन्।

धनसिंह बोहराले भने, “ पिथौरागढमा जति काम गर्‍यो, त्योअनुसारको पैसा आउँछ। तीन चार महिनामै कमाएको पैसाले पनि वर्षभरि घर खर्च चल्छ। यहाँ त खाली बस्नुपर्छ, नुन, तेल किन्ने पैसा पनि कमाउन सकिँदैन।”

पिथौरागढमा कमाएको पैसाले अहिले आनन्दपुर नै फेरिएको छ। पहिले सबैका घर खरले छाएका थिए। अहिले भने गाउँको रूप नै फेरिएको छ। धेरैले पक्की घर बनाइसकेका छन्। पिथौरागढ आनन्दपुरवासीको रोजाइमा पर्नुको कारण नजिकको विदेशी शहर भएकाले हो।

आनन्दपुरबाट बिहान गए साँझ पिथौरागढ पुग्न सकिन्छ। 


सम्बन्धित सामग्री