पर्सा क्षेत्र नं. १ मा सत्ता गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्ण र विपक्षी गठबन्धनका प्रदीप यादवलाई स्वतन्त्र उम्मेदवारी दिएका पर्सा कांग्रेसका पूर्वसभापति अजय द्विवेदीले चुनौती दिइरहेका छन्।
वीरगन्ज– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको मनोननयन पत्र दर्ता गर्ने पहिलो दिन असोज २३ गते नजिक आउँदा जसपा र लोसपाले चुनावी रणनीति तय गर्नै सकेका थिएनन्। सत्ता गठबन्धनमा रहेको जसपा र सत्ताबाहिर रहेको लोसपा अन्य दलसँग भागबण्डाको ‘म्याराथन’ छलफलमै थिए।
जसपा सरकारमै भए पनि विपक्षी एमालेसँग पनि गठबन्धनका लागि वार्ता गरिरहेको थियो। जसपाले प्रतिनिधिसभाका बढीभन्दा बढी क्षेत्र पाउन सत्ताधारी र विपक्षी दलसँग ‘बार्गेनिङ’ गरिरहेको थियो। लोसपाका नेताहरू सकेसम्म सत्ता गठबन्धनमा जाने, विकल्पमा एमालेसँग मिल्ने मनस्थितिमा थिए।
अन्ततः सत्ता गठबन्धनबाट मागे जति क्षेत्र नपाउँदा जसपा एमालेसँग मिल्यो। लोसपा सत्ता गठबन्धनमा पुग्यो। यसले गर्दा जसपाका कतिपय कार्यकर्ता असन्तुष्ट भए। भागबन्डाका कारण टिकट नपाएपछि मधेशमा कांग्रेस र लोसपाकै कार्यकर्ता पनि असन्तुष्ट भए। जसको असर पर्सा क्षेत्र नं. १ मा देखिएको छ।
यो क्षेत्रमा वीरगन्ज महानगरपालिकाको ३२ मध्ये १९ वडा पर्छन्। यहाँबाट एमालेको समर्थनमा जसपाका प्रदीप यादव र कांग्रेसको समर्थनमा लोसपाका लक्ष्मणलाल कर्ण उम्मेदवार छन्। लामो समय चुनावको तयारी गरेर पनि अन्तिम समयमा टिकट नपाएपछि पर्सा कांग्रेसका पूर्वसभापति अजयकुमार द्विवेदीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यी तीन उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने यहाँका मतदाताको अनुमान छ।
जसपाबाट उम्मेदवार बनेका यादव २०७२ सालको मधेश आन्दोलनबाट चर्चामा आएका हुन्। उनी २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए।
लोसपाबाट उम्मेदवार भएका कर्ण पनि निवर्तमान सांसद हुन्। अघिल्लो निर्वाचनमा पर्सा–४ बाट निर्वाचित उनले यसपटक क्षेत्र परिवर्तन गरेका हुन्। क्षेत्र नं. ४ मा कांग्रेसका रमेश रिजाल उठ्ने भएपछि उनी पर्सा–१ मा आए। त्यहीकारण कांग्रेसका द्विवेदी टिकटबाट बञ्चित भएका हुन्।
द्विवेदी तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को संस्थापक पर्सा जिल्ला सभापति र पार्टी एकिकरणपछि दुईपटक जिल्ला सभापति भएका नेता हुन्। उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए।
लोसपा उम्मेदवार कर्ण आफ्नो प्रतिस्पर्धा जसपाका यादव र माछा चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका द्विवेदीबीच हुने बताउँछन्। द्विवेदीलाई कांग्रेसका कतिपय स्थानीय नेताको समर्थन र सहयोग छ। कांग्रेस क्षेत्रीय सभापति अरविन्द गुप्ता द्विवेदीको पक्षमा जनलहर आएको दाबी गर्छन्।
जसपाका उम्मेदवार यादवका समर्थक पनि घरदैलो कार्यक्रम र सामाजिक सञ्जालमा समेत लोसपाका कर्णभन्दा द्विवेदीप्रति बढी आक्रामक छन्। वीरगन्जका नागरिक अगुवा पन्नालाल गुप्ता मधेश आन्दोलनको रापताप सकिएको कारण यसपटक नतिजा फरक आउनसक्ने बताउँछन्। “मधेश केन्द्रित दल र उनीहरूको नारामा अहिले धेरै आकर्षण छैन। ठूला भनिएका दल कांग्रेस, एमाले र माओवादी पनि सत्ताकै लडाइँमा समय खेर फाल्छन्”, उनले भने, “जनता निराश छन्। कसले जित्छ भन्न सकिँदैन। स्वतन्त्रमा पनि धेरैको समर्थन छ।”
२०७४ सालको निर्वाचनमा पर्साका चार वटै प्रतिनिधिसभा र आठमध्ये ६ प्रदेशसभा सिट मधेशवादी गठबन्धनले जितेका थिए। मधेशवादी दलहरूले त्यतिबेला ठूला दललाई ‘मधेश विरोधी’ भनेर प्रचार गरेका थिए। “यसपालि उम्मेदवारहरूको व्यक्तित्वको प्रतिस्पर्धाजस्तो देखिन्छ। मुद्दा कोहीसँग छैन”, अधिवक्तासमेत रहेका गुप्ता भन्छन्, “नेताले पार्टी फेरबदल गर्दा र पार्टीमा पनि खेमा फेरबदल गर्दा दलको अर्थ रहेन। दलका घोषणापत्र पनि औपचारिक मात्र भए।”
२०४६ सालपछिका हरेक निर्वाचनमा पर्सा–१ मा फरक उम्मेदवार विजयी भएका छन्। २०४८ सालमा कांग्रेसका आत्माराम ओझा बाहुन, २०५१ मा राप्रपाका राजीव पराजुली, २०५६ सालमा कांग्रेसका कृष्णप्रसाद भट्टराई विजयी भएका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमकी करिमा बेगम, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका राजेन्द्रबहादुर अमात्य र २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमका प्रदीप यादव विजयी भएका थिए।
यसपटक यादव विजयी भए पर्सा–१ बाट दोहोर्याएर चुनाव जित्ने पहिलो व्यक्ति हुनेछन्। द्विवेदी विजयी भए पर्साबाट निर्वाचित हुने पहिलो स्वतन्त्र उम्मेदवार हुनेछन्।
यो निर्वाचन क्षेत्रमा वीरगन्जको ६० प्रतिशत भूभाग पर्छ। २०५६ सालमा कांग्रेस नेता कृष्णप्रसाद भट्टराई उम्मेदवार बनेपछि विकासको आशा पलाए पनि त्यस्तो नभएको स्थानीयको भनाइ छ। ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक कुर्बान हवारी त्यसपछि नै विकासका नारामा जनताको आकर्षण हराएको बताउँछन्।
“त्यति बेला कृष्णप्रसाद भट्टराई जस्तो नेतालाई जिताउँदा पनि विकासका प्रतिबद्धता पूरा भएनन्। त्यसपछि जितेकाले पनि वाचा पूरा गरेनन्”, हवारी भन्छन्, “विकास गर्छु भने पनि गफ मात्र हो भनेर जनतामा छाप परेको छ। त्यसैले यसपटकको चुनावमा कुनै दल र मुद्दाभन्दा पनि व्यक्तिको प्रभाव पर्ने देखिन्छ।”
मुख्यमन्त्री राउतलाई पनि स्वतन्त्रको चुनौती
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पर्सा–१(ख) बाट पुनः उम्मेदवार बनेका छन्। क्षेत्र नं. १ का ‘क’ र ‘ख’ बाट प्रदेशसभाका लागि ४७ जना उम्मेदवार छन्। तीमध्ये २४ जना स्वतन्त्र उम्मेदवार हुन्।
मुख्यमन्त्री राउत दोहोरिने प्रयासमा रहेको क्षेत्र (ख) मा २० मध्ये १२ उम्मेदवार स्वतन्त्र छन्। जसपाका राउतको प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेसका रामनारायण कुर्मीसँग हुने आकलन गरिएको छ। तर, यो क्षेत्रमा पनि प्रभावशाली स्वतन्त्र उम्मेदवारहरूले राउत र कुर्मीलाई चुनौती दिइरहेका छन्।
यो क्षेत्रबाट पहिलो र दोस्रो मधेश आन्दोलनलाई वीरगन्जमा नेतृत्व गरेका शशी कपुर मियाँ पनि उम्मेदवार छन्। त्यस्तै, तत्कालीन मधेशी जनाधिकार फोरमका सह–संस्थापक रहेका र पछि उपेन्द्र यादवसँग असहमति जनाउदै अलग्गिएका पुराना नेता भाग्यनाथप्रसाद गुप्ताका छोरा श्यामप्रसाद गुप्ता र युवा नेता राकेशकुमार दुवे स्वतन्त्र उम्मेदवार छन्। अर्का युवा अगुवा ओमप्रकाश सर्राफ हाम्रो नेपाल पार्टीबाट उम्मेदवार छन्।
प्रदेशतर्फको (क) मा सत्ता गठबन्धनले माओवादी केन्द्रका रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ। जसपासँगको गठबन्धनमा एमालेका विचारी यादव उम्मेदवार छन्। यसअघि जितेका जसपाका जनत अन्सारीले टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार छन्। त्यस्तै, कांग्रेसले टिकट नदिएपछि युवा नेता सुधिर पटेल पनि स्वतन्त्र उम्मेदवार बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
