'उपत्यकाबाहिर बस्नेले राजधानीवासी सम्पन्न हुन्छन् भन्नुहुन्छ होला तर लाकुरी भन्ज्याङतिर गयो भने वास्तविकता अर्कै छ।'
समाज सेवा र आफ्नो व्यवसाय गरिरहेको व्यक्तिलाई राजनीतिमा आउन के कुराले प्रेरित गर्यो?
म समाज सेवा वा अभियन्ताको रूपमा २०६९ सालदेखि नै सक्रिय थिएँ। जतिबेला सडक विस्तारको नाममा यहाँका सयौँ वर्ष पुराना घरहरू मापदण्ड मिचेको भन्दै भत्काइए। सुमन सायमी लगायतका सबै अभियन्ता एकजुट भएर विरोधमा निस्किएका थियौँ। ०७२ सालअघिसम्म म व्यवसाय र खेलकुद क्षेत्रमै थिएँ। त्यसपछि मैले व्यवसाय र खेलकुद छाडेर पूर्णरूपमा समाज सेवामै लाग्ने निर्णय गरेँ। गुठी विधेयकको विषय उठ्यो। सो आन्दोलनमा ‘राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति’को प्रवक्ता नै भएर विरोध जनाएँ। काठमाडौँको रानी पोखरी, लगनखेलको सप्तपाताल पोखरी जस्ता ऐतिहासिक स्थललाई पनि व्यावसायिक गर्न अत्याधुनिक शैलीमा बनाइने डीपीआरमा सम्बन्धित नगरपालिकाकै स्वीकृति थियो। हामीले त्यहाँ पनि संघर्ष गर्नुपर्यो।
पछिल्लो समय खोला मापदण्डबारे पनि निकै बोलियो। झन्डै १८ महिनाको संघर्षपछि बल्ल स्थानीयको पक्षमा निर्णय उल्टियो। हामीले संघर्ष गरिरहँदा यस्ता विषय संसदमा कसैले आवाज उठाइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो, तर खासै कसैले उठाएनन्। समस्या भोगिरहेका क्षेत्रका निर्वाचित प्रतिनिधि अझ बेखबर बने। हाम्रो आफ्ना समस्या नबोलिदिने, नबुझिदिने भएपछि म आफैले उम्मेदवारी दिएको हुँ।
काठमाडाैँभित्र कुनै पनि गौरवका योजना भइरहँदा यहाँका स्थानीयको जग्गा घरहरूको क्षतिपूर्ति मुआब्जा, उचित पुनर्वास, रोजगारी सबै व्यवस्था निश्चित भएपछि मात्रै घोषणा गर्नुपर्छ है भनेर यो ऐनमै सुधार गर्नुपर्छ भन्ने नीति मैले बोकेको छु। उदाहरणको लागि, मेरो क्षेत्रमा ग्वार्को, इमाडोल, सिद्धिपुर, थसी, लुभु पर्छ। ग्वार्को–लुभु–लामाटार सडक जुन लाकुरी भन्ज्याङबाटै जान्छ, त्यसलाई राष्ट्रिय राजमार्ग बनाइएको रहेछ २०७६ मा ‘रारा १५’ भनेर। राष्ट्रिय राजमार्गको मापदण्डमा सेन्टरबाट २५ मिटर दायाँ २५ मिटर बायाँ र सेटब्याक ६ मिटर हो। तर त्यहाँको जनतालाई थाहै छैन। आफ्नो घर, खेत जाँदैछ, कति जाँदैछ भन्ने समेत थाहा छैन। यसरी जनतालाई अन्योलमा पार्न मिल्छ? यो आवाज कसैले नउठाउने भएपछि म आफैले उम्मेदवारी दिएको हुँ।
घरदैलो कार्यक्रम गरिरहँदा मतदाताका के कस्ता समस्या देख्नुभयो, गुनासा सुन्नुभयो त?
मेरो निर्वाचन क्षेत्र ललितपुर महानगरपालिकाको ९ वटा वडा, महालक्ष्मीको थसी, सिद्धिपुर, सानागाउँ, लुभु, इमाडोल र लामाटार कटिसकेपछि भौतिक रूपमा देखिने समस्या बढी छन्। उपत्यकाबाहिर बस्नेले राजधानीवासी सम्पन्न हुन्छन् भन्नुहुन्छ होला तर लाकुरी भन्ज्याङतिर गयो भने वास्तविकता अर्कै छ—बाटो छैन, हेल्थपोस्ट चाहिन्छ, स्कुल थप्नु पर्ने छ। ललितपुर महानगरको ९ वटा वडामा चाहिँ प्रचुर सम्भावना छ, त्यसलाई प्रवर्द्धन गर्ने हो।
जीवन्त संगीत, वाद्यवादन, हस्तकलाको केन्द्र नै हो, पाटन क्षेत्र। इमाडोलमा खानेपानीको समस्या छ। अव्यवस्थित शहरलाई विकास गर्नुपर्ने अर्को चुनाैती छ।

तपाईंको उम्मेदवारीमा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो?
मेरो क्षेत्रका जनता पुरानो दललाई भोट नदिने अडानमा रहेछन्। राम्रो उम्मेदवार नहुँदा कसलाई भोट दिने भन्ने अलमल थियो। म उम्मेदवार भएको थाहा पाएपछि धेरैले फोन गरेर खुसी लाग्यो भन्नुभयो। उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘चिम’ अलिक नयाँ भयो, तर मतदाता उत्साही छन्।
कतिपयले तपाईंलाई स्वतन्त्र वा अन्य पार्टीबाट उठ्नुपर्ने थियो पनि भनिरहेका छन् नि?
हो, धेरैले भन्नुभएको थियो। तर स्वतन्त्र उठ्दा मतदान चिन्ह चिनाउनै गाह्रो हुने रहेछ। केही पार्टीले प्रस्ताव पनि गरेका थिए, उज्यालो नेपाल पार्टी नितान्त नयाँ र कुलमान घिसिङ हुनुहुन्छ। उहाँले जनताको लागि राम्रो काम गरेर आइसकेको छविले मलाई यस पार्टीमा डोर्याएको हो। हामी दुवैको सोचको ‘बेसिक बटम लाइन’ पनि मिल्ने भएकाले मैले यो पार्टी रोजेको हो।
समस्याको कुरा गरिरहँदा त्यसमा तपाईंका योजनाहरू चाहि के के छन् होला?
मेरो क्षेत्रमा विशेषतः खानेपानीको समस्या छ। खानेपानीका यस्ता समस्या स्थानीय तह वा प्रदेश नभई संघको सरकारले नै हेर्नुपर्छ। म सांसद भएपछि त्यसको लागि लबिङ गर्छु। इमाडोलको १ देखि ५ वडामा खानेपानीको समस्या छ, त्यसको लागि अल्पकालीन रूपमा 'वाटर एक्वाफायर’ (पानीको भूमिगत तह) ड्रिल गरेर निकाल्ने र पछि लार्के खोलाबाट पानी ल्याउने योजना छ। 'वाटर एक्वाफायर’ यदि निजी जग्गामा पर्छ भने बजार मूल्यभन्दा डबल मुआब्जा दिएर नमुना सेट गर्नुपर्छ।
बज्रयानको आध्यात्मिक केन्द्रको हिसाबले पाटनलाई विकास गर्न मिल्छ। पाटन दरबार क्षेत्रमा पर्यटकहरू आधा दिनका लागि आउँछन्, त्यसलाई बढाएर दुई दिन वा एक हप्ता बनाउने लक्ष्य लिनुपर्छ। युवाहरूलाई एआई लगायत प्रविधिको तालिम दिएर दक्ष कामदार बनाउने योजनामा काम गर्नुपर्नेछ। यस्तै, तामाङ बाहुल्यता भएको क्षेत्रमा तामाङ भाषा बचाउन त्यही भाषामा पठनपाठन हुने स्कुल थप्नको लागि काम गर्नु पर्नेछ।

यो निर्वाचनको परिणाम हारजित जे जस्तै रहला, त्यसपछिको तपाईंको भूमिका कस्तो रहन्छ?
हारजितले पक्कै अर्थ त राख्छ, तर म दोस्रो–तेस्रो भएँ भने पनि मतदाताको विश्वासलाई सम्मान गर्छु। धरातलीय हिसाबले म निर्वाचित हुन्छु नै जस्तो लाग्छ। तर कदाचित भइनँ भने पनि मेरो आन्दोलन अभियान निरन्तर जारी रहनेछ। यद्यपि, मेरो जित सुनिश्चित छ।
तपाईंको घोषणापत्र पढिरहँदा त्यहाँ आदिवासी जनजातिले स्वायत्त अधिकार पाउने कुरा छ। कतिपयले तपाईंलाई ‘पहिचानवादी’ भन्छन्, यसबारे के भन्नुहुन्छ?
म समानता र सह–अस्तित्वमा विश्वास गर्ने मान्छे हुँ। म मातृभाषा बचाउने अभियानमा पनि लागेको छु। यसको अर्थ नेवाः भाषामात्र होइन गुरुङ, तामाङ, थारू सबैको भाषा बचाउनु पर्ने मान्यता राख्छु। मैले नेपाल भाषाको मात्र एड्भोकेसी गरेको होइन, राष्ट्रिय रूपमा नेपालमा रहेको १२५ भाषाकै एड्भोकेसी गर्ने गरेको छु। चुनावी समय यस्ता आलोचना, आरोप आउने रहेछन्, त्यो झुटो हो। म समानता अनि सह–अस्तित्वमा विश्वास राख्छु।
अन्तिममा केही भन्नुहुन्छ?
मैले काठमाडौँ ललितपुर र भक्तपुरमा जुन मुद्दा उठाएको छु त्यो राष्ट्रिय मुद्दा हो। मैले सहकारीको समस्या उठाएको छु, नेपालको आधा जनसंख्या सहकारी पीडित छ। त्यस्तै स्मार्ट टेलिकम टावर पीडितको समस्या समाधान गरेँ। स्मार्ट टेलिकम खारेज हुँदा घरधनीहरूले बिजुलीको बिल तिर्नुपर्ने बाध्यता थियो, त्यो समस्या समाधानका लागि मैले पहल गरेँ। राज्यले जनतालाई शत्रु ठान्ने होइन, सेवा सुविधा दिने हो। म देशकै आवाज बन्नेछु।
म एउटा कुरा भन्न चाहन्छु—मतदान भनेको दान होइन। दान दिएको चिजको मान्छेले वास्ता गर्दैन। यो त आफ्नो प्रतिनिधि छान्ने ‘वारिसनामा’ जस्तै हो, जुन ५ वर्षसम्म बदर गर्न पाइँदैन। त्यसैले आफ्नो प्रतिनिधि हुन लायक को छ, त्यो बुझेर मत हाल्नु होला।
भिडियो कुराकानी:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
