Friday, April 26, 2024

-->

केशरमहल परिसरमा किन असरल्ल पारिए पुराना कागजात? पुस्तकालय भन्छ– हाम्रो होइनन्

केशरमहल परिसरमा छरिएका पुस्तक र कागजपत्र आफ्ना नभएको पुस्तकालयको दाबी छ। केशरमहल पुनर्निर्माणको ठेक्का लिएको कम्पनीले भने पुस्तकालयले जिम्मा नलिए ती सामग्री कवाडीमा दिने वा नष्ट गर्ने जनाएको छ।

केशरमहल परिसरमा किन असरल्ल पारिए पुराना कागजात पुस्तकालय भन्छ– हाम्रो होइनन्
तस्वीर : अमित मचामसी/उकालो

काठमाडौँ– लैनचौरस्थित केशर पुस्तकालयको परिसरमा पुराना पुस्तक, पत्रपत्रिका, टिप्पणी, निर्णयपत्र, रेकर्ड फाइललगायत कागजात छरपस्ट छन्। यसरी बेवारिसे बनेका कागजपत्र ऐतिहासिक केशर पुस्तकालयमा लामो समयदेखि बोरामा कोचेर राखिएका पुस्तक तथा कागजपत्र हुन्। 

परिसरमा छरपस्ट पुस्तकले फोहरको डंगुर थुपारेको भान हुन्छ। कागजपत्रहरूको अव्यवस्थाले पुस्तकालय परिसर दुर्गन्धितसमेत बनेको छ। पुस्तक तथा कागजात फिँजाएर राखेको स्थानमा पहिले ट्रस्ट थियो। ट्रस्ट हटाएर त्यहाँ कागजात र पुस्तक सुकाइएको केशरमहल पुनर्निर्माणको ठेक्का पाएको कम्पनीले जनाएको छ।

केशर पुस्तकालय पुनर्निर्माणको जिम्मेवारी जेटसीजीआई खानी जेभी निर्माण कम्पनीले पाएको हो। उक्त कम्पनीका आयोजना व्यवस्थापक नरकान्त सापकोटाका अनुसार पानीले भिजेका र कुहिएका पुस्तकलाई केही दिन अघिमात्र ट्रष्ट भत्काएर सुकाउन फिँजाइएको हो।

पुस्तक तथा अन्य कागजात यसरी फिजाइँदा पुस्तकालयमा पढ्न जाने पाठक र अन्य सरोकारवालाका मनमा यस्तो किन गरियो भन्ने प्रश्न उठेको छ। आइतबार, सामाजिक सञ्जाल ट्विटरमा प्राध्यापक सञ्जीव उप्रेतीलगायतले केशर पुस्तकालयको परिसरमा पुस्तक तथा अन्य कागजपत्रको ‘बिजोग’बारे भिडियो सेयर गर्दै प्रश्न उठाएका थिए। त्यसपछि सामाजिक सञ्जालमा यस विषयले धेरैको ध्यान तानेको थियो। 

त्यसरी थुपारिएका कागजपत्रबारे पुस्तकालयका सूचना अधिकारी नानीराम कार्कीले ती सामग्री आफूहरूको नभएको बताए। केशरमहल पुस्तकालयका सबै सामान सुरक्षित रहेको उनको दाबी छ। ती कागजात युनेस्को, शिक्षा मन्त्रालयलगायतका संस्थाका हुनसक्ने उनको भनाइ छ। “केशर महलका सबै सामान सुरक्षित छन्”, सूचना अधिकारी कार्कीले भने, “केशर पुस्तकालयका सबै सामग्री सुरक्षित रहेको र उक्त कागजातका डंगुरमा युनेस्को, शिक्षा मन्त्रालय लगायतका संस्थाको काम नलाग्ने कागजात हुनसक्छन्।” 

२०७२ सालको भूकम्प अघिसम्म पुस्तकालयमै सम्पत्ति शुद्धीकरण, शिक्षा मन्त्रालयका एनओसी शाखा, छात्रवृत्ति शाखा, शैक्षिक परामर्श शाखा, युनेस्को लगायतका कार्यालय थिए। ती संस्था तथा कार्यालयले भूकम्पपछि स्थानान्तरण गर्दा आफ्ना कागजपत्र तथा पुस्तक त्यही छोडेर गएको सूचना अधिकारी कार्कीले दाबी गरे। उनले भने, “तिनै कागजपत्र तथा पुस्तक हाल डंगुरको रूपमा यहाँ फैलिएका हुन्।”

नयाँ स्थापना भएका सामुदायिक पुस्तकालयमा कतिपय पुस्तक तथा प्रशासनका पठन सामग्री स्वेच्छाले प्रदान गर्ने गरेको उनले अवगत गराए। यसबाहेक, पुस्तकालयमा रहेको कुनै पनि पुस्तक तथा पठनका सामग्री बेच्न नमिल्ने उनले बताए।

चौरमा फैलाएर राखिएका कागजात बेचबिखनको बारेमा पुस्तकालयमा केही थाहा नभएको भन्दै उनले पुस्तकालयको पुनर्निर्माण गरिरहेको ठेकेदार कम्पनीका व्यवस्थापक सापकोटासँग बुझ्न सिफारिस गरे। 

कागजपत्र व्यवस्थापनबारे पुस्तकालय प्रमुख आएपछि मात्रै निर्णय हुने
केशर पुस्तकालय पुनर्निर्माणको जिम्मेवारी पाएको जेटसीजीआई  कम्पनी प्रमुख तथा आयोजना व्यवस्थापक सापकोटा त्यहाँ भएको सामग्रीले आफूहरूलाई काम गर्न अप्ठ्यारो परेको बताउँछन्। उनले ती सामग्री कवाडीमा बेच्न लागेको विषय अफवाह मात्र भएको दाबी गरे।

सापकोटाले आफूहरूले अहिलेसम्म ती सामग्रीको संरक्षण गरिरहेको दाबी गर्दै त्यहाँको सरसामान कहीँकतै लैजान सम्भव नभएको बताए। “१२–१२ वटा सीसीटीभी क्यामेरा छन्। हामीले यहाँबाट एउटा छेस्को पनि लैजान मिल्दैन। हामीले पुस्तक मात्र नभई यहाँ रहेका काठहरूसमेत जिम्मेवारी लिन सम्बन्धित निकायलाई भनिरहेका छौँ। तर, टेर्नु हुन्न। उहाँहरूको लापरबाहीले हाम्रो निर्माणको कार्यमा समेत अवरोध पुगिसक्यो”, उनले भने।

पुस्तकालयको पुनर्निर्माण शुरू भएसँगै अस्थायी टहरामा राखिएका पुस्तकालयका पुस्तक तथा कागजपत्रको व्यवस्थापनमा कुनै कसर नछाडेको उनको भनाइ छ। छरिएर रहेका पठनसामग्री शिक्षा मन्त्रालयको मातहतमा रहेको शैक्षिक प्रमाणीकरण महाशाखा, युनेस्को लगायतका सरकारी तथा निजी कार्यालयको रहेको उनको भनाइ छ। 

“पुनर्निर्माण गर्न लागेको कारण हामीले पटक–पटक सम्बन्धित निकायका पुस्तक तथा कागजपत्र सम्हाल्न र व्यवस्था गर्न ताकेता गर्दा युनेस्कोबाहेक कुनै संस्थाले प्रतिक्रिया जनाएनन्”, सापकोटा भन्छन्, “युनेस्कोका पदाधिकारी दुई–तीनपटक यहाँ आएर अध्ययन गरेपछि कुनै पनि सामग्री आवश्यक नरहेको र आयोजना व्यवस्थापनले जे निर्णय ठिक रहन्छ, त्यही गर्न भन्नुभयो। यसबाहेक, अरू कसैले पनि हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।”

त्यस्तै, उनले पुनः निर्माणका क्रममा आफूहरूलाई ठाउँको अभाव हुने देखिएकाले र कागजपत्रको व्यवस्थापन गर्नैपर्ने देखिएको बताए। उनले भने, “हामीलाई पुनर्निर्माण योजनाअनुसार स्थानको आवश्यकता छ। जलाएर हुन्छ वा कवाडीलाई बेचेर भए पनि हामी खाली गर्छौं।” 

उनले हाल बिदामा रहेका पुस्तकालय प्रमुख आएपछि कागजपत्र व्यवस्थापन अघि बढाइने बताए। काम नलाग्ने भएका कागजपत्र तथा पुस्तकलाई डिस्पोज गर्ने, बेच्ने वा अन्य कुनै कदम लिने भन्नेबारे त्यतिबेलै निर्णय  हुने उनको भनाइ छ। 

निर्माण कम्पनीले यसअघि ती कागजपत्र नजिकै रहेको 'गार्डेन अफ ड्रिम'मा पनि राखेको थियो। सापकोटाले सार्न सकिने ठाउँ हुँदासम्म ती कागजपत्र सार्दै संरक्षण गरिएको बताए। गार्डेन अफ ड्रिममा राख्दा त्यहाँको सौन्दर्य बिग्रिएकोले अहिले यसरी व्यवस्थापन गर्नुपरेको उनको दाबी छ। “सार्न सकिने ठाउँ हुन्जेलसम्म विभिन्न स्थानमा सार्यौं, गार्डेन अफ ड्रिममा पनि राखेको थियौँ। तर, त्यहाँका सौन्दर्यमा समस्या आएको भन्दै सार्ने क्रममा स्थान नहुँदा आज यस्तो परिस्थिति आएको छ”, सापकोटा भन्छन्।

हाल छरिएर राखिएका पुस्तक, कागजात भएको स्थानमा योजनाअनुसार एउटा ‘प्याभलिया’ बनाउनुपर्ने सापकोटा बताउँछन्। पुस्तकालयको भित्री काम भने ८० प्रतिशत सम्पन्न भइसकेको छ।

२०७२ वैशाख २ गतेको महाभूकम्पपछि पुस्तकालय जीर्ण अवस्थामा थियो। २०७६ सालबाट शुरू भएको पुस्तकालयको पुनर्निर्माण २०८० असारसम्म सकाउनु पर्नेछ।

'डिजिटलाइज गरी डिस्पोज गर्नु उपयुक्त'
परिसरमा छरिएर रहेका कतिपय पुस्तक ऐतिहासिक दस्तावेजका लागि महत्त्व बोक्ने छन् भने कतिपय मन्त्रालयका बिल तथा आर्थिक पाटो सम्बन्धि कागजपत्र छन्।

बैठक तथा निर्णयका कागजात महत्त्वपूर्ण हुने हुनाले जोगाउनुपर्ने लामो समय कागजात अभिलेखीकरणमा काम गरेका लिपिविज्ञ श्यामसुन्दर राजवंशी बताउँछन्। त्यसबाहेक संस्थानका आर्थिक प्रतिवेदन खासै महत्त्वपूर्ण नहुने राजवंशीको भनाइ छ। त्यस्ता कागजात पत्रलाई छानेर राख्नुपर्ने उनको सल्लाह छ।

यसबाहेक मुद्रण भएका पुस्तक तथा जर्नललाई सकेसम्म डिस्पोज नगरी उचित व्यवस्थापन गर्न सकिने उनले बताए। व्यवस्थापन हुन नसक्ने र जीर्ण अवस्थामा रहेका पुस्तक तथा कागजातको ‘डिजिटल अर्काइभ’ बनाउन सकिने उनको तर्क छ।


सम्बन्धित सामग्री