Saturday, May 04, 2024

-->

कुमारी : प्रेमबहादुर बस्नेतले बदलिदिएको चलचित्रको बाटो

कुमारी चलचित्रमा जर्मनको इस्टम्यान कम्पनीको मिचेल क्यामेरा र मलेसियाबाट ल्याएको नाइग्रा भन्ने टेप–रेकर्डर प्रयोग भएको थियो। कुमारी बनेपछि नेपालमा ‘ब्याल्क एन्ड ह्वाइट’ चलचित्र बन्न बन्दै भयो।

कुमारी  प्रेमबहादुर बस्नेतले बदलिदिएको चलचित्रको बाटो
तस्वीर : अमित मचामसी/उकालो

काठमाडौँ– सेताम्मे हिमाल, हरिया–नीला ताल, आकाश, पहाड, मान्छेले लगाएको लुगा मात्र नभइ दृश्यमा देखिने हरेक वस्तु कालो र सेतो रङमा मात्र देखिए कस्तो होला? ती दृश्य कति मनमोहक होलान्?

२०३४ सालभन्दा अघि बनेका नेपाली चलचित्र यस्तै कालो र सेतो अर्थात् ‘ब्लाक एन्ड ह्वाइट’ थिए। त्यही सालमा बनेको ‘कुमारी’ले भने नेपाली चलचित्रको बाटो नै फेरिदियो।

४६ वर्षअघि पहिलो रंगिन चलचित्र बनाएका निर्देशक प्रेमबहादुर बस्नेत अहिले ८८ वर्ष पुगिसकेका छन्। यसबीचमा नेपाली चलचित्रले लामो यात्रा तय गरिसकेको छ। तर, नेपाली चलचित्र अध्ययनमा बस्नेतको नाम छुटाउनै मिल्दैन।

कुमारी चलचित्रको योजना बन्दा रंगिन बनाउने कुनै उद्देश्य थिएन। “त्यो चलचित्र न त पैसा कमाउने ध्येयले बनेको थियो, न त रंगिन नै बनाउने ध्येय थियो”, उनी भन्छन्, “रुसमा हुने एउटा फिल्म फेस्टिभलको लागि बनाइएको थियो।” उक्त फेस्टिभलमा अवार्ड पाएसँगै यो चलचित्रले चर्चा कमाएको थियो।

चलचित्रको विषयअनुसार कुमारीको ‘ग्ल्यामर’ वा ‘भावभंगी’को लागि पर्दामा रङको आवश्यकता भयो। अनि पहिलाको योजना परिवर्तन गरेर रंगिन फिल्ममा छायंकन गरिएको उनी बताउँछन्। “कुमारीको मेकअप र रंगिन कपडाको प्रयोग देखिाउनुपर्ने भएपछि पहिलो रंगिन फिल्म बन्न पुग्यो”, बस्नेत भन्छन्।

कुमारी चलचित्र तत्कालीन शाही नेपाली चलचित्र संस्थानको लगानीमा बनेको थियो। २०२८ सालमा नयाँ सञ्चार योजना लागू भएपछि रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजनलगायत आठ वटा संस्थानलाई सञ्चार मन्त्रालय अन्तर्गतका विभिन्न विधाका काम दिइएको थियो। बस्नेतका अनुसार चलचित्र संस्थानको भागमा कुमारी फिल्म बनाउने जिम्मेवारी परेको थियो। 

क्यामेरा उही, रिल फरक
भित्तामा शोभा (अभिनय चैत्यदेवी) को कुमारी हुँदाको तस्वीर छ। उनी आफ्नी बहिनीलाई भन्छिन्, “कुनै समय म आमासँग कुमारीघर पुग्दा आफूजस्तै सामान्य केटी साक्षात् देवी कसरी भइन् भन्ने लाग्थ्यो। म आफैँ कुमारी हुँला भन्ने कल्पनै थिएन।”

पूर्वकुमारी शोभा युवक सल्यान केसी (चलचित्रका नायक)सँग प्रेममा हुन्छिन्। पूर्वकुमारीहरूको ग्रह बलियो हुने भएकाले विवाह गरे श्रीमानको मृत्यु हुने शोभाले सुनेकी हुन्छिन्। सोही डरले आफ्नो प्रेमीसँग विवाह गर्न मन गर्दिनन्। चलचित्र कुमारी यही कथावस्तुको सेरोफेरोमा घुमेको छ।

त्यसअघि नेपाली भाषाको पहिलो फिल्म ‘सत्य हरिशचन्द्र’ भारतमा बनेको थियो। नेपालमै बनेको पहिलो फिल्म ‘आमा’ थियो। ती मात्र नभइ ‘हिजो आज भोलि’, ‘माइतीघर’ सबै ब्लाक एन्ड ह्वाइट थिए। यी फिल्म कुनै धार्मिक थिए भने कुनै पञ्चायतको प्रचारका लागि बनाइएका थिए। निश्चित समुदायको संस्कृतिलाई भने कुमारीले पहिलोपटक उठाएको निर्देशक बस्नेत बताउँछन्।

उनका अनुसार चलचित्र छायांकनका लागि पुरानै (ब्लाक एन्ड ह्वाइट फिल्म खिच्ने) क्यामरा प्रयोग गरिएको थियो। तर, त्यसमा रिल (फिल्म) भने रंगिन प्रयोग गरियो। ब्ल्याक एन्ड ह्वाइट तथा रंगिन फिल्मको एकमात्र भिन्नता रोलमा हुने ‘इमल्सन कोटिङ’ हो। ‘इमल्सन बेस’ले रङ छुट्याउने उनी बताउँछन्।

कुमारी चलचित्रमा जर्मनको इस्टम्यान कम्पनीको ‘मिचेल’ क्यामेरा र मलेसियाबाट ल्याएको ‘नाइग्रा’ भन्ने टेप–रेकर्डर प्रयोग भएको थियो। कुमारी बनेपछि नेपालमा ‘ब्याल्क एन्ड ह्वाइट’ चलचित्र बन्न बन्दै भयो, नेपाली चलचित्रले नयाँ बाटो लियो। त्यसअघि लगानीको अभावले रंगिन चलचित्र बन्न नसकेको बस्नेत बताउँछन्। “त्यस बेला कलर फिल्मको प्रयोग महँगो हुन्थ्यो। त्यहीकारण धेरैको आँट भएन। कुमारी चलचित्रको कुल बजेट ३ लाख ८६ हजार रुपैयाँ थियो र त्यो बजेट चलचित्र संस्थानको थियो”, उनी भन्छन्। 

आफ्नै घरका कार्पेट र पर्दा लगेर छायांकन
चलचित्र बनाउन लाग्ने रकमको अधिकांश हिस्सा प्राविधिक काममा खर्च हुने गरेको थियो। अहिलेजस्तो कलाकारका लागि पहिरन तथा सेट निर्माण प्राथमिकतामा थिएनन्। कुमारी पात्रमा रहेकी शोभालाई बाहेक अन्य सबै पात्रले घरबाट जुन पहिरनमा आएका थिए, त्यसैमा सुटिङ भएको थियो। 

‘आउटडोर’को लागि समस्या नभए पनि ‘इनडोर’ सुटिङमा सकस बेहोरेको सम्झना बस्नेतलाई ताजै छ। “हामीले हाम्रै फिल्म कर्पोरेसन बालाजुको कोठालाई स्टुडियो बनाएर इनडोर सट खिचेका थियौँ। मैले घरको कार्पेट, पर्दा लिएर गएको थिएँ। ती कार्पेट र पर्दा अझै पनि मैले राखेको छु। तीसँग मेरो सम्झना जोडिएका छन्”, उनी भन्छन्। उनले बालाजुबाहेक ठमेल, त्रिपुरेश्वर, लाजिम्पाटमा पनि इनडोर छायांकनका लागि घरैबाट कार्पेट र पर्दा लगेका थिए।

आउटडोर सुटिङका लागि उनको टिम गोदावरी, त्रिशुलीलगायत स्थान पुगेको थियो।  चलचित्र संस्थानले स्टाफ बस, भ्यानजस्ता यातायातका सुविधा दिएकाले कठिनाइ थिएन।

चलचित्रको ‘पोष्ट प्रोडक्सन’को काम भने मुम्बईमा भएको थियो। “कुमारी चलचित्रको प्रोसेसिङ बम्बईको फेमस महालक्ष्मी सिने ल्याबमा र साउन्ड मिक्सिङ राजकोमल स्टुडियोमा भएको थियो”, बस्नेत भन्छन्, “भिडियो प्रोसेसिङदेखि साउन्ड मिक्सिङ तथा फाइनल प्रोसेस बम्बईमै हुन्थ्यो। नेपालमा छायांकनको लागि त स्टुडियो थिएन भने ल्याबजस्ता प्राविधिक पाटो कहाँ सम्भव हुनु?” त्यसबेला मुम्बईलाई बम्बई भनिन्थ्यो।

कुमारी चलचित्र बनाउन करिब नौ महिना लागेको थियो। तीन महिना स्क्रिप्टकै काम भएको थियो। करिब पाँच महिना छायांकनमा र करिब तीन हप्ता पोष्ट प्रोडक्सनमा लागेको थियो। 

अमेरिका छाडेर भारत पुगेपछि बदलिएको बाटो
कुमारी बनाएपछि निर्देशक बस्नेतको जीवनले पनि नयाँ गति समातेको थियो। उनी यही चलचित्रका कारण धेरै देश पुगे। उनको परिचय बदलियो।

त्यसका लागि उनले गरेको संघर्ष पनि कम छैन। चलचित्रमा रुची भएका उनले अमेरिकाको छात्रवृत्ति त्यागेका थिए। भारतमा चलचित्रसम्बन्धी नै पढ्ने अवसर पाएपछि उनको रोजाइमा अमेरिका परेन।

“म बीएड सकेर बसेको थिएँ। मैले अमेरिकास्थित हवाइको एक विश्वविद्यालयमा एसएससी र भारतको पुनेस्थित फिल्म इन्स्टिच्युट अफ इन्डियामा स्क्रिप्ट राइटिङ पढ्ने छात्रवृत्ति पाएँ”, उनी भन्छन्, “सबैजना अमेरिका पढ्न गइरहेका थिए। मलाई भने अमेरिकाले खासै आकर्षित गरेन र चलचित्र अध्ययनका लागि पुने गएँ।”

उनले अध्ययनका लागि दुई वर्षको छात्रवृत्ति पाएका थिए। सन् १९६२ मा पुने गएर १९६४ मा नेपाल नै फर्किए। त्यसपछि उनी सूचना विभागमा जागिरे भए।  

चलचित्र अध्ययन गरेर आएपछि त्यसबेला बनिरहेका व्यापारिकभन्दा पनि मौलिक र ‘आर्ट फिल्म’तर्फ उनी आर्षित भए। विदेशमा हुने फिल्म फेस्टिभलका लागि नेपालको प्रतिनिधित्व गर्न आव्हान भयो। उनले काठमाडौँका नेवार समुदायमा प्रचलनमा रहेको जिवित देवी कुमारीबारे सुन्दै आएका थिए। अनि यही विषयमा फिल्म बनाउने निर्णय गरे।

कुमारी चलचित्र र विजय मल्लको उपन्यास ‘कुमारी शोभा’को कथासार मिल्दोजुल्दो छ। निर्देशक बस्नेत चलचित्रका कथावस्तु मल्लको कथाबाट प्रभावित भएको स्वीकार गर्छन्। यद्यपि, मल्लको उपन्यासको कथालाई प्रारम्भिक चरणमा मात्र राखिएको उनको भनाइ छ। “हाम्रो एकआपसमा सल्लाह भएको थियो। हामीले एकअर्कोलाई कथावस्तु विकासमा सहयोग गरेका हौँ। यसलाई आपसी सहयोग मान्नुपर्ला”, बस्नेत भन्छन्।


सम्बन्धित सामग्री